राजनीतिक रडाकाेमा एउटा फरक मत

विचार आ-आफ्नो

अरविन्द रिमाल

अन्य सबै ठाउँमा बेलाबखतमा हुनेजस्तै हामीकहाँ पनि रडाकाे छाएकाे छ, आसन्न आमचुनावअघिकाे नाैटङ्कीकाे । आमचुनावकाे लगत्तैपछि सडकछापमा झारिनपुग्ने सार्वभाैम नागरिक फेरि सार्वभाैमिक अधिकारयुक्त मतदाताकाे रूपमा चिनाइने नाटक दाेहाेरिँदै छ।

‘कागलाई बेल पाक्याे (वा खस्याे कि) हर्ष न विस्मात्’ ठानेर बस्ने निश्चय गरेकाे थिएँ, यस पटक त । अनि कत्राकत्रा र कस्ताकस्ता ऐतिहासिक राजनीतिक उपलब्धि हासेल गर्न उठेका जनतालाई सत्ताप्राप्तिपछि सडक छापमा झारी ‘लाेकतान्त्रिक-गणतान्त्रिक’ निजी वा दलीय स्वेच्छाचारी शासन चलाउनेहरुकाे नयाँ वर्ग जन्मेकाे पनि देख्दा ‘राजनीति भनेकाे स्वाँठ- लुच्चाहरुकाे खेल हाे’ भन्ने पनि लाग्न थालेकाे थियाे । तर आफूले नचाँहदा पनि अर्काकाे कर्मफलकाे भारबाट आफू पनि बच्नसकिँदाे रहेन छ । अतएव, प्रधानमन्त्री ओलीकाे संसद बिघटनउप्रान्त चुनावी क्षेप्यास्त्रप्रति जवाफी क्षेप्यास्त्र फर्काउने राजनीतिकबाज, सत्ताबाज,संविधानबाज, पत्रकारबाज, सडकबाज, काेठाबाज आदि अनेक बाजहरुकाे आधिकारिक वक्तव्य- मत- धारणा- विश्वासमा व्यक्त ‘आदर्श, सिद्धान्त, नैतिकता’ नपढिरहन, नहेरिरहन सकिँएन । अनि एउटा कुराेले बिझायाे । प्रम ओली निस्पृह, असङ्दिग्ध राजनेता त कदाचित हाेइनन् । तर उनमाथि प्रहार गर्नेहरुकाे जमात पवित्र, बेदागी हुन्, छन् त ? पतित र पापीलाई दण्डसजाय दिन उत्ताउलाे भइरहेकाहरु आफैँ त्यसै काेटीका छने भने तिनले कसरी दण्ड दिनसक्ने ? अब याे मूल कुराे कसले छुट्याउने ? माने पनि, नमाने पनि ,याे टुंगोमा पुर्‍याउने आम चुनाव नै त हाे ।

मेरा सद्गुरुदेव स्वामी सत्यदेवले मलाई टिपाउनुभएकाे एउटा सन्देशकाे झ्वाट्ट सम्झना भयाे । उहाँले मलाई २०६० सालकाे फागुन ६ गते याे सन्देश टिपाउनुभएकाे थियाे: ‘लाेभ र दण्डकाे बडाे आत्मिक सम्बन्ध छ । दण्डकाे भयविना लाेभ मात्र हावी भयाे भने अव्यवस्था मात्रहुन्छ अनि दण्डकाे भयकाे कारणले गर्दा लाेभ नियन्त्रित हुनसके समाज जसाेतसाे चालू रहन्छ ।’ याे कुरा अध्यात्मकाे प्रसङ्गमा भनिएकाे भने पनि गुरुदेवकाेे वचन राजनीतिकलगायत व्यावहारिक जीवनमा पनि पूर्णत: लागू हुन्छ ।

ओलीप्रेरित आम चुनावलाई त्यस्ताे अव्यवस्था सुधार उपाय र अवसर किन नठानेका विराेधीहरुले ? किन आफू मिलेर पछार्ने आँट नगरेका ?

अल्पदृष्टि!

