नेपालनाम्चा ‘तनाव व्यवस्थापन कक्ष’ भयो

पाठक प्रतिकृयाः म एक पाठक नेपालनाम्चाको

सुशीला शर्मा

नेपालनाम्चा अनलाइनसँगको परिचय पनि लगभग तीन महिना पुगेछ । सायद त्यतिबेला नेपालनाम्चा पनि नयाँ नयाँ नै हुनुपर्छ ।

पहिले त मलाई यो नेपालनाम्चा भनेको नेवारी भाषाबाट सापटी लिइएको शब्द रहेछ कि भन्ने लागेको थियो । तर होइन रहेछ । नाम्चा भनेको दैनिकी (बही खाता जस्तो) या अंग्रेजीमा यसको अर्थ डायरी भन्ने अर्थमा राखिएको भन्ने जानकारी यसका सम्पादकबाट पाइयो । जे होस् यो नाम पृथक लागेकै हो ।

आफ्ना दैनिकी, भावना, कविता र लेखहरुलाई उस्तै रुचिका पाठकहरुसामु पुर्याउन यस नेपालनाम्चाले भरमग्दुर प्रयास गरेकै छ भन्दा दुईमत नहोला । म नेपालनाम्चामा लेखिएका हरेक विषयको नियमित पाठक हुँँ । फुर्सद र यो कोरोनाकालले त झन् मिडियाका हरतरहका सूचनाहरु नियाल्दैमा दिन बितिरहेछ । मैले पनि आफूले कहिल्यै अभ्यास नगरेको कथा लेखनको ‘दुस्साहस’ यसै नेपालनाम्चामार्फत ‘एक चालक गफ’ भन्ने कथा लेखेर गरेको हुँ । अन्य लेख र कवितामा भने पहिल्यैदेखि कलम चलाउँदै आइरहेकी छु र निरन्तर लेख्ने जमर्को पनि गरिरहेकै छु ।

लकडाउन र कोरोना संक्रमणको अवस्थामा नेपालनाम्चा मेरो लागि ‘सिर्जनात्मक थलो’ जस्तै नै भयो । अझ भन्नुपर्दा ‘तनाव व्यवस्थापन कक्ष’ जस्तो पनि भयो । आइसोलेसन, कोरोनाका लक्षणले गाहृो बनाउन छोडेको बखत म डायरीमा केही न केही लेखिरहन्थेँ र नेपालनाम्चामा पठाई पनि हाल्थेँ । मेरो कोरोना अवधिको डायरीले मेरा थुप्रै साथीहरुलाई पनि झक्झक्यायो भनेर फोनमार्फत मसँग ती साथीहरुले आफ्ना पनि कोरोना अनुभव सुनाएका थिए ।

नेपालनाम्चाका सम्पादक अशोक सिलवालजीलाई प्रत्यक्ष भेटेको त छैन तर उहाँ निकै मित्रवत् र उत्प्रेरणात्मक व्यक्तित्व हुनुहुँदो रहेछ । साथै नविनतम् कुराहरु र नयाँ पुराना सबै खालका लेखक तथा श्रष्टा र प्रतिभाहरुलाई स्थान दिनुपर्दछ भन्ने मान्यता राख्नुहुँदो रहेछ । उहाँको यो सद्भाव निरन्तर बनिरहोस् ।

मैले नेपालनाम्चामा आफू पनि लेख्ने र आफ्ना साथी सर्कल, परिवारका सदस्यहरुलाई पनि यस बारेका भन्ने गरेको छु । कतिपय लेखनमा रुची भएका साथीहरुले त आफ्नो लेखनकला शुरु पनि गरिसकेका छन् ।

म महिला भएको कारणले सबैभन्दा गर्वको कुरा नेपालनाम्चामार्फत थुप्रै महिला हस्ताक्षरहरुले आफ्नो प्रतिभा प्रस्फुरण गराएका छन् । नत्र त हामीकहाँ महिला लेखक नै औंलामा गन्ने पनि छैनन्, त्यति गहन लेख्नै सक्दैनन् भन्ने जमात पनि त छन् नि । महिला लेखकहरुलाई पनि यो नेपालनाम्चा गतिलो प्ल्याटफर्म हुनसक्छ ।

दैनिक घटना, वातावरण समाज र व्यवहारिक अभ्यासहरुलाई सहज र सरल ढङ्गले प्रस्फुटन गराउनु नै सायद नेपालनाम्चाको उद्देश्य हो जस्तो लागेको छ । यस्तो खालको शुरुवात पनि मिडिया क्षेत्रमा आवश्यक थियो र यो लेख्न खोज्ने तर स्तरियताको डरले खुम्चिएर बसेकाहरुलाई त खुसीको खबर नै भयो । थपिनुपर्ने ज्ञान विज्ञानका कुराहरु, समाचार, विद्धत वर्गका विचारहरु अझ बढी भविष्यमा आउँदै गर्लान् । सरलताबाट पनि वर्तमान गतिविधिहरु, अव्यक्त भावहरु बाहिर आउन सक्छन् र त्यो लेखनको क्षेत्रमा नयाँ आयाम पनि बन्न सक्छ ।

यो कार्यमा नेपालनाम्चा सफल बनोस् । हार्दिक शुभकामना ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button