सुनार-प्रधान प्रकरणमा शर्मा

सुरुमै स्वीकार ! हाम्रो मस्तिष्कमा जातियता खाँदिएको छ

सुशीला शर्मा

भनिन्छ नि, तपाईको जिन्दगीमा केही पनि बदलाव आउने छैन, जबसम्म तपाई आफूलाई बदल्नु हुन्न ।

बदलिनु भनेको सकारात्मक र प्रगतिउन्मुख पाइला हो । सोचबाट नै मान्छेले आफूलाई परिवर्तन गर्ने गर्छन् । हामी नेपाली विविध सांस्कृतिक संरचनाहरुबाट पालित पोषित छौं । ती सामाजिक संस्कृतिहरु विभिन्न सम्प्रदायका पहिचान पनि बनेका छन् । हाम्रै समाजमा सयौं वर्षदेखि पीध तहमा रहेर, मान्छेबाटै हेपिएर चेपिएर रहेका दलित समुदायहरु पनि छन्, जसले उत्पीडनका सयौं हण्डरहरुलाई सहँदै खप्दै आएका थिए र छन् ।

हामी कथित उपल्लो जात भनिनेहरुले त भर्खर यो महसुस गर्दैछौं, ‘ओहो ! मान्छे मान्छेमा कस्तो विभेद ! कति छोइछिटो !’ तर, हामी कथित उपल्लो जात भनिने मानिस–मानिसमै विभेद छ, वर्गीय असमानता छ , गरिवी छ तर पनि यो दलितको सवाल भनेको मानवताको सवालमा बराबरी मान्छे हुन नपाएको एउटा समुदायको आन्दोलन हो जुन आन्दोलन अहिलेका यूवा पुस्ताले गर्दैछन् र हामी अब मान्छे मान्छेमा हुने विभेद सहन्नौ भन्ने हो । राज्यले नै दलितहरु सदियौंदेखि मारमा परेका छन् र उनीहरुको जीवनस्तर माथि उठाउन केही आरक्षणको व्यवस्था पनि गर्नुपर्र्छ भन्ने महसुस भईसकेपछि नै आएका आरक्षण र कोटालाई पनि एकथरीले कोटा छोड या दलित भन्न छोड भन्न पनि भ्याएका छन् । अहिले चर्चा गर्न लागेको विषय कुनै एक विभेदित भएको महसुस गरेर कानुनी उपचारमा गएकी रुपा र आरोपित सरस्वतीको कुरा मात्र होइन, समग्र हाम्रो जातवर्ण व्यवस्थाप्रतिको मानसिकता पनि हो ।

लेखक आहुतीले आफ्नो पुस्तक ‘जात वार्ता’ मा उल्लेख गरे अनुसार नेपालको वर्तमान संविधानमा छुवाछुत र भेदभावलाई सामाजिक अपराध माने पनि त्यसले छुवाछुत अनि भेदभावलाई अन्त्य गर्न गुणात्मक भूमिका खेल्न सक्दैन् । किनभने छुवाछुत भेदभावजस्ता घटना उत्पादन गरिरहने समग्र संरचना भने जारी नै रहेको हुन्छ । छुवाछुत, भेदभाव बिरोधी कानुन तब नै निष्पक्ष रुपमा लागु हुन सम्भव हुन्छ, जब सत्ता सञ्चालन गर्ने राजनीतिक पार्टीहरु, प्रशासन र न्यायीक क्षेत्र जात व्यवस्थाको उन्मुलन र दलित मुक्तिप्रति वैचारिक एवं साँस्कृतिक रुपमा प्रतिवद्ध रहन्छन् । कानुनले पनि एकाध पीडकलाई सामान्य सजाँयको कठघरामा ल्याएर सिङ्गो प्रवृतिलाई प्रोत्साहन गर्ने रवैया नै जारी रहन्छ ।

आहुतीको उल्लिखित तर्कलाई मान्ने हो भने पनि भर्खरै एक सञ्चारकर्मी युवतीलाई दलित भएकै आधारमा कोठा भाडामा दिन आनाकानी गर्ने घरवेटीलाई जातीय विभेदको घटनामा कानुनी रुपले कठघरामा त पुर्याइयो तर सरकारबाट मन्त्री नै उपस्थित भएर ती आरोपितलाई छुटाएर जीतको शैलीमा हात हल्लाउँदै लिएर गए ।

