![](/wp-content/uploads/2021/02/Screenshot_20210204-224314_Gallery-780x470.jpg)
प्राज्ञिक लेख: विज्ञ समीक्षाको प्रयोग पक्ष
प्रा. डा. ताराकान्त पाण्डे
प्रस्तुत पत्र शोधमूलक जर्नलमा प्रकाशनार्थ प्रस्तुत गरिने प्राज्ञिक लेखको गुणस्तरीयताको समीक्षा तथा मूल्याङ्कनका लगि गरिने विज्ञ समीक्षाको ढाँचा र त्यसको प्रयोग पक्षसँग सम्बन्धित छ । विज्ञ समीक्षा के हो र किन आवश्यक छ भन्नेबारे पनि छलफल गर्दै मुख्यतः विज्ञ समीक्षाको प्रयोग पक्षबारे नै यसमा छलफल गर्न खोजिएको छ । नेपाली वाङ्मयसम्बद्ध प्राज्ञिक लेखनलाई अन्तर्राष्ट्रिय जर्नलमा समेत प्रकाशनयोग्य बनाउन विज्ञसमीक्षाको महत्त्वपूर्ण भूमिका हुने भएकाले यसका प्रयोगपक्ष एवं त्यस क्रममा देखा पर्ने चुनौतीबारे विमर्श आवश्यक छ र प्राज्ञहरूका बिचको यस्तो विमर्शले विज्ञ समीक्षालाई र त्यसका माध्यमबाट गुणस्तरीय प्राज्ञिक लेखहरूको उत्पादनलाई सघाउ पुग्ने विश्वास राखेर यो पत्र तयार गरिएको हो । यसमा शास्त्रीय विमर्श भन्दा पनि समीक्षाका व्यावहारिक पक्षमा देखिनेसमस्याबारे नै छलफललाई केन्द्रित गरिएको छ ।
समकक्षी (विज्ञ) समीक्षा के हो ?
विज्ञ समीक्षाका व्यावहारिक पक्षमा प्रवेश गर्नुअघि विज्ञसमीक्षा के हो भन्नेबारे पनि सङ्क्षेपमा उल्लेख गर्नु उपयुक्त हुनेछ । यसलाई बुँदागत रूपमा प्रस्तुत गर्दा बढी स्पष्ट र मूर्त हुनेछ । ती बुँदा यस प्रकार छन्-
- यो सामान्य समकक्षता (सँगै पढ्ने, सँगै काम गर्ने अर्थमा) मा आधारित समीक्षा होइन ।
- अन्तर्राष्ट्रिय प्रचलन अनुसार पनि यो एक प्रकारले विशेषज्ञसमीक्षित / विज्ञसमीक्षित समीक्षा नै हो ।
- यो कुनै प्राज्ञिक आलेखको प्राज्ञिक गुणस्तरीयतामाथिको समीक्षा हो ।
- लेखको प्रकाशनयोग्यता/ स्वीकार्यतामाथिको निर्णय दिने प्रक्रिया हो ।
- यो प्राज्ञिक लेखन/आलेखलाई गुणस्तरीय बनाउने र प्रकाशनयोग्य बनाउने प्रक्रिया हो ।
- यो वैज्ञानिक सम्प्रेषणको एउटा औपचारिक अङ्ग हो ।
- विभिन्न कोणबाट आलोचनाका बावजुद पनि यो प्रणाली करिब ३५० वर्षदेखि निरन्तरतामा छ ।
- सन् २०१५को एउटा सर्वेक्षणमा ८२% शोधकर्ताले विज्ञ समीक्षाविना वैज्ञानिक सम्प्रेषण नियन्त्रित नहुने राय प्रकट गरेका छन्।
- यो किन आवश्यक छ ?
