ठगीधन्दा र वैदेशिक (बे)रोजगारीका दुख

कृष्णचन्द्र बञ्जारा

नेपालमा हरेक बर्ष लगभग पाँच लाख यूवा रोजगारीका लागि तयार हुन्छन् । यसरी तयार भएकाहरुमध्ये कति लाख यूवा नेपाल भित्रकै सरकारी तथा नीजि रोजगार दाताहरुसँग रोजगारी गर्नका लागि योग्य ठहरिन्छन् ? कति लाख जना चाहिँ अयोग्य भएर देशबाट बाहिरिन्छन् ?

लाखको कुरा नगरौ । देशमा अत्याधिक भए हजारको संख्यामा रोजगारी खुल्छ । धेरै भए सयको हजाराहारीमा या प्राय केही जनाको हाराहारीमा हुन्छ । बस त्यसमा आबेदन दिएर ‘मचाहिँ पक्का छनोट हुन्छु होला’ भन्ने अपेक्षा गरेर आवेदन दिनेको संख्या चाहि हजारौ होइन, लाखौ हुन्छ । सरकारले यूवाहरुको लागि भनेर ल्याएको ‘ड्रिम प्रोजेक्ट’ प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत रोजगार संयोजक पदमा ७ सय ५३ पदका लागि खुलाइएको पदमा २४ हजारले आवेदन दिएका थिए, जहाँ छनोट नभएका २३ हजार २ सय ४७ जना जुझारु यूवा अहिले के गर्दै होलान् ? त्यो भन्दा पनि कम संख्यामा लोकसेवा खुल्दा छनोट नहुने लाखौ यूवा कता लागे होलान् ?

रोजगार नपाए पनि तिनले सपना देख्न त पक्कै छाडेनन् होला । अयोग्यमध्ये प्रायले एक दिन त पक्कै हाम्रो पनि दिन फिर्ला भन्ने कामना गरे होलान् । अमेरिका, यूरोप, कोरिया या जापान जान नसके खाँडी भए पनि पसौला अनि आफनो भाग्यको तारा चम्काउँला भन्ने ठाने होलान् र एक दिन न एक दिन पक्कै धेरैभन्दा धेरै पैसा आर्जन गरौँला भन्ने पनि सोचे होलान् । त्यहि आशा र अपेक्षा बोकेर घर छाड्नेहरुको संख्या नेपालमा अत्याधिक छ । प्रत्येक घरबाट एक न एक जना यूवाले आफनो थलो छाडेर अन्यत्र श्रम गर्न गएका छन् । रुपैयाँभन्दा पनि डलर, दिराम, रियाल, पाउन्ड आर्जन गर्ने सौख र रहरले घर र देश सञ्चित गर्न निस्केका छन् ।

हाम्रो यहि सपनाको फाइदा एजेन्ट, ब्रोकर, दलालहरुले उठाइरहेका छन् । ‘फ्रि भिषा फ्रि टिकेटमा’ जान सकिने देशहरुमा समेत लाखौ पैसा असुलेर कामदाहरुले एक बर्ष या दुइ बर्षभरीको कमाइ आफु आउँदको पैसा तिर्दै ठिक्क हुने अवस्थामा अधिकांशलाई पु¥याएका छन् । गलत सेवा सुविधाको आश्वासन दिएर नसोचेको, नभोगेको अबस्थामा पु¥याएका छन् ।
टाढाको घाम सधै प्यारो भने झैं हामी परदेश नपुगी कसैले ‘यस्तो छ, उस्तो छ’ भनेको भरमा नै ‘ओहो भन्दै अचम्भित र मग्न हुन्छौ । हाम्रो यहि स्वभावको फाइदा ठगहरुले लिएका छन् । नियम बनाउने तर कडाइसाथ पालना नगराउने हाम्रो जस्तो देशले तिनै ठगहरुलाई मलजल गरेको छ । उनीहरु बर्षे घाँस जस्तै मौलाएका छन् । त्यहि मौलाएका घाँसहरुबाट पाइने चन्दाबाट चल्ने राजनैतिक दल या नेताहरुले उनीहरुलाई झनझन उपयुक्त वातावारण बनाइदिइरहेका छन् ।

