कोजाग्रत, कोरोना र ‘अरलिङ-अरलिङ’
मैले नियम उल्लङ्घन गरेँ, समाजले मेरो हजुरबुबाले बताउनुभएको नियमलाई नकारे । तर, अहिले कोरोनाकालमा म नाति पुस्ताले हजुरबुबाको लगाउनुभएको नियम मान्दै छु ।
भरत शर्मा ।
कलियुगको मध्यान्तरतिर छौं हामी । कलियुगको आयु ४ लाख ३२ हजार बर्षको बीचमा मानवजातिलाई नयाँ पाठ पढाइएको छ । सत्य, त्रेता, द्वापर कलियुगका कथा पढ्दै, लेख्दै, सुन्दै र बोल्दै आएका थियौं । घोर कलिकालमा मानवजातिले दुःख, कष्ट ब्यहोदैं असमाजिक, अव्यवहारिक र मानवहिनताको बोध हुने गरी समाज अघि बढ्ने छ भन्ने शास्त्रीय ग्रन्थमै उल्लेख थिए । हामीले त्यो कुरालाई पुरातन र अव्यवहारिक भनेर खिस्सी गर्यौं तर आज हामी भोग्दै छौं ।
हरेक दिन स्नान, ध्यान, जप गर्नुपर्ने कुरा मात्र होइन, पवित्र हुनका लागि हात, गोडा धुनुपर्छ भनेर हाम्रा ऋषि, महर्षिहरुले बनाएको मन्त्रसहितको शास्त्रीय नियमलाई हामीले पालना गरेनौं, गर्न चाहेनौं । परिणाम हाम्रो पुस्ता (हामी)ले सजीव र सचित्र देख्नुभोग्नु प-यो ।
पूर्व, पश्चिम, उत्तर र दक्षिण, चारै दिशामा रहेको विश्वभूगोलको ‘स्वर्ग’देखि ‘पाताल’सम्म यो कोरोना नामधारी तत्वले मानव जातिलाई गतिलैं पाठ सिकाइदिएको छ यस पटक ।
सन् २०२० लाई चिनियाँहरुले ‘अरलिङ–अरलिङ’ भन्ने गर्दछन् । चिनियाँमा ‘अर’ भनेको दुई र ‘लिङ’ भनेको शून्य हो । त्यसलाई जोडेर ‘अरलिङ–अरलिङ’ भनिएको छ । म नयाँ बर्षको शुभकामना बोकेर काठमाडौंको पशुपतिनाथ र स्वयम्भूको डाँडामा बसेर घामको पार ताप्दै ध्यान गरेर एक महिनाको छुट्टी मनाएर चीन फर्कने योजनामा १५ जनवरीमा काठमाडौं ओर्लेको थिएँ । तर, अर्को जनवरी नजिक आउन लाग्यो र कोरोना कहरले यो मनुवा अहिलेसम्म विहान स्वयम्भुको र बेलुका पशुपतिनाथको डाँडामा ध्यान गर्दैं बर्ष दिन वित्न लागिसक्यो, कर्मभूमि चीन जाने अत्तोपत्तो छैन ।
कक्षा कोठामा बसेर भाषा, संस्कृति, इतिहास, राजनीति र कूटनीति कुरा गर्ने मनचाह भए पनि अहिले आधुनिक कम्यूटरमा मुहार हेर्दै अनलाईन शिक्षामा पढेको हो वा पढाएको हो जस्तो गरी सिमित भएको छ समय ।
अझै कोरोना कहर सकिने छाँटकाँट छैन । पहिलो चरणमा देखिएको चीनले पार लगाएको छ तर विश्वका पहिलो भन्ने देश अमेरिकादेखि विकासले चुली छोएको देश युरोप र हामी विकासवादी हौं भन्ने दक्षिण एसियाली देशमा ‘दिन चौगुना र रात दो गुना’ घट्ने होइन बढ्ने क्रम जारी छ ।
यस पटकको दसैं जनताले सरकारको आज्ञापालन गरेर जसोतसो गरेर मनाए । मनमा चैन भएन, ओठमा हाँसो देखिएन र निधारमा रातो टीका लगाएर आर्शीर्वाद लिन जानु पर्ने अभिभावकजनको साथमा जान सकिएन । सरकारबाट हुकुम भयो, ‘जो जहाँ छौं त्यहाँ नै रमाएर दसैं मनाऔं ।’ हामीले ‘हस, हजुर’ भनेर मान्नुको विकल्प नै केही थिएन ।
