जरोकिलोको ‘जरो’ कुरा

रोमादेवी निरौला
सचिव, १ नं प्रदेश, मौलिक जरोकिलो पार्टी ।

आउनुहोस्, आज देशको बारेमा केही चर्चा गरौं ।

सर्वप्रथम मलाई देशको बारेमा सोच्ने आत्मज्ञान र मार्गनिर्देशन गर्नु हुने आदरणीय युगद्रष्टा गुरुदेवप्रति शतशत नमन गर्दै आफ्ना विचारहरु सम्प्रेषण गर्ने अनुमति चाहन्छु ।

आदरणीय आमा बुबा, दाजुभाई तथा दिदी बहिनीहरु ।

हामीले देख्दै र भोग्दै आइरहेका छौं कि बिगत लामो समयदेखि यो देशको राजनीतिक अवस्था दिनहुँ खस्किदै गइरहेको छ । शासनसत्तामा हालीमुहाली गर्ने कपुतन्त्रे पार्टी भनाउँदाहरुले राजनीतिक, सामाजिक, आर्थिक, धार्मिक, शैक्षिक आदि परिवेशहरुलाई विग्रह र विद्वेषको अवस्थामा पुर्याइरहेका छन् । जनइच्छाको नाम दिदैं यिनीहरु व्यक्तिगत स्वार्थमा लिप्त भएको तथ्य हामीबाट छिपेको छैन ।

यो सन्दर्भमा अब हामीसँग दुइवटा बाटाहरु छन् । एउटा जस्तो हुन्छ, त्यसैलाई सहेर बस्ने हो भने अर्को विदेशी प्रतिमानका नाइके पार्टीहरुलाई शासनसत्ताबाट उखेलेर फाल्ने र मौलिकताका पक्षधरहरुलाई शासनसत्तामा स्थापित गर्दै नेपालको गौरव, मौलिकता, विशेषता र सभ्यतालाई पुनर्स्थापित गर्ने ।

स्मरण रहोस्, मौलिकताको पुनर्जागरण गर्दै नेपाललाई विश्वको केन्द्र बनाउने उद्देश्य बोकेर मौलिक जरोकिलो पार्टी तपाईं हामी माझ आइ सकेको छ । समाजमा विग्रह, कित्ताकाट, घृणा र विभाजन ल्याउदै आफ्नो अभिष्ट पुरा गर्ने, विदेशीलाई नागरिकता वेच्ने, विदेशी प्रतिमानको आधारमा देश सञ्चालन गर्ने र विदेशी प्रभूहरुको आदेशमा देशलाई रसातलमा पुर्याउने यी भूइंफुट्टा पार्टीहरुको नाम इतिहासमा सिमित गर्न सकेनौं भने निश्चय नै हाम्रो गौरवको अन्त्य नजिकिदै छ ।

अव युवा नेता आदरणीय सुशिल गौतमज्यूको विशिष्ट नेत्तृत्वमा स्थापित मौलिक जरोकिलो पार्टीले अंगीकार गरेका शासकिय स्वरुप, नागरिकता नीति र धर्मसँग सम्बन्धित विषयहरुमा सामान्य जानकारी राख्ने अनुमति चाहन्छु ।

धार्मिक आस्थालाई शासकीय व्यवस्थाभित्र मात्र सीमित गर्नु सान्दर्भिक हुदैन तसर्थ मौलिक जरोकिलो पार्टीले अहिले बहाल रहेको संविधानमा लेखिएको ‘धर्मनिरपेक्षता तथा समाजवाद उन्मुख’ जस्ता कुराहरु हटाउनेछ ।

दोश्रो, संविधानको प्रस्तावना, राज्यका निर्देशक सिद्धान्त र मौलिक हक खण्डहरूमा नेपालका मौलिक रैथाने धर्महरू वैदिक सनातन हिन्दू, बौद्ध, किराती, बोन, जैन आदिको स्पष्ट उल्लेख गर्दै नेपाल उद्गमभूमि भएका धर्महरुको गौरव र विशेषता कायम गर्नेछ ।

तेस्रो संवैधानिक रूपमै वैदिक सनातन हिन्दू, बौद्ध, किराती, बोन, जैन आदि धर्महरूलाई नेपालको राष्ट्रिय पहिचानका आधार मान्दै यिनीहरूको संरक्षण, संवर्धन एवं प्रवर्धन गर्नु राज्यको जिम्मेवारी बनाइनेछ ।

यो सुन्नासाथ पढ्नासाथ कतिपय व्यक्ति र गुटहरुले यसमा शासकीय व्यवस्था गणतन्त्र कि राजतन्त्र कि संवैधानिक राजसंस्था कि सांस्कृतिक राजसंस्था कि अन्य के हो किन उल्लेख नगरेको भनेर प्रश्न गरेका छन् । यसमा केही तथ्यहरु स्पष्ट पार्न चाहन्छु ।