रोजगारी दिलाउने सबैलाई ठग भन्न मिल्दैन । जब आफै ठगिएको महसुस हुन्छ तब मात्रै त्यो ठग हो भन्ने प्रमाणित हुन्छ । या विश्वास लाग्छ । जो रोजगारी खोज्न भौतारिएको छैन उसलाई नेपालका सबै म्यानपावर कम्पनीहरु ठग हैनन् भन्ने पनि लाग्दो हो । किनकी म्यानपावरहरुले सरकारी अनुमतिको वैधानीक बाटो अपनाएका छन् । लामबद्ध गराएर सबैलाई एक एक गर्दै छनोट गरेका छन् । रोजगारी खोज्न ती सबै म्यानपावरमा भौतारिने हो भने म्यानपावर कम्पनीको पर्यावाची नै ठग हो भन्ने लाग्छ । मिडियाहरुमा सबैभन्दा धेरै कामदार पठाउने मेनपारवर भनेर प्रशंसा गरिएका या अन्य कुनै उपमा दिएर राम्रो भनिएका म्यानपारवमा समेत यदि तपाई कुनै पनि एजेण्ट नसमाती जानु भयो भने नामै निस्कदैन । यदि झुक्किएर निस्किएछ भने अन्तिम अन्तर्वार्तासम्म फालिनसक्नु हुन्छ । अथवा महिनौ तपाईको पासपोर्ट राखेर झुलाएपछि तपाई हरायो भन्दै अर्काे बनाउन बाध्य पर्नु हुन्छ । त्यसपछि उसैको एजेन्ट पक्रिन बाध्य पारिन्छ । एजेण्टको हात समातेपछि नाम त निस्कन्छ तर ‘फ्रि भिषा फ्रि टिकेटको नारामा हस्ताक्षर गरीवरी, सेवा शुल्क मात्र तिरेको हुँ भन्ने औठाछाप लागाइवरी, खाली कागजमा हस्ताक्षर गराइवरी’ महिनाको २० हजार बच्ने रोजगारीमा ५ लाखभन्दा बढी तिर्न बाध्य पारिन्छ । जुन कमाई दुई बर्षको भिषाको समय उहि एजेन्टले कुमल्याएको ऋण तिर्दैमा जान्छ । अब भन्नुस वैदेशिक रोजगारीको कमाइ कहाँ गएको छ ? कसलाई फाइदा पुगेको छ ?

यति हुँदाहुँदै पनि कोहि न कोहि सही एजेन्ट या कम्पनी त पक्कै भेटिएला नि त भन्ने आशले रोजगारी खोज्न निस्किनेहरु धेरै छन् । उसलाई ठम्याउने एउटै पहिलो तरीका भनेको उसको व्यवहार बुझनु हो । मानौ तपाईले कसैलाई रोजगारी खोजी दिनु प-यो भनेर कागज पत्र बुझाउनु भयो । अथवा पहिल्यै बुझाउन नहुने पासपोर्ट नै बुझाउनु भयो भने अब ऊ ठग हो या होइन भनेर कसरी पहिचान गर्ने ? याद राख्नुस्, गलत एजेण्ट तबसम्म तपाईलाई फोन गर्छ जबसम्म पैसा हात लाग्दैन । मेडिकल गर्नु प-यो भन्ला, अग्रीम डिपोजीट गर्नु पर्छ भन्ला या यस्ता अनेकौ बहाना बनाएर ऊ तपाईंबाट बेलाबेला पैसा थुतिरहन्छ । तपाई त्यो पैसा दिन पनि बाध्य हुनुहुन्छ किनभने ऊसँग तपाईको पासपोर्ट छ । अथवा उसले यति धेरै कुरा गरेको हुन्छ कि तपाई जान लागेको कम्पनी या काम जस्तो राम्रो संसारमा अरु कुनै छैन । भिषा नलागेसम्म उसले हजारौ उठाइसकेको हुन्छ भने भिजा लागेपछि त झन लाखौ उसले उठाउने नै छ । सहि एजेण्ट तबसम्म फोन गर्दैन, जबसम्म तपाईको भिषा लाग्दैन । भिषा लाग्नु अगावै उसले मेडिकल गराउनु पर्छ भनेर पैसा असुलेको पनि हुँदैन । अग्रिम डिपोजीट पनि मागेको हुँदैन । राम्रो कम्पनी या राम्रो देशमा जानको लागि अन्तरर्वार्ताको महत्व धेरै हुन्छ । गलत एजेन्टले कहिले पनि तपाईलाई अन्तर्वार्ताको तयारी गराउँदैन । बरु उसले भनेको हुन्छ, ‘म भए पछि तपाइलाई के को चिन्ता ?’

