शिक्षकलाई सलामः प्रशंसा फूलको हुन्छ तर जरालाई अलग्गै हेर्न मिल्छ र ?
इतिहास शिक्षकले ब्रिटिश साम्राज्यबारे पढाइरहँदा जीवनमा एक पटक ब्रिटिश घुम्न चाहन्थे । ‘भविष्य’मा एमबीए लण्डनबाटै गरे । विज्ञान शिक्षकले कलात्मक तरिकाले पढाइरहँदा उनीजस्तै शिक्षक बन्न चाहन्थे । र, उनी पछिल्लो २० वर्षदेखि शिक्षण पेशामै छन् ।
पहिलो पटक शिक्षकको रुपमा कक्षा छिर्दा उनी आफैलाई विश्वास लागेको थिएन, ‘के यो सपना त होइन ?’ दुई दशकअघिको त्यो क्षण उनलाई अहिल्यैजस्तो लाग्छ ।
विशेष स्तम्भ ‘शिक्षकलाई सलाम’मा नेपालनाम्चा प्रस्तुत गर्छ, काठमाडौँको तारकेश्वर–४ गोलढुङ्गास्थित सृजना ज्ञानसागर माविका प्रधानाध्यापक राजेन्द्र फुयाँल ।
कालोपाटी अगाडी उभिएर तपाईँलाई पढाउने शिक्षकबारे विद्यार्थी छँदा बेन्चमा बसेर के सोच्नु हुन्थ्यो ?
यस सम्बन्धमा भन्नुपर्दा स्वयम् विद्यार्थी कुन संस्कार तथा पारिवारिक वातावरणबाट हुर्किएको छ भन्ने कुराले प्रभाव पारेकोे हुन्छ । जहाँसम्म मेरो कुरा छ, मैले शिक्षकलाई आदर्श र आदरणीय व्यक्तिको रुपमा हेर्थें । उहाँहरूको आसपासमा बसेर कुरा सुन्ने गर्थें । अझ भन्नु पर्दा म पनि उहाँहरु (शिक्षकहरु) जस्तै कुशल शिक्षक बन्न सक्छु कि सक्दिन होला भन्ने सोच मनमा आउने ग¥थ्यो ।
इतिहास पढाउने सरले ब्रिटिश साम्राज्यको बारेमा भनिरहँदा जीवनमा एक पटक ब्रिटिश घुम्ने इच्छा हुन्थ्यो । जीवनमा एकचोटि घुम्ने सपनाले पिरोल्थ्यो जवकि तत्कालीन परिस्थितिलाई हेर्दा करिब करिब असम्भव थियो । ठीक त्यसैगरी विज्ञान पढाउने, नरकाजी पुन सरले असाध्यै कलात्मक तरिकाले पढाई रहँदा वहाँ जस्तै शिक्षक बन्ने आकांक्षा हुन्थ्यो । सौभाग्य भनाँै, मेरो स्नातकोत्तर (एमबीए) ब्रिटिश लण्डनबाटै सम्पन्न भयो । आज म शिक्षक पेशामा पछिल्लो २० वर्षदेखि कार्यरत छु ।
भनेपछि भविष्यमा शिक्षक हुन्छु भन्ने त्यतिबेलै तपाईंको सपना थियो ?
थियो । सायद त्यही सपनाको कारणले आज म शिक्षक पेशामा अनवरत छु ।
शिक्षक भएर पहिलो पटक कक्षामा छिर्दाको क्षण सम्झनु हुन्छ ? कस्तो लागेको थियो त्यो क्षण ?
पहिलो पटक शिक्षक भएर कक्षामा छिर्दै गर्दा आफैलाई विश्वास लागेको थिएन । म मेरो सपनाभित्र छु कि वा खुला आँखाले देखेको सपनाको विपनामा छु ? जब विद्यार्थीहरूले उठेर अभिवादन गरे, म गर्वित भएको थिँए । हर्षविभोर भएको सम्झना भर्खरै जस्तो लाग्छ ।
विद्यार्थी हुन सजिलो कि शिक्षक ? र, उस्तै प्रश्न, विद्यार्थी हुन गाह्रो कि शिक्षक ?