यसपालीको दसैं यस्तै भयो भन्दै फेसबुकमा फोटो पोस्ट गर्नेहरुले पनि पुरानै बस्त्र धोइधाई गरी आइरन(इस्त्री) लगाइएका कपडा लगाएर घरभित्र दसैं मनाए । नयाँ कपडाले घरमा प्रवेश पाएन अर्थात दसैंमा नयाँ लगाउने र मीठो खाने परम्परामा तगारो लाग्यो । चेलीहरुले माइत जान खोजे पनि ज्वाईंहरुले सुसुराली नजाने निर्णय गरे । सानिमा, ठूलीआमा, श्रीमती र श्रीमानको मामाघर अनेक इष्ट, मित्र गुरु र नातागोताको सामाजिक परम्परा तोडियो यस पटक ।
यो कोरोना भन्ने जिनिस चाहिँ के रहेछ भनेर वैज्ञानिकहरु खोज्दै छन् । चीन, रुस, अमेरिका, बेलायत, जापान र भारत लगायत ठूला र ‘हामी’ हौं भन्ने देशहरुमा यसको खोजी हुँदैछ भन्ने कुरो सुनिए पनि खास चुरोचाहिँ पत्ता लगाउन सकेको जस्तो छैन भन्दै गर्दा चीन र रुसले बनाएको खोप नोभेम्बरको अन्तिमतिर आउँछ भन्ने सु–समाचार सुनिदै छ ।
छिमेकी भारतमा चाहिँ विहार राज्यको चुनावमा भाषणबाजी भयो– ‘कोरोना खोप हामी विहारमा निशुल्क वितरण गर्छौं’ भनेर भोटका लागि । भारतका टेलिभिजनहरुले निकै पहिलेदेखि नै खोप तयार भनेर कराइरहेका थिए । हिजोआज चाहिँ ‘तै चुप मै चुप’को अवस्थामा छन् । राजनीतिक अध्येताहरु भविष्यवाणी गर्दैछन्, ‘विश्व नम्बर १ अमेरिकाका राष्ट्रपतिको चुनाव पर्खेर बसेको छ कोरोना भाइरसविरुद्वको खोपले ।’
साँच्चै कोरोनाले मानिसलाई कोजाग्रत (को जागरण) बनाइदियो । विश्वका मानिसले सावुन पानीले हात धुने बाँनी नै बसाले, भौतिक दुरी अर्थात एक अर्काका बीच निश्चित दुरीमा रहने बानी सिकायो । तर, यो कुनै नौलो कुरा होइन । धादिङमै धेरै बर्ष पहिले हजुरबुबाले घरमा विहान, बेलुका भोजन गर्नुअघि हात, घोडा र मुख नधोइनकन खाना खान नदिने नियम लगाउनु भएको थियो । मैले नियम उल्लङ्घन गरेँ, समाजले मेरो हजुरबुबाको बताउनुभएको नियमलाई नकारे । तर, अहिले कोरोनाकालमा म नाति पुस्ताले हजुरबुबाले लगाउनुभएको नियम मान्दै छु ।
खाना खानुभन्दा पहिले खरानी पानीले हात, घोडा र मुख धुने, पवित्र बन्ने अनि घर बाहिर जाँदा लगाएको सबै लुगा खोलेर हरेक दिन धोइधाई गरेर राखिएको सफा धोतीपाटा फेर्ने र अलग्गै बसेर खाना खाने त्यो परम्परा खोई मैले र हामीले पालना गरेको ? कुरा निकै बर्ष पहिलेको हो, हजुरबुबाले खाना खान लाग्दा अन्जानमा छुन पुगेछु । नजिकै रहेको दाउराको चिरपटले पिडुँलामा बाजा बजाउनुभएको मैले भुलेको छैन । अहिले भोजनालयमा समेत ‘दो गजकी दुरी भोजन जरुरी’ भन्ने हामी सिक्दै छौं । घरमा धोती लगाएर खाना खान बस्नेलाई ‘पाखे’ अर्थात पुरातन बाहुन भन्नेलाई गजबले पाठ सिकाइदिएको छ ‘कोरोना तत्व’ले ।
