रामले अध्यात्मको तुरुप लाए उहिले, नेताका नाम ‘हनुमान’बाहेकले लिदैनन् अहिले
नेपालनाम्चाको बिहिबारे स्तम्भ ‘अध्यात्म अन्तरङ्ग’ को तेस्रो श्रृंखलामा कमल रिजाल ।
अघिल्ला अङ्कहरूमा स्वस्थानीका कुरा ग-यौ, स्वस्थानीको आध्यात्मिक पक्षका बारेमा कुरा ग-यौं । आज राजनीति र अध्यात्मसँग जोडिएर कुरा गरौं हुन्न ?
हुन्छ, किन नहुने । यो पनि उत्तिकै समसामयिक विषय हो, चर्चालायक विषय हो, चर्चा गर्नुपर्ने विषय हो, विश्व परिवेशकै लागि पनि र हाम्रै परिवेशका लागि पनि ।
तपाईंको विचारमा राजनीति र अध्यात्म एउटै हुन् कि फरक फरक विषय हुन् ?
यी आ–आफ्नै सोचाइमा भर पर्ने विषय हुन् । एउटै आँखाले हेर्न पनि सक्नुहुन्छ, हेर्ने पनि छन् । फरक आँखाले हेर्न पनि सक्नुहुन्छ, हेर्ने पनि छन् । मुख्य कुरो राजनीति केलाई भन्ने हो । राजनीति विशुद्ध राजनीति मात्र हो भने पक्कै यी दुई एकै हुन् । होइन राजनीति केवल भन्नका लागि मात्र हो, देखाउनका लागि मात्र हो, भजाउनका लागि हो, कमाउनका लागि हो भने यी दुई नितान्त भिन्न विषय हुन् । जुन हामीले देख्दै र भोग्दै आएका छौं । जहाँ राजनीति केवल राजनीतिकै लागि गरिन्छ, राजनीतिमै समर्पित भएर गरिन्छ त्यहाँ स्वतः अध्यात्मको लेप लागिसकेको हुन्छ । जहाँ राजनीतिलाई पेशा बनाइन्छ, बनाउन खोजिन्छ त्यहाँ पनि अध्यात्मको खोजी गर्न थालियो भने त्योभन्दा मूर्खता अरु केही हुने छैन ।
यसलाई अलि प्रष्ट पारिदिनुस् न । के यसको अर्थ हालको राजनीति अध्यात्मबाट निकै पर छ भन्न खोज्नुभएको हो ?
हो, भन्न खोजेको त्यही हो । हाल हामी जुन राजनीति गर्र्दै आएका छौं, देख्दै आएका छौं, भोग्दै आएका छौं त्यससँग अध्यात्मको साइनो गोरु बेचे बराबर पनि छैन । जुन राजनीतिले आफूबाहेक केही हेरेको छैन, आफ्नाबाहेक केही हेरेको छैन, त्यस्तो राजनीतिलाई कसरी अध्यात्मसँग जोड्ने ? यस्ता फोहोरी राजनीतिलाई पनि अध्यात्मसँग जोड्न खोज्नु भनेको अध्यात्मको नाममा भद्दा मजाकबाहेक केही होइन ।
यिनलाई आपसमा जोड्न पाए हालको राजनीति कस्तो हुन्थ्यो होला ?
