३ दशकको ‘पोल्टिक्स’ तर ‘भोट’ माग्न पाएनन्
२०४६ सालमा हाईस्कुल पढ्दै थिए । जनआन्दोलन शुरु भयो । केहि शिक्षक र विद्यार्थीले विरोध जुलुस निकाले । त्यहीँबाट राजनीतिमा लगाव शुरु । र, अहिलेसम्म कायमै । नेपालनाम्चाले सुरु गरेको नयाँ स्तम्भ ‘राजनीति’को उद्घाटन अंकमा कालीकोटे नारायणप्रसाद भट्टराई ।
राजनीतिमा कसरी र किन लाग्नु भयो ?
२०४६ सालको फागुनमा जनआन्दोलन शुरु हुने खबर सुनियो । त्यति बेला न राजनीति थाहा थियो, न बहुदल वा निर्दल । प्रधानपञ्चहरु देखेको थिएँ तर राजनीतिक हिसाबले केहि थाहा थिएन । २०४६ सालको फाल्गुण ७ गते प्रजातन्त्र दिवस मनाउन केहि साथीहरु समेत स्कूल जाँदै थियौ । बाटोमा पर्ने एउटा घरमा एक जना बहुदलवादी नेता बसेका रहेछन् । पछि थाहा भयो, उनी जनआन्दोलनका लागि काठमाडौंको चाक्सीवारी सम्मेलनमा भाग लिएर गएका रहेछन् । उनी र चार–पाँच जना शिक्षक र केहि विद्यार्थी मिलेर ७ गते प्रजातन्त्र दिवसको सट्टा कालो झण्डा बोकेर बहुदलको पक्षमा जुलुस निकाल्यौं । पञ्चायत राम्रो व्यवस्था होइन, हामीले बोल्न पाउनु पर्छ, त्यसैले बहुदल चाहिन्छ भन्ने मुख्य कुरा थियो । त्यसले मलाई पनि प्रभावित बनायो ।
राजनीतिक जीवनमा तपार्ईंले सुरुदेखि अहिलेसम्म के कस्तो जिम्मेवारीमा रहेर काम गर्नुभयो ?
जनआन्दोलन सफल भयो । त्यसपछि हामी बहुदलवादी पनि काँग्रेस र कम्युनिष्टमा बाँडियौ । नेताहरु गएर आ–आफ्नो संगठन गर्न थाले । म पनि स्वभाविक रुपमा काँग्रेसमा लागे । तर, पछि थाहा भयो, विद्यार्थीले त पहिले नेपाल विद्यार्थी संघ (नेविसंघ)मा काम गर्नुपर्छ भनेर । अनि म नेविसंघको स्कूल कमिटीको सचिव भएँ । त्यसपछि जिल्ला कमिटीको सदस्य, केहि समयपछि जिल्ला सचिव र कार्यवाहक अध्यक्ष । नेविसंघको दुइ वटा महाधिवेशनमा भाग लिएँ ।
नेविसंघ पछि नेपाल तरुण दलमा काम गरेँ । पाँच वर्षपछि केन्द्रीय सदस्य बनेँ । तरुण दलका दुइ वटा महाधिवेशनमा म केन्द्रीय भूमिकामा नै थिएँ । नेपाली काँग्रेसको १२ औ र १३ औ महाधिवेशनमा कालिकोट जिल्लाबाट महाधिवेशन प्रतिनिधि भएर भाग लिएँ । अहिले पार्टीको महासमिति सदस्यका रुपमा क्रियासिल छु ।
जे सोचेर राजनीतिमा लाग्नु भयो, त्यस अनुसारको प्राप्ति भएजस्तो लाग्छ ?