कोरोना कहरले त व्यक्ति, समाज र राष्ट्रमा उपद्रो जागरण अभियान शुरु भएको छ । हरेक दिन टेलिभिजनमा २० सेकेण्डसम्म मिचिमिचि हात धुने सन्देश प्रवाह छ । सामान्यजनलाई पनि थाहा भएको कुरा राष्ट्रिय टेलिभिजनबाट पटक–पटक भन्दा साना बच्चासमेत कति पटक–पटक भनेको होला भनेर दिक्क मान्दैछन् ।
व्यक्ति सवल हुँदा समाज समृद्ध हुने हो । समाज सुसम्पन्न भयो भनेमात्र राष्ट्र बलियो हुने हो । दक्षिण एसियाली अधिकाश देशहरुमा अहिले पनि अवस्था उस्तै छ । उदाहरण पेश गर्दा भारत, नेपाल, पाकिस्तान, अवस्था उस्तै देखिन्छ । भारत र नेपालमा कयौं संस्कार र संस्कृति समेत मिल्दोजुल्दो भएर होला– सरकारले भनेको कुरा भारत र नेपालका जनताले पालना गर्न हिचकिचाहट देखाउँछन् । चीनमा फरक छ, सरकार भनेको अभिभावक हो, अभिभावकले भनेको मान्नुपर्छ भन्ने संस्कार सिकाइएको छ । चीनका जनताले लकडाउन, समाजिक दुरी, सरकारी नियमको पूर्ण पालना गरे । त्यसो त पालना नगर्नेका लागि हर्दैसम्मको कारवाही गर्ने, गराउने कानुन र नियम भएर पनि होला । हामीकहाँ ‘नियम कानुन दैवले जानुन्’ भन्ने उखान नै बनेको छ ।
कोजाग्रत पूर्णिमालाई शरद पूर्णिमा पनि भनिन्छ । पूर्णिमाको राती लक्ष्मी र इन्द्रको पूजा गरेर रातभर जाग्राम बस्ने शास्त्रीय मान्यता छ । यस रात जाग्राम बस्दा घरमा ऐश्र्वय प्राप्ति हुने विश्वास छ । तर, यस पटक मानव जातिले चाहिँ आफू, परिवार, समाज र राष्ट्रको स्वास्थ्यको कामना गर्दै जाग्राम बस्नुपर्ने अवस्था छ । विगत बर्षमा कोजाग्रत पूर्णिमाका दिनमात्र जाग्राम बस्ने हामीहरु जाग्राम बस्न थालेको झण्डै १० महिना पुग नपुग हुन आटेको छ । यस पटक चाहिँ कोजाग्रत पूर्णिको अवसरमा मानव मनोरोदन सुनेर इन्द्र र भगवान श्रीकृष्णले सुन्नु भयो भने सबैको कल्याण होला ।
सन् १९९९ तिर काशीको नेपाल संस्कृत महाविद्यालय पढ्दा गुरु देवराज पौडेलले कोग्राजत पूर्णिमाको महत्बबारे भन्नुभएको थियो, ‘यो रात भगवान श्रीकृष्णले बज्रमण्डलमा धुमधामसम्म महोत्सव मनाउनु भएको थियो । गोपिनी, ग्वालाहरु जम्मा भएर रातभर सबैजन जाग्राम रहेका थिए ।’ त्यसैले जाग्राम रहनु पर्छ भनेर छात्राबासमा त्यो रात सबै छात्रहरु भजन, कीर्तन र स्त्रोत्र पाठ गरेर सिङ्गो रात जाग्राम बसेका थियौं । त्यो रात हामीले श्रीमद्भगवत गीताको १८ अध्यायको पाठ पारायण गरेका थियौं । आज पनि श्लोकहरु मनभरी गुन्जिरहन्छन् । कोरोनाकालमा हरेक दिन पढ्ने श्रीमद्भगवदगीताको यो श्लोकको स्मरणमात्र भइरहन्छ ।
यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत ।
अभ्युत्थानमधर्मस्य तदात्मनं सृजाम्यहम ।।
परित्राणय साधूनां विनाशाय च दूष्कृताम् ।
धर्मसंस्थापनार्थाय सम्भावामि युगे–युगे ।।
श्रीमद्भगवद्गीता अध्याय ४÷७–८