धार्मिक पहिचानको सवाल सांस्कृतिक अधिकारभित्र पर्छ र शासकीय व्यवस्था रोज्ने कुरा नागरिक तथा राजनीतिक अधिकारभित्र पर्छ । मौलिक जरोकिलो पार्टीले सांस्कृतिक अधिकार र नागरिक तथा राजनीतिक अधिकारलाई घालमेल नगरी पृथक रूपमा व्याख्या गरेको छ ।

हाम्रो पार्टीले राजनीतिक रुपमा मार्गनिर्देशक मानेको युगद्रष्टा गुरुदेवबाट अभिनिर्मित राज्यराष्ट्र सिद्धान्तको मूल चार वटा बुँदाहरुमध्येको चौथो बुँदामा स्पष्ट लेखिएको छ कि सांस्कृतिक अधिकार र नागरिक तथा राजनीतिक अधिकारको घालमेल गरिने छैन । सांस्कृतिक अधिकारको समाधान देशको इतिहास, संस्कृति, सभ्यताको आधारमा गर्ने हो । यसमा जनमत संग्रह गर्ने वा कुनै राजनीतिक मुद्दाबाट निर्णय हुने होइन । थप विश्लेषणको लागि राज्यराष्ट्र पुस्तकको तेस्रो संस्करण पढ्नु हुन अनुरोध गर्दछु । राज्यराष्ट्र सिद्धान्त अनुसार हामी राजनीतिक शक्ति हुनासाथ सोझै संविधानको प्रस्तावना, राज्यका निर्देशक सिद्धान्त र मौलिक हक खण्डहरूमा नेपालका मौलिक रैथाने धर्महरू वैदिक सनातन हिन्दू, बौद्ध, किराती, बोन, जैन आदिको स्पष्ट उल्लेख गर्ने हो । ‘सङ्घीय हिन्दू गणतन्त्र नेपाल’ भनेको वैचारिक जाल मात्र हो र त्यो नेपालको लागि उपयुक्त होइन । ‘सङ्घीय हिन्दू गणतन्त्र नेपाल’ भन्दा सांस्कृतिक र राजनीतिक घालमेल भई असम्मेयता दोष हुन्छ र राज्यराष्ट्र सिद्धान्तको विपरित हुन्छ । हामी नेपालका मौलिक रैथाने धर्महरू वैदिक सनातन हिन्दू, बौद्ध, किराती, बोन, जैन आदि मौलिक रैथाने धार्मिक पहिचानको स्पष्ट उल्लेख गर्ने पक्षमा छौँ, जुन पहिचानले नेपालको बृहत्तर धार्मिक समन्वय गर्छ भन्ने तथ्य स्पष्ट गर्न चाहन्छु ।

धार्मिक पहिचानको विचार विमर्श गर्दा शासकीय व्यवस्थाको उल्लेख गर्नु आवश्यक छैन, त्यो अर्कै प्रसंग हो । धर्मलाई शासकीय व्यवस्थाभित्र सीमित गर्नु त धर्मको महत्ता कमजोर गराउने वैचारिक जाल हो जुन अहिलेका विदेशीका पृष्ठपोषक कपुतन्त्रे पार्टीहरुले गरिरहेका छन् । धर्म नित्य छ, सर्वव्यापी छ, सर्वकालीन छ । धार्मिक पहिचानलाई सांस्कृतिक अधिकारको पद्धतिबाट सम्बोधन गर्ने हो । अर्कोतिर, शासकीय व्यवस्था राजनीतिक प्रश्न भएको हुनाले जनताको अभिमतबाट त्यसलाई समाधान गर्ने हो । जनताको अभिमत कि आन्दोलनबाट, कि त मतदानबाट अभिव्यक्त हुन्छ । हामीले आन्दोलनको बाटो नलिएर शासकीय व्यवस्थालाई नागरिकको मतदानबाट टुंग्याउने नीति लिएको कुरा पनि म निवेदन गर्न चाहन्छु ।

त्यसै गरी मौलिक जरोकिलो पार्टीले राष्ट्रिय आवश्यकता अनुसारको स्पष्ट राजनीतिक निर्णय पनि लिएको छ जुन म यहाँ राख्न गइरहेकी छु ।

(१) नेपालमा प्रत्यक्ष निर्वाचित प्रमुख कार्यकारी हुनुपर्छ ।

(२) कानुन निर्माण अर्थात् विधायनका लागि निर्वाचित सांसदहरु मन्त्री बन्न नपाउने कानुनी प्रावधान बनाउनु पर्छ । सांसदलाई सांसद विकास कोष वा अन्य कुनै बहानामा राज्य कोषबाट करोडौँ रकम दिइने प्रावधान पनि बन्द गर्नु पर्छ । सांसदहरु कानुन निर्माण र सुशासनको निगरानीमै केन्द्रित हुनुपर्छ ।

