अध्यात्मः कोरोनाले मानिसभन्दा बढी मानवता मर्दैछ

कमल रिजाल

निकै दर्दनाक दृष्य देखेको थिएँ हालै एक फेसबुक वालमा । वाल कसको थियो थाहा भएन, घटना कहाँको थियो त्यो पनि ठम्याउन सकिएन । सायद नवलपुरतिरको हुनुपर्छ तर दृष्य थियो ज्यादै मार्मिक ।

एक युवक बिरामीलाई ढाला ढालेर ट्याक्टरमा चडाउँदै थिए सकिनसकी । उनले जेनतेन उचालेर चडाउन खोजेका थिए तर सकेनन् र निर्जीव वस्तुलाई जस्तै लछारलुछुर र पछारपुछुर गर्न थाले । त्यतिबेला कहिले बिरामीको टाउको ठोकिन्थ्यो कहिले हात गोडा दोब्रिएको देखिन्थ्यो । वरपर बसेर रमिता हेर्नेको भीड ठूलै भए पनि सहयोगको हात बढाउन चाहेनन् कसैले । यहाँ दोष चडाउने युवकको थिएन । उनले आफूले सकेको गरेकै थिए, गर्न खोजेकै थिए । दोष थियो भने वरपर बसेर रमिता हेर्ने भीडको । दृष्य देख्दा ज्यादै रोयो मेरो मानवता तर आफ्नै स्थानमा बसेर हेर्नुबाहेक केही गर्न सकिन मैले पनि । ज्यादै दर्दनाक भएकाले शेयर गर्न मन लागेन मलाई । त्यसपछि बिरामी जीवित रहे, रहेनन् थाहा भएन । सायद मरे होलान् । त्यस्तै देखाउँथ्यो घटनाले ।

दृष्य देखेपछि अनेक प्रश्न उब्जे एकैसाथ मेरा मनमा । दृष्य देख्दा लाग्थ्यो कोरोना पोजिटिभ थिए बिरामी । सायद त्यसै भएर हुनुपर्छ हात र साथ दिन चाहेका थिएनन् रमितेहरूले । हुनसक्छ यस्तो अवस्थामा सुरक्षाको मापदण्ड बिना कसैले पनि न छुनु भन्ने प्रशासनको आदेश पनि थियो कि । त्यसो हो भने जोकोहीले हात बढाउन नखोज्नुलाई स्वाभाविकै मानौँ एकछिन तर यसको अर्थ के अब मानवता पनि सकिएको हो ? मर्न लागेको मानिसलाई अक्सिजनको व्यवस्था किन गरिएन, गर्न सकिएन । समयमै असपतालसम्म किन पु¥याउन सकिएन, पु-याउने एम्बुलेन्स आदि साधनको व्यवस्था किन भएन आदि कुराका कथा र व्यथा आफ्नै होलान् । कसैको आदेश चाहिने होला, हुनसक्छ टिप्पणी सदर गर्नुपर्नेतिर पो लागेका थिए कि ।

कम्तीमा ट्याक्टरमै भए पनि प्लाष्टिकले छोपेर बिरामीलाई सुरक्षित तरिकाले चडाउनसम्म त सकिन्थ्यो होला । किन त्यति ठूलो मानव समूहले त्यति सानो कुरामा पनि ध्यान दिएनन्, दिन सकेकनन्, दिन भ्याएनन् । कोरोना लाग्ने पक्कै ती अमूक अभागी व्यक्तिलाई मात्र होइन, उनको घरमा मात्र आउने पनि पक्कै होइन । विश्वव्यापी माहामारीको कुरा छ जहाँ पनि लाग्न सक्छ, जहाँ पनि हुन सक्छ । त्यस्तै अवस्था हाम्रो पनि हुन सक्छ भन्नेसम्मको सोच किन पलाएन ? हो, मुख्य समस्या यहीँ छ, त्यसैले डराउनुपरेको हो मानिसभन्दा बढी मानवता मर्न थालेको हो कि भनेर, त्यसैले भन्नुपरेको हो केरोनाले मानिसलाई भन्दा मानवतालाई बढी मार्दैछ भनेर ।