अध्ययनले के देखाएको छ भने शोधकर्ताहरूले शोधकार्य/प्राज्ञिक लेखनको गुणस्तरीयता र शुद्धता सुनिश्चित गर्न सहयोग पुर्याउँछ (पाल्ट्रिज, बी. २४) । अनि प्रकाशन गरिने प्राज्ञिक लेख सँच्चिकै प्राज्ञिक मर्म र स्तर अनुकूल भएन भने त्यो प्रकाशित हुने जर्नल र लेखक दुबैका लागि समस्या र बिडम्बनाको विषय हुन्छ । त्यसैले विज्ञ समीक्षा आवश्यक हुन्छ । यस आवश्यकतालाई यी बुँदामा पनि प्रस्तुत गर्न सकिन्छः
- कुनै प्राज्ञिक लेखका कमजोरी उद्घाटित गर्दै उक्त कमजोरी हटाईलेखलाईगुणस्तरीय बनाउन
- लेखको प्राज्ञिक वैधता / स्वीकार्यता स्थापित गर्न र त्यसका गुणवत्ताको परिशोधन / संवर्द्धन गर्न
- प्राज्ञिक संसार/समुदायमा प्राज्ञिक सञ्जाल/सम्बन्धको सम्भावनालाई विस्तार गर्न ।
- लेख प्रकाशित हुने जर्नलको अन्तर्राष्ट्रिय प्राज्ञिक स्तर कयम गर्न
- ज्ञानार्जन तथा सम्प्रेषणको वैज्ञानिक विधिलाई समृद्ध र सुदृढ बनाउन ।
- समकक्षी समीक्षकको योग्यता के हो ?
नेपालको विश्वविद्यालय अनुदान आयोगले निर्धारण गरे अनुरूप विज्ञ समीक्षकको योग्यता यस प्रकार छः
- जर्नलको रोस्टरमा समाविष्ट भएको
- सम्बद्ध विषयगत अनुशासनमा विशेषज्ञता हासिल गरेको
- सम्बद्ध विषयक्षेत्रमा अनुसन्धान गरेको / गरिरेहेको / त्यसको अनुभव भएको
- सम्बद्ध विषयक्षेत्रमा राष्ट्रिय अन्तर्राष्ट्रिय जर्नलमा अनुसन्धानमूलक लेखहरू प्रकाशित गरेको
- प्राज्ञिक कार्यमा निरन्तर सक्रिय रहेको र त्यस क्षेत्रमा भएका पछिल्ला विकाससँग परिचित रहेको
- शोधको विधिसम्बन्धी अद्यावधिक प्राविधिक ज्ञान भएको
- समकक्षी समीक्षकका लागि आचारसंहिता (कोड अफ कन्डक्ट)
विश्वविद्यालय अनुदान आयोग र अन्य स्रोतहरूमा समकक्षी समीक्षकका लागि निम्नानुसारकाआचारसंहिताको व्यवस्था गरिएको पाइन्छः
क) सबै शोधकर्ता समीक्षकले पाण्डुलिपिको समीक्षा गर्दा त्यसलाई एउटा पेसागत जिम्मेवारीका रूपमा लिनु पर्दछ।
ख) समीक्षा/मूल्याङ्कनका लागि अनुरोध गरिँदा सम्बन्धित क्षेत्रमा आफ्नो विशेषज्ञता भएको तथा निष्पक्ष मूल्याङ्कन गर्न सकिने अवस्था भएमा मात्र स्वीकार गर्नुपर्दछ । साथै, त्यस क्षेत्रमा भएका प्राज्ञिक कार्यको प्रकाशन र अनुसन्धानको सूचना पनि संलग्न गर्नुपर्छ ।
ग) समकक्षी समीक्षकले शोधनैतिकता,गलत आचरण,शोधका पछिल्ला राम्रा अभ्यासहरू,भावहरण परीक्षणका विधि र प्रविधिसँग परिचित हुनु पर्दछ ।
घ) समीक्षकले जर्नल व्यवस्थापनद्वारा प्रदान गरिएको निर्देशनको पालना गर्नुपर्दछ । यदि समीक्षकलाई त्यस्तो विशेषज्ञता आफूसँग नभएको लाग्छ भने पाण्डुलिपि समीक्षा गर्न नसक्ने कुराको जानकारी सम्पादकलाई गराउनु पर्छ ।
ङ) पाण्डुलिपिको स्वीकारोक्तिको आधार लेखको मौलिकता र सम्बद्ध विषयक्षेत्रमा त्यसले दिने योगदानलाई बनाउनु पर्छ ।
च) समीक्षकलाई दिइएको समयसीमाभित्र काम सम्पन्न गर्नका लागि इमानदार प्रयत्न गर्नुपर्छ ।
छ) समीक्षकले गोपनीयता कायम राख्न जिम्मेवार हुनुपर्छ ।
- विज्ञ समीक्षाका प्रकारहरू
- एकल गोप्यसमीक्षा (सिङ्गल ब्लाइन्ड रिभ्यु)
- यसमा लेखकका अगाडि समीक्षकको नाम गोप्य रहन्छ ।
