डोरबहादुरले लेखे नेपालआमाको आत्मकथा
व्यक्तिगत विचार
डोरबहादुर केसी
मेरा सन्तानप्रति मलाई सधै उच्च श्रदाभाव जाग्ने गर्दथ्यो । किनभने, मेरा सन्तान राणाकालीन निरङकुशताबिरुद्ध लडे । मेरा सन्तान पञ्चायतकालिन हुकुमी शासनबिरुद्ध लडे । देशमा बहुदलीय शासन ब्यवस्था स्थापित गर्न सफल भए । राजतन्त्रको अन्त गर्दै देशमा गणतन्त्र स्थापित गर्न सफल रहे ।
मेरा धेरै सन्तानमध्ये पहिलो पुस्ता परिवर्तनबाट धेरै खुशी भएको थियो । हामी सबै मिलेर धेरै खुसियाली मनायौं । मेरा सन्तानको यो खुसीमा म नरमाउने कुरै थिएन । म पनि मेरा सन्तानको खुसी सँगसँगै निकै रमाएँ । लामो समयसम्म खरको झुप्रोमा बसेर गुजारा चलाएका हामी अब सुन्दर महलको परिकल्पनामा रमायौं । मिलीजुली एउटा खुसीमा मेरा पहिलो पुस्ताको चाहना अनुसारको एउटा राम्रै घर बनायौं । तामझामका साथ नयाँ घरमा सर्यौ पनि ।
मेरो दोस्रो पुस्ताको सन्तान मेरा काखमा हुर्किरहेको थियो । यसरी हामी नयाँ घर बनाएर सर्दा पनि मेरो पछिल्लो सन्तान कता कता मेरो काखमा रमाउन नसकेको मलाई अनुभव हुन थाल्यो । हामीले घर बनाउँदा सायद त्यो मेरो पछिल्लो काखको सन्तानलाई पनि ख्याल गर्न सकेनौं कि भन्ने मलाई महशुस चाहिं भइरहेको थियो । समय निरन्तर अगाडि बढ्दै थियो । मेरो उमेर पनि घरकदै गइरहेको र मेरा सन्तानहरु पनि समयक्रममा ठूलाठूला हुदै गइरहेकोले घरको घर व्यवहार पनि उनीहरु चलाउदै आइरहेका थिए । विस्तारै मेरो काखको सन्तान पनि अब लक्का जवान भइसकेको थियो । उसले यस घरमा आफु हुनुको अर्थ खोजिरहेको जस्तो लाग्थ्यो । पहिला पुस्ताले घर ब्यबहार चलाउँदा अपनाएको व्यबहार उसलाई पटक्कै मन परेको थिएन । मेरा अग्रजहरुले सबैलाई समेटेर लान सकेनन् । मलाई पनि यस घरमा अट्न सक्ने गरी घरको परिकल्पना गरिएन भनेर ऊ जोडतोडका साथ भन्दथ्यो । नभन्दै एक दिन ऊ घर नै छाडेर हिँड्यो । उसका असन्तुष्टि र उसका चहानाहरु उसले राख्दै गयो । दिन प्रतिदिन राख्दै गयो । मेरो घरको घर झगडाले उग्ररूप लिदै गयो । मेरा सन्तानहरु आपसमा लड्दै गए । भिड्दै गए । कयौं सन्तानहरु मेरै अगाडि मर्दै गए । सन्तानको वियोगमा मेरा कयौं रातहरु रोएर बिते । मेरो घरमा फेरि अस्थिरता र अभावले घडेरी जामाएर बस्यो ।
मेरा सन्ततिको लामो अन्तरद्वन्दपछि उनीहरु नयाँ परिकल्पना अनुसारको घर बनाएर बस्ने सहमति गरे । एउटी ममतामयी आमाको लागि यो भन्दा ठूलो खुसी के हुनु र ? म पनि खुसीले फेरि नाँचे । खुसीले हाँसे । मेरा आँखै अगाडि ढलेका मेरा कयौं सन्ततिहरुको पिडा पनि भुल्दै गए । मेरा सन्ततीहरु पनि आपसमा मिल्दै गए । जुट्दै गए । मिठा मिठा सपनाहरु बाँड्दै गएँ । मेरो अनुहारमा खुसीको चमक देखिदै गयो । मेरा सन्तानको खुसीमा अनि मेरो सन्तानको सपनामा म पनि रमाउदै गएँ । मेरा अतितका दुख कष्टहरु भुल्दै थिए । पुनः एउटा सुन्दर परिवार मेरो अगाडि खडा थियो । एउटा सुन्दर घरमा हामी सबै रमाएका थियौँ ।
करिब दूई तीन बर्षको हाम्रो खुसीमा हामी रमाउन नपाउँदै मेरा सन्तानहरुको अनुहार फेरि मलिन देख्न थाले । कता कता उनीहरुका असन्तुष्टिका स्वरहरु सुनिन थाले । एक आपसमा उनीहरुको बोलचाल समेत मैले देख्न छाडिसकेका थिए । सबै सन्तान जुटाएर एउटै समयमा खाना खुवाउन नसकेको पनि धेरै दिन भइसकेको थियो । कहिलेकाही भेट हुँदा पनि अड्डा अदालतका कुरा गर्थें । मुद्दा मामिलाका कुरा गर्थे । म केही बुझ्न सकिरहेको थिएन । घरमा कोरोना भाईरसको संक्रमणले मेरा कयौं सन्तानहरु मेरै अगाडि ढलिरहेका थिए । छट्पटाइरहेका थिए तर पनि मेरा घरका जिम्मेवार सन्तानहरुलाई त्यसको कुनै वास्ता थिएन । उनीहरु आआफ्नै धुनमा थिए । एकले अर्कोलाई सिध्याउने धुनमा नै तयारीमा जुटेकाजस्ता देखिन्थे सधै उनीहरु । मेरो खुसी मेरो अनुहारबाट फेरि हराउन थालिसकेको थियो । हेर्दाहेर्दै उनीहरुको भान्सा पनि कोठामा छुट्टाछुट्टै हुन थालेको थियो । उनीहरु के गर्दैछन्, मलाई केही थाहा नहुन छाडी नै सकेको थियो ।
