लोककथाको त्यो देश कुन हो ?
कोम खत्री
एउटा देशमा जनताले राजा चुन्ने चलन रहेछ । एकपटक राजा बन्ने पालो जोगीको आएछ । मानिले सोचे, ‘जोगीहरू त्यागी हुन्छन्, अब हाम्रो सुखका दिन आउने भए ।’ विडम्बना ! त्यो जोगीचाहिँ नक्कली परेछ ।
ऊ जनताका पीर, मर्का र दुःख कष्टलाई भन्दा आफ्नो सत्तालाई टिकाउन कसरी सकिन्छ भन्नेतिर बढी ध्यान केन्द्रित गर्न थालेछ ।
एकपटक त्यो राज्यमा सानोतिनो महामारी आएछ । जनताले हारगुहार गर्दै राजालाई महामारीबाट जोगाउन बिन्तीभाउ गरेछन् । प्रत्युत्तरमा राजाले भनेछ, ‘यो महामारी सहामारी केही हुन्न । आनन्दसँग राजाको स्तूतिगान गाउनू, ईश्वरलाई सम्झनू अनि बेसारपानी र नूनपानीले कुल्ला गर्नू सब ठीक हुन्छ ।’
सोझा जनताले त्यसै गरेछन् । संयोगले त्यो महामारी त्यति उग्र खालको परेनछ । विस्तारै त्यो महामारी साम्य भएछ अनि सोझा जनताले राजाले भनेको कुरा सही रहेछ भनेर पत्याएछन् । तर, केही समयपछि महामारीको उग्र रूप फेरि त्यस राज्यमा देखा परेछ । मानिसहरू सास फेर्न नसकेर आकुलव्याकुल हुन थालेछन् । विरामीहरू अस्पतालमा बस्ने ठाउँ नपाएर हारगुहार गर्न थालेछन् । जनताले त्यसैगरी राजालाई बिन्तीभाउ गरेछन्, ‘महाराज ! राज्यमा बसिनसक्नू भो । कृपया !सहयोग पाउँ ।’
प्रत्युत्तरमा जोगी राजाले भनेछ, ‘यो सब तिमीहरूले पहिला मैले भनेको नमान्दा भएको हो । तिमीहरूले न त बेसारपानी खायौ, न त अम्बको पातको रस । न त कामलाई छाडेर थचक्क आफ्नै घरमा नै बस्न सक्यौ । अब यसलाई भाग्य सम्झेर आफ्नो नियति भोग्नू ।’
सोझा जनताले आफ्नो नियति सम्झेर बस्न थालेछन् । विस्तारै महामारीले उग्र रूप देखाउँदै राजाको दरबारसम्म पुगेछ अनि राजालाई नै सिकिस्तै पारेछ ।
त्यसपछि त्यो राजाले भनेछ, ‘अहिलेसम्म मैले जति सम्पत्ति जोरजाम गरेको छु, त्यसैमध्येबाट उपचार गर्न मलाई पुगिहाल्छ । यी जनता मरे पनि मलाई के मतलब । अब म पनि राजकाज त्यागिदिन्छु अनि आफ्नो बाँकी दिन बिताउन मेरै पुरानो ठाउँमा कमाण्डलु बोकेर गैहाल्छु ।’
के तपाईंले पत्ता लगाउन सक्नुहुन्छ, लोककथाको त्यो देश कुनचाहिँ होला ?