द्धन्द होस् या शान्ति, यौनहिंसा जहिल्यै हिंसा

डायरी ८
सुशीला शर्मा

जून १९, २०१५, मा संयुक्त राष्ट्रसंघको साधारणसभाले प्रत्येक वर्ष जून १९ तारिखका दिन द्धन्दमा हुने यौन हिंसाको उन्मुलनका लागि अन्तरराष्ट्रिय दिवस मनाउने घोषणा गरेको हो । यस घोषणाको उद्देश्य द्धन्दसँग सम्बन्धित यौन हिंसाको अन्त्य गर्नु हो । साथै संसारका यौनहिंसा पीडित, प्रभावित र साहसका साथ यौन हिंसा बिरुद्ध लडेका योद्धा तथा जीवन गुमाएकाहरुका सम्मानको खातिर पनि यो दिवस मनाउन थालिएको हो ।

नेपालमा पनि दशवर्षे जनयुद्धका अवधिमा सैनिक पक्षबाट र द्धन्दरत पक्षबाट पनि थुप्रै महिलाहरु विभत्स यौन हिंसामा परेका घटना बाहिर आए । मानव अधिकारवादी संस्थाहरुले ती घटनाहरुबारे अध्ययन अनुसन्धान पनि गरे । सामाजिक कलंक र दाग लाग्ने भयका कारण कतिपय हिंसा त अभिव्यक्त नै भएनन् । ससस्त्र द्धन्दमा हुने यौनजन्य हिंसा जस्तै बलात्कार, शारीरिक यातनालाई हातहतियारको बलले दबाईन्छ र जुन विगतमा पनि दबाईको थियो ।

यौन हिंसामा परेका व्यक्तिहरुको दीर्घकालिन मानसिक, शारीरिक स्वास्थ्यमा असर पर्नुका साथै उनीहरुका सामाजिक र आर्थिक जीवन पनि कमजोर हुन्छ । अझै पनि द्धन्दका बेलामा हिंसामा परेका महिलाहरु मौनता र डरमा बाँचिरहेका छन् । यस्ता हिंसा पीडित र प्रभावित महिलाहरुलाई मनोसामाजिक तथा स्वास्थ्य सेवाको खाँचो रहेको औंल्याउँछन् सम्बन्धित अधिकारकर्मीहरु । हुन त देशमा शान्ति पुनस्र्थापना भईसकेपछि राजनैतिक पार्टीहरु र सरकारले हिंसामा परेका पीडित र प्रभावितको उचित पुनस्र्थापना,व्यवस्थापन गर्ने पीडकलाई कार्वाही गर्ने प्रतिवद्धता नगरेका पनि होइनन् । तर अझै पनि हाम्रो समाजमा विभिन्न नामका द्धन्द र ती द्धन्दमा विशेष गरेर महिला तथा किशोरीहरु बलात्कारजन्य हिंसाको चपेटामा पर्ने क्रम घट्नुको सट्टा बढिरहेकै छन् ।

परिवारमै बाबुले छोरीको बलात्कार गरेर हत्या गरेको घटना त हामीले दुईतीन दिन अघिमात्र सुन्यौ । आजकल त यौन हिंसा त रेप कल्चर नै भएको छ । चाहे त्यो द्धन्दको अवस्थामा होस या अरु सामान्य समयमा । महिलाहरु,बालिकाहरु सबभन्दा बढी यौन हिंसाको शिकार भएका छन् ।

यौन हिंसा पुरुषले महिलालाई,पुरुषले पुरुषलाई र महिलाले पनि पुरुष या महिलालाई नै पनि गर्न सक्छन् । संसारभरीको घटनाहरु हेर्ने हो भने चाँहि पुरुषले महिलामाथि गरेका यौन हिंसा नै बढी छन् । पुरुषले महिला या बालिकालाई गर्ने यौन हिसाको सामाजिक संरचनात्मक पाटोहरु छन् । ती पाटो भनेका पुरुष प्रधान समाज ,लैङ्गिकताको सामाजिक अवधारणा, जातीय छुवाछुत,विभेद र धर्म,संस्कृतिको पाटो एउटा भयो । फेरि त्यही समाजमा बस्ने समुदायका व्यक्तिहरुको मनोबैज्ञानिक र मनोसामाजिक पाटोले पनि प्रमुख भूमिका खेलिरहेको हुन्छ । यी विभिन्न मनोवैज्ञानिक पाटोलाई पनि नजरअन्दाज गर्न मिल्दैन । यस्ता खालका अपराधहरुमा द्धन्दमा बदलाको भावले या आफ्ना आपराधिक यौन अभिष्ट पूरा गर्न पनि यौनजन्य हिंसा गर्ने गर्दछन् ।

