के सालिक ढाल्नकै लागि बनाइन्छन् ?

श्रीरामसिंह बस्नेत

नेपालमा सालिकको महत्व जस्तो हुनुपर्ने हो त्यस्तो नभए पनि यसको निर्माण र विनाश गर्ने क्रम भने निकै तीब्र गतिमा चलिरहेको पाइन्छ । केही दिन अघिमात्र झन्डै ६ दशकदेखि सुपरिचित रत्नपार्कमा तत्कालीन रानी रत्नको सालिक हटाई नेपाल सम्बत्का प्रवर्तक शंखधर साख्वा र बाम राजनीतिक व्यक्तित्व पद्मरत्न तुलाधरको सालिक राखिएको छ । काठमाडौं महानगरपालिकाद्धारा गरिएको यो कार्य प्रति विशेषगरी सँस्कृतिकर्मी र इतिहासप्रेमीहरु असन्तुष्ट देखिएका छन्, तर तिनको आवाजको सुनवाई हुने स्थिति छैन ।


नेपालमा ऐतिहासिक धरोहरका रुपमा दशकौंदेखि मानिदै आएका राष्ट्रिय व्यक्तित्वका सालिकको अपमान गर्ने कुकृत्य दोस्रो जनआन्दोलनपछि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री र कृष्णप्रसाद सिटौला गृहमन्त्री भएको बेलादेखि थालिएको हो । तत्कालीन माओवादी कार्यकर्ताहरुले देशको सर्बोच्च प्रशासनिक र न्यायिक निकायकै सामुन्ने रहेको राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिक तोड्फोड गर्दा सरकार टुलुटुलु हेरेर बस्यो, सालिकको संरक्षण गर्न चासो दिएन । यो घटना साह्रै चित्त नबुझेपछि यस पँक्तिकारले कान्तिपुर दैनिकमा ‘सालिक ढाल्दैमा आस्था ढल्दैन’ शिर्षकमा प्रतिक्रिया लेखेको थियो ।
त्यसकै आधारमा बिबिसी नेपाली सेवाले यस पँक्तिकार र माओवादीका केन्द्रीय नेता दिनानाथ शर्मासँग थप प्रतिक्रिया लिई सालिक तोडफोडबारे समाचार प्रसारण गरेको थियो, जसमा नेता शर्माले ‘सालिक तोडफोड गर्ने हाम्रो पार्टीको कुनै नीति नभएको’ जवाफ दिएका थिए । तर तोड्नेहरु माथि कारवाही त परै जाओस् सोधखोजसम्म पनि भएन । त्यतिमात्र होइन पोखराको पृथ्वी चोकमा रहेको पृथ्वीनारायण शाहको सालिक ढालियो । खासमा पृथ्वी राजमार्गको प्रारम्भ विन्दु भएकोले त्यहाँ उनको पूर्णकदको सालिक राखिएको थियो । त्यसलाई हटाएर त्यही ठाउँमा प्रथम शहीद लखन थापाको सालिक राखियो । लखन थापाको सालिक राख्न सकिने ठाउँ पोखरामा दर्जनौ थिए, उनको सालिक राख्न राष्ट्र निर्माताको सालिक ढाल्नुपर्ने जरुरी थिएन । पृथ्वीचोकलाई लखनचोक भने नयाँ नाम दिइयो, तर जनजिब्रोमा अहिले पनि पृथ्वीचोक नै छ । त्यतिखेर गोरखा दरबारको ठिकमुनि न्याय चौतारोमा रहेको न्यायप्रेमी राजा राम शाहको सालिकलाई पनि बाँकी राखिएन । यस्ता निकृष्ट कार्यका उदाहरण दर्जनौं छन् । तर, तत्कालीन सरकारका लागि यो कुनै चासोको विषय बनेन । र, अझ पनि यो क्रम कुनै न कुनै रुपमा जारी नै रहेको पुष्टी यही मंसीर ६ गते संघीय सरकारका मन्त्रीद्धारा अनावरण गरिएको साख्व र तुलाधरको सालिकबाट भएको छ । राष्ट्र निर्माताको सालिक नहटाइकन पोखराकै अर्को उचित स्थानमा लखन थापाको सालिक राख्न सकिने हुँदाहुँदै त्यसो नगरिए जस्तै रानी रत्नको सालिक नहटाईकन पदमरत्नको सालिकका लागि रत्नपार्क भन्दा उपयुक्त स्थान काठमाडौंमा दर्जनौं थिए । साच्चै भन्ने हो भने त उनको सालिक राख्न सर्वाधिक उचित स्थान लैनचौरको एउटा कुनामा हुन्थ्यो । किनकि पञ्चायतकालमा नै विद्रोही नेताका रुपमा उनले यही लैनचौरको आमसभामा राजनीतिक परिवर्तनको पक्षमा पटक पटक मर्मस्पर्शी भाषण गरेर आफ्नो राजनीतिक व्यक्तित्व स्थापित गरेका थिए भने आमजनतालाई पञ्चायत व्यवस्थाको विरुद्ध आन्दोलित गरेका थिए । उनका भाषणको क्यासेट हारालुछ भएर विक्री भएको अस्ति जस्तो लाग्छ ।


