चिनियाँ खोप लगाएपछि बिन्दास् ब्राम्हणपुत्र
भरत शर्मा
बुधबार मध्यान्ह नेपालको जेठो वीर अस्पताल पुगेर कोरोनाविरुद्धको चिनियाँ खोप लगाएपछि शरीरमा स्फूर्ति कम भएको हो कि होइन ठम्याउन मुश्किल परिरहेको छ । बुधबार साँझदेखि खोपको असर हुनसक्छ, खोप लगाएको पाखुरा दुखेजस्तो, शरीर अलि कमजोर भएजस्तो, टाउको दुख्न लागेजस्तो अनुभव भए पनि विरामी नै भएको छैन । चीन सरकारको अनुदानमा दिएको आठ लाख खोप बुधबारदेखि सरकारले देशभरका २३ स्थानमा दिने घोषणा गरेपछि मैले पहिलो दिन नै नेपालको पुरानो अस्पताल वीरमा पुगेर खोप लगाउने अवसर पाएँ ।
बुधबार खोप लगाउनको लागि क्षेत्रपाटी निशुल्क चिकित्सालयमा विहानै नाम दर्ता गराएको थिएँ । मेरा समाआर्टस्का कलामित्र सुरेश उलकका धर्मपत्नी चिकित्सालयमा सेवा गर्नुहुन्छ । भाउजुलाई खोप लगाउन आउँछु भनेर आफ्नो नाम, उमेर र पेशा टिपाएपछि उहाँले खबर गर्छु भन्नुभयो । र, भन्नुभयो, ‘आज पहिलो दिन अलि भीड हुन्छ होला, खाली भएपछि खबर गर्छु है ।’
बुधबार नै नेपाल पत्रकार महासंघको चुनाव पनि थियो । मतदान गर्नुपर्ने, आफ्नो मताधिकार रहेको केन्द्र ललितपुरको चाकुपाटमा थियो । मध्यान्ह १ बजे बजेभन्दा अघि गुटभन्दा पनि कलम चलाउने श्रमजीवी पत्रकारहरुलाई मतदान गरेर फर्कदै थिएँ, बाटोमा फोन आयो भाउजुको, ‘बाबु आज अलि भीड छ, भोलि विहानै १० बजे आउनु खोप लगाउन है ।’
मैले हुन्छ भनेँ ।
कार्यालय सुन्धारा फर्केर कामको मेलो खोज्दै थिएँ । म्हैपी मन्दिरनजिक बस्ने पत्रकार मित्र अशोक सिलवाल खोप लगाउन भन्दै रानीवनमा बस्ने पत्रकार दाजु जिवेन्द्र सिम्खडालाई बोकेर वीर अस्पतालमा खोप लगाउन जादै गरेको खबर आयो ।
‘तीन भाइ भेटौं, तपाई वीर अस्पताल आउनुस्’, मित्र एवं सम्पादकद्वय सिम्खडा र सिलवालको वचन काट्न नसक्ने म ब्राम्हणपु्त्र ‘हजुर ! म हाजिर भएँ’ भन्दै कार्यालयको कामलाई थाती राखेर वीर अस्पतालतिर लागेँ । कार्यालयबाट निस्कने बेला सहकर्मी मित्र कृष्णबहादुर थापाले पासपोर्ट र चीनबाट विश्वविद्यालयले पठाएको चिठी बोक्नु न भनेर सम्झाउनु भयो ।
चिठी र पासपोर्ट मोवाइलमा खिचेको छु । केही दिनअघि चीन यात्राका लागि बनाएको प्रहरी प्रतिवेदन बोकेर बीर अस्पताल हिडेँ । वीर अस्पतालको बाटोमा हिँड्दै थिएँ, कीर्तिपुर नगरपालिकाका अधिकृत जनक थापाले फोन गरेर भने, ‘ए गुरु ! चिनियाँ खोप लगाउनुभयो ? तपाईं त चीन जानु पर्ने होला । खोप लगाउनु नि । यदि खोप लगाउने भए कितिपुरस्थित आयुर्वेदिक अस्पतालमा जानुस् भीड छैन रे ।’
थापाको फोन आउँदा म नेपाल वायुसेवा निगम अगाडिको बायाँ रोडबाट हिँड्दै थिएँ । मैले भनेँ, ‘म वीर अस्पताल जाँदै छु अवसर पाएँ यतै लगाउछु नभए भोलि विहान यता आउँछु ।’ त्यति भनेर काजी थापालाई धन्यवाद दिए ।
२ः३० बजे वीर अस्पताल पुग्दा टुर गाइड मित्रहरु भेटेँ । मित्र अशोक सिलवालको खोप लगाउने तरखर गर्दै रहेछन् ।
मलाई पनि जिवेन्द्र दाइले लाइनमा बस्नु, खोप लगाउनु भन्नुभयो । मभन्दा अगाडि तीन जना मित्र मात्र थिए । मैले पनि आफनो, नाम, उमेर र पेशा बताएपछि चिनियाँ सरकारले सहयोगमा दिएको भेरोसेल खोप लगाएँ । म भाग्यशाली रहेछु, भीड कम । लाइनमा बस्नु परेन । अस्पताल पुगेको १५ मिनेटको बीचमा खोप लगाएँ ।