- यो समीक्षाको परम्परागत प्रकार/पद्धति हो ।
- निष्पक्ष निर्णयका लागि यसले सहयोग गर्छ भन्ने मानिन्छ।
- समीक्षक लेखकबाट प्रभावित हुनुपर्ने अवस्था हुँदैन ।
- यद्यपि यसमा लेखकलाई के लाग्न सक्छ भने समीक्षकले पहिला आफूले प्रकाशन गर्नका लागि मूल्याङ्कन ढिलो प्रस्तुत गर्न सक्छ ।
- समीक्षकले आफ्नो गोप्यतालाई लेखकप्रति अनावश्यक रूपले बढी कठोर वा आलोचनात्मक हुने अवसरका रूपमा लिन सक्ने सम्भावना रहन्छ ।
- दोहोरो गोप्य समीक्षा (डबल ब्लाइन्ड रिभ्यु)
- यो लेखक तथा समीक्षक दुबैको नाम गोप्य राखेर गरिने समीक्षा हो ।
- लेखकको अज्ञातताले समीक्षकलाई (लिङ्ग, जात, क्षेत्र, पेसागत/प्रज्ञिक हैसियत, देश आदिका आधारमा) पूर्वाग्रही हुनबाट बचाउँछ ।
- कहिलेकाहीँ प्रतिष्ठित लेखकका लेख पनि आउन सक्छन् तर समीक्षा र मूल्याङ्कन त प्रस्तुत (गरिएको) लेखको गुणवत्ताका आधारमा हुने हो । त्यसैले त्यस्तो अवस्थामा समस्या नहोस् भन्नका लागि दुबैको गोप्यताले सहयोग गर्छ ।
- यति हुँदाहुँदै पनि पूर्ण गोप्यताको ग्यारेन्टी सम्भव हुन्न । लेखनशैली, भाषा, विषयक्षेत्र आदिका आधारमा अनुमान गर्न सकिने सम्भावना त रहन्छ नै ।
- तेहरो गोप्य समीक्षा (ट्रिपल ब्लाइन्ड रिभ्यु)
- यस पद्धतिमा लेखक, समीक्षक र सम्पादक तीनै पक्ष अज्ञात रहन्छन् ।
- लेखकले लेख प्रस्तुत गर्ने बेलामै त्यस्तो विधि/संयन्त्रको उपयोग गरिन्छ ।
- सम्भावित सबै खाले पूर्वाग्रहलाई निषेध गर्नका लागि यस विधिको प्रयोग गरिन्छ ।
- खुला समीक्षा (ओपन रिभ्यु)
- यो लेखक, समीक्षक र सम्पादक सबै ज्ञात हुने किसिमले गरिने समीक्षा हो ।
- यसलाई पूर्ण पारदर्शी समीक्षा मानिन्छ ।
- यसमा पूर्वाग्रहले काम गर्दैन ।
- वैज्ञानिक तर्क, उच्च प्राज्ञिकताको निर्वाह सामर्थ्य, अनुशासन र धैर्य जस्ता गुण खास गरी लेखक र समीक्षकमा आवश्यक हुन्छन् ।
- प्राज्ञिक संवाद र तर्कमा विश्वास आवश्यक हुन्छ ।
- समीक्षाका आधारहरू (चेकलिस्ट)
सामान्य
- के शोधलेख मौलिक, मानक र सम्बद्ध क्षेत्रका लागि महत्त्वपूर्ण छ ?
- प्रस्तुति स्पष्ट र कसिलो छ ?
- के उपयुक्त संरचना र भाषाको प्रयोग छ ?
विशिष्ट
Elsevierले समीक्षकका लागि प्रस्तुत गरेको चेकलिस्ट यस्तो छः
- छोटो अनुच्छेदमा लेखको संक्षेप प्रस्तुत गर्नुहोस्। यसले शोधकर्तालाई तपाईंले अनुसन्धान पढ्नु भएको र बुझ्नुभएको छ भन्ने देखाउँछ ।
- लेखमाथिको तपाईंको मुख्य प्रभाव\प्रतिक्रिया (इम्प्रेसन) दिनुहोस्, जस्तो कि यो रोचक र विशिष्ट छ, यसमा पर्याप्त प्रभाव पार्ने क्षमता छ, यसले विद्यमान ज्ञानमा केही कुरा थप्छ आदि ।
- तपाईंले टिप्पणी गर्दा छोटो, स्पष्ट र परिभाषित अनुच्छेदहरू प्रयोग गरेर गर्नुहोस् जसले गर्दा सम्पादकले लेखमा कहाँ के गर्नु पर्ने हो, त्यो स्पष्ट रूपमा बुझ्न सकिने स्थिति बनोस् ।
- आलेखमा जर्नलको सम्पादनपक्षद्वारा लेखकका लागि निर्धारित विशेष निर्देशनहरू पालना गरिए नगरिएको आकलन
गर्नुहोस् । - शीर्षकका बारेमा विशिष्ट टिप्पणी गर्नुहोस् र सुझाउ दिनुहोस् – के शीर्षकले लेखको अन्तर्वस्तुलाई राम्ररी सङ्केत गर्छ ?