हाम्रो एउटा पारिवारिक छलफल छ, आमा तपाईंको उपस्थिती पनि अनिवार्य छ भनेर मलाई एक सदस्यबाट खबर आयो । पक्कै पनि मेरा सन्तानहरुले राम्रो उदेश्यको लागि आज मलाई बोलाएका छन् जस्तो त लागेको थिएन । उनीहरुको आपसमा बोलचाल हराइसकेको थियो । भान्सा छुटी नै सकेको थियो तापनि आज के हुने होला भनेर हिजो दिउँसो एक बजेतिर गर्हौ मन लिएर त्यस छलफलमा उपस्थिती जनाए ।
छलफलमा मेरा सबै सन्तानहरुको उपस्थिति मैले देख्न सकिरहेको थिएन । यसबाट मेरो मनमा विभिन्न शंका उपशंकाहरुको ज्वारभाटाहरु चलिरहेको थियो । केही समयपछि जसले मलाई छफलफलको सूचना जारी गरेको थियो, उसले घर ब्यवहार सम्हालेको मेरो जिम्मेवार सदस्यलाई आफ्ना कुरा राख्न अनुमति दिए । उनी अगाडि बढेर आफ्ना भनाईहरु राख्दै गए । निकै मिठो लयमा सिलसिला मिलाउँदै उनले आफ्ना भनाई राखे । मैले जिम्मेवारी सम्हालेपछि घरमा ठूलै परिवर्तन गरेको भन्दै कामहरुको फेहरिस्त सुनाए । घरमा रङरोगन गरेर झकिझकाउ बनाएको । घरको गजुर फेरेको । ईनार बनाएको । थुप्रै कामहरुको शिलान्यास गरेको । सबैलाई मिठो मसिनो खाना खुवाएको । कसैलाई भोक भोकै नराखेको आदि । अन्तमा उनले भने घरको उन्नतिको काम राम्रो गरेकोले यो घर मैले चलाउन पाउनु पर्छ । सबैले मलाई सहयोग गर्नु पर्छ भने । यी सन्तानको कुराबाट घरमा कुनै समस्या नै छैन रहेछ जस्तो अनुभूति भयो । भित्रभित्र मेरो मनमा रहेको अँध्यारोमा घामलागे जस्तो भयो ।
मेरो अर्को सदस्यको पालो आयो । उनले भने हामीले जुन हिसाबले परिवारमा सबैभन्दा ठूलो सदस्यको नाताले जिम्मेवारी सुम्पेर अहिले सम्म चुपलागेर बस्यौं, अब चुप लागेर बस्न सक्ने अबस्था रहेन। हाम्रो घरमा रोग ब्याधी फैलिँदा पनि उचित औषधीमुलो नपाएको । घरको नियम पुरै भत्काएको । एकलौटी तानाशाही शैली अपनाईएको आदि आदि । त्यसपछि फेरि अर्को सदस्य बोल्नको लागि उपेस्थित भए । जा केही वर्ष पहिले घरमा विद्रोह गरी हिडेका पनि थिए उनले भने, घरमा नयाँ थिति बसाल्ने । सबैले मिलिजुली काम गर्ने भनेर जुन मेरो सपना थियो । यो घर सम्हाल्न जिम्मेवारी समालेकाहरुले पुरै भत्काउन खोजेको । हाम्रो सहमति पालना नगरेको । उहाँले घरलाई रङरोगन गरे भने पनि घर पुरै भत्काउन खोजेको र अब उनलाई यस घर चलाउने नैतिक अधिकार छैन । उनले घरको जिम्मेवारीबाट मुक्त हुनु पर्छ आदि आदि ।
क्रमशः अरु सदस्यले पनि आफ्नो धारणा राखे । प्रायः सबैले असन्तुष्टिका आवाजहरु राखे । एक दूई सदस्यले भन्न खोजेको सबै कुराको आशय राम्रो सँग बुझन भने सकिन । अन्तमा घरमा जसले जिम्मेवारी पाएका थिए, उनलाई जिम्मेवारीबाट हटाउने विषयमा बहुमत सदस्यको राय आयो । म फेरि अलमलमा परे । अब कसलाई जिम्मेवारी दिने होला । कसैलाई विश्वास गर्ने होला । अबको यो घरको भविष्य के हुने होला । मेरो खुसी मेरो जीवनबाट पुरै हराइसकेको थियो । मेरो शरिर पनि अब त धेरै जिर्ण बन्दै गईरहेको थियो । आज आमाको मुख हेर्ने औंसीको दिन, सबै सन्तानसँग रमाएर बस्ने मेरो सपना पुरै हराइसकेको थियो ।
केहीबेरमै मेरा सन्तान मबाट टाढा भागिसकेका थिए । म एक्लैएक्लै चिच्चाएर रोएँ । केवल प्रतिध्वनि मात्र मेरो सामु गुञ्जिरह्यो । गुञ्जिरह्यो ।