विद्यार्थी र शिक्षकको सम्बन्धलाई एक आमाको प्रसवपीडाको अवस्थासित तुलना गर्न सकिन्छ । जतिबेला दुबै संवेदनशिलतावाट गुर्जिएका हुन्छन् । त्यसैले मेरो विचारमा यो प्रश्नले वास्तविक र तथ्यगत उत्तरलाई ओझेलमा पार्दछ । अर्थात् न विद्यार्थी हुन सजिलो छ न शिक्षक, न विद्यार्थी हुन गाह्रो छ न शिक्षक । जीवन त एक नदी तथा खोला–नाला जस्तै हो । नदी गंगासागरमा विलय हुन्छन् र गंगासागर महासागरमा, तर कतिपय खोला–नाला जमिनमै सुक्छन् । तथापि जमिनले सोसेको पानी सूर्यको प्रकाशको वाष्पीकरणद्वारा घना बादल हुँदै महासागरमा वर्षिन्छन् ।
अर्थात् प्रश्न सजिलो र गाह्रो भन्दा पनि अन्तरमनको दृष्टिकोण, सकारात्मक मनोवृत्ति, उच्च आकांक्षा, दुरदर्शिता तथा जीवनको गहिरो अभिप्सा; परम्स्वतन्त्रताको खोजीका लागि कुन प्रकारको बीजारोपण भएको छ र त्यसलाई उचित मलजल तथा संरक्षणकसरी भइरहेको छ भन्ने कुरा महत्वपूर्ण हुन्छ ।
शिक्षकभित्र विद्यार्थी कत्तिको हुन्छ ? के विद्यार्थी भित्र पनि शिक्षक हुन्छ ?
यो प्रश्नको उत्तर यस अघिको प्रश्नको उत्तरले पनि समेट्ने प्रयास गरिसकेको छ । शिक्षक एक सुन्दर बगैँचाको माली हो भने उक्त बगैँचामा हुर्किएका, हुर्किदै गरेका र भर्खरै रोपेका बीजहरू विद्यार्थी हुन् । यस अर्थमा दुवै एकअर्काका पुरक मानिन्छन् । यद्यपि यो आम रुपमा नेपालको वर्तमान परिप्रेक्ष्यमा सिद्धान्त मात्र भएको हो कि भन्ने आभास हुन थालेको छ । तथापि जबसम्म यो सिद्धान्त व्यवहारिक हुन सक्दैन, समृद्ध समाज र समृद्ध संस्कृति निर्माण गर्ने कुरा एक परिकल्पनाबाहेक केही हुन सक्दैन ।
शिक्षकका सपना र विद्यार्थीका सपनाहरु कति फरक र कति समान हुन्छन् ?
बीजभित्र वृक्ष बन्ने क्षमता हुन्छ । तर त्यो वृक्ष, वृक्ष बन्नको लागि उचित वातावरण र संरक्षणको आवश्यकता पर्दछ । तथ्यगत रूपमा भन्नुपर्दा मालीको एउटै ध्येय फूल फुलाउने तथा फल फलाउने हुन्छ भने बिरुवाको फूल बनेर फक्रनु, सुगन्ध छर्नु, फल खुवाउनु हुन्छ । यस अर्थमा दुबैको सपनारुपी लक्ष्य एउटै हुने गर्छ । अर्थात साध्य उही हुन्छ । तथापि साधना फरक हुने गर्छ ।
शिक्षक जहाँको तहीँ रहन्छ तर विद्यार्थी पर, शिक्षक भन्दा नि पर, निकै उपल्लो दर्जामा पुगेको देख्दा कस्तो लाग्छ ?
पहिलो कुरा, संसारमा दृश्यगत र अदृश्यगत तथ्यहरू अनन्त हुन्छन् । आँखाले जे देख्यो त्यो सम्पूर्ण सत्य नै हुन्छ भन्ने छैन । अर्थात् विद्यार्थीको प्रगति शिक्षकसँग जोडिएको हुन्छ, साथै शिक्षकको खुसी विद्यार्थीसँग जोडिएको हुन्छ । यस अर्थमा प्रत्यक्ष अप्रत्यक्षरूपमा दुवै अन्योन्याश्रित सम्बन्धमा रहेका हुन्छन् ।
दोस्रो कुरा, झट्ट हेर्दा प्रायःगरी गुणगान र प्रशंसा फूलको सुन्दरतामा भइरहेको हुन्छ । तर, त्यहाँ फूलका हाँगाहरू, पातहरू र अदृश्यरूपमा रहेको त्यो फूलको जरालाई अलग्गै हेर्न मिल्छ र ? त्यसैले म यसलाई व्यक्तिभित्रको दृष्टिकोण भन्ने गरेको छु ।
कति विद्यार्थी कहीँ पुग्दैनन् । न त पढाइ न त पद ! त्यस्तो अवस्थामा रहेको भूतपुर्व विद्यार्थी देख्दा/भेट्दा कस्तो लाग्छ ?