हे अर्जुन जब–जब धर्मको हानी र अधर्मको बृद्धि हुन्छ, तबतब नै मैले आफ्नो रुपको रचना गर्दछु । अर्थात् साकाररुपमा मानिसका अगाडि प्रकट हुन्छु ।
साधु मानवजनहरुको उद्वार गर्न, पाप कर्म गर्नेहरुको विनास गर्न र धर्मको समुचित स्थापना गर्नका लागि म युग–युगमा प्रकट हुने गर्दछु । (यहाँ भारत भनेको देश होइन । ‘भारत’ भनेर श्रीकृष्णले आफ्ना प्रिय शिष्य अर्जुनलाई सम्बोधन गरेका हुन् ।)
हामीले गरेका पाप कर्महरुको प्रतिफल भोग्दैछौं । संसारका मानवजातिले गरिरहेको तछाडमछाड, प्रकृतिको असिमित दोहन, सत्ता/शक्तिको लागि जे पनि गर्ने प्रवृत्तिआदि जस्ता गैरमनुष्य व्यवहारका कारण पनि पछिल्लो एक बर्षदेखि प्रकट भएको हो ‘कोरोना’ । र, नगेटिभ्ली पोजेटिभ रुपमा कारोनाकै कारण बाध्यत्मकरुपमै भए पनि समाजमा हाम्रो पूर्वीय संस्कारको समुचित पुनस्थापना भइरहेको अनुभव गर्न सकिन्छ । यो कोरोना चीनको एउटा कुनामा देखिएको थियो, विस्तारै बायुयान कुदेजस्तै विश्वभर फैलियो । त्राहिमाम् त्राहिमाम् भन्दै कराउँदै मानिस घरभित्र लुकेर हात धोएर प्रार्थना गर्दै बस्न बाध्य भए ।
अब भएन, हामी घरभित्र मात्र बस्न सकिदैन भन्दै आफ्नो अनुहार छोपेर बाहिर निस्कनु पर्ने र पटक–पटक हात धुनुपर्ने यो दशाबाट मुक्ति चाहने हो भने अध्यात्ममार्ग अर्थात नियम र अनुशासनमा बस्नुबाहेक अर्को उपाय छैन । कथित भौतिकवादीले त न अध्यात्म बुझे न समाजवाद । केवल कथित विकास र कथित मानवअधिकारको मात्र कुरा गरे । कथित विकास र मानवअधिकारले विनास निम्त्याउने हो । अध्यात्म र अनुशासनले मानव जीवन समृद्धि हुने हो ।
पश्चिमाहरुले अहिले आएर पूर्वीय ज्ञान भण्डार सिक्न खोजे । हामी ऋषिहरुका सन्तान भएर पनि आफ्ना पूर्वजका कुरा नसुनी पश्चिमा संस्कृति, पश्चिमा शैलीले हामीलाई भुतुक्कै बनायो ।
लौ, अब ढिलो नगरौं । हाम्रो संस्कार, संस्कृति, हाम्रा पुर्खाका अर्तीउपदेश पढेर, सुनेर, बुझेर अध्यात्मज्ञान खोज्दै स्वास्थ्य सवल बनाउन बजारको गुर्जो खोज्दै नहिडौं । कोजाग्रत पूर्णिमाको अवसरमा सतसङ्कल्प गर्दै हाम्रो आफ्नो इतिहास, सभ्यता र संस्कृतिको खोजी गर्दै घर–घरमा गुर्जो रोपौं । अन्य जडिबुटी रोपौं । त्यसलाई पनि आवश्यकता अनुसार मात्रा मिलाएर तातोपानीमा रस बनाएर पिऔं । त्यसो गर्न सक्यौं भने मात्र कोरोनालाई जित्न सक्छौं । पहिले हामी स्वस्थ्य भयौं भने समाज सवल हुनेछ ।
अब पनि, अहिले पनि, हामीले आफूले आफैलाई नबुझे कोग्राजत पूर्णिमाको रातको जागरण लकडाउनमा दिन विताउन मुस्किल भयो जस्तो होला ।
(चीनको हनान विश्वविद्यालयमा नेपाली भाषा र संस्कृति विषयमा प्राध्यपनरत शर्मा पत्रकारिता तथा पर्यटनमा पनि सक्रिय छन् ।)