रामायणको लक्ष्मणरेखा पहिलो लकडाउन

ब्राम्हणपुत्र वृतान्त-८
भरत शर्मा

आदौं रामतपोवनादिगमनं हत्वा मृगं काञ्चनं
वैदेहीहरणं जटायुमरणं सुग्रीवसम्भाषणम् ।
बालीनिग्रहणं समुन्द्रतरणं लङ्कापुरीदाहनं
पाश्चाद्रावणकुम्भकर्णहननमेतद्धि रामायणम् ।।

रामायणको यो एक श्लोकिय श्लोक पढ्न थालेको ३५ बर्ष भएछ । सानोमा हजुरबाले लय हालेर वाचेको रामायणका श्लोक र कथाका वान्की सुन्दा निकै रमाइलो लाग्थ्यो । रामायणका प्रमुख पात्र राजा दशरथ, उनका पट्टरानी पत्नी कौशल्याको गर्भबाट जन्मिएका श्रीराम, सुमित्राबाट लक्ष्मण र शत्रुध्न र कैकेयीका पुत्र भरतको जन्म भएको कथा जतिपटक सुने पनि नयाँ नै लाग्छ ।

नेपाली जनमानसमा ‘रामायण’ आदर्शको कथा हो । जीवनमा धेरैपटक पढेको-सुनेको र गतबर्ष कोरोनाकालमा शुरुदेखि अन्त्यसम्म एकभाग पनि नछोडिकन टेलिभिजनमा शब्दचित्र हेरेको ‘रामायण’को सबैभन्दा मनपर्ने पात्र भरत र मेरो आफ्नै नाम पनि भरत । त्यसो त सबैको आ–आफ्नो रुचि अनुसारको रामायणका पात्र मन पर्न सक्छन्, त्यसमा कसैलाई केही भन्नु छैन । कयौंलाई ‘राम’ मन पर्न सक्छ भने कसैंलाई ‘रावण’ ।

महिला पात्रमा कैकयीको चरित्र भन्दा सीता मनपर्नसक्छ । ‘यो कलियुगमा सीताको कुरा गरेर हुन्छ ? कैकयी चरित्र सिक्नुपर्छ’ भन्ने महिला पनि छन् समाजमा । खैर, समाजमा ‘रावण’ चरित्र हावी भएको बेला प्रभु ‘श्रीराम’को चरित्र खोजेर हुँदैन ।

बर्ष २०७८ ‘राक्षस’ नाम संवत्सर हो । आनन्द नाम संवत्सर लुप्त भएर एकाएक राक्षसको प्रवेश भएको छ । हरेक दिन घरमा गरिने पूजनमा संकल्प पढ्दा तिथि, बार, नक्षत्र, योग र करणका साथै ‘राक्षस’ नाम संवत्सर उच्चारण गर्नुपर्नेछ ।

‘हरेक मानिस जीवनमा एकपटक कवि भए जस्तै सबै व्यक्तिमा ‘रावण’ चरित्र हुन्छ, तर हामीले रावणको चरित्र हटाउदै श्रीरामको चरित्र अनुशरण गरेर हिँडदा सबैको जीवन धन्य हुनेछ’, सन् १९९९ तिर काशीस्थित संस्कृत महाविद्यालयमा ‘रामायण’ पाठ पढ्दा स्वं पं. गुरु देवराज पौडेलले भन्नुभएको अहिले पनि ताजै छ ।

‘हामीभित्र रावण र राम दुवै चरित्र छ । हामीले कसलाई रोज्ने भन्ने कुरा ठूलो हो ।’ समाजमा अहिले पनि पात्रहरु खोज्दै हिडँदा कौशल्या नारी पनि भेटिन्छ, सुमित्रा र कैकेयी त कति हो कति । नारीमा ‘सीता’ चरित्र भेट्न अलि मुश्किल होला कलियुगमा ।

रामायणको कुरा गर्दा ‘रावण’लाई पनि भुल्नु हुँदैन । यदि रावण नभइदिएको भए राम हुने थिएनन् । राम–रावण पात्र नभएको भए रामायणको जन्म नै हुने थिएन ।

राम हिँडेको मार्ग सत् रावणले हिँडेको असत् हो । सत्य युगमा सत्मार्गमा हिँड्नेको विजय निश्चित् थियो । तर, कलियुगमा रावणको मार्गमा हिँड्नेको विजय हुने गरेको छ ।

हेर्नुस त चित्र, अहिले देशका ठूला दलका ठूला नेताको अनुहार हेर्दा तपाईंहरुलाई हरेक नेता ‘रावण’ जस्तो लाग्दैन ? महामारीको बेला खोप खरिद गर्दा कमिसन खोज्ने ब्यापारी ‘रावण’ हुन जस्तो लाग्दैन ?