यस प्रश्नको उत्तर दुई प्रकारले दिन चाहन्छु ।
क) भनिन्छ हरेक मनुष्यले मृत्युको क्षणमा उसको विगतलाई एक मिनेटभित्र सम्पूर्णरूपमा मानसपटलमा दोहोरिन्छ । यस अवस्थामा, मैले जे गरेँ वा गर्न सकेँ, सम्भव भएसम्म राम्रो गरेँ, मृत्यु त एउटा महाकाव्यको पूर्णविराम मात्र हो भन्न सकेमा ऊ आनन्दित भएर बिदा हुन सक्छ । तर, यदि ऊ त्यस क्षणमा पश्चातापको अग्निमा जल्न थाल्यो भने अतालिएर दुःखी भएर बिदा हुन्छ । बुझ्नु पर्ने, महशुस गर्नुपर्ने भनेको विना सर्त बिदा हुनै पर्छ । त्यसैले हामी सबैले मैले के गर्न सक्छु, सम्भव भएसम्म इमान्दारीपूर्वक गर्ने हो । आफूले गरेका र भनेका कुराहरूको जिम्मेवारी लिने हो । बाँकी अस्तित्वलाई छोडिदिने हो ।
ख) जिसस क्राइस्ट र उनका १२ जना चेलाहरु गर्मीयाममा रुखको छहारीमा बसेर ईश्वरको राज्य सम्बन्धमा प्रवचन भइरहेको थियो । त्यसै बीचमा एक चेलाले सोध्यो, ‘ह्वेन वी ह्याभ् गट् दि किङडम् अफ गड् ?’ जिससले सामून्ने फुलिरहेका काँसका घाँसहरूलाई देखाउनु भयो र भन्नु भयो ‘हेर त ती घाँसहरूलाई’, यी घाँसरू धेरै चोटि देखिसकेका छौँ । यसको ईश्वरको राज्य (किङडम् अफ गड्)सँग के सम्बन्ध छ ?
जिसस भन्नु हुन्छ: घाँसको फूल वा कमलको वा गुलाफको या चमेलीको फूल होस् फूल फूलै हुन्छ । बीज ईश्वरको बरदान हो । बीज वृक्ष हुँदै फुल्नु नै महत्वपूर्ण हो र यही नै सम्पूर्ण जीवन हो । ती काँसका पूmलहरू हावाको तालमा नाचिरहेका छन्, सुर्यको प्रकासमा चम्किरहेका छन् वा भनौ हर्षविभोर भइरहेको छन् । यसलाई महशुस गर । किङडम् अफ गड् तिम्रो सामुन्ने पाउँछौ ।
यदि प्रश्नले पदमा पुग्नु, धन सम्पतिको मालिक हुनुलाई लक्षित गरेको हो भने प्रश्न अपुरो छ । दुःख अवश्य लाग्छ, जब विद्यार्थी सामाजिकीकरण हुन सक्दैन, बाटो बिराएको हुन्छ । तथापि यो पुरा सत्य होइन ।
असल शिक्षक भनेको के हो ?
जहाँसम्म असल शिक्षकको परिभाषा छ, यसलाई परिभाषा भित्र संकुचित गर्दा धेरै कुराहरु छुट्छन् ।
शिक्षकलाई ऋषिमुनिको पालामा आचार्य भनिन्थ्यो । आचार्य भन्नाले होसपुर्वक आचरणमा रहेर देखिएको व्यक्तित्वबाट विद्यार्थी तथा समाजलाई सिक्न र सो अनुरूप उत्प्रेरित गर्ने, व्यवहारिक कौशलता प्रदान गर्ने, व्यक्ति नै असल शिक्षकको परिभाषा भित्र पर्दछन् ।
अर्थात् सत्यको पक्षमा उभिएको निष्पक्ष र निरपेक्ष व्यक्तित्व निर्माण भएको वा त्यसका लागि अग्रसर विद्धता र बोली, व्यवहार तथा आचरणमा एकरूपता कायम् गर्न सफल शिक्षकलाई नै असल शिक्षक भन्न सकिन्छ ।
विद्यार्थी कस्तो हुन्छ ? असल विद्यार्थी भनेको के हो ?
