पत्रकार महासंघ निर्वाचनमा मेरो रगतको हार र जीत
कमला पन्थी
भर्खरै सम्पन्न पत्रकार महासंघको निर्वाचन देशभर चर्चा र चासोको बिषय बन्यो । यसमा राजनीतिक पार्टीका भातृ संगठन, गुट र उपगुटका चर्चा पनि त्यत्तिकै । र, कसले कसलाई भोट माग्यो र भोट हाल्यो भन्ने हिसाब गरिदैछ ।
भोट मागेकै आधारमा फलानो यो पार्टी र फलानो त्यो पार्टीको मान्छे भनेको सुन्नु अचम्म र दुख लाग्दो कुरा हो । स्वतन्त्र, निस्पक्ष र व्यवसायिकता हाम्रो छनोट हुनुपर्नेमा यहाँ राजनितिक दलको कुरा गरिन्छ । दलबाट माथि उठ्ने हैसियत हामी पत्रकारले बनाएनछौ । साथसाथै, समावेशीता संविधानको मुल मर्म हो । यसलाई हेरेर मताधिकारको सदुपयोग गरौं भन्ने चाहना राख्नु गलत होइन । तर, राजनितिक दललाई टेकेर राजनिति गर्नुचाहिँ गलत हो भन्ने मानसिकता विकास हुन जरुरी छ ।
म महिला । मेरो शरिरमा महिलाको रगत छ । पुर]षमा पनि महिलाको रगत त परेकै छ । यो दृष्टिकोणले हामीले महिलालाई नकार्न त पक्कै सक्दैनौ होला । सृष्टिकर्ता त महिला नै हो नि । जसले नकार्नु हुन्छ, त्यो मानव नै होइन भन्ने मलाई लाग्छ । त्यो हैसियतले यस पटकको भोट महिलालाई भन्दा पार्टी, गुट र उपगुटको लाहाछाप लगाउनु गलत होइन र ? महिलाको हैसियत र रगतको हिसाबले मैले भोट महिलालाई मागेँ र जीवनसाथी जसलाई मैले प्रेम गर्छु, जीवनभर साथ र सहयोग गर्छु भनेर विवाह गरेँ, उनको लागि भोट माग्नु मेरा लागि मात्र होइन, कसैका लागि पनि गलत हो भन्ने मलाई लाग्दैन । त्यसैले अध्यक्षमा निर्मला शर्मा र जहाँ जहाँ महिला उम्मेदवार छन् त्यहाँ महिला अनि एसोसियट सचिवमा जीवनसाथी पवन आचार्यलाई मत दिनु होला भनेर मैले अनुरोध गर्नु मेरा लागि गलत थिएन ।
निर्मला शर्मा सञ्चारिका समुहको पुर्व अध्यक्ष जहाँ म अहिले उपाध्यक्ष छु । त्यो संस्थाको हैसियतले पनि बढी लगाब हुनुको साथसाथै मजस्ता पत्रकार महिलालाई यो पेसामा टिकाइराख्नका लागि उहाँको योगदान छ । जहिले पनि उहाँको हौसला रहिरहन्छ ।
इतिहास रच्ने मौकाको रुपमा मैले यस पटकको निर्वाचनलाई लिएर जिताउन लाग्नु मेरा लागि गलत थिएन । तर, यहाँ संस्थालाइ जोडेर आरोप लगाउने काम गरियो, जुन गलत थियो । अर्को कुरा, मलाई धेरै व्यक्तित्वले ‘धार फरक पर्यो, दुइ जनालाई भोट मागेको मिलेन’ भन्नु भयो । त्यति मात्र होइन, कतिले ‘यो घात हो’ समेत भन्नुभयो । तर, मेरा लागि यो घात पनि थिएन । जब सिद्धान्त फरक भएका गुट, उपगुट मिलेर चुनाव लड्न हुन्छ भने मैले आफ्ना प्रिय मान्छेलाई भोट माग्न नमिल्ने भन्ने तर्क मात्र मेरो दिमागमा आइराख्यो । गुट, उपगुट भन्दा धेरै माथि ब्यक्तिगत सम्बन्ध हो भन्ने मलाई लाग्यो ।
पहिलो २ दिन निकै उत्साहित थियौँ हामी । सबै ठाउँबाट सकारात्मक विचार प्रवाह भइरहेका थिए । ‘सहयोग गर्छौ’ भन्दै थिए । ‘महिला त्यो पदमा पुग्नुपर्छ’ भन्दै हौसला मिल्यो । ओहो ! चुनाव त पक्कै जितिन्छ भन्ने लाग्यो । हामी झन् उत्साहित हुदै अगाडि बढ्यौं । पत्रकार महासंघमा निर्मला शर्मा अर्थात् महिला अध्यक्षले जिम्मेवारी लिएको सपना देख्न थाल्यौ । तर, चुनावको २ दिन अगाडिदेखि हिजोसम्म ‘भइहाल्छ नि सहयोग गर्छु, भोट हाल्ने मात्र होइन, भोट माग्न समेत जान्छु’ भन्ने तिनै मान्छेले नै के भन्नुभयो भने ‘महिला राष्ट्रपति भएर के भयो र ?’ जो कोहि राष्ट्रपति भए पनि हुने त के नै हुने हो र ? यो भन्दा अगाडिका राष्ट्रपतिले पनि के नै गर्नु भएको थियो र भन्ने सोच उहाँजस्तो मान्छेको रहेनछ भन्ने बुझेपछि मलगायत हाम्रो महिला टिम छाँगाबाट खसेजस्तै भयौं । पहिलो करेन्टको झट्का लाग्यो ।
