संगत कसको नगर्ने ?

मननयोग्य

आर के बस्न्यात

जिन्दगीमा बाल्यकालदेखिको संगत गतिलो चाहिन्छ । विद्यालय जीवनमा राम्रो संगत हुन सक्दा मात्र पछिल्लो समयमा परिपक्वता आउँदै गर्छ । असल बानी व्यहोरा मात्र नभई समाजको बारेमा सिक्ने उर्वर समय पनि बाल्यकाल नै हो । अझ कलेज पढ्ने समय त आनीबानी सपार्ने वा बिगार्ने भनेर छनौट गर्ने काल रहेछ ।

झिंगा, लामखुट्टे, गोब्रे किरा वा ब्वाँसो जस्ता आनीबानी भएका व्यक्तिको संगतमा पर्ने वातावरण सृजना भयो भने त जिन्दगी चकनाचुर नै हुनपुग्छ । भनिन्छ, माहुरीको संगतले फूलको रसमा पुगिन्छ, झिंगाको संगतले फोहोरको नालीमा । खराब संगत भनेको आफुले चाहेर वा योजना बनाएर गर्ने होइन । यो त समयको अन्तरालमा आफसेआफ उत्पन्न हुने आनीबानी हो ।

विद्यार्थी जीवनमा चुरोट तान्ने बानी पर्दा बिस्तारै गाँजा, चरेस र मान्छेको रगतसम्म तान्ने अवस्था हुँदोरहेछ । अझ धनी बाबुआमाका सन्तानले यस्तो बानीको विकास बढ्ता गरेको देखिन्छ । कतिपयलाई धन सम्पत्तिको आडमा अनि बाबुआमाको मायामताको फाइदा उठाउदै आफुलाई गतिलै भड्खालोमा धकेलिसकेपछि मात्र बोध हुनपुग्छ कि आफू कति निच अवस्थामा छु भनेर । वयस्क अवस्थामा पुग्दा आनीबानी खराब भएका व्यक्तिहरूको संगत गर्न पुग्दा राम्रै घरानियाका सन्तान पनि तनावमा जोडिन पुग्छन् । खराब आचरण हुनेले असल व्यक्तिहरूलाई पनि बाकी राख्दैनन् । झिंगाले अरुलाई पनि फोहोरतिर आकर्षण गर्छ वा गर्न प्रयत्न गर्छ । माहुरीले महतिर वा फूलतिर ।

समाजको पछिल्लो अध्ययनबाट प्रष्ट हुन्छ कि समाजमा राम्रा नराम्रा सबै खाले मानिसले जरो गाडेका छन् । असल मान्छेहरू भलाद्मी, शान्त, सहयोगी , मितव्ययी, अनुशासित, आँटिला, बुद्धि र विवेक प्रयोग गर्नसक्ने र मृदुभाषी हुन्छन् । आफू मैन बत्ती बनेर भए पनि अरुलाई सहयोग गर्न तत्पर रहन्छन् । त्यस्ता असल व्यक्तिलाई भेट्दा पनि आनन्द हुन्छ । साह्रै पीर मर्का भुलेर असल आचरण सिक्ने मौका मिल्छ । त्यसको ठिक बिपरित खराब र स्वार्थी अनि धोखेबाज व्यक्तिको संगतमा फस्दा असल मान्छे पनि केही क्षणमा नै भस्म हुनसक्छ । त्यस्ता असल सामाजिक प्राणीको आचरण कहिल्यै खराब र दुष्ट व्यक्तिसँग नमिल्ने हुँदा खराबको कारणले असल व्यक्तिहरू पनि तनावग्रस्त हुनसक्छन् । खराब व्यक्तिले आफू खराब हुँदा एक असल व्यक्तिको पुरै परिवार समेत वर्वाद गरिदिने ल्याकत राख्दछ । भनिन्छ खराब मान्छेको संगत गर्नु भन्दा मृत्युको बाटो रोज्नु बेस हुन्छ रे । यसको अर्थ मानव चोला समाप्त पार्नु भनेको होइन, खराब, धोखेबाज वा आनीबानी खराब भएका व्यक्तिको संगत गर्नुभन्दा एकल जीवन जङ्गलमा बिताउँदा स्वर्गीय आनन्द आउँछ भन्न खोजिएको हो ।

नियतको कुरा गर्दा असल मातापिताको खराब सन्तान र खराब मातापिताको खराब सन्तान को हो छुट्टाउनु पर्ने हुन्छ । असल र खराब छुट्टाउन गाह्रो छैन् । केहि दिनको संगतबाट प्रष्ट हुन सकिन्छ । खराब हो भन्ने स्पष्ट भएपछि यथासक्य छिटो दुर हुने मार्ग रोज्नुपर्छ । ठगेर, झुक्याएर अनि अरुलाई मारेर मोजमस्ती गर्न पल्केका व्यक्ति सबैभन्दा खराब हुन् ।

आफू सकिएर अरुलाई उद्दार गर्ने मान्छेको संगतले जिन्दगीमा बहार ल्याउन सक्छ। त्यस प्रकारका व्यक्तिको संगत सदासर्वदा गर्नु बेश हुन्छ । खराब मानिस भोका स्याल र ब्वाँसा जस्तै हुन् । लामो समयसम्म शान्तिपुर्ण जीवन यापन गर्न चाहनेले माहुरीकै संगत गर्नुपर्छ न कि झिंगाको ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button