आध्यात्मिकताको कमी महसुस हुन्छ यही बिन्दूमा, आध्यात्मिकपनको खाँचो देखिन्छ यही यसै बिन्दूमा । आध्यात्मिक हुनु भनेको यज्ञअनुष्ठान मात्र होइन, पूजापाठ वा जपमाला मात्रै पनि होइन । अनि होइन शास्त्र र सिद्धान्त मात्रै पनि । बरु हो आहार, बिहार, विचार र व्यवहारको समुच्च स्वरूप । कुनै पनि रोग फैलाउन देवीदेवता आएका पनि होइनन्, भूतप्रेतका कारण यी सब भएका पनि होइनन् । रोग मानिसको शरीरभित्रै छ, सँगै छ, सँगै लिएर आएको हुन्छ । जब आहार विहार, विचार र व्यवहारमा सन्तुलन बिग्रन्छ तब उसले टाउको उठाउँछ र नानाभाँतीका स्वरूपमा फैलिन्छ । मृत्यु कसैको पनि टाडा छैन, नजिकै छ । अझ सँगसँगै छ भन्नु मनासिव हुनेछ ।

जतिबेला जीवन सन्तुलित हुन्छ, सन्तुलनको तन्तुले धानेको हुन्छ त्यतिबेलासम्म देखिन्न, देखा पर्न सक्दैन । जतिबेला सन्तुलनको डोरी चुडिन्छ तब उसले खेल्ने भूमि उर्वर हुन पुग्छ र नानाभाँतीका नृत्य देखाउन सुर गर्छ । अहिले भएको यही हो । यसैले नचाएको छ, नाच्न लगाएको छ कोरोना नामक भूतलाई हाम्रो टाउकोमा । विगतमा नाचेको थयो अर्कै रूपमा, अहिले नाचेको छ अर्कै रूपमा । यस्तै अवस्था रहेमा भोलि पनि नाच्नेछ अर्कै रूपमा । यसमा देखिने भनेको रूपमा मात्र फरक हो स्वरूपमा होइन ।

भौतिक विकासको साथमा अलिकति मात्र भए पनि आध्यात्मिक पक्षमा पनि ध्यान दिन सकिएको भए, भ्याइएको भए पक्कै यस्तो अवस्था आउने थिएन । मीठोको लोभमा, धेरै खाने लोभमा, चाडै पुगिने लोभमा, अरुलाई उछिन्ने लोभमा, शक्तिशाली बन्ने लोभमा, शक्तिप्रदर्शन गर्ने लोभमा मानिसले आफ्नै जीवन कसरी बनेको छ र कसरी धानेको छ भन्नेसम्मको हेक्का राख्न सकेन । त्यतिमा ध्यान पु-याएन सकिएको भए पनि लाग्छ अवस्था अहिलेको जस्तो कहाली लाग्दो पक्कै हुने थिएन । अरु नसही कम्तीमा मानिसले मानिससँग डराउनुपर्ने थिएन, मानिसलाई मानिससँग टाडा गराउने थिएन तर के गर्ने समय छउन्जेल यतातिर हेर्ने फुर्सदै भएन । जब प्रकृतिको त्यसको नतीजा देखाउन थाल्यो तब हाहाकार मच्चियो । मर्दापर्दा समेत मानिसले मानिसको साथ नपाउने, पाउन नसक्ने अवस्था सृजना भयो ।

भनिन्छ एउटा माघले जाडो जाँदैन । यस्ता माघ अरु कति देख्नु छ, कति भोग्नु छ हामीले । त्यसैले सामुहिक प्रयत्नद्वारा विद्यमान सङ्कटलाई झेल्दै मानवताको जग मजबूत बनाउनतिर लागौँ । अहिलेको समयले दिएको सन्देश यही हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button