हाे, यस्ताे स्थिति नआएकाे भए जाती थियाे । दुईतिहाईप्राप्त ओली सरकारअघिकाे अल्पमतीय मनमाेहन अधिकारी सरकार जस्तै विराेधीलाई तटस्थ, तटस्थलाई मित्रवत, मित्रवतलाई दाैतरीपूर्ण बनाउने अनिवार्य राजनीतिज्ञ गुणरहित भएकै हाे । मित्रसमुदाय बढाउन,चुकेकाे हाे, अस्वाभाविकरूपले चुकेकाे हाे, नहुनुपर्ने तवरले चुकेकै हाे । ओलीमा मनमाेहन अधिकारीकाेजस्ताे अल्पमतीय तुजुक नहाेला, वामपन्थी दलहरुकाे सम्युक्त प्रतिनिधिमण्डलका सम्मानित सदस्य भएर प्रधानमन्त्रीसँग भेटवार्ता गर्न आएका विष्णुबहादुर मानन्धरले अघि बढाँउदा हात मिलाउन इन्कार गरेकाे अशिष्ठता देखाउने तथा काठमाडौंकाे नामी किसान नेता नातीदाइ शुभकामना दिन जाँदा नचिनेकाे गर्ने, नेपाल साँस्कृतिक संघले प्रधानमन्त्रीकाे सम्मानमा आयाेजना गरेका अभिनन्दन समाराेहमा गाेविन्दप्रसाद लाेहनीले हस्तान्तरण गरेका कुनै जरुरी निजी चिट्ठी वेवास्तासँग तात्कालीन निजी सचिवलाई थन्काउन लगाएकाे जस्ताे अभद्र अहङ्कार नहाेला । तर उनी राष्ट्रहितमा अनेक राम्राे काम गर्नसक्ने, अडान लिनसक्ने, राष्ट्रिय सार्वभाैमिक टेक लिनसक्ने सामर्थ्ययुक्त हुँदाहुँदै पनि आफ्नाे सुयाेग्य परामर्शदाता समूह तथा कार्यदल खडा गर्न विफल भएका राजनेता निश्चय नै हुन् । यसका साथै, ओली शक्तिशाली विदेशी केन्द्रबाट समर्थन पाइआइरहेका आफ्ना पुराना राजनीतिक बैरीविराेधी जमात तर बाध्यतावश ‘कामरेड’ बन्नपुगेकाहरुले हालैसम्मका आफ्नै पुराना राजनीतिक दाैँतरी- सहयात्रीहरुलाई आफ्नाे विरुद्ध भजाउन, भिडाउनसक्ने परिस्थिति जुटाइदिने अल्पदृष्टियुक्त पार्टी नेता भएकाे चाँहिे पनि पक्कै हाे ! त्यसैले, देशकाे राजनीतिक क्षितिजमा खलनायकहरुकाे लामाे समयदेखि छाएकाे कुहिरीमण्डललाई चिरेर आफ्नाे, कदाचित, नायकी छवि प्रस्तुत गर्नसक्न उनलाई अझ अनेक राजनीतिक सङ्कष्ट झेल्नुपर्ने हाे, अनेक परीक्षाबाट उत्तीर्ण हुनु पर्ने हाे त्याे निश्चित हुन अझै बाँकी छ । आखिर, सच्चा देशसेवा परिताेषिक वा प्रमाणपत्र पाइने व्यवसाय हाेइन । भलै,अहिले माओवादी गन्धपुरी नेतृत्त्व थाङ्गानामा खाेटा पगरी भिराइएर सुताइएकाहरुले आफ्नाे कन्तबिजाेग छाेप्न बडेबडे आदर्शरूपी नारा र सडक नाटक देखाउनु हाँसाेउठ्दाे किन नै नलागाेस् । भलै, तिनीहरु ‘साैताकाे रिसमा पाेइलाई चुट्ने’ जस्ता बझाैटे किन नदेखियून् ।

तर, सबैलाई मिलाएर लैजानसक्ने नेतृत्त्वगुण त विरलैमा हुन्छ । लेनिनमा थियाे र अक्टाेबर बाेल्शेभिक क्रान्ति सफल भयाे । हाे चि मिन्हमा थियाे, र अमेरिकी साम्राज्यवादविरुद्ध भियतनामी क्रान्ति सफल भयाे । फिडेल कास्त्राेमा थियाे, र क्यूबाली क्रान्ति सफल भयाे र १२-१२ अमेरिकी राष्ट्रपतिलाई चित् ख्वाइदिरहेछ। हाे, यस्तो गुण लेनिनकाे NEP अभियानलाई नयाँ परिप्रेक्ष्यमा सम्पन्न गर्ने ऐतिहासिक दायित्त्व आएकाे मिखाइल गाेर्बाचाेभमा पनि देखिएकाे थियाे तर त्यस्ताे अामूल परिवर्तनलाई आफ्नाे निहितस्वार्थविरुद्ध हुनजाने डरले पार्टीभित्रका नाेकरशाही ठालुहरुकाे कूबाट विफल गराइयाे । दुष्फलस्वरूप साेभियत संघकै विघटन हुन पुग्याे ।

‘नव-संसदवादीहरु’काे पुरानाे चर्तीकला!

