
अब नँया पार्टी, नयाँ नेता
विचार
पारस घिमिरे
अहिलेका फ्रान्सका राष्ट्रपति इमानुवल म्याक्रो तत्कालीन राष्ट्रपति फ्रान्किओउस होलान्का आर्थिक सल्लाहकार थिए । उनी कुनै राजनीतिज्ञ थिएनन् । तर, उनले सन् २०१७ को चुनावअगाडि मात्र पार्टी खोले र चुनावमा भाग लिए । परम्परागत फ्रान्सेली पार्टी र तिनका नाम चलेका नेताभन्दा उनलाई फ्रान्सेली जनताले विश्वास गरेर मतदान गरे । फलस्वरूप युवा म्याक्रो अत्याधिक मतसहित त्यहाँको राष्ट्रपति बने । उनले अहिले राम्रै तरिकाले भुमिका निभाइरहेका छन्, राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तरमा । सायद पराम्परागत राजनीतिज्ञ भएको भए त्यो नहुन सक्थ्यो ।
दक्षिण एसियाली राष्ट्र पाकिस्तान प्रधानमन्त्री इम्रान खान पनि परम्परागत राजनीतिज्ञ थिएनन् । क्रिकेट खेलाडी थिए । पछि राजनीतिक दल खोले र चुनाव मा भाग लिए । पाकिस्तानी जनताले उनलाई पनि अत्यधिक मतले जिताए । कोरोना महमारिमा उनले पनि राम्रै भुमिका निर्वाह गरेको समाचार सुन्नमा आइरहेको छ । हाम्रोमा चाहि निश्चित राजनीतिक दलहरुको मात्र हालीमुहाली रहिआएको छ । एकपटक एउटा दलले जित्छ, अर्कोपटक अर्को दलले, जुन राजनीतिक दलले जिते पनि परिणाम खासै फरक आउदैन । हाम्रोमा राजनीतिक परिवर्तन नभएका होइनन् । भएका छन् । तर जति परिवर्तन भए पनि सत्तामा एकै किसिमको प्रवृत्ति देखिइरहनु विडम्बनापूर्ण छ ।
हामीले राजतन्त्र अन्त्य गरेर गणतन्त्र स्थापना गरेको भन्दै गर्व गर्छौं । सहि पनि होला तर यत्रो उपलब्धीपछि पनि राजनीतिक दलहरुको प्रवृत्तिमा परिवर्तन नहुनुचाहि गम्भीर विषय हो । २०६२,६३ को आन्दोलनपछि हामीले ३ पटक निर्वाचनमा भाग लियौं । र, अब निकट भबिष्यमा अर्को निर्वाचन हुनेवाला छ । हामीले अहिलेका सबै राजनितीक नुहारलाई हेरिसक्यौं । कसैले खासै राम्रो काम गरेको रेकर्ड छैन । पछिल्लो निर्वाचनमा केहि नयाँ दलहरु नआएका होइनन् तर हामी मतदाताहरुले तिनीहरुलाई विश्वास गर्नै सकेनौं । हामीले यसैगरी नयाँ दलहरुलार्इ विश्वास नगर्ने र तिनै निश्चिति दलका निश्चित अनुहारलाई निरन्तर जिम्मेवारी दिइरहने हो भने कागजमा त परिवर्तन होला तर वास्तविक परिवर्तन हुन मुस्किल छ ।
देश कोरोना कहरको कहालीलाग्दो अवस्थामा रहेको बेलामा राजनीतिक दलहरु भने सत्ताको जोडघटाउमा मात्रै केन्द्रित छन् । चाहे सत्ता पक्ष होस् या विपक्ष, महामारी कसरी नियन्त्रण गर्ने, महामारिको कारण भएको बन्दाबन्दीले लाखौं बेरोजगार बनेका छन्, उनीहरुको दैनिक गुजारा गाह्रो बन्दैछ, अक्सिजन र अस्पतालमा बेड नपाएर कयौंले जीवन गसमाएका छन् तर पनि सरकार गम्भीर देखिदैन, न त अन्य राजनितीक दलहरु । यो एक पटक मात्र होइन, दोहोरिरहेको छ । यसमा हामी जनता गम्भीर बन्नैपर्छ । हामीले कुनै एउटा दलको जन्मदेखि मृत्युपर्यन्त पक्षपोषण गर्नुभन्दा गुण र दोषको आधारमा समर्थन र विरोध गर्ने र त्यसको आधारमा पुरस्कृत र दण्डित गर्दै नयाँ दललाई पनि विश्वास गर्दै जानुपर्छ ।
होइन भने, अहिलेको स्थिति हाम्रो नियति बनिरहन्छ ।
(तपाईं पनि आफ्ना कविता, कथा, लघुकथा, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)