- तपाईं पूर्णतः तथ्यपरक टिप्पणीहरू गर्नुहोस्, लेखकको उद्देश्यमा ध्यान नदिनुहोस्।
- निकै ध्यानपूर्वक लेखमा प्रयुक्त अध्ययनपद्धति, सांख्यिकीय त्रुटिहरू, परिणामहरू(प्राप्तिहरू), छलफल/विश्लेषण, निष्कर्षण र सन्दर्भहरूको समीक्षा गर्नुहोस्।
- आलेखमा तथ्याङ्क प्रस्तुतीकरणमा उपयोग गरिएको पृष्ठपोषणमाथि विचार गर्नुहोस्, कुनै पनि विधिको स्थायित्व र पुनरुत्पादकतामाथि विचार गर्नुहोस्, तथ्याङ्क विश्लेषण कस्तो छ र निष्कर्ष तथ्याङ्कद्वारा समर्थित छ कि छैन, विचार गर्नुहोस् ।
- यदि तपाईं लेखमा आपत्तिजनक ढङ्गले भावहरण (प्लेजियरिज्म) भएको, अन्य किसिमले शोध नैतिकता विपरीत कामहरू भएको ठान्नुहुन्छ भने सम्पादकलाई सप्रमाण उक्त शङ्का र चिन्ता प्रस्तुत गर्नुहोस् ।
- तपाईंको समीक्षामा तपाईंकै पूर्वाग्रह रहन सक्ने सम्भावनाप्रति सचेत रहनुहोस् । असचेत किसिमले हुने पूर्वाग्रहले हामी सबैलाई संदिग्ध निर्णयहरू गर्न मद्दत पुर्याउन सक्छ जसले प्राज्ञिक प्रकाशन प्रक्रियामा नकारात्मक प्रभाव पार्छ।
- पियर रिभ्यु प्रतिवेदनको संरचना/ढाँचा
Fortanet (2008) and Fortanet-Gomez (2008) ले विकास गरेको चारखण्डे पियर रिभ्यु प्रतिवेदनको ढाँचा यस्तो छः
- सङ्कथन १. प्रकाशनको उपयुक्तताबारे सारांशीकृत निर्णय
- सङ्कथन २. आलेखको संरचना/सङ्गठन
- सङ्कथन ३. समीक्षाका खास बुँदाहरू
- सङ्कथन ४. निष्कर्ष र सुझाउ
हाम्रा सन्दर्भमा समीक्षाको सरल र एकीकृत ढाँचा, प्रयोगमा देखिने समस्या तथा तिनको समाधान
समीक्षा लिखित र टङ्कित प्रतिवेदनका रूपमा आउनुपर्छ र त्यसको एकीकृत ढाँचा निम्नानुसार बनाउनु उपयुक्त हुन्छः
(१) शीर्षक
शोधलेखको शीर्षकको संरचना र औचित्यबाटै समीक्षाको आरम्भ गर्नु उपयुक्त हुन्छ । यसको समीक्षामा यी कुरामाथि विशेष ध्यान दिनुपर्दछः
- के शीर्षक सङ्क्षिप्त र समस्यामूलक छ ?
- शीर्षकले अध्ययनक्षेत्रलाई विशिष्टीकृत गर्न सकेको तथा अध्ययनविधिको सङ्केत गर्न सकेको छ ?
- शीर्षक अस्पष्ट र अमूर्त त छैन ।
- शीर्षकले सङ्केत गर्ने विषय /अध्ययनक्षेत्र प्राज्ञिक दृष्टिले औचित्यपूर्ण, महत्त्वपूर्ण एवं खास अध्ययनीय हो कि होइन ?
- के त्यसलाई अझ राम्रो किसिमले पुनर्लेखन गर्न सकिन्छ ?