राजा महेन्द्रले २०२१ सालतिर बालाजु बाइसधारामा महेन्द्र पार्क र टुँडिखेलको उत्तरी छेउमा रत्नपार्क बनाउन लगाए । काठमाडौैको सौन्दर्यकरण गर्ने दीर्घकालीन योजना अन्तर्गत यी कार्य भएका थिए । ‘वाटर गार्डेन’ भनेर विदेशी पर्यटकहरुबीच परिचित महेन्द्रपार्क काठमाडौंको एक दर्शनीय रमणीय स्थलमा गनिन्थ्यो । जमीनमुनीको पानी बोरिङ गरेर निरन्तर दोहन गर्ने प्रवृत्ति हावी भएपछि बाइसधारामा पानी आउन छाडेको परिणाम स्वरुप त्यो वाटर गार्डेन अहिले ड्राइ गार्डेनमा परिणत भएको छ । कालिमाटी चोकमा रहेको कविराजा महेन्द्रको सालिक लोकतन्त्र पुनस्र्थापना भएपछि हटाएर कविकेशरी चित्तधर हृदयको सालिक उभ्याइयो । जबकि उनलाई ‘कविकेशरी’ को उपाधि उनै राजा महेन्द्रले दिएका थिए । कवि चित्तधर र कविराजा महेन्द्रको राम्रो निकटता थियो । यदि राजा महेन्द्रको सालिक हटाएर कुनै दिन त्यहाँ आफ्नो सालिक राखिन्छ भन्ने थाहा हुँदो हो त कवि चित्तधरको चित्त कति दुख्दो हो । उनको सालिक राख्न उपयुक्त स्थान काठमाडौंमा पचासौं थिए ।


त्यसो त रत्नपार्कको पुनः नामाकरण गरी शङ्खधर साख्व पार्क भनेर साइनबोर्ड झुण्डाइएको तीन वर्षअघि हो । तर, चलनचल्तीमा रत्नपार्क नाम नै लोकप्रिय छ । काठमाडौं उपत्यकाभित्र मात्र शङ्खधरका विभिन्न ३६ स्मारक छन्, बागमती नदीको किनारमा पनि शङ्खधर पार्क पहिले नै बनिसकेको छ । अहिले उपत्यकामा नेता गणेशमान सिंह र शङ्खधरका बीच अधोषित प्रतिष्पर्धा चलेको देखिन्छ, सालिक स्थापना गर्नमा । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले कतै खाली जमीन देख्ने बित्तिकै उनको पहिलो र जोडदार प्रस्ताव त्यहाँ गणेशमान सिंहको सालिक राख्ने हुन्छ रे । अनुदार र अप्रजातान्त्रिक भनिएको पञ्चायतकालमा पनि पहिलेका सालिक हटाएर अर्कै व्यक्तित्वको सालिक राख्ने दुष्टता गरिएको थिएन । राणा शासक र शासनका विरुद्ध जति नकारात्मक इतिहास लेखिए पनि तिनका सालिक नष्ट गर्ने नकाम भएन ।


टुँडिखेलको चारै कुनामा रहेका जङ्गबहादुरका कलात्मक सालिक, नयाँ सडक र जावलाखेल चिडियाखाना भित्र रहेका जुद्धशम्शेरका सालिक यसका प्रमाण हुन् । सालिकप्रति अरु कुनै ठूलो सम्मान राख्न नसके पनि त्यसमा रहेको कलात्मक पक्षलाई मात्र संरक्षण गरे पनि यथेष्ट हुन्छ । तर नेपालको पछिल्लो राजनीतिक परिवर्तनले त्यतिसम्मको विवेकलाई पनि ठाउँ दिएको छैन । पञ्चायतकालमा राजाहरुका मात्र सालिक धेरै बने, राष्ट्रका अरु व्यक्तित्वहरु ओझेलमा परे भन्ने जायज आलोचनालाई पछि बनेका सालिकहरुले खिल्ली उडाइदिएका छन् ।


