आजको दिन ‘पोलिटिकल मुभी’ हेरेर बिताइयो
ब्राम्हणपुत्रको लकडाउन डायरी – १२
भरत शर्मा
महामारीको बीचमा २०७८ साल बैशाख २७ गते सोमबार दिउँसो १ देखि ६ बजेको समयलाई नेपालको राजनीतिमा अर्को ऐतिहासिक रमिता शुरु अवधि मान्नु पर्ने भएको छ । कामचलाउ भइसकेको प्रधानमन्त्री खड्कप्रसाद शर्मा ओलीले संसदमा सरकारले गरेका राम्रा कामका फेरहिस्त बताउँदै गर्दा मुखमा मास्क लगाएका साँसदहरुले प्रधानमन्त्रीको कुरो ‘विकास’ नामको निबन्ध जस्तो गरी सुने ।
सञ्चारमाध्यममा प्रत्यक्ष प्रसारण हेर्दा संसदमा कुनै ‘चलचित्र’ प्रदर्शन भइरहेको दृश्य जस्तो लाग्थ्यो । राजनीतिक रुपमा अपराध गरेका, देश र जनताको सेवा गर्ने नाममा आफू, आफ्नो पार्टी, गुट र परिवारलाई पोेस्ने नेताका अनुहार ऐतिहासिक ग्रन्थ रामायणका एक पात्र ‘रावण’का जस्ता ।
कति पनि ‘लाज’ नपचेका नेता । सबै खलपात्र जस्ता ।
ओलीले निकै नरम भाषामा भने, ‘काम गरे पनि जस नदिने, नगरे पनि जस नपाउने भयो ।’ देश सम्हालेका नेताले देशको गरिमामय संसदमा यो कुण्ठा बोलिरहँदा भोट दिने जनताले आफ्नो औलातिर हेरे होला, ‘मैले किन यस्ता नेता र दललाई भोट दिएँ होला ।’
‘सरकार अभिभावक हो रे’ ओलीको भाषामा । तर, आज जनताले देशमा सरकार भएको आभास गर्न सकेको छैन । कारण धेरै छन, ‘समृद्व नेपाल सुखी नेपाली’ नामक कथात्मक चलचित्र हेर्न दर्शकले भनेका छन्, यो चलचित्र ‘फ्लप’ भयो ।
उखानको भाका हालेर प्रतिपक्षलाई कडा शब्दमा बोल्ने ओलीको बोली ९० डिग्रीमा घुम्यो । निकै नरम भाषा शैलीमा राजनीतिक ‘डाइलग’ बोले । उनले भने, ‘मेरो कसैप्रति आग्रह पूर्वाग्रह छैन, तीन बर्षभन्दा भन्दा बढी समय प्रधानमन्त्री भएको हो । अझै पनि तपाईंहरुको मत पाएर प्रधानमन्त्री हुन्छु ।’ यो ‘डाइलग’ सुन्दा साँसदमात्र होइन, जनता पनि मुसक्क हाँसे ।
फेरि थपे, ‘म सदनको विवेकमाथि पूर्ण विश्वास गर्छु ।’ भाषण गरेको केही घण्टाभित्र ओलीको बोलीले हावा खायो । विश्वास होइन, ‘अविश्वास’ गर्ने साँसदहरु १ सय २४ जना पुगे । गणितले विश्वास कम र अविश्वास बढी गरे पनि अब फेरि राजनीति संविधानको धारा र उपधारा अनुसार चल्ने छ ।
मानवअधिकार, वातावरण, शिक्षा, रोजगारीमा ‘असाधारण काम’ गरेका छौं रे । यो असाधारण काम भनेको के हो ? यसो विचार गरेको त साधारणभन्दा माथि काम गर्न नसक्नुलाई ‘असाधारण’ भनिदो रहेछ । जनताले बुझ्ने भाषा यही हो ।
देशमा कोभिड–२ को महामारी फैलिएको छ । अस्पतालमा उपचार गर्ने बेड छैन, अक्सिजनको अभाव छ । यस्तो बेला अभिभावकको हैसियतले ओलीले यसो पनि भने, कोभिडलाई पराजित गर्ने भनेको कोभिड सर्न नदिनु हो ।’ यस्ता हास्याँपद कुरा सुनेर जनता कति हाँसे होलान् ?
‘कोरोनाले ओहदा (पद) र सोसल स्टाटस चिन्दैन’ रे । यो चाहिँ सत्य कुरा गरे । पूर्वराजा ज्ञानेन्द्र शाहदेखि पूर्व प्रधानमन्त्री, मन्त्री मुख्यमन्त्रीसम्मलाई कोरोनाले अंकमाल गरेको छ ।
राजनीतिमा ‘पाप–धर्म’ भन्ने हुँदैन रहेछ । आज संसदमा नेताहरुले एकले अर्कालाई आरोप–प्रत्यारोप लगाइरहँदा सबै नेताले राजननीतिमा अपराध कर्म गरेर आएको आभास प्रस्तुत गरे ।
केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, महन्त ठाकुर र उपेन्द्र यादव यी सबै नेताले ‘एक अर्काले दोष दिनुबाहेक आफूले गल्ती गरेको त महसुस नै गरेनन् । राजनीति भनेको अर्काको दोष देख्ने र देखाउने खेल मात्र हो र ?
अहिले जनतालाई मात्र होइन, नेपालको संविधानलाई भाइरस लागेको जस्तो छ । अब यसको उपचार कसले गर्ने हो भन्ने टुङ्गो छैन । सत्ताका हिमायतीहरुले ‘दुःखी नेपाल, मगन्ते नेपाली’ जस्तो बनाइदिएका छन् । छिमेकी देशहरुले दिएको खोप, अक्सिजन पनि समयमा ल्याएर जनतालाई दिन नसक्ने नेतृत्वबाट जनताले आशा राख्नु नै बेकार छ ।
आज फेरि माओवादी नेता पुष्पकमल दाहाल प्रचण्ड र सत्ताको मिहोमा मोज गर्न नपाएर विच्किएका नेता माधव नेपालले साथमा बसेर मिठाइ खान सक्छन् । अब एमाले नेताका माधव नेपाल समूहका नेताहरुको राजनीतिक यात्राको पनि टुङ्गो छैन ।
आजको दिन पोलिटिकल मुभी हेरेर बिताइयो ।