अध्यात्मको कखरा र अरु आयाम

नेपालनाम्चाको बिहिबारे स्तम्भ ‘अध्यात्म अन्तरङ्ग’मा कमल रिजाल

प्रसङ्ग अध्यात्मको कखराबाटै सुरु गरौं, यसबारे प्रकाश पारिदिनुहुन्छ कि ?
अवश्य, अवश्य । तपाईं जुन प्रश्न गर्दै हुनुहुन्छ, त्यही हो अध्यात्म, त्यसैभित्र छ अध्यात्म, त्यसैबाट सुरु हुन्छ अध्यात्म । अध्यात्म भनेको आफैमा बोध हो, प्रकाश हो, उज्यालो हो । जसले चिनाउँछ, बोध गराउँछ, त्यसैको नाम हो अध्यात्म । यसको कुनै मूर्त रूप छैन, हुँदैन तर सारा मूर्तरूप यसैको सेरोफेरोमा घुम्छन्, घुमेका हुन्छन्, घुमेका छन् । तपाईं सारा मूर्तरूपलाई यसैले घुमाएको छ भन्न पनि सक्नुहुन्छ । चिनीको स्वाद गुलियो हुन्छ, यही स्वादले नै उसलाई चिनाउँछ, चिनाएको छ, चिनी हुनुको बोध गराएको छ, उसको अस्तित्वलाई टिकाएको छ तर त्यही गुलियोलाई भने मरिकाटे देख्न सक्नुहुन्न । यसको अर्थ गुलियो छैन भन्ने होइन । गुलियो छ, नभएको भए चिनी हुने नै थिएन । गुलियो भएकैले चिनी भएको हो । यसैगरी बुझ्न सक्नुहुन्छ अध्यात्मलाई पनि विशाल फाँटमा ।

अध्यात्म र जीवनको अन्तर सम्बन्धबारे पनि केही बताइदिनुस् न ।
जीवनको मूल स्रोत भनेकै अध्यात्म हो । ऊ अध्यात्मबाटै आएको छ, अध्यात्मकै लागि आएको छ, अध्यात्ममै जिउँछ र अन्ततः आफ्नो यात्रा पनि अध्यात्ममै पुगेर टुङ्गिन्छ, टुङ्ग्याउँछ । यसलाई एकपक्षीय ढङ्गले हेर्न मिल्दैन, हुँदैन । जीवनका सारा पक्षसित जोडिएको हुन्छ अध्यात्म । अझ म त भन्छु शरीरका प्रत्येक अङ्गमा अध्यात्म छ, अध्यात्मको अंश छ । कदाचित यस्तो हुँदैन थियो भने काटिएको ठाउँ पलाउँदैन थियो, भाँचिएको हड्डी जोडिदैन थियो तर त्यस्तो हुँदैन । काटिएको ठाँउको मासु पनि पलाएकै हुन्छ, भाँचिएको हड्डी पनि जोडिएकै हुन्छ । यस्तो चमत्कार किन हुन्छ थाहा छ ? किनकि त्यसमा अध्यात्मको अंश हुन्छ, अध्यात्मले काम गरेको छ । त्यसो भए घाँटी छिनिएको अवस्थालाई के भन्ने ? प्रश्न गर्न सक्नुहुन्छ । उत्तर सहज छ । यो भनेको जरा छिनिएको अवस्था हो । जरा काटिएपछि रुख कि ढल्छ कि मर्छ तर त्यसमा पनि अध्यात्मको अंश भने रहेकै हुन्छ । त्यसैले नै उसलाई अर्को स्वरूपमा परिणत गरिदिन्छ । यहाँ अन्य जति पनि संयन्त्रले काम गरेका छन्, हुन्छन् ती सबै निमित्त मात्र हुन् । मूल कारण अध्यात्म नै हो, अध्यात्मले गर्दा नै यो सम्भव भएको हो ।

मानिस, प्रकृति र अध्यात्मको अन्तर सम्बन्धबारे पनि प्रष्ट पारिदिनुस् न ।
यसको छुट्टै दर्शन छ । अध्यात्मवादीको आफ्नै दृष्टिकोण छ, भौतिकवादीको आफ्नै दर्शन छ । त्यसैले कोही पनि पूर्ण छैनन्, हुनसकेका छैनन्, पूर्णताको कुरा गरेका त छन् तर हुन सकिरहेका छैनन् । पूर्णता निकै टाढा छ, त्यहाँसम्म पुग्न अझै धेरै गर्न बाँकी छ । त्यहाँसम्म पुग्न समन्वयवादी चिन्तनको भ¥याङ चाहिन्छ, जसको चिन्तन अहिलेसम्म सुरु नै भएका छैनन् । जसले गर्दा दुवै दुःखी, अधुरा, अपूरा देखिन्छन् । प्रकृति आफैमा सास्वत हो तर उसलाई व्यावहारिक हुन अध्यात्मको जोडन चाहिन्छ । जब प्रकृति र अध्यात्मबीच सम्भोग हुन्छ तब जीवको उत्पत्ति हुन्छ । गीतामा कृष्णले यसको सुन्दर चित्र प्रस्तुत गरेका छन्, प्रकारान्तरमै सही । जतिबेला प्रकृति र अध्यात्मबीच अन्तर सम्बन्धको समाधि लाग्छ त्यतिबेला नै जीवको उत्पत्ति हुन्छ । मानिसलाई पनि यसैभित्र हेर्नुपर्ने हुन्छ । त्यसैले यिनलाई एकअर्काको पूरक मान्दा हुन्छ जस्तो लाग्छ ।