म राजनीतिमा प्रवेश गर्दा खासै ठूलो योजना वा सोच थिएन । परिस्थितिले लागियो, तर पनि स्वतन्त्रता र वाक स्वतन्त्रता भने भित्रैदेखि मन परेको थियो । प्राप्त पनि भयो । २०५९ पछि राजाले खोसे । मसाल बाकेर आन्दोलनमा होमियो । हामीले त २०५९ देखि निरन्तर २०६३ सम्म आन्दोलन गर्यौं । एक कदम अगाडि बढेर गणतन्त्र पनि आयो । त्यति बेला असाध्यै प्रसन्नता मिलेको थियो । तर, अहिलेका अवस्था हेर्दा सोचमग्न छु । फेरि एकपटक लड्नु पर्छ कि ? अझै लोकतन्त्र र गणतन्त्र सार्थक भइसकेको छैन कि ? मनमा प्रश्न उठेको छ ।
राजनीतिमा लागेर के पाउनभयो ? गुमाउनुभयो ?
राजनीतिबाट देखाउन मिल्ने गरी केहि पाएको छैन, खासै ठूलो लालसा पनि छैन । सरकारको कुनै पनि निर्वाचित वा मनोनित हुने पदमा बसेको छैन । कुनै सुविधा पाउने पदमा समेत बसेको छैन । अहिलेसम्म जनताको भोट माग्ने गरी चुनाव पनि लडेको छैन । तर, पनि राजनीतिले मलाई ‘आजादी’ दियो । संघर्षको बेलाको माग पुरा गरिदियो । नागरिक अधिकारको पैरवी गर्ने र उपभोग गर्ने बनायो । एक प्रकारको पहिचान दियो । नेपालभरी एक किसिमको साथीहरुको सञ्जालमा आवद्ध हुने अवसर पनि राजनीतिले दिएको हो ।
राजनीतिमा मैले मेरो पुरै समय लगाएको छु, पार्टीको काम भनेर । मैले मेरो परिवारका लागि पनि समय छुट्याउन सकेको छैन । हरेक दिन केहि न केहि बैठक भेला भैहाल्छ । कुनै गतिलो काम, पेशा, व्यवशायमा पनि लाग्न सकेको छैन । परिवारका सदस्य र आफन्तले भनेको समयमा अरु त परको कुरा समय पनि दिन सकेको छैन । जीवनको महत्वपूर्ण उर्जाशील समय मैले यसैमा व्यतित गरेँ, कतै गुमाएको कुरा यहि पो हुन्छ कि ?
अहिलेको राजनीतिक स्थितिबाट सन्तुष्ट, असन्तुष्ट के हुनुहुन्छ ?
अहिलेको राजनीतिक स्थितिबाट म असाध्यै असन्तुष्ट छु । राजनीति जनसेवा हो । यो मानवको कल्याणका लागि गरिने सेवा हो । तर, अहिले सबैभन्दा ठूलो व्यापार र व्यवसायका रुपमा यसलाई अंगिकार गरियो । केहि थान मानिसले यसलाई एउटा उद्योगका रुपमा विकास गर्न खोजे । गणतन्त्र आएको एक दशकमै यसलाई असफल बनाउने गरी जिम्मेवारहरुबाट गैरजिम्मेवार हरकत्हरु भए । राजनीतिमा लेनदेन, सेटिङ र म्याच फिक्सिङ जस्ता शब्दावली हावी हुनु दुुखद हो । राजनीतिमा निष्ठा, आदर्श, इमान र सदाचार कमजोर बन्दै गएको छ , जुन लोकतन्त्रका लागि अति दुखद हो ।
पुस ५ गते प्रधानमन्त्री खड्गप्रसाद ओलीले हठात् र असंवैधानिक रुपमा प्रतिनिधिसभाको विघटन गरिदएपछि त झन आक्रोसित बनाएको छ । यसले मुलकमा लोकतन्त्रको भविष्य के हुने भन्ने नयाँ बहसको पनि विजारोपण गरिदएको छ ।
राजनीतिमा लाग्दाका रमाइलाहरु सम्झनु हुन्छ ? अनि नरमाइलाहरु त ?