खोप लगाएपछि वीरका चिकित्सकले आधा घण्टा आराम गर्नु, निधारमा टीका र जनै लगाउनुभएको रहेछ, रक्सी त खानु हुँदैन होला, नियमित खाना र आराम गर्नु राम्रो हुन्छ भन्ने सल्लाह दिएका थिए । मैले ‘हुन्छ’ भन्दै अब तीन दिन दौडधुप कम आराम बढी गर्ने निर्णय गरेको जानकारी दिएर बाहिरिएँ ।
खोप लगाएपछि फोटो सेसन पनि गरियो । तीन बजे हामी वीर अस्पतालबाट बाहिरिएर न्यूरोडको सडकमा कफी र आलुचिप्स खाएर महाँकाल मन्दिर परिसरबाट हामी तीन भाइ अलग भयौं । दुई सम्पादक रानीवन र म कार्यालय, सुन्धारातिर ।
यो कोरोना खोप कोराना भाइरससँग मेरो दोस्रो शारिरीक लडाइँ थियो । असोज महिनाको अन्तिम साता मैले कोरोना रोगसँग पहिलो लडाई लडेको थिएँ । म कारोना पोजेटिभ भएर १५ दिन घरभित्र बसेर उपचार गरी नेगेटिभ भएको थिएँ । परिवारका सदस्य विरामी हुँदा वीरेन्द्र सैनिक अस्पताल र त्रिवि शिक्षण अस्पताल यात्रा गर्दा मैले शरीरमा कोरोना प्रवेश गराएको थिएँ ।
त्यतिबेला तीन दिनसम्म कोरोना भाइरससँग पौडेजोरी खेलेको साक्षात अनुभव थियो । श्वासको कति महत्व छ भन्ने कुरा कोरोना पोजेटिभ हुनेले मात्र अनुभव गर्न सक्छन् । बुधबार यस्तो कोरोना भाइरसविरुद्वको खोप लगाउन पाउँदा मनमनै खुसीको बहार छाएको थियो । कोरोना विरुद्वसँग लड्ने क्षमता मसँग छ ।
यसअघि पनि कोरोना विरुद्धको भारतमा निर्मित खोप कोभिशिल्ड लगाउने पालो आएको थियो । नेपाल पत्रकार महासंघको आह्वानमा पत्रकारहरुलाई खोप लगाउने पालो आएको बेला खोप लगाउने अन्योलमा थिए ।
त्यसबेला चीनका रहेका मेरा मित्र सम्पर्क गर्दा यदि तपाईं चीन आउने हो भने चिनियाँ खोप लगाउनु राम्रो भन्ने सल्लाह दिए । केही समय धैर्य गर्न भनेपछि कोभिशिल्ड लगाउन म पछि हटेको थिएँ । उनको सूचना सही रहेछ केही समयअघि चीनले चीन जानका लागि चिनियाँ भ्याक्सिन लगाउनु पर्ने नियम बनाएको खबर नेपालस्थित चिनियाँ दूतावासको प्रेस विज्ञप्ति आयो ।
ठीकै छ, नियम र कानुन आ–आफ्नै हुन्छ । जे भए पनि कोरोनाविरुद्वको खोप लगाउनु नै थियो । जहाँको जस्तो लगाए पनि शरीरमा कोरोना खोप लगाउनु पर्ने नै थियो ।
बीरमा खोप लगाएर कार्यालय फर्केर आएपछि यसो समाचारमा हेर्दै थिएँ । एकै दिनमा मित्रराष्ट्र भारतमा एक लाख २६ हजार कोरोना र नेपालमा ३ सय ३९ जना कोराना पोजेटिभ भएको खबर पढेँ ।
छिमेकी राष्ट्र भारतमा दिन दुई गुना रात रात चौगुना हिसाबले दोस्रो चरणको कारोना महामारी फैलदै गएको खबरले नेपालमा पनि कोरोना महामारी फैलन सक्ने आंकलन गर्न थालिएको बेला खोप लगाउनु यसलाई अवसर पनि ठानेँ ।
त्यसो त खोप लगाउँदैमा कोरोनाबाट सुरक्षित हुन्छ भन्ने होइन । समय–समयमा हात धुने, सेनिटाइजर लगाउने, दुई गजको दुरी कायम गर्ने र मुखमा मास्क लगाउने तालिका कायम राख्नु पर्ने छँदैछ ।
चिनियाँ खोप लगाएपछि तर आगामी शनिवार हाम्रो टोली टेकिङको लागि गोसाईंकुण्ड यात्रामा हिँड्ने योजना हालका स्थगित गरी अर्को उपयुक्त समय तय गर्ने निचोडमा पुग्यो ।
खोप लगाएपछि शरीरमा खोपको असर परेको संकेत अनुभव गरिरहेको छु । रुघा लाग्न खोजे जस्तो, ज्यान दुख्न लागे जस्तो, टाउको भारी भएजस्तो भए पनि प्रत्यक्ष असर परेको छैन । शनिवारसम्म शरीरलाई आराम दिने तर लेखपढ्, कार्यालयको काम निरन्तर जारी छ ।
बधाई झोलिका देव ।लेख पढ्न पाउंंदा झन् खुशी भयो, यो मामा भनौदो मान्छेको । जय होस् ।
बधाई झोलिका देव ।लेख पढ्न पाउंंदा झन् खुशी भयो मन् , यो मामा भनौदो मान्छेको । जय होस् ।