
जातः माथ्लाघरे साँल्दाई र हाम्रा घरको दही-दुध
मनको कुरा
विभा निरौला
हालः ललितपुर ।
हामी सबै आ–आफ्नो संस्कार लिएर हुर्किएका छौँ । पूर्खाको नासोको रुपमा प्राप्त संस्कार परित्याग गर्न सकिँदैन । परम्परागत र मौलिक संस्कृति नै समाजको परिचय हो । संस्कृतिको निर्माणमा संस्कारको पनि महत्वपूर्ण भुमिका हुन्छ । तर, संस्कृतिको रुप धारण गरेका कतिपय संस्कारमाथि प्रश्न गर्नै पर्ने बेला वितेको छ । औंलो ठड्याउने बेला टरेको छ । हामी समयभन्दा निकै पछि परेका छौँ ।
कानूनी रुपमा जातीय विभेदको उन्मूलन वि.सं २०२० तिरै भइसकेको हो । तत्कालिन पुरातनपन्थी ब्राम्हण समाजले नेतृत्व गरेको कट्टरपन्थी हिन्दू समाजमा सामन्ती भनिएका राजा महेन्द्रले जातिगत उचनीँच र भेदभाव–छुवाछुत गर्न नपाइने भनि जातिय समानताको उदघोष गरे । २०६३–०६४ मा तत्कालीन क्रान्तिकारी सरकारले नेपाललाई छुवाछुतमुक्त देश घोषणा ग¥यो । त्यसपछि पनि थुप्रै व्यक्तिहरु छुवाछुतको कारण मारिइरहेका छन्, रुपा सुनारहरु उजुरी बोकेर प्रहरी कहाँ धाइरहेका छन् । किन ? कहाँनेर चुक्यौँ हामी ?? के यो स्थिति हाम्रो सधैँको नियति हो ???
इलामको मेरो पुख्र्यौली गाउँ नामसालिङ् शिक्षामा अगाडि नै थियो । सर्वसाधारणले पढ्नु हुँदैन भन्ने राणाकालमा पनि संस्कृत, नेपाली, सामाजिक शिक्षामा स्वाध्ययनले शिक्षित बनी आफ्ना ठाउँमा कटेरा आफैँले निर्माण गरी विद्यालय सञ्चालन गर्नुभयो मेरा हजुरबुवाले । पछि त उहाँ त्यस गाउँमा ‘शिक्षाका जनक’ सम्बोधित हुनुभयो र स्थापित समाजसेवीमा गनिनुभयो । उहाँ अवकाशप्राप्त जीवन विताउन झापा, बुधवारे आउनुभयो । मेरो विद्यालय जीवनका अन्तिम वर्षहरु उहाँसँगै बिते ।
त्यतिबेला हाम्रा घरै मास्तिरका दर्जीकी छोरी मेरी सहपाठी थिइन् । तीनका बुवा–आमा कहिलेकाहिँ कृषि कर्ममा सघाउन हाम्रा घरमा आउनुहुन्थ्यो । त्यस्तैमा एकदिन उहाँहरु हाम्रो भान्छाकोठा बाहिर भुइँमा बसेर खाना खाइरहेको दृष्यले मेरो आँखामा नराम्ररी ठुङ् मा¥यो । मेरो मन हुँडलियो ।
मुखभरी अमिलो पानी बोकेर म कोठाभित्र छिरेँ, एकछिन रोएँ । फर्केर भान्सातिर गएँ । बाटैमा स्नातकोत्तर उत्तीर्ण, माविका प्रधान अध्यापक मेरा बुवालाई भेटेँ र स्थितिको निवेदन गरेँ । बुवाले झण्डै निरिह स्वरमा भन्नुभयो, ‘तिमीले भनेको सही हो, यस्तो विभेद गर्नु उचित होइन, अमानविय हो । तर बृद्धावस्थाका हजुरबुवा हजुरआमा हुनुहुन्छ । उहाँ र वहाँको पुस्ता रहुन्जेल चाहेर पनि हामी यो कुप्रथा हटाउन सक्दैनौँ । हामीले केही समय पर्खनै पर्छ । हजुरबुवा–आमाको मन दुखाएर विश्वास तोडेर क्रान्तिकारी बनिने आँट मसँग छैन छोरी !’
‘ल, भान्साघर भित्र पसाउनै पर्छ भन्ने छैन रे तर दुध दही चाहीँ किन नदिनु ?’, मैले भनेँ ।
‘तिमीलाई थाहै छ बुवाआमा पहाडमा हुन्जेल हामीले यहाँ दही दुध दिइरह्याँै । अहिले उहाँहरु यहाँ आउनुभयो । अब उहाँहरुको मन राख्नुपर्छ’, बुवाले भन्नुभयो ।
बुवाको पितृभक्ति र कासाब्याङ्काको अनुशासनलाई जदौ गर्दै म भोलिपल्ट यहि विषय कोट्याउन हजुरबुवा–आमा भए ठाउँ पुगेँ, किनभने बुवावाट मैले चाहेको उत्तर आएको थिएन । बडो आँट गरेर मसिनो स्वरमा मैले भनेँ, ‘हजुरबुवा एउटा कुरा भनौँ ?’