विद्यार्थी कस्तो हुन्छ भन्दा पनि कसलाई विद्यार्थी भनिन्छ ? भन्दा उत्तर खुलेर आउँछ जस्तो लाग्छ । जहाँसम्म असल विद्यार्थीको परिभाषा छ, समग्रमा विद्यार्थी भनेका तहगत रुपमा फरक फरक हुन्छन् । त्यसैले विद्यार्थीको परिभाषाले शिक्षकलाई जसरी समेट्न सजिलो हुँदैन । तथापि समग्र रूपमा भन्नु पर्दा, ज्ञान लिन उत्सुक, सिक्न तत्पर र औपचारिक वा अनौपचारिक रूपमा शिक्षा ग्रहण गरिरहेको व्यक्ति नै विद्यार्थी हो । यदि समाज वा देशले निर्देशित संस्कार, मौलिक व्यवहारलाई स्वीकार गरी शिक्षकबाट गरिने दिशानिर्देशलाई भविश्य देख्न उद्वेलित वर्गलाई असल विद्यार्थी भन्न सकिन्छ ।
शिक्षकको दुःख के हो ? सुख के हो ?
शिक्षकको पेशा जिम्मेवार र आदर्शपरक हुन्छ । उसको दुःख र सुख, सिद्धान्त त विद्यार्थीको जीवनसँग जोडिएको हुन्छ । समाजको पथदर्शक भएर जिउनुमा गौरवान्वित भइरहेको हुन्छ । तर, वर्तमान नेपाली समाज, गरिवीको कुण्ठाभावले थिचिएको अवस्थाले गर्दा समाजमा अलिक बढी नै चिड्चिडाहट स्वभाव र नकरात्मक विश्लेषणको दबदबा देखिन्छ । यसको प्रत्यक्ष प्रभाव विद्यालयमा अभिभावकबाट हुने अनेक अभिव्यक्ति र कहिलेकाहीँको कर्तृत्वबाट अनुमान लगाउन सकिन्छ । यद्यपि स्वयम् शिक्षकहरू पनि यस परिस्थितिको चङ्गुलमा परेको देखिन्छ । जुन एक असल शिक्षकको लागि दुःखको कुरा हो ।
यसको बाबजुत,संसारको अपरिवर्तित कुरा भनेको परिवर्तित समाज हो । यस अर्थमा शिक्षक समय सापेक्ष रूपमा अगाडि बढ्नु सक्नु पर्छ । समाजको राम्रो नराम्रोको वर्गीकरणमा बढी समय खर्चनुभन्दा समयसापेक्ष मन, बुद्धि र विवेकको उचित प्रयोग कसरी गर्न सकिन्छ भन्नेमा केन्द्रित हुने र आफ्ना विद्यार्थीहरूलाई उत्प्रेरित गर्ने शिक्षकको धर्म हुन्छ । शिक्षकले आफ्ना विद्यार्थीहरुलाई धर्ती र धरातलको यर्थाथपरक अनुसन्धान र त्यसको प्रयोग गर्न वा साधनारत गराउन यथासम्भव प्रयासरत हुनुपर्दछ ।
त्यसैले मेरो अनुभव सिकाई र बुझाईमा शिक्षकको दुःख विद्यार्थीको दुःखमा र सुख पनि तिनै विद्यार्थीको सफलतामा हुनुपर्छ । अन्यथा सम्बन्धित शिक्षकले मेरा लागि यो उचित पेशा होइन भन्ने आँट गर्नुपर्दछ । सबै सरोकारवालाहरूको लागि महत्वपूर्ण कुरा भनेको शिक्षक समाजका जरा हुन्, जुन अदृश्य हुन्छ तर समाजले वेवास्ता ग¥यो भने तत्कालीन रूपमा शिक्षक दुःखी त होला तर देश र समाजको लागि कयौं गुना घातक हुनेछ ।
अन्तमा मलाई यस्ता महत्वपूर्ण गहकिला प्रश्नको आधिकारिक सम्झनु भएकोमा कृतज्ञ छु ।