
राति ‘चियर्स’ र बिहान ‘ह्याप्पी न्यू इयर’
प्रकाशप्रसाद उपाध्याय
‘ह्याप्पी न्यू इयर !’, आजको प्रथम उद्घोष । हिजो रातिको ‘चियर्स’ र आज बिहानदेखिको ह्याप्पी न्यू इयरको उद्घोष । बितेको रातले अनुभव गराएको यो सुखद अन्तर ।
भित्तामा झुण्ड्याइएको पछिल्लो क्यालेन्डर काम नलाग्ने भयो । यसको ठाउँमा अर्को झुण्ड्याउने तरखर गर्नै नपाई यसले हामीलाई नयाँ वर्षमा डो-याइ ल्यायो, तर कोरोनाले उत्पन्न गरेको त्रासलाई भने मेटाउन सकेन । झन् नयाँ जात र वर्णको लहर लिएर आएको छ । के हुने हो ? के भइरहेको हो ? कतै यो प्रलयको संकेत त होइन ? सबै यही प्रश्न सोध्ने गर्दछन् ।
यसो भए पनि वर्षमा एकपल्ट आउने हर्ष र उल्लासको यस पर्वमा नयाँ उत्साह र संक्ल्पका साथ जीवन पथमा अग्रसर हुन जनताले कम्मर कसेका संकेत देखिन थालेको छ । यस अठोटलाई कोरोनाले धमिल्याउन सक्ला जस्तो लाग्दैन । मौसममा विद्यमान मादकता, मदनोत्सवको प्रभाव र सरकारद्वारा थालिएको खोप अभियानले उत्पन्न गरको नयाँ मनोबल यसका कारणहरू हुनु पर्दछ ।
बैशाख महिनाको पहिलो दिन पर्ने यस पर्वले नेपालमा विक्रम संवतको नयाँ वर्षको प्रारम्भ जनाउने गर्दछ । यसको प्रचलनको सम्बन्धमा एउटा भनाई के छ भने यो राजा विक्रमादित्यले चलाएका संवत हो । बुटवलस्थित सिद्धबाबा विकास समितिद्वारा प्रकाशित ‘भर्तृहरिनाथ स्मृति ग्रन्थ’मा विक्रमादित्यलाई भारतको उज्जैन राज्यका एक न्यायप्रिय राजा बताइएको छ । तर यस सम्बन्धमा विभिन्न इतिहासकारहरूको भनाई भिन्न–भिन्न छ ।

विद्वान लेखक दीर्घराज प्र्र्र्रसाई आफ्नो कृति ‘विक्रम संवत’ मा लेख्दछन्– काभ्रे जिल्लाको नालामा उत्तरापुर राज्यको नाममा विक्रमादित्य राजाले राज्य गरेको किंवदन्ती छ । यस अनुसार, विक्रमादित्य राजाले राज्य गरेको ऐतिहासिक ठाउँको एक अध्ययन वि.सं.२०५७ बैशाख २५ मा नेपाल समाचारपत्रमा छापिएको थियो– ‘काठमाडौंबाट ३० किलोमीटर पूर्व काभ्रे जिल्लाको नालामा विक्रमादित्य राजाको पाला, उत्तरापुर राज्यको नाउँमा यसै ठाउँबाट राज्य चलाउने गरिएको थियो ।’ लेखक बासुपाशाले आफ्नो पुस्तक ‘काभ्रे सिन्धु वृत्तान्त’ मा विक्रमाादित्य राजाले नालामा राज्य गरेको उल्लेख गरेका छन् । समान रूपमा साँखुका विजयसिद्धी बज्राचार्यको भनाई छ– बज्रयोगिनी मंदिर परिसरमा रहेको विक्रमादित्य राजाको टाउकाको जुन सम्मानका साथ पुजा गर्ने परम्परा छ, त्यसको मनन गर्दा विक्रम संवतका प्रणेता तिनै विक्रमादित्य हुन् भन्नेमा विश्वस्त हुन सकिन्छ ।
विक्रम संवतको चर्चा कहिलेदेखि हुन थाल्यो भन्ने सम्बन्धमा भने संस्कृतिविद् दिनेशराज पन्तले नागरिक राष्ट्रिय दैनिकमा एउटा लेखमा भनेअनुसार नेपालमा विक्रमको १३ औं शताब्दीमा गुजरातका एक जना पण्डितले सर्वप्रथम विक्रम संवतको चर्चा गरेका थिए ।
विगत २०७७ सालदेखि विक्रम संवतले राष्ट्रिय मान्यता पाएको छ । साथै यसमाथि हाम्रो पञ्चांग, तिथि, महिना र वर्षको चक्र आधारित छ । यसैबमोजिम चाड–पर्वहरू र सामाजिक एवम् पारिवारिक धार्मिक अनुष्ठानहरू सम्पन्न गर्ने गरिन्छ । अनि प्रत्येक वर्ष भित्ते पात्रो र पञ्चाँग फेर्ने आवश्यकताले पनि नयाँ वर्षको आगमनको संकेत दिन्छ । ह्याप्पी न्यू इयरको उद्घोषले वातावरणलाई उल्लसित पार्दछ । यसै वातावरणमा मेरो पनि उद्घोष– ह्याप्पी न्यू इयर ।