रमाइलो त मनको अनुभूति हो । २०४६ सालमा बहुदल आएपछि निकै खुसी भएँ । स्कूलमा आयोजित सभामा मन्तव्य राखेको सम्झिन्छु । अर्को, पछिल्लो जनआन्दोलन सफल हुँदाको खुसी पनि मानसपटलमा ताजै छ । अर्को खुसी, मुलकमा गणतन्त्र स्थापना भएको दिन पनि हो ।
माओवादी सशस्त्र हिंसाको समयमा म आफ्नो जिल्लाभन्दा लामो समय बाहिर बस्नु पर्यो । त्यो बेलाको जनजीवनको सजीव अनुभूति हुन पाएन । घर, परिवार, गाउँ र समाजभन्दा टाढाको बसाई एकप्रकारको निराशायुक्त थियो ।
तपाईंको आदर्श को को हुन् ?
मैले मेरो आदर्शका रुपमा वीपी कोइरालालाई मानेको छु । उहाँसँग साक्षात्कारको अवसर त प्राप्त भएन तर अध्ययनको हिसाबले त्यो विराट व्यक्तित्व सारा नेपालीको आदर्श हुनुपर्छ । राजनीति मात्र होइन, समाज विज्ञानका सबै आयाममा वीपी जतिकै व्यक्तित्व मैले देखेको छैन । अहिंसाको दर्शनमा महात्मा गान्धी र नेलसन मण्डेला मेरा लागि अर्को आदर्शको मार्ग हो ।
तपाईं राजनीतिलाई कसरी व्याख्या गर्नु हुन्छ ?
समाजलाई दिशानिर्देश गर्ने, देशलाई नेतृत्व दिने सबैको एक भरोसा र विश्वासको मार्ग हो राजनीति । यो सदैव मानव कल्याणका लागि हुनुपर्छ । देखाउने र चपाउने दुइथरी दाँत हुनुहुँदैन राजनीतिमा, यो राजनीतिप्रतिको वितृष्णाको बीउ हो ।
जे सोचेर राजनीतिमा आउनुभयो, फर्केर हेर्दा पछुतो त लाग्दैन नि ?
कुनै पछुतो छैन । तर, राजनीतिको एक्टर छनौटमा हामी चुक्दै आइरहेका छौं । हामीलाई बारम्बार इतिहासले त्यहि सूचित गर्छ । हामी तत्काल भावनमा बहकिन्छौ अनि फुर्सदमा पछुताउनु पर्छ । अहिले पनि त्यहि भएको हो । जो लाएकै थिएन, उसैलाई हामीले जिम्मा दियौं । भनाई छ नि, बाँदरलाई मकैको कुन्यौ, जस्तै भयो । माथिदेखि तलसम्म, राज्यका सबै अंगमा परिवर्तनलाई आत्मसात गर्नेको संख्या कमी भयो कि ? यो विचारणीय र सोचनीय छ ।
राजनीतिबाहेक तपाईंको रुचिको क्षेत्र के हो ?
राजनीतिबाहेक मेरो रुचीको क्षेत्र लेखन हो । म अन्य माध्यमबाट समाजसेवाको क्षेत्रमा पनि जोडिएको छु । साहित्यमा गहिरो अभिरुची छ । तर, कृतिका रुपमा सार्वजानिक गर्न सकेको छैन । नेपाली समाजको अध्ययन मेरा लागि सबैभन्दा रुचीको विषय हो, चाहे त्यो राजनीतिबाट होस् वा अरु विधाबाट ।
यदि तपाई राजनीतिमा नभएको भए कहाँ हुनुहुन्थ्यो ?
म क्रियासिल राजनीतिमा नलागेको भए साहित्य र अध्ययनको क्षेत्रमा हुन्थेँ ।
राजनीति फोहोरी खेल हो पनि भन्छन्, कतिपयले । तपाईंलाई के लाग्छ ?