अब कुराे, लहराे तान्दा पहराे गर्झिन्छ भन्याझै भइरहेछ । मर्सिडिज बेञ्ज माेटरगाडीमा लाल झण्डा र साइकल रिक्सा गाडीमा चारतारे झण्डा फहराउँदै अदभूत, अनुपम २०४६-७ सालकाे प्रजातान्त्र पुनर्स्थापना सम्युक्त जनआन्दाेलन सफल भएकाे थियाे । त्यसकाे फलस्वरूप नेपालकाे संविधान २०४७ तयार भई आम निर्वाचन सम्पन्न भएकाे थियाे । याे विश्व राजनीतिकशास्त्रकाे इतिहासमा विशुद्ध नेपाली राजनीतिक याेगदान थियाे । विदेशी शक्तिकेन्द्रहरुलाई यी नेपाली उपलब्धिहरु पचेनन्।तिनीहरुले धाके नाम दिइएका आफ्ना नेपाली गुमास्ताहरुलाई चाैतर्फी भरथेगका साथ २०४७ सालकाे संविधानकाे आघात गर्ने, अन्तर्घात गर्ने आदेश दिए । पहिला त ‘संसद भनेकाे खसीकाे टाउकाे देखाएर कुकुरको मास बेच्न् थलाे हाे’, २०४७ काे संविधान अपूराे छ, बाहुनवादी छ, राजावादी छ, जनजाति विराेधी छ भन्ने आराेपबाट विदेशी आदेश पालन हुन थाल्याे । त्यसपछि त भारतकाे सम्युक्त सरकारका तथाकथित हिन्दुवादी प्रधानमन्त्री तथा समाजवादी रक्षामन्त्रीकाे प्रत्यक्ष निर्देशन एवम् सहभागीतामा चीनकाे येनानकाे नक्कल गर्दै राेल्पा र रुकुमकाे राेमाञ्चक नामकाे आडमा ‘माओवादी” ठाडाे जङ्गल आतङ्ककारी युद्ध मच्चाइयाे । भारतीय राष्ट्रिय काङ्ग्रेस सरकारले ओफ्नाे ‘विराेधी’ भनि टाेपलिने सरकारकै बाटाे पछ्याई माओवादीहरुलाई पूरै भरथेग जारी राख्याे । फलत: नेपालमा संस्थागत रूप लिनसक्ने संसदीय बहुदलीय प्रजातन्त्रलाई कलवलगुडी गणेशमान मेच दुर्घटना र दासढुङ्गा मदन भण्डारी- जीवराज आश्रित षडयन्त्रात्मक माेटरगाडी दुर्घटना आदि द्वारा ध्वस्त गर्दै, नेपालकाे विकासलाई दशकाैंपछि धकेल्दै दिल्ली आडकाे ‘बाह्र बुँदे’ समझदारीकाे नाममा पहिले ‘लाेकतान्त्रिक’ त पछि ‘गणतन्त्रात्मक’ प्रणाली बसालियाे । यसरी बाह्य चलखेल र षडयन्त्र भाेग्दै, भारत सरकारले लादेकाे नृशंस- निर्मम नाकाबन्दी झेल्दै नेपाली जनताले गणतन्त्रात्मक संविधानअन्तर्गत गल्ती गर्दै, सिक्दै गरेकाे पनि असह्य भएर फेरि नेपाली सार्वभाैम निर्णय स्वाधिकारमाथि अन्तर्घाती हमला गराउन लगाए, सत्ता विस्थापनकाे खेल खेले । यी सबकाे फलस्वरूप देशका प्रधानमन्त्रीे राष्ट्रपतिकाे अनुमतिबाट संसद विघटन गरी नयाँ संसदकाे चुनावकाे तिथिमिति घाेषणा गर्न बाध्य भए । अब याे कामकुरा ओली तथा विद्या भण्डारीकाे निजी माम्लाे नभई देशका प्रधानमन्त्री तथा राष्ट्रपतिकाे हुनगएकाेले सबै राजनीतिक शक्ति आमचुनावकाे संवैधानिक रणक्षेत्रमा लाग्नुमा नै कल्याण देखिन्छ । आखिर खेलकाे नियम पनि त यही हाे । वर्तमान संविधानमा प्रावधान भएनभएकाे कुराे उठ्ने वा उठाउने हाे भने २०४७ काे त्यस्ताे विश्वप्रशंसित परिपक्व- व्यावहारिक संविधान नै ध्वस्त गरिएकाे हाेइन ? त्यस अपराधकाे दण्ड काे भाेग्ने, ख्वै ?