(३) नेपालको मन्त्री परिषद् संघीय सरकारमा ९ देखि ११ जनासम्मको मात्र र प्रदेशमा ५ जनासम्मको मात्र हुनु पर्छ ।

संसदमा सांसदहरुको संख्या निकै घटाउनु पर्छ र नेपालको भूगोल एवं जनसंख्या सुहाउँदो उपयुक्त संख्या निर्धारण गर्नु पर्छ ।

यसै गरि कपुतन्त्रे पार्टीहरुले नागरिकताको सवालमा लिएको द्वैध चरित्रले हामी आफ्नै देशमा शरणार्थीमा परिणत हुंदैछौं ।मौलिक जरोकिलो पार्टीले निर्माण गरेको नागरिकता नीतिले विद्यमान नागरिकता झमेलाको दीर्घकालीन समस्या समाधान गर्ने छ । जनसंख्या र भुगोलमा भीमकाय आकार भएका दुई छिमेकी राष्ट्रहरूका विचमा रहेको यस्तो उदार र बेलगाम नागरिकता ऐनले नेपालको दीर्घकालीन सार्वभौम सत्ताको रक्षा गर्न सक्दैन ।

दशकौंको अध्ययनबाट मौलिक जरोकिलो पार्टीले नेपाली नागरिकता नीति तय गर्दा यी चार किसिमका प्रमाणपत्र दिने व्यवस्था गर्न सकिन्छ भन्ने निश्कर्ष निकालेको छ।

१. राष्ट्रिय परिचयपत्र: बच्चा जन्मिएर जन्मदर्ता गरे लगत्तै व्यक्तिको परिचय दिने किसिमको परिचयपत्रको व्यवस्था गर्ने ।

२. बसोबास अनुमतिपत्र: हाल नेपालको सरहदमा बसिरहेकालाई कि नागरिकता दिने कि नदिने भनेर जम्मा दुइटा विकल्प छ । यसको समाधान बसोबास अनुमतिपत्र हुनसक्छ ।

३. नेपालीमूल परिचयपत्र: नेपालको नभई अन्य मुलुकको नागरिकता लिएर उतै बसोबास गरिरहेका तर नेपाललाई आफ्नो थलो मान्नेलाई नेपालीमूल परिचयपत्र दिन सकिन्छ ।

४. नागरिकताको प्रमाणपत्र

कपु तन्त्रका जुनसुकै पात्र र पार्टी सत्तामा पुगे पनि, हामी नेपालीले भोग्ने नियति त यही र यस्तै हो । नागरिकता नीति बारे थप सत्संग गर्न जरोकिलो अभियन्ता तथा मौलिक जरोकिलो पार्टीका अभियन्ताहरु तयार छौँ। आउनुहोस् नेपाल राष्ट्र निर्माण, नेपाली समाज परिवर्तन तथा प्रवर्तन गर्ने दीर्घकालीन लक्ष्य सम्पन्न गर्न संघ शक्ति निर्माण गर्दै स्वकृयात्मक रुपमा अग्रणी बनौं भन्ने अपिल गर्न चाहन्छु । नेपाली समाज परिवर्तन तथा प्रवर्तन गर्ने दीर्घकालीन लक्ष्य सम्पन्न गर्न संघ शक्ति निर्माण गर्दै स्वकृयात्मक रुपमा अग्रणी बनौं भन्ने अपिल गर्न चाहन्छु ।

अव छोटकरी रुपमा संघियताको कुरा गरौं । मौलिक जरोकिलो पार्टी मौलिक संघियताको पक्षधर रहंदै आएको छ । संघियताको सवालमा विदेशी प्रतिमानलाई आधार मानेर हाल नेपालमा प्रयोग गरिएको जातिय संघियता प्रति मौलिक जरोकिलो पार्टीको घोर आपत्ति रहेको छ । हाम्रो मौलिक मान्यता बमोजिम नदी प्रस्रवण क्षेत्रको आधारमा हिमाल, पहाड, तराईलाई समावेश गर्दै साधन-स्रोतको उपलव्धतालाई विचार गरेर खर्च कम र काम धेरै हुने गरि संघियताको निर्माण गरिनेछ ।

अन्त्यमा, नेपाललाई पराधिन बनाउने सोचलाई परित्याग गरौं । समयक्रममा भौतिक वा स्थूल तहमा मलिनता, दीनता आयो होला तर सूक्ष्म, कारण, महाकारण र शुद्ध चैतन्यमा नेपाल आज पनि विश्वको केन्द्र हो भन्ने युगद्रष्टा डा • निर्मलमणि अधिकारीज्यूको दिव्यवाणीलाई स्मरण गर्दै पुन: नेपाललाई विश्वको केन्द्र बनाउने महाअभियानमा एकजुट बनौं भन्ने अनुरोध गर्न चाहन्छु ।

(कविता, कथा, लघुकथा, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button