प्रष्टै छ नि राजनीतिले सम्मान पाउँथ्यो, नेताहरूले प्रशंसा पाउँथे । लिङ्कन, किसुनजी वाजपेयीजस्ता दिग्गज पनि राजनीतिक आकाशमै उदाएका हुन्, हालका नेताहरू पनि राजनीतिकै भ¥याङ चडेर त्यहाँ पुगेका हुन्, जसको प्रशंसा अहिले पनि हुने गरेको छ । नाम लिनासाथ श्रद्धाले सबैको शिर झुक्छ तर हालका नेताहरूका नाम उनीहरूकै हनुमानबाहेक अरुले सितिमिति नामै लिन पनि चाँहदैनन् । राजनीतिको कुरा पनि त्यस्तै हो । आज आम मानिस राजनीति भन्ने बित्तिकै किन नाक खुम्च्याउन थालेका छन्, थाहा छ ? के राजनीति त्यस्तै हो ? होइन, हुँदै होइन । राजनीति भनेको नीतिहरूको राजा हो, जसले सर्वे भवन्तु सुखिनः को खोजी गर्छ । त्यही राजनीति आज किन यति फोहरी भयो ? किनकि राजनीतिलाई अध्यात्मबाट पूर्णतः विमुख गरियो, पेसा बनाइयो, व्यापार गर्न थालियो । जबतक राजनीति स्वार्थी नेताहरूको सत्तारोहणको भ-याङ मात्र हुन्छ वा बनाइन्छ तबतक हुने यस्तै हो ।
राजनीतिज्ञहरू आध्यात्मिक पनि भइदिए भने समाजको स्वरूप कस्तो हुन्थ्यो होला केही बताइदिनुस् न ।
रामराज्य, नितान्त रामराज्य । थाहा छैन राम कथाका पात्र मात्र हुन् कि हकिकत नै हुन् । हकिकत नै हुन् भने पनि उनको समय आजभन्दा ११ हजार वर्ष अघिको हो । कसैले १३ हजार वर्ष अघिको कुरा पनि गरेका छन् । अहिले पनि उनको सम्झना गरिन्छ, उनको प्रशासनको कुरा गरिन्छ, राज्यको कुरा गरिन्छ । यो भनेको के हो ? त्यतिबेलाको प्रशासन स्वस्थ थियो, शुद्ध थियो । कुकुरले पनि न्याय पाउँथ्यो । कसैमाथि अन्याय र थिचोमिचो हुँदैन थियो । यस्तो किन भयो थाहा छ ? किनकि राम राजनीतिज्ञ मात्र थिएनन्, आध्यात्मिक पनि थिए । रामले राज्यशासनमा अध्यात्मको तुरुप लगाएका थिए ।
अध्यात्म आफैमा राजनीति हो भन्न सकिन्छ कि सकिन्न ? के भन्नुहुन्छ ?
यो दृष्टिकोणमा भर पर्ने कुरा हो, व्याख्या र विश्लेषणमा भर पर्ने विषय हो । अध्यात्मको अर्थ आत्मनिभाव हो, जुन पहिले पनि कतै चर्चा भइसकेको छ । यदि राजनीतिको उद्देश्य पनि आत्मनिभाव नै हो, यसैका लागि नै राजनीति गरिएको छ भने यो पनि राजनीति नै हो तर अहिले संसारमा जुन किसिमको राजनीतिले स्थान पाएको छ, जस्तो राजनीति गरिएको छ र यही नै राजनीति हो भने अध्यात्म योभन्दा निकै माथिको विषय हो ।
धर्म र राजनीतिबारे पनि केही बताइदिनुस् । यसलाई कुन अर्थमा सही वा गलत भन्न सकिएला ?
यो आफैमा सही पनि हो, गलत पनि हो । यस पहिले के प्रष्ट हुनुपर्छ भने धर्म भनेको के हो ? सम्प्रदाय मात्र हो कि अरु केही पनि ? हालको कुरा गर्नुहुन्छ भने बढी सम्प्रदायमै अथ्र्याउने गरिएको पाइन्छ । अहिलेको धर्म शब्द नै सम्प्रदायमा रुढ भएको छ । होइन धर्म अर्कै र सम्प्रदाय अर्कै हो भने यसलाई अघिपछि पारेर हेर्न सक्नुहुन्छ । धर्मलाई राजनीतिको आँखाले हेर्नु गलत हो तर राजनीतिलाई धर्मको आँखाले हेर्न भने सकिन्छ । धर्मको नाममा राजनीति गर्नुहुँदैन तर राजनीतिलाई भने धर्मसँग जोड्न सकिन्छ, जोड्नुपर्छ । वास्तवमा धर्मपूर्वकको राजनीति नै सही राजनीति हो ।
तर, हालका राजनीतिमा धर्मलाई जोडिएको पाइन्न नि ? के आवश्यक नभएर नै यस्तो भएको हो ?