सडकमा कुर्लने नेता सदनबाट सत्ता पुगेपछि तुरुन्त ‘रावण’ चरित्र देखाउँछन् । पहिले त ‘रावण’ चरित्र बोकेर सिंहदरवार र बालुवाटारमा मात्र बस्ने गरेका थिए, अहिले त छरिएर प्रदेशमुकाम र गाउँ–गाउँका स्थानीय तहसम्म छन् ।

यसपटकको रामनवमीको दिन बालुवाटारबाट राम र सीताको मूर्तिलाई शोभायात्रा गदैं नवलपरासीको ठोरीमा पठाइएको छ । ‘रामको जन्म नेपालमा भएको हो ।’ यो कुरा पनि सत्य होला । ‘अयोध्यामा रामले राज्य गरेका हुन् ।’ यो कुरा पनि साँचो होला । जनकपुरमा सीतालाई लिन राम आएको हो । यो त कसैले पनि नकार्न सक्दैन्न । प्रमाण धेरै छन् ।

अहिले राजनीतिक नक्सामा अयोध्या भारतमा पर्छ, जनकपुर नेपालमा । रामको जन्मभूमि भनिएको भारतको अयोध्या दुईपटक र जानकी सीताको जन्मभूमि जनकपुर कयौं पटक यात्रा गरेको छु । यी दुवै क्षेत्रमा यात्रा गर्दा मन कञ्चन र शरीर हलुका हुन्छ । रामचरित्र सुन्दा, हेर्दा, देख्दा मनमा सकारात्मक उर्जा प्राप्त गर्न सकिन्छ ।

कोरोना महामारी रोकिएपछि अध्योध्यामा भव्य राममन्दिर बनेपछि संसारका सनातनीहरु रामलाई भेट्न एकपटक अध्योध्या अवश्य पुग्नेछन् । अयोध्या पुग्ने तीर्थयात्रीलाई जनकपुरमा सीता छिन्, त्यहाँ पनि एकपटक जानैपर्छ । नत्र यो तीर्थयात्रा पुर्ण हुँदैन भन्ने सन्देश दिन सक्यो भने हाम्रो धार्मिक पर्यटनले काया फेर्ने थियो । आशा गरौं, तर अहिले नै भर नपर्दा हुन्छ ।

जोन हप्किन्स विश्वविद्यालयका एक अध्येताले पूर्वी एसिया र दक्षिण एसियाली देशहरुमा लाओसपछि नेपालमा संक्रमण दल उच्च रुपमा बढिरहेको र आगामी केही हप्ता अझ बढ्ने भनेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले हरेक दिन संक्रमितको ‘ग्राफ’ उकालो लागेको तथ्याङ प्रस्तुत गर्दै हिजोमात्र ५८ जना नेपालीले बैकुण्ठ यात्रा गरेको तथ्य दिए । संक्रमित त सात हजारभन्दा माथि आठ पुग्नै लाग्यो भन्दै गर्दा प्रधानमन्त्री ओलीले भनेजस्तो बेसार पानी र अहिले बैलौती (अम्बा) का पातले ‘गारगिल’ गरेपछि कोरोना भगाउन सक्ने औषधिले काम गर्न छोडेको हो ?

कोरोना महामारीले मन्त्री, मुख्यमन्त्री, न्यायधीश, प्रमुख जिल्ला अधिकारी, प्रहरी, सेना, कर्मचारी, धुपौरे, भरौटे, चुल्टे, ढोके, धने र धन नभएको गरिव केही भनेको छैन् । यो अवस्था कहिलेसम्म हो यो अनुमान मात्र हो । तर एउटा कुरा सत्य हो, लकडाउनको पूर्ण पालना गर्दा संक्रमित कम हुने चाहिँ हो है ।

सायद, रामायणकालीन समयमा राम वनवास् जाँदा वनमा सीता हरण हुने समयमा राम–लक्ष्मणले पञ्चबटीमा सीतालाई बनाइदिएको ‘लक्ष्मणरेखा’ एक प्रकारले पहिलो लकडाउन थियो ।

सीताले लकडाउनको पालना नगर्दा रावणले अपहरण गरेर लगे । त्यसपछि सीताको दुःखको कहानी शुरु भयो । सीताले लकडाउनको पालना नगर्दा राम, लक्ष्मण, हुनमान, जाम्बवानले कति दुःख भोगे । राम र रावणको युद्धकथा रामायणमा तपाईं हामीले सुनेकोे, पढेको र देखेको हो ।

अहिले हामी पनि घरभित्रको ‘लक्ष्मणरेखा’ पालना गरेर घरभित्र बस्दा हाम्रो, समाजको र देशकै कल्याण हुनेछ ।

कोराना युद्ध सकिएपछि हामी पनि अयोध्या र जनकपुर एकपटक जाने छौ ।

आजलाई यति नै । भोलि त लेख्नु छँदैछ ।

लेखक शर्मा ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button