‘नमरी बाँचे, कालले साँचे धेरै थोक सुन्न, हेर्न र खान पाइन्छ’

प्रकाशप्रसाद उपाध्याय

‘नमरी बाँचे, कालले साँचे धेरै थोक सुन्न, हेर्न र खान पाइन्छ बाबु । यसैले धीरज राख्ने गर, सन्तोष गर्ने गर’ भन्ने गर्नुहुन्थ्यो आमा । काँचो उमेरमा आमाका यी कुराहरूको अर्थ बुझ्दिनथेँ । तर आज, जब केशहरू सेताम्मे भैसके र सोच्न प्रशस्त समय छ, अनि विगतका अनेक कुराहरू सम्झिने र वर्तमानका विभिन्न घटनाहरूमाथि सोच्ने गरिन्छ ।

देशको वर्तमान स्थिति, महामारीका क्षण र घरभित्र खुम्चिएर बस्नुपर्ने वाध्यताको बेलामा आमाका कुराहरूको पनि सम्झना हुन्छ । यस्तो दिन पनि आउला, यस्तो महामारी पनि फैलिएला, जीवन यति अस्तव्यस्त होला, पारिवारिक दायित्वको परिपूर्ति, धार्मिक कृत्यहरूको परिपालन र चाडपर्व एवम् बिहेबारीका अवसरहरूमा सामाजिक भेटघाटमा यसरी वाधा उत्पन्न होला, भन्ने कुरा के सन् २०२० को पहिलो वा दोस्रो दिनमा कसैले चिताएको थियो ?

बिसौँ शताब्दीको अन्त्यसम्म हामीले टीबी, हैजा, प्लेग, बिफर वा एचआइभी एड्स जस्ता रोगहरूको सम्बन्धमा मात्रै सुन्ने गरेका थियौँ । तर एक्काइसौं शताब्दीका यी वर्षहरूमा कोरोनाको महामारीले मानवजातिसामु अस्तित्वको प्रश्न खडा गरेको पाउँदा, नमरि बाँचे, कालले साँचे धेरै थोक सुन्न, हेर्न र खान पाइन्छ बाबु, यसैले सन्तोष गर्ने गर, भन्ने आमाका कुराहरूले यथार्थता पाइरहेको अनुभव हुन्छ । मानिसमा असन्तोष र धैर्यताको अभावले कस्तो भयावह रूप लिँदो रहेछ र देशको दशा र दिशासमेत कसरी बिगार्र्ने काम गर्दोरहेछ भन्ने कुरा पनि छर्लंग भइरहेछ ।
सधै हुने सूर्योदय र सूर्यास्तले समयचक्र गतिशील रहेको संकेत दिए पनि वरिपरिका घटनाहरूले सन्त कबिर दासको एउटा दोहाको पंक्ति – ‘सब दिन नही होत एकसमाना’ को स्मरण गराइरहेछ ।

जीवनको गतिशीलतालाई सीमित पारेको पाउँदा मन खिन्न हुन्छ । एकातिर महामारीको भयावह वातावरण र यस्तो स्थितिमा पनि विभिन्न किसिमका षडयन्त्र र अनियमितताका घटना, अर्कोतिर बर्डफ्लु, चक्रवात, हुरी र वर्षाले सबैसामु ज्यानमाल जोगाउने चिन्ता उत्पन्न गरिरहेको पाउँदा मनमा प्रश्न उठ्दछ– के प्रलय हुन थालेको संकेत त होइनन् यी सबै कुरा ? वा प्रलयको स्थिति अर्कै हुन्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button