सहि एजेन्टले तपाई छनोट हुने आधार उसमा हैन, तपाईमा छाड्छ । उसले अन्तर्वार्तामा सोधिने प्रश्न र त्यसको सहि उत्तर कसरी दिने भन्ने विषयमा बारम्बार तयारी गराउँछ । यति हुँदाहुँदै पनि यदि तपाई छनोट हुनुभएन भने तपाई के कारणले छनोट हुनु भएन भन्ने कुरा उसले स्पस्ट भन्न सक्छ । कसरी फेरि भिषा लाग्न सक्छ ? कसरी लाग्न सक्दैन ? पनि भन्न सक्छ । तपाईको डिपोजीट पुगेन या त अर्काे एजेण्टकोमा जानुस्, तब लाग्न सक्छ पनि उसले भन्दैन । गलत एजेन्टसँग तपाईको भिषा नलाग्नुको स्पस्ट कारण हुदैन ।

‘रोजगारी दिन्छु भनेर अधिकांशले ठग्दा रहेछन् । त्यसैले केहि राम्रो अवसर आएपछि मात्रै खोज्छु’ भनेर प्रतिक्षा गरिरहेकाहरुलाई समेत ठगहरुले जाल फ्याँकिरहेको भेटिन्छ । पोल्याण्ड पठाउँछु, युरोपको यस्तो राम्रो देशमा यत्तिको राम्रो कम्पनीमा, यत्तिको धेरै कमाई हुने देशमा रोजगारी खुलेको छ भनेर पत्रिकाको बर्गीकृत डिसप्ले अथवा समाजिक सञ्जालको ग्रुपहरुमा विज्ञापन गरिरहेका हुन्छन् । उनीहरुले यत्तिसम्म भन्छन् कि तपाईहरुले भिषा लाग्नु अगावै केहि पनि दिनु पर्दैन । मात्र पासपोर्ट दिनुस् अथवा डकुमेण्ट दिनुस् भनेका हुन्छन् । यति सजिलो कुरा गरे पछि कसले दिँदैन ? हजारौले त्यहाँ डकुमेन्ट पठाउँछन् । तीन चार महिना अथवा ६ महिनासम्म सबैको डकुमेन्ट जम्मा गरेपछि उनीहरुले छिटोभन्दा छिटो सबैलाई पालैपालो मेडिकल गर्नुस्, अप्वाइमेन्ट लेटरको थोरै पैसा दिनुस् छिटै भिषा आउँदै छ भनेर खबर गर्छन् । बाँकी लाग्ने पैसा तपाईले भिषा लागेपछि उताको एक महिनाको कमाइ बराबरको दिए पुग्छ या उता गएपछि पठाए हुन्छ भन्नेसम्मको सजिलो कुरा गर्छन् । यति सजिलै मिल्छ भने मेडिकल र अप्वाईमेन्ट लेटर या प्रकृया थाल्न चाहिने सेवाको गरी जम्मा जम्मी १० हजार कसले नदेला ? प्रत्येकबाट उसले यसरी नै आफैले भनेको ठाउँ या त डाक्टरसँग मेडिकल गराउँछ । जहाँ उसको भित्री सेटिङ हुन्छ । सामान्य मेडिकल गर्न यदि पाँच सय मात्र लाग्छ भने त्यहि सेटिङबाट उसले हजारौ लिएको हुन्छ । यसो गरे बापत उसले रु. ९ हजार एक जनाबाट नाफा ग-यो र उनीहरु १ हजार पाँच सय जना थिए भने कति नाफा निकाल्यो ? तपाईको यहि समान्य पैसा लिएपछि उसले फोन उठाउन छाड्छ । तीन महिनापछि सोहि ठाउँमा के हुँदैछ त ? भनेर जानु भयो भने त्यो कम्पनी या एजेन्ट नै टाप कसिसकेको हुन्छ । ऊ टाप कसिरहँदा उसको गोजीमा करिव ६ महिनाभित्र वेरोजगारहरुबाट उठाएको एक करोडभन्दा बढी पैसा पनि सँगै हुन्छ ।