‘के भयो ? भन् न !’। हजुरबुवाले नरम स्वरमा भन्नुभयो ।
‘माथ्लाघर साल्दाई र भाउजूलाई भान्साघरभित्र खाना खान दिँदा के हुन्छ ? उनीहरुले काटेको घाँस गाईलाई दिँदा हुने, गाईले दिएको दुध चाहिँ उनीहरुलाई दिन किन नहुने ?’, मैले भनेँ ।
मैले एकै सासमा यी कुरा भनी सिध्याएकी थिएँ । मलाई थाहा थियो मैले यसभन्दा बढी बोल्ने मौका पाउने छैन । हजुरबुवाको मुख मण्डलाको भाव बदलियो, बुद्ध शरीर तनक्क तन्कियो र स्वर कडा भयो, ‘पिता–पुर्खादेखि चलिआएको रीतिथिति यसरी झ्वाट्टै तोड्न मिल्छ र काली ! तँ जान्ने हँुदैमा कुल कुटुम्ब, जोरिपारी, राजा देउता नचाहिने हुन्छ ?’
दोहोरो तर्क गर्ने आँट मसँग थिएन । भारी मनले म त्यहाँबाट हिँडे । आफ्ना समयमा शिक्षित र सभ्य कहलिनु भएका हजुरबुवामा केही वर्ष पछाडि भारी परिवर्तन आयो र उहाँले साँल्दाई–भाउजूहरुलाई दही, दुध दिने अनुमति दिनुभयो तर भान्साघरभित्र प्रविष्टको निवेदन उहाँसँगै परमधाम गयो । यद्यपि पछिल्लो पुस्तामा त्यो पनि व्यवहारमा आइसकेको छ । यसबाट हामीले बुझ्नुपर्ने कुरा यो रहेको छ कि यस्ता परम्परागत प्रचलनहरु पूर्णरुपमा निषेध हुन समय लाग्छ तर यो असम्भव भने छैन ।
हाम्रो पुस्तासम्म आइपुग्दा पनि अभैm जातिय आधारमा मारिनुपर्ने, कुटिनुपर्ने, बहिष्कार गरिनुपर्ने, अपमानको तीतो झोल पिइरहनुपर्ने स्थिति यथावत रहनुले हाम्रो चेतनाको स्तर, सभ्यताको गरिबी प्रष्ट देखिन्छ । होइन, यी कथित माथिल्ला जातकालाई कसले बुझाइदिने–गोमांश भक्षण गर्ने, इसाई र ईश्लामधर्मी मुलुकमा छोराछोरी पढाएर, परधर्मीको करिया बसेर कमाएर पठाएको पैसाले यहाँ मोज गर्दै गौपूजन गर्ने, आफ्नै दाजुभाईलाई (कथित कामी, दमाई, सार्की आदि) छुवाछुतको व्यवहार गर्दा स्वर्ग पुगिँदैन ।
सम्पूर्ण जिवित वस्तु ईश्वरीय अंश हुन् भनी विश्वास गर्ने, त्यतिमात्र होइन ढुंगामा समेत ईश्वर देख्ने ब्राह्मण देवदेवी ! वरपीपल र तुलसीमा देउता भेट्ने क्षत्रीय वीरविराङ्गना हो ! हिन्दु संस्कृतिका विरुद्ध योजनाबद्ध आक्रमण भइरहेको कुरा बुझ ! साम्राज्यवादी शक्तिको ब्वाँसे नीति जान ! शत्रुले जहाँ कमजोर पक्ष देख्छ, त्यहीँ प्रहार गर्छ । हाम्रामा जातीय विभेद न पुलिसले हटाउन सक्छ न अदालतले । एनजिओ–आइएनजिओको भित्री उद्देश्य जातीय समानता कायम गरेर नेपालमा सभ्य, सुसंस्कृत र शान्त समाज निर्माण गरिदिनु होइन भन्ने कुरा बेलैमा बुझ ।
यो कुरीति हामी आफैले हटाउने हो, समाजले हटाउने हो । यो कलङ्क हामी मिलेर मात्रै धोइने–पखालिने हो । कुनै राजनैतिक वा प्रशासनिक निर्णयले मात्र यो सकिँदैन । यसले त उचित वातावरण तयार गरिदिने मात्र हो । त्यसैले ढिला नगरौँ । समयले कसैलाई पर्खदैन ।
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)