आवश्यक नभएर होइन कि आवश्यक नठानेर हो । हालका राजनीतिक पण्डितहरू आफै देशको कुनै धर्म हुँदैन भन्न थालेका छन् भने यसलाई के भन्ने ? देशको धर्म हुँदैन भन्नुको अर्थ के पाप मात्र छ, पाप गर्छ, पाप गर्न पाउनुपर्छ भन्न खोजिएको हो ? होला देशको सम्प्रदाय नहोला, सम्प्रदायमा आबद्ध हुन नमिल्ला तर देशकै धर्म छैन भन्दै हिड्न मिल्छ, पाइन्छ ? यस्ता उपबुजु्रकहरूद्वारा निर्देशित राजनीति धर्मसँग नजोडिनु के अनौठो भयो र ? उनीहरू थाहा नपाएर नजोडेका हुन् भन्न त नमिल्ला तर आवश्यक नठानेर नजोडेका हुन् चाहिं सकिन्छ । जहाँको राजनीतिमा हिंसामय छ, हिंसाले स्थान पाएको छ, हिंसाको परखाल टेकेर माथि उठेको छ, जहाँका मानिस अर्को काम नपाएपछि, राजनीतिमा लाग्ने गरेका हुन्छन्, जहाँ राजनीतिज्ञको भरपाइ ढुङ्गामुढाले दिएको हुन्छ, कसले कति ढुङ्गा हान्यो, कति ध्वंस वा तोडफोड ग¥यो, कतिको ज्यान लियो, रगतको खोलो कत्रो बगायो र कति वर्ष जेलमा बस्यो भनेर हेर्ने गरिएको छ । त्यहाँका राजनीतिमा, त्यस्ता मानिसले निर्देशित गरेका राजनीतिमा धर्मले स्थान नपाउनु, धर्मलाई नजोड्नु कुन ठूलो कुुरा भयो र ।
राजनीति र अध्यात्म कसले कसलाई निर्देशित गर्छ ? कि यो प्रश्नै बेकारको हो ?
प्रश्न बेकारको होइन । बेकारको प्रश्नै हुँदैन । कुनै न कुनै अर्थ बोकेका हुन्छन् हरेक प्रश्नले । यो त झन् प्रश्नै त्यस्तै छ । त्यसैले त्यतातिर नजाउँ । हुनुपर्ने त अध्यात्मले नै राजनीतिलाई निर्देशित गर्नुपर्ने हो तर अहिलेको अवस्था ठीक विपरीत छ । राजनीतिले अध्यात्मलाई निर्देशित गरेको छ, गर्न खोजेको छ, जसको नतीजा हामीले भोग्दै आएका छौं । जहाँका राजनीतिलाई अध्यात्मले निर्देशित गरेको हुन्छ त्यहाँ पारस्परिक सद्भाव हुन्छ, एकले अर्कोलाई सहयोग गर्छ तर जहाँ यस्तो हुँदैन त्यहाँ घृणा हुन्छ, तिरस्कार हुन्छ, गालीगलौज हुन्छ, आरोपप्रत्यारोप हुन्छ । विस्तारै त्यो बढ्दै गएर काटाकाट र मारामारको अवस्थामा परिणत हुन्छ ।
धन्यवाद, थप चर्चा आगामी बिहिबारको अंकमा गरौंला हुन्न ?
हुन्छ, धन्यवाद । त्यसै गरौं ।
(लामो समय गोरखापत्रमा ‘अध्यात्मदर्शन’र युवामञ्चमा ‘जीवनदर्शन’स्तम्भ लेखेका रिजालले तीन वर्ष इमेज एफएममा आध्यात्मिक कार्यक्रम सञ्चालन समेत गरेका थिए । अध्यात्मदर्शनमा आधारित रिजालका एक दर्जन पुस्तक प्रकाशित छन् ।)