यसरी समाजमा दिनदिनै घटिरहेका बलात्कार र हत्याजस्ता जघन्य अपराधहरुले परिवार र समाज नै शोकमा डुविराखेको हुन्छ । कतिपय अवस्थामा शक्तिशालीहरुको पहूँचमा परेको अपराधी लगभग उसले अपराध गरेको भन्ने थाहा भइसक्दा पनि राजनैतिक शक्रिदेखि लिएर एक तप्का नै त्यो अपराध जोगाउनतिर लागेका घटनाहरु थुप्रै छन् हाम्रो समाजमा ।

गरिबी, अभाव, अचेतना त समाजमा व्याप्त छँदै नै छ, त्यसमाथि पनि हाम्रा शक्तिकेन्द्रमा भएका ठूला मानिएका व्यक्तित्वहरुका समाजलाई हेर्ने दृष्टिकोण, अपराधी बचाउने मानसिकता हेर्दा समाजमा घट्ने यस्ता घटना अझै कति घटिरहने हुन झैं लाग्छ ।

पहिला समाजलाई समानता र समताको आधारमा विकास गर्नुपर्यो । जातीय विभेद, लैङ्गिक विभेद, चरम गरिवी, पछौटेपनलाई सम्बोधन हुने खालका विधि र व्यवस्था हुनुपर्यो । बल्ल समाजका सिमान्त वर्ग पनि चल्मलाउन पाउने र उनीहरुले पनि पढ्ने लेख्ने, सचेत हुने, सही गलत छुट्याउन सक्ने हुन सक्छन् । शिक्षा र रोजगार भएपछि बल्ल आफूमाथिको अन्यायबारे सोच्ने र त्यसको विरुद्धमा सर्वसाधारण पनि बोल्न सक्ने हुन्छन् । सबै पीडितहरुले पीडकको विरुद्ध बदलाको भावना राखेर अघि बढ्न पनि सक्दैनन् ।

भारतकी फुलनदेवीले आफूलाई गरिएको यौन दूव्र्यवहारको बदला २२ जना राजपूतको हत्या गरेर लिएको घटना त हामीले पढेकै हो तर यस्ता बदलाले फेरि कालान्तरसम्म पनि बदला नै निम्त्याउँदो रहेछ भन्ने कुरा पनि फुलनदेवी एउटा सहज जीवन बाँच्ने क्रममै फेरि तिनै राजपुतकै समुदायबाटै उनी मारिइन् । त्यसैले बलात्कार, हत्याजस्ता घटनाविरुद्ध, सबै समुदाय, संगठन, महिला, पुरुष सबै मिलेरै अगाडि बढ्नुपर्ने हुन्छ । यसका सामाजिक संरचनाको जरो किलो पनि पत्ता लगाउनुपर्ने हुन्छ ।

नेतृत्व तह समाजको कुरीति, अपराधका कारक पत्ता लगाउन लागेको देखिदैन् । बहस भने बलात्कारीलाई फाँसी दिने पनि हुने गरेका छन् । नेपाल सरकारले बलात्कारका घटना मिलाउनेलाई पनि कैद सजाँयको प्रावधान तय गरेको छ । तर अठार वर्षमाथिका व्यक्तिलाई बलात्कार गरेमा कम सजाँयको व्यवस्थाले फेरि प्रश्न खडा गरेको छ । बलात्कार आखिर बलात्कारै भएकोले यसमा जुनसुकै उमेर समूहकालाई अधिकतम सजाँय हुनुपर्ने देखिन्छ ।

यस द्धन्दमा हुने यौन हिंसाको उन्मुलनका लागि अन्तरराष्ट्रिय दिवसको दिन मात्र होइन, यौनजन्य हिंसाको सधैं बिरोध गरौं र अपराधीलाई कार्वाही गर्न दवाव दिऔं । हिंसाविरुद्ध आवाज बुलन्द गरौं । महिलाहरु सचेत बर्नौ र किशोरी तथा बालिकालाई सचेत बनाऔं । सुरक्षा गरौं ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button