राजनीति त समाजका लागि, देशका लागि र अझ अहिलेका समयमा विश्वका लागि नभै नहुने सर्वाधिक महत्वको विषय हो । तर, यसका एक्टरहरुले कहिले फोहोरी बनाई दिन्छन्, कहिले निराशाजनक बनाइदिन्छन् । यो त एक्टरमा भरपर्दो रहेछ । गाडी जतिसुकै राम्रो भए पनि चालकले भीरबाट खसाल्यो भने गाडीलाई वा यात्रीलाई किन दोष दिनु ।
राजनीतिमा लाग्ने मानिसमा नभई नहुने ३ वटा गुण के हुन् ?
यो कठिन प्रश्न हो । जम्मा तीन वटा गुणले मात्र राजनीति संचालन गर्ने हो भने अहिलेकै अवस्था हुन्छ । धेरै कुरामा ध्यान जान जरुरी छ । एक्टरमा थुप्रै गुणको आवश्यकता पर्छ । त्यसको प्राथमिकतामा आदर्श, इमान र सदाचार मुख्य ठान्छु ।
के राजनीति सत्तामा पुग्ने एउटा प्रकृयामात्र हो वा त्यसभन्दा फरक ?
स्वभाविक रुपमा राजनीतिले समग्र सत्ताको नेतृत्व गर्छ । रुपमा हेर्दा यो सत्तामा पुग्ने भ¥याड. जस्तो देखिन सक्छ । खासगरी हामीकहाँ यस्तो देखिदै आएको पनि छ । एउटा जान्छ र अघिल्लोको विरासतलाई निरन्तरता दिन्छ । तर, त्यसोमात्र होइन राजनीति, यसले देश बनाउने, समाज बदल्ने, नयाँ पुस्तालाई आशा जगाउने र समग्र समाजलाई इन्टिग्रेट गर्ने हो नि, यस विषयमा त राजनीतिबाहेक अरु सत्ताको नेतृत्व पनि त इमान्दार हुनुपर्छ नि ।
दश बर्षपछि भेट्दा तपाईंलाई राजनीतिमै भेटिन्छ कि अन्त कतै ?
यति लामो समयको कुरा भविष्यलाई नै छोडिदिउँ । तर, यतिमात्र भन्न सक्छु, आजसम्म जे का लागि प्रयत्न गरेर, त्याग र समर्पण गरेर आइयो, त्यो पुरा गर्ने अभियानमै हुुनेछ ।
साना नानीहरुलाई तपाईं एक राजनीतिकर्मीको हिसाबले के भन्नु हुन्छ ?
पोखरीको डिलमा बसेर जसरी पोखरी सफा गर्न सकिदैन, त्यसरी नै राजनीतिलाई गाली गरेर फोहोरी खेल भनेर सुध्रिदैन, सप्रिदैन । अहिलेको नयाँ पुस्ता, जो इन्टरनेटको विश्वसँग साक्षात्कार छ, संसार बुझेको छ, त्यसले राजनीतिको नेतृत्व लिने साहस पनि गर्नुपर्छ । अहिलेको फोहोर राजनीति बढार्ने संकल्प र योजना नयाँ पुस्ताको लागि एक अनिवार्य जिम्मेवारी हो ।
प्रश्न अनगिन्ती छन् । फेरि पनि कुरा गरौंला । अहिलेलाई चाहिँ थप केही भन्न चाहनु हुन्छ ?
मेरो अनुभव र अनुभूतिहरु अभिव्यक्त गर्ने यो अवसरका लागि नेपालनाम्चा लाई धन्यवाद दिन चाहन्छु । देशको समुन्तति र नागरिकको स्वाभिमानका लागि लोकतन्त्र अनिवार्य शर्त हो । यसको दियो निभ्न नदिन आजको तन्नेरी पुस्ताको सर्वाधिक ठूलो जिम्मेवारी हो । यसका लागि चनाखो रहन आव्हान गर्दछु ।