विगतको राजतन्त्रात्मक इतिहासप्रति यस्तै घृणा, द्धेष राख्नु र स्मृति मेटाउने हदसम्मको हरकत गर्नु नै अहिलेको गणतन्त्रको अभिष्ट हो भने राजा प्रताप मल्लको नितान्त पारिवारिक विषयमा आधारित रानी पोखरीलाई किन रानी पोखरी भन्ने ? लोकपोखरी, जनपोखरी भन्नु प¥यो । अझ शङ्खधर पुखुः नामाकरण गरे झन् बेश । शङ्खधरका नाममा हुने अनुपयुक्त व्यवहारकै कारण अहिलेसम्म पनि शङ्खधर र उनले चलाएको नेपाल सम्बत् केही नेवार समुदायबीचमात्र सिमित रहन गएको छ, त्यसलाई नेपालका गैरनेवार समुदायले आत्मसात् गर्न सकेको देखिदैन । यो एक राष्ट्रिय विभुतिमाथि अन्याय होइन र ?
दार्जिलिङको चौरस्तामा दशकौंदेखि नेपाली भाषीहरुको श्रद्धाको केन्द्र बनेर रहेको आदिकवि भानुभक्तको अर्धकदको सालिक गोर्खे नेता सुवास घिसिङको सनकले ढालियो । केही बर्षसम्म सालिकको स्तम्भ ठुटै रह्यो । घिसिङ निस्तेज भएपछि सोही ठाउँमा आदिकविको पूर्णकदको सालिक ससम्मान उभ्याइएको छ । रुसमा अक्टोबर क्रान्ति सफल भएपछि सत्तामा आएको कम्युनिस्ट पार्टीको सरकारले पहिलेका शासकका सालिकहरु नष्ट गरे भने तिनका नाममा रहेका कतिपय स्थानहरुको नयाँ नामाकरण गरे । क्रान्तिकारी नेता लेनिन, स्टालिनका सालिक जताततै ठड्याइए । त्यसको सात दशकपछि सोभियत संघ विघटन भयो र लेनिन, स्टालिनका सालिकहरुमाथि डोजर लगाइएको दृष्य संसारभरका मानिसहरुले टेलिभिजनमा हेरे । मस्कोपछिको प्रमुख नगरी लेनिनग्राद फेरि आफ्नो पुरानै नाम सेन्ट पिटस्वर्गमा सगर्व फर्कियो ।


भारतमा भारतीय जनता पार्टी सत्तामा आएपछि दशकौं अघिदेखि स्थापित र प्रचलित सडक र बस्तीका नामहरु फेरिए, फेरिदै छन् । खासगरी मुगलकालीन मुस्लिम इतिहास पुरुषका स्मारकहरु भाजपाको कोपभाजनमा परेका छन् । भविष्यमा कुनै दिन भाजपा साशनसत्ताबाट बाहिरिएको अवस्थामा ती नयाँ नामहरुको के हविगत् हुने होला ?

इतिहासलाई इतिहासकै रुपमा सम्मान गरौं, चाहे अकबर हुन् वा औरंगजेव, रत्न हुन् वा पद्मरत्न । अन्यथा हिजो बनाइएका सालिक आज ढाल्ने हो भने आज बनेका सालिक पनि भोलि अवश्य ढालिने छन् ।

2 Comments

  1. ईतिहास – सन्स्कार सन्स्क्रिती माराहरुले गरेको अत्याचार को के कुरा गर्नु ?
    राजाको पालामा बडा महारानी श्री ५ रत्नको नाम मा बनेको पार्क मा अरुको सालीक राख्नु जस्तो नामर्द काम कुनै हुती हाराले गर्ने छैनन।
    तागत भये नयाँ पार्क बनवस, यो गनायको सरकार र नगरपालिकाले .
    लेखकले अती राम्रो सन्धर्ब उठाउनु भएको छ। हार्दिक धन्यवाद !

  2. Salikharu dhalinuma Congress ra Bartaman Sattadhari Dalharuko Pramuk Bhumika Raheko Cha. Yiniharulai Pani Bhabi Pustadwara Yesai Gari Dhalinechan!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button