होलान् कतिपयका बहस र सोचाइ कि ती घरधनी महिला आफैंमा निर्णयकर्ता थिइनन् । उनको घरमा भाडामा दिने नदिने उनको स्वइच्छा । तर, अर्को दरिलो तर्कचाँहि के हो भने घर भाडामा दिनकै लागि, व्यवसायिक प्रयोजनले नै बनाईएको र दलित जात भएकै आधारमा उनले गरेको निर्णयचाँहि मानवता विरोधी र जातियताको पक्षपोषक थियो ।

यहाँ जातियताकै कारणले अपमानित भएकी युवतीलाई मान्ने कि उनकी आमा समान महिलालाई हिरासतमा पुर्याउने विद्रोही युवतीलाई मान्ने ? या सामाजिक सद्भाव खल्बलिएर विनावित्थामा हिरासतमा पुगेकी प्रौढ महिलाको पक्षमा बोल्ने यी विषयहरुमा होडबाजी नै चल्यो ।

एक्काइसौं शताब्दीमा पनि हामी र हाम्रो सामाजिक संरचनामा घुस्रेर बसेको जातीवादी, संकीर्ण सोचले एउटा मानवले अर्को मानवलाई सानो र ठूलो तथा अमानव सोचिरहन्छौं र त्यही अनुसार व्यवहार पनि गरिरहन्छौं भने हाम्रा प्रगति र सभ्यता कहिले फराकिलो हुने ? त्यसैले जात व्यवस्था विरोधी अभियानको रुपमा यस घटनालाई लियौं र सबैले आ आफ्नो समुदायमा हुने मान्छे मान्छेवीचको विभेदलाई ‘मम’ भनी महसुस गरेर हेर्यौ भने पनि जातीय विभेद व्यवस्था साँच्चै खराब रहेछ भन्ने अनुभूति हुनेछ ।

जातीय विभेदित हुनुका घाउहरु बोकेर बसिरहेका कयौं दलितहरु छन् । सचेत भएर आवाज उठाइरहेका र समान मानव हुन खोजिरहेकाहरुका आवाजहरु पनि यही सामाजिक संरचनाले दवाइएका छन् । त्यसैले हामी पनि अरु जस्तै उस्तै मान्छे हौं भन्ने महसुस गरिसकेपछि र संविधान र कानूनमा नै जातीय रुपले दुव्र्यवहार गर्ने या मानिसको आत्मसम्मानमा चोट पुर्याउँदा दण्ड सजाँयको उल्लेख भइसकेपछि पनि कथित उपल्लो र तल्लो भन्दै मान्छे मान्छेमा जातको खाडल बाँकी नै छन् ।

यिनै कानूनमा उल्लिखित कुरालाई टेकेर नै ती सञ्चारकर्मी युवतीले उजुरी गरेकी थिइन् । साँच्चै दलित भएकैले कोठा भाडामा दिन आनाकानी गरेको हो भने त सरासर यो जातीवादी भेदभाव भई नै हाल्यो । र, एउटा मान्छेलाई जातकै आधारमा कोठा भाडामा पाउन पनि मुस्किल हुँदा उनको मन कति दुख्छ होला ? तर मानिसहरुको विभाजन पनि दलितप्रतिको विभेदको सवाल नभई एक समुदायका जातीले अर्को समुदायका जातीलाई गाली गलौज र आक्षेपमा बिभाजित भएको छ ।

अलिकति ती घरवेटी महिलाको कुरा गर्दा यदि तिनले नबुझेर, कानून थाहा नपाएर, घरकाले के भन्छन् भन्ने भएरै दलित युवतीलाई कोठा भाडामा दिन अस्वीकार गरेको हो भने पनि अब उनले थाहा पाउनुपर्यो र घरकालाई पनि बुझाउनुपर्यो कि मान्छे जातले उँच नीच हुँदैनन् भनेर अनि सबै मानिसका शरीरभित्र बग्ने रगत रातो नै हुन्छ भनेर । (यो चाँहि हामी आफू त जात मान्दैनौ तर घरमा आमा बुवा, हजुरबा हजुरआमाको मन दुखाउन चाहन्नौ भनिरहेकालाई पनि मिल्छ) उनी र उनीजस्ता कथित उच्च जातकाहरु प्रशिक्षित हुनुपर्यो । प्रशिक्षित गराईनुपर्यो । हाम्रो संस्कृतिका केही अवशेषहरु यतिसम्म दिमागी रुपमा जकडिएको छ कि कोही दलित जाती भनेको सुन्ने वितिक्कै झस्किने र कसैलाई त दलितबाट छोईछाई भयो भने काम ज्वरो नै आउँछ भन्ने पनि सुनाउँछन् । यस्ता तर्कहरुले त ‘पीडकहरु’ नै कति मानसिक रोगी पनि भईसके भन्ने लाग्छ ।

