दीनबन्धुका चार विचार

सत्-विचार
दीनबन्धु पोखरेल

१. विधिवादी होइन, मानवी बनौं
कुनै पनि विधा (कृत्रिम धर्म, राजनीति, सम्प्रदाय आदि) मा विधिवादी (अन्धविश्वासी, जड्सूत्रवादी, कट्टरवादी) बन्ने होइन, मानवी (अन्धता, कट्टरता, जडसूत्रता भन्दा माथि उठेको, मानव हित गर्ने) बन्न सक्नु पर्दछ । यसले आफ्नो, समाजको अनि समस्त प्राणी जगतको कल्याण गर्नेछ ।

२. मानवीय धार
संसारमा दुई किसिमका चिन्तन विद्यमान छन्, १। पोखरीजस्तो चिन्तन २। कुवा जस्तो चिन्तन ।
पोखरी जस्तो चिन्तनः जसमा पर्खालको घेराबन्दी हुन्छ, पानी बाहिरबाट ल्याएर भरिन्छ, पानीको निकास हुँदैन, पानीको मूल हुँदैन, प्राणी सेवा पटक्कै हुँदैन, सबै कृत्रिम हुन्छ्न् अन्ततः पानी सुकेर जान्छ ।
अहिले विश्वमा यही प्रवृत्ति हावी छ, विचार, धर्म, सम्प्रदाय, जात आदि कृत्रिम पर्खालको घेराबन्दीमा छ । अहिलेको मानव आफै भित्रबाट जागृत हुने मौलिकताभन्दा आयातित र बाहिरबाट भरिएको चिन्तनले व्याप्त छ । यो समग्र मानवताका लागि घातक छ ।
कुवा जस्तो चिन्तनः जसमा घेराबन्दी हुँदैन, पानीको मूल त्यहीँ हुन्छ, निकास पनि हुन्छ, सुक्दा पनि सुक्दैन, पिउन मिल्ने गरी प्राणी सेवा हुन्छ, सबै प्राकृतिक हुन्छ र पानी पनि सुक्दैन ।
विश्वमा अहिले यो प्रवृत्ति कमजोर छ तर मौलिक र कालजयी छ, जसमा कुनै पनि खालको मानव सृजित विभेदीकरणको छ्नक हुँदैन, आफै भित्रको जागृतिले अनन्य सम्भावनाको मार्गमा व्यक्तिलाई परिलक्षित गर्दछ, जसमा मानवीय कल्याणको उच्चतम अवस्था रहन्छ, । यही हो आध्यात्मिकता । यो नै समग्र उन्नयनको मार्ग हो ।
तसर्थ पोखरी होइन, कुवाजन्य प्रवृत्तिलाई अङ्गीकार गरौं । कृत्रिम अन्धताभन्दा मानवीय मौलिक यात्रामा समाहित हौं ।

३. अध्यात्मको खोजी सत्य र भौतिकताको खोजी तथ्य
जीवनभरको अध्ययन र अनुसन्धानले दिएको निश्कर्षः अध्यात्मको खोजी सत्य र भौतिकताको खोजी तथ्य रहेछ । यी दुईटैको समायोजन जीवन रहेछ । तसर्थ सबै खालको अन्धता र अतिवादीता भन्दा माथि उठेर सत्य र तथ्यको अंगीकारयुक्त जीवन जिउन सबैमा आग्रह । यसमै छ अत्यधिक कल्याणको बाटो ।

४. शाश्वत र ब्रम्हाण्डीय सत्यताको पक्षमा
विभिन्न दर्शन र आदर्शद्वारा सृजित विचारले मस्तिष्कमा प्रभुत्व राख्दा हरेकको सत्य भिन्न भिन्न प्रतीत हुन्छ, जसले गर्दा कथित जातीय, वर्गीय, क्षेत्रीय, सैद्धान्तिक या यस्तै यस्तै नाममा द्वन्द्व हुनु स्वाभाविक छ । तर जो शाश्वत र ब्रम्हाण्डीय सत्यताको पक्षमा छ उसलाई यी कृत्रिम मान्यता र आदर्शको कुनै मतलब नै छैन । यो नै वास्तविक आध्यात्मिकता हो । तसर्थ बृहत्तर कल्याणका लागि यही नै लौकिक सुख र पारमार्थिक आनन्दको मार्ग हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button