अध्यात्मलाई जीवनमा कसरी अनुसरण गर्न सकिन्छ ?
हमेशा जीवनरूपी डुङ्गा अध्यात्मको सागरमा तैरिरहेको हुन्छ तर यसलाई हेर्न अलिकति गहिराइमा जानुपर्ने हुन्छ । जीवनरुपी डुङ्गालाई डो¥याउने तत्व भनेकै, पार लगाउने तत्व भनेकै अध्यात्मले हो, अध्यात्मबाटै हो । हामी मानौं नमानौं जीवन बनाउने काम पनि अध्यात्मले नै गरेको हुन्छ, बचाउने, बढाउने र पार लगाउने काम पनि अध्यात्मले नै गरेको हुन्छ । यस्तो अवस्थामा कसरी अनुसरण गर्ने भन्ने । हामीले चाहेर पनि र नचाहेर पनि आफै अनुसरण भइरहेको हुन्छ, भइरहेको छ । कसले कसरी लिन्छन् त्यो उनीहरूको कुरा हो, उनीहरूका समस्या हो । भाले नबास्दैमा उज्यालो नहुने होइन । भाले बास्छ कि बास्दैन उसको काम हो तर नबासे पनि उज्यालो भने भएकै हुन्छ । यसलाई पनि यसैभित्र हेर्नुपर्छ जस्तो लाग्छ ।

केही मानिस अध्यात्मलाई जीवनभन्दा अघिल्लो र माथिल्लो मान्ने र भन्ने गर्छन् के त्यो सही हो ?
हो पनि होइन पनि । अर्थात् यसमा आंशिक सत्यता छ । आधा मात्र सत्य हो, पूरा सत्य होइन यो ।

त्यसो भए पूर्ण सत्य चाहिं के हो त ?
जीवनको उत्पत्ति अध्यात्मको गर्भबाट हुन्छ, यस अर्थमा जीवनभन्दा अध्यात्म पहिलो पनि हो, ठूलो पनि हो तर अध्यात्मलाई प्रयोग हुन जीवन चाहिन्छ यस अर्थमा त्यो सत्य होइन । जीवनको स्रोत अध्यात्म भएकाले यसकै आधारमा उसलाई ठूलो भन्नसम्म सकिन्छ तर ठूलो र सानो भनेको के हो त्यसलाई भने बिर्सनुहुँदैन । संसारमा ठूलो, सानो र अघिपछि भन्ने नै हुँदैन । रूपमा बाबु आमा ठूला हुन्, अघिल्ला हुन्, उनीहरूकै कारण सन्तान भएका हुन्, उनीहरूले नै बनाएका हुन् तर सारमा हेर्नुभयो भने सन्तानले पनि बाबुआमालाई बनाउने काम गरेका हुन्छन् । छोराछोरी छन् र त बाबुआमा बनेका हुन् । उनीहरू भएका थिएनन् भने को बाबु, को आमा, कहाँको बाबु, कहाँको आमा । कसलाई ठूलो भन्ने कसलाई सानो ? कसलाई अगाडि भन्ने कसलाई पछाडि । एकले अर्कोलाई बनाएका छन्, एक भएपछि नै अर्को भएका हुन् । आखिर सन्तान भनेकै के हो र ? बाबुआमाकै फैलावट न हुन् । विस्तार अर्थमा रहेको तनु धातुबाट सन्तान शब्द बन्छ । यस अर्थमा बाबुआमाका विस्तारितरूप हुन् सन्तान । यही हो पूर्ण सत्य । तथापि व्यवहार भने बेग्लै छ र व्यवहारमा रहेसम्म त्यसलाई पनि बिर्सनुहुँदैन । त्यसैले आधा सत्य भनिएको हो, भन्नुपरेको हो ।

जीवनका लागि अध्यात्म कि अध्यात्मका लागि जीवन ? यसबारे पनि केही बताइदिनुस् न ।
यो पनि त्यस्तै हो । सरसर्ती हेर्दा जीवनका लागि अध्यात्म आवश्यक देखिन्छ । जति पनि जीवन बरवाद भएका छन्, अध्यात्मलाई बिर्सेर वा बिर्सन खोजेर नै भएका छन् तर अध्यात्मका लागि जीवन पनि उत्तिकै आवश्यक पक्ष हो भन्ने बिर्सनुहुँदैन ।

अध्यात्म व्यवहारको विषय हो कि व्याख्या को ?
अध्यात्म व्यवहारकै विषय हो, व्यवहारबाटै व्यक्त हुने विषय हो, व्यवहारबाटै देखिने विषय हो । त्यसैले थप व्याख्या आवश्यक पर्ला जस्तो लाग्दैन ।

यसको अर्थ यो अनुभवको विषय हो भन्न खोज्नुभएको हो ?
हो, अनुभवबाटै सिद्ध हुने विषय हो ।

कसरी ? थप प्रष्ट पारिदिनुस् न ।
प्रष्टै छ नि । जस्तो गुलियोको कुरा अघि पनि गरियो । यसलाई कसरी व्याख्या गर्ने ? खाएपछि नै अनुभव हुने न हो । अध्यात्मलाई पनि त्यसैगरी हेर्नुपर्छ । यसको व्याख्या गर्न खोजियो भने गुलियोको पनि व्याख्या जरुरी हुन्छ, जुन आफैमा असम्भव कुरा हो ।

हवस त आजलाई यति नै । बाँकी अर्को अंशमा हुन्न ?
हुन्छ, त्यसै गरौ, धन्यवाद ।

(लामो समय गोरखापत्रमा ‘अध्यात्मदर्शन’र युवामञ्चमा ‘जीवनदर्शन’स्तम्भ लेखेका रिजालले तीन वर्ष इमेज एफएममा आध्यात्मिक कार्यक्रम सञ्चालन समेत गरेका थिए । अध्यात्मदर्शनमा आधारित रिजालका एक दर्जन पुस्तक प्रकाशित छन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button