वाह ! होली, आज र भोलि

प्रकाशप्रसाद उपाध्याय

कोरोना संक्रमणका बीच गुज्रिरहेको भए पनि नेपालका जनता रङ र अबीरको चाड– होली उल्लासपूर्वक मनाउन अग्रसर भए र रमाउँदै मनाइरहेका छन् । कतै कुनै त्रास छैन, डर छैन, छ त उमंग, उत्साह र उल्लास, ढोल र नगाडाहरूको ध्वनिको गुञ्ज ।

देशमा दुई दिनसम्म यो पर्व मनाउने गरिएबाट पनि यसको महत्व थाहा पाइन्छ । पहिलो दिन यो चाड नेपालका हिमाली र पहाडी जिल्लाहरूका अतिरिक्त राजधानी काठमाडौंमा समेत मनाइन्छ भने दोस्रो दिन तराई क्षेत्रमा मनाउने गरिन्छ । तराईको होलीमा प्रकट हुने हर्ष, उल्लास र मादकता त हेर्नेयोग्य नै हुन्छ । रङले भिजेका र अबीरबाट राताम्य भएको अनुहार लिएर ढोल, मजिरा बजाउँदै र होली–गीत गाउँदै हिँडेका युवकहरू टोल–टोल र घर–घरमा पुग्दै आफ्ना रसिला गीतहरूबाट प्रेम, हार्दिकता र मनोरञ्जन प्रकट गर्ने गर्दछन् । बूढापाकाहरूका गोडामा अबीर राख्दै उनीहरूबाट आशिर्वाद लिन्छन् । यसरी वर्षमा एक दिन आउने पर्वले केटाकेटी, युवक–युवती, स्त्री–पुरुष, बूढा–बूढी सबैको जीवनलाई हर्ष र उल्लासले भर्ने गर्दछन् ।

सामाजिक सद्भाव, आपसी आत्मीयता र प्रेमभावको प्रदर्शन गर्ने यस पर्वलाई वसन्त ऋतुको महत्वपूर्ण पर्व मानिएको छ । किनभने प्रकृति पनि वासन्ती परिवेशमा रङमय भएको हुन्छ । सर्वत्र रंगीचंगी फूलहरूले प्रकृतिमा मादकता सञ्चार गरेको हुन्छ । चराचुरुंगीहरूको चिरबिर, भमराहरूको भुनभुन र कोइलीको मधुर तानले वातावरणलाई संगीतमय बनाइरहेको बेलामा मानिसमा पनि नयाँ जोस र उल्लासको सञ्चार हुन्छ र यसले अभिव्यक्ति पाउँछ होलीको रूपमा । र, प्रकट हुन्छ रङ र अबीरको वर्षा गर्दै । केटाकेटीहरू लोला फाल्दै रमाउँछन् भने युवक–युवतीहरू पनि आपस्तमा अबीर दलादल गर्दै रमाउँछन् ।

यस पर्वलाई भारतको हिन्दू समाजमा समान उत्साहका साथ मनाइन्छ । भारतमा व्रजभूमि, जुन भगवान श्रीकृष्णको जन्मस्थल र क्रीडास्थल रहेको छ, मा यस पर्वको धूम त दर्शनीय हुन्छ । झन् उनकी प्रेमिका राधाको माइत बरसानेमा, जहाँ उनी होली खेल्न पुग्ने गर्दथे, यसको अभिमञ्चन त झन रमाइलो हुन्छ । बरसानेको होलीले ब्रजभूमिको साहित्य र संगीतमा पनि ऐतिहासिक स्थान पाएको छ र यसले आजपर्यन्त निरन्तरता पाइराखेको छ र अविस्मणाीय रहेको छ । यसको विशेष पक्ष के छ भने राधाको ससुराली नन्दगाँवका पुरुषहरू होली खेल्न भनी राधाको माइत बरसाने पुग्दछन् । हरंगा भनाउने यस उत्सवमा बरसानेका स्त्रीहरूले हामीलाई जिस्काउन आए भन्दैे उनीहरूमाथि लट्ठी वर्षाउन थाल्दछन् । यसो हुँदा बरसानेको होली ‘लठमार होली’को नाउँबाट पनि प्रसिद्ध रहेको छ ।

यस पर्वको महत्व रङ र अबीरको वर्षा र भगवान् श्रीकृष्ण र गोप–गोपिकाहरूले खेलेका होलीका कारण मात्र समाजमा स्थापित भएको होइन । यस पर्वलाई अन्यायमाथि न्याय र असत्यमाथि सत्यको विजयको पनि प्रतीक मानिन्छ । यसै हुँदा मानिसहरू आपस्तमा रङ र अबीर छर्दै यस विजयमाथि हर्ष प्रकट गर्न अग्रसर हुने गर्दछन् । पौराणिक कथाअनुसार, असुर जगतको दैत्यराज हिरण्यकशिपु अत्यन्त क्रुर शासक थियो । आफ्नो आसुरी प्रवृत्तिको कारण उ भगवान विष्णुको घोर विरोधी थियो । तर उसकै घरभित्र हुर्किरहेको थियो भगवान विष्णुको भक्त प्रह्लाद, जो उसको छोरा थियो । पुत्र प्रह्लादको विष्णुभक्ति र धार्मिक क्रियाकलापबाट आजित भई उसले उनलाई दण्डित गर्ने फैसला ग¥यो र आगोको प्रभावबाट मुक्त रहने बरदान पाएकी आफ्नी बहिनी होलिकाको सहायताबाट प्रह्लादलाई खरानी बनाउने संकल्प ग-यो । अनि एक दिन होलिका यस कार्यको निम्ति तयार पारिएको अग्निकुण्डमा आफ्ना भदा प्रह्लादलाई लिएर प्रवेश गरिन्, तर ईश्वरको कृपा पाइराखेका बालक प्रह्लाद अग्निकुण्डबाट सुरक्षित निस्के भने होलिका नै खरानी भइन् । होलीको चाडको पूर्वसन्ध्यामा यो घटना भएकोले आजपर्यन्त अन्यायमाथि न्यायको विजयको प्रतीकको रूपमा अनेक ठाउँमा होलीको अवसरमा होलिका–दहन गर्ने र एकार्कामाथि रङ र अबीर दल्दै हर्ष मनाउने परम्पराले निरन्तरता पाइराखेको छ ।

अन्यायमाथि न्यायको विजयको प्रतीक मानिएको यस पर्वलार्ई नेपाली जनताले रङ र अबीरका साथ मनाउने गर्दछन् । आपस्तमा प्रेम एवम् हार्दिकता अभिव्यक्त गर्दै नाचगान गर्दछन् र यसमा केटाकेटीहरूदेखि युवक–युवतीहरूको समान सहभागिता हुन्छ ।

(लेखक बरिष्ठ रेडियोकर्मी हुन् ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button