लाग्दैन कि दलितलाई कोठा दिन अस्वीकार गर्ने महिला र उनको परिवार यतिसम्म निरक्षर र नासमझ छन् भनेर । शिक्षा मन्त्री आफैं हिरासतमा गएर उनलाई छुटाएका छन् । यो पहूँचकै कुरा हो ।

दलित भनेका सदियौंदेखि दलनमा परेका समुदाय हुन् । धर्मशास्त्र अनि विभिन्न हिन्दु राज्य सञ्चालकहरुले पछ्याएका तिनै धार्मिक ग्रन्थका कानुनलाई निरन्तरता दिदै आजको दिनसम्म पनि हेलिएका, विभेदित भएका । दलित कुनै अर्को ग्रहबाट उपस्थित भएका मानव होइनन् । जति कथित उच्च मानिएका मान्छे जातीका मान्छे हुनुको आफ्नै गौरव र समाजमा भूमिका छ, त्यति नै दलितहरुको पनि मूल्य र योगदान छ । दलित एउटा आवाज हो र समाजमा विभेद रहँदासम्म आवाज पनि रहि नै रहन्छ । र, नयाँ पुस्ताले त यी आवाजहरुलाई अझ बुलन्द बनाई नै रहनेछन् ।

समान मान्छे हुन पाउने अधिकारको आवाजलाई जातीय द्धन्दमा लगेर नजोडी हेर्यौ भने सञ्चारकर्मी युवती रुपाले उठाएका मुद्धा पक्कै गलत लाग्ने छैनन् । कम्तिमा पनि सचेत मानिसले अर्को मानिसप्रति छुवाछुत र दोश्रो दर्जाको मान्छे भनेर सोच्न सक्दैन् । जात बनाउने र जातभित्र पनि उत्पिडित र दलित बनाउने पनि मानिस नै हुन् । त्यसैले मान्छेले बनाएका अमानवीय दलन र विभेदलाई मान्छेले नै हटाउनु पर्दैन् ? आफू आफूमै प्रश्न गरी हेरौ त । विष वृक्षमा फलेका मीठा फल खाएर रमाइरहने कि त्यस्ता वृक्षहरुलाई हटाएर सबै मानवले समान रुपले फल खान मिल्ने अमृत वृक्षहरुको रोपण गर्ने ? खाँचो छ, नयाँ बहसको अनि मानवता, समानता र न्यायको ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

One Comment

  1. हिन्दुमा बाहेक अरूमा यस्ता सोच संस्कृति र व्यबहार छैनन र !फेरि सबै हिन्दु उस्तै छन र ! यो लेख किन हिन्दु माथि मात्रै खनिएकेा ! मान्छेको जातै आफू भन्दा निर्धालाई हेप्ने र पेल्ने हो !जबसम्म पद्धतिको बिकास हुदैन केही सुधार सम्भब छैन,जस्को लागि नेतृत्व बर्गले उदाहरणिय भूमिका खेल्न सक्नु पर्छ !के यसमा पनि प्रश्न चिन्ह लागेको छैन र ! त्यस्कारण “आफू भला तो सब भला” भनौ न पद र शक्ति छ भन्दैमा जो कोहिले अरुलाई घंटाै सम्म रोकेर, पर्खाएर र पन्छाएर साइरन बजौदै बाटोमा उ बाहेक अरु कोहि छैनन भने जस्तो गरेर अगाडि बढन मिल्छ र ! के देसमा कर तिर्ने सबै नागरिक समान र बराबर हुदैनन र !हो ,यस्ता कुराहरुको जाती,धर्म, क्षेत्र भन्दा माथि उठेर बहस गराै ,प्रोत्साहन हैन ,पद्धतिको बिकास गरौ

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button