राजनीति के लुच्चाहरुकै खेल ?

राजनीतिक पाेखरीमा आमचुनावरूपी ढुङ्गा हिर्काएर ओलीले अपत्यारिलाे तरङ्ग ल्याएकाेलाई त मान्नै पर्ला नि ! उनले यसरी आफ्नाे राजनीतिक जीवनलाई जनताकाे मतदानरूपी दाऊमा लगाएकाेलाई पनि त आँटिलाे प्रयाेग मान्नै पर्ला ! तर ,विशेषत:, हिजाेका तिनै संसदनिन्दकवादी आँज कसरी संसदभक्त हुनसकेका ? याे पाे चमत्कारपूर्ण घटनाक्रम देखिन आयाे ? हिजाेका संसदीय व्यवस्थाविराेधवादी आज ‘नेकपावादी’, ‘समाजवादी’काे आडमा रङ्ग बदल्ने छेपाराहरु जस्ता त हाेइनन् र ? यिनले अब आफैँ खसीकाे टाउकाे देखाएर कुनै दूर्गन्धी पशुकाे मासु बेच्न लागेकाे आराेप लाग्न नसक्ला ? भलै अहिलेकाे मासु पसलका मालीकहरुमा हिजाेका त्यस्तै डामिएका व्यक्तिहरु पनि किन नै नहुन्! आफूलाई विशुद्ध संसदवादी ठान्ने दलहरु याे नयाँ पसलबाट कदाचित आकर्षित भएकाे देख्दाचाँहि उदेक नपरिरहन सकिन्न ! के साँच्चै, राजनीति भनेकाे लुच्चाहरुकै खेल हाे त ?

जे हाेस्, जस्ताेसुकै हाेस्, आज फेरि खेलकाे नियमअनुसार एकपटक फेरि आफ्नाे अमाेघ मतदानीय अस्त्रका कारण सार्वभाैम हुनेभएका नेपाली जनताले नककलीसक्कली सब छुट्याउने नै छन् ।

सडक ताताेस्, तात्दै जाओस्, वहस हाेउन्, हुँदै जाउन् ,याे राम्राे संङ्केत एवम् परिचय हाे जागरुकताकाे । तर नक्कली मयूरहरुबाट सावधान रहनु पनि अनिवार्य छ ।

अहिलेकाे महासङ्ग्राममा हाम्रा मुगलाने छिमेकी, सातसमुद्रपारीका रावणहरु र हरियापरियाहरु पनि सधैँकाे जस्ताे सामदानदण्डभेदका अस्त्रशस्त्रद्वारा आ-आफ्ना नेपालीपात्रहरुमार्फत मैदानमा पूरै धनबलले ओर्लिने नै छन् । चुनावले ल्याएकाे सत्ताहस्तान्तरण महामारीमा काेराेनामहामारीकाे सत्ताराजनीतिले कुनै शक्तिराष्ट्र ग्रस्त छ भने कुनै क्षेत्रीय ‘अधिपति’ चीनलक्षित विफलताजन्य कूटनीतिले क्रान्त भई त्यसकाे कायरतापूर्णबदला लिन नेपाली जनता र तिनले जसाेतसाे अङ्गालेका राजनीतिक रितिथीतिमाथि जाइलागेकाे लाग्यै छ ।

परन्तु अनेक जटिल तथा कटु अनुभवले खारिँदैगएका नेपाली जनता आफ्नाे देशकाे सार्वभाैम हित संरक्षण गर्न प्रतिबद्ध छन्, समर्थवान छन् ।

अनि चीनकाे कुराे किन नउठाइएकाे हाेला पनि भनिएला । चीन त ढुक्क छ ! ऊ यस र आगामी कुनै आमचुनावकाे परिणामप्रति ढुक्क छ । नेपालमा हुनेबन्ने जुनसुकै सरकार पनि हाम्राे आफ्नै वर्तमान तथा भावी राष्ट्रिय हितका कारण करबलले वा राजीखुशी ‘चीनपक्षे’ नभइरहन सक्दैन ।

अब पुगनपुग कुराे अर्काे पटकमा । आजलाई जय नेपालकाे अभिवादनसहित विदा !

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button