खिन्न मन लिएर फिल्डमा नै थियौं । धेरै बिषय थाहा भयो । यो चुनाव व्यवसायिक पत्रकारको होइन कि जस्तो भान हुन थाल्यो । तर, पनि हामीले हाम्रो जीतको सपना बोक्दै अगाडि बढ्यौं । चुनावको दिनमा भोट हाल्ने लाइनमा आफ्नै साथीहरुले नै भन्नुभयो, ‘उहाँ बरू स्वतन्त्र उठ्नुभएको भए हुने । यो प्रतिगामी सरकारका प्रतिनिधिलाई कसरी भोट दिने ? मनले मानेन । उहाँ जित्नु भनेको केपी ओली जित्नु हो ।’ त्यतिसम्म भनेको सुन्दा दोस्रो करेन्टको झट्का लाग्यो ।
त्यसपछि हामी अर्को ठाउँमा पुग्दा त्यहिँका मतदाता केहिले ‘हामी १० बर्ष भयो फिल्ममा हिँडेको । उहाँलाई चिनेनौ’ समेत भन्नुभयो त कतिले ‘आफ्नो लागि भोट माग्नु, अर्काको लागि माग्ने होइन’ भनेर हकार्नुभयो । उहाँहरूले सायद बिर्सिनु भएछ, काम गर्दै जादा अपग्रेड हुनुपर्छ । हिजो रिपोर्टिङमा हिड्ने डेक्स हुदै सम्पादक समेत हुन्छ । र, उनीहरु फिल्डमा जाँदैनन्, सम्पादन गरेर बस्छन् भन्ने कुरा । अनि मलाई के लाग्यो भने त्यही कुरा पुरूषमा हुँदा सामान्य रुपमा लिने, त्यसलाई प्रोसेस मान्ने अनि त्यही कुरा महिलामा हुँदा हुनुहुँदैन भन्ने बुझाइ भनेको अझै पनि हाम्रो माइनसेट !
अहिले पनि महिलालाई हाकिम होइन, दासकै रूपमा हेर्ने नजरिया बद्लिएको छैन । त्यसैले समग्रमा यो हार निर्मला शर्मा वा केपी ओली दुवैको होइन । यो त सबै महिलाको हार हो । मातृसत्ता चाहनेहरूको हो । मेरो रगतको हार हो ।
प्रिय पवन ! तिमीले जित्यौं । म निकै खुसी छु । तिम्रो र मेरो सम्बन्ध नै दाउमा राखिदिनु भएको थियो साथीहरुले । त्यसैले तिम्रो हारमा हाम्रो सम्वन्धको प्रश्न खोजिन्थ्यो । त्यो बुझाउन झनै गार्हो थियो मलाई । गुट, उपगुट, राजनितिक दलभन्दा धेरै टाढा हो हाम्रो सम्बन्ध भन्ने बुझाइ म राख्दछु ।
महासंघका नवनिर्वाचित अध्यक्ष विपुल पोख्रेल र सबै टिमलाई बधाई दिन चाहन्छु । जति महिलाको जीत छ, त्यो हाम्रो पनि जीत हो । समग्रमा महिलाको जीत हो भन्ने हामी ठान्दछौं । साथसाथै, चुनाव जुन पक्षबाट जिते पनि पदमा पुगिसकेपछि सबैको साझा अध्यक्ष बन्नुहुनेछ भन्ने आशा पनि हामी अध्यक्षसँग राख्दछौं । विशुद्ध रूपमा व्यवसायिक पत्रकारको हक अधिकारको लागि काम गर्नुहुनेछ भन्ने ठान्दछौ ।
अबका दिनमा सबैले के बुझ्न जरूरी छ भने हामी महिला हारेका छैनौं । यो उम्मेद्वारी नै हाम्रो जीत हो । यो पटक अध्यक्ष महिला हुन नसके पनि अर्को पटक अध्यक्ष पदमा महिला पुग्नेछन् । यो सुरुवात हो अन्त्य होइन ।
हिजोका दिनमा महिला घरभित्र सिमित थिए र शिक्षाबाट बन्चित भए जसको कारण कम्पिटिसनमा आउने थोरै महिला भए । अब भोलिका दिनमा यो हुनेछैन । अबको नेतृत्व महिलाको हुनेछ भन्ने मानसिकताको विकास हामी सबैले गरौं । त्यसैले यो हार निर्मला शर्माको मात्र होइन, समग्रमा सबै श्रमजिवी पत्रकार महिलाको हार हो ।