यसरी देश अहिले वेरोजगार ठग्ने ठगहरुको लागि उर्वरभुमिमा परिणत भएको छ । देशको विकास गर्नु छ भने ‘पहिला यूवाहरुलाई अवसर दिनुपर्छ । यूवाहरुमाथि लगानी गर्नुपर्छ’ भन्ने सोचको शासक अहिलेसम्म नपाउनु हामी यूवाका लागि सबैभन्दा पीडाको कुरा हो । यदि दक्ष बनाएर पठाउने हो भने नेपाली यूवा जापान, अमेरिका, कोरिया नै जानु पर्छ भन्ने छैन । उनीहरुले खाडीमा नै ती देशको हाराहारीमा कमाई गर्न सक्छन् । अनि केहि बर्षभित्र आफनो देश फर्कन सक्छन् । उनीहरुमाथि कसले लगानी गरीदिने ? हाल वैदेशिक रोजगारीमा गएकामध्ये जम्मा १ दशमलव प्रतिशत मात्रै यूवा दक्ष छन् भन्ने गरिन्छ । यसरी हेर्दा नगन्य मात्रामा दक्ष गएका छन् । सीपै नभएको, क्षमता नै नभएको कामदारलाई कसले हेप्दैन ? कसले ठग्दैन ? कसले राम्रो अवसर दिन्छ ? वैदेशिक लगानी आएपछि मात्रै विभिन्न प्रोजेक्टहरुमा लगानी गर्ने हाम्रो सरकारले के त्यसका लागि पनि विदेशीको ऋण वा उनीहरुको भिजनको प्रतिक्षा त गरिरहेको छैन ? हे सरकार, तिमीले तिनै वैदेशिक रोजगारीमा गएकाहरुबाट उठाएर जम्मा भएको कल्याणकारी कोषको करोडौ रकम उनीहरुको हितमा लगानी गर्न सक्दैनौ ? यदि विदेश जान हैन, स्वदेशमै काम गर्न प्रोत्साहन गर्ने नीति हो भने खै त उनीहरुमाथि लगानी गरेको ? के लगानी गर्न पैसा छैन ?

राजनैतिक दलहरु त भन्छन्, ‘हामीले लोकतन्त्र ल्यायौ । तिमीहरुले चिन्ता गर्नु पर्दैन । अब गाउँ–गाउँमा सिंहदरबार पु-याउँछौ ।’ गाउँहरुले चाहिँ के भनिरहेका छन् त ? भन्ने कुरा उनीहरुले सिंहदरको वरीपरी चक्कर लगाउँदा लगाउँदै भुलिसकेका छन् । कतै मर्दा मलामी नपाएर, कतै ठूलै आपत पर्दा सहयोग गर्ने लक्का जवान नपाएर छटपटिएको गाउँहरु भन्दैछन्, ‘हामीलाई सिंहदरवार गाउँमा नभएको भन्दा जवानहरु नभएको चिन्ता धेरै छ । त्यसैले हामीलाई गाउँ–गाउँमा रोजगारी दिने व्यवस्था देऊ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button