अब मैलेसामना गरेका केही शीर्षकः
- कुनै कवि/कथाकार/निबन्धकारको कुनै सङ्ग्रहका रचनामा कुनै पक्ष (मनोविश्लेषण, नारीचेतना …)
- कुनै एउटा फुटकर कविता, फुटकर कथा, फुटकर निबन्धमा कुनै पक्ष
- विजय मल्लका नाटकमा विद्रोह प्रस्तुति
के यस्तो शीर्षक उपयुक्त हुन्छ ?
(तेस्रो शीर्षकमाथिको मेरो टिप्पणीः
लेखको साबिक शीर्षक विजय मल्लका कथामा विद्रोह प्रस्तुति रहेकोमा पहिलो त विद्रोह प्रस्तुति समास बन्न सक्ने भए पनि यहाँ विद्रोहको प्रस्तुति बनाउँदा नै उपयुक्त हुन्छ । दोस्रो कुरा, लेखभित्र केवल नारीहरूको विद्रोहको विश्लेषण गरिएको हुँदा लेखकको मूल शीर्षकलाई पनि तदनुरूप ……नारी विद्रोहको प्रस्तुति बनाउनु नै उपयुक्त हुन्छ । तेस्रो कुरा, शीर्षकमा प्रस्तुति शब्द आवश्यक देखिँदैन । विजय मल्लका नाटकमा नारी विद्रोह बनाउँदा पनि उपयुक्त नै हुन्छ ।)
- अध्ययन/लेख-सार
अध्ययनसारको मूल्याङ्कनका आधारहरू निम्नप्रकार हुन सक्छन्-
- के यो साँच्चै अध्ययनको सारांश बन्न सकेको छ ?
- के यसमा अध्ययनको उद्देश्य र दावीको स्पष्ट सङ्केत छ ?
- के यसमा अध्ययनविधिको उल्लेख छ ?
- के यसले मूल प्राप्ति/निष्कर्षलाई समावेश गरेको छ?
- के यसको लम्बाइ / आकार ठिक्कको छ ?
- यसमा पृष्ठभूमि र सिद्धान्तको अनावश्यक व्याख्या त छैन ?
- अध्ययनसारको भाषा स्पष्ट, मूर्त, संसक्ति र सङ्गतिपूर्ण छ कि छैन ?
(माथिको तेस्रो शीर्षक सम्बद्ध लेखको अध्ययनसारबारे मेरो मूल्याङ्कनः
लेखासरको आरम्भमा प्रस्तुत अनुसन्धानात्मक लेखमा भनिएकोमा आफैले आफ्नो लेखलाई अनुसन्धानात्मक भन्नु भन्दा त्यसको अन्तर्वस्तु, प्रयोग गरिएको विधि र सङ्गठनले बताउने हो । विज्ञले नै त्यसको मूल्यङ्कन गर्छन् । त्यसैले अनुसन्धानात्मक भनिरहनु आवश्यक छैन । यसै गरी तल प्रस्तुत अनुसन्धान कार्यबाट भनिएको छ । यसलाई पनि प्रस्तुत अध्ययनबाट बनाउनु उपयुक्त हुन्छ । लेखसारका अन्त्यमा दिइएको निष्कर्षमा ‘मल्लका नाटकमा विद्रोही नारीपात्रको उपस्थिति तथा विद्रोहको प्रस्तुति छ’ भनिएकोमा यति कुरा त लेखको शीर्षकबाटै सङ्केतित छ । त्यो कुन स्तरको (कुन तहमा) छ, कस्तो प्रकारको छ र त्यसले नाट्यरचनाको प्रवृत्तिबारे के कस्तो सङ्केत गर्दछ भन्ने कुरा पनि मूल निष्कर्षमा आउनुपर्छ र त्यसको सङ्क्षिप्त उल्लेख यहाँ पनि गर्नुपर्छ ।)
- मुख्य पद (की वर्ड्स)
- के ती शीर्षकमा भएका शब्दका अतिरिक्त छन् ?
- के ती उपयुक्त र पर्याप्त छन् ?
- ती साँच्चै पारिभाषिक छन् कि अत्यन्त सामान्य छन् ?
- परिचय/विषयप्रवेश
परिचय खण्डको मूल्याङ्कनका लागि निम्नलिखित आधारहरूको उपयोग आवश्यक हुन्छः
- के यसले अध्ययनको सन्दर्भ (विषयक्षेत्र), उद्देश्य,समस्या/शोधप्रश्नका बारेमा पर्याप्त जानकारी दिन्छ ?
- के यसले अध्ययनबारे कौतुहलता जगाउँछ ?
- के यो ठिक ढङ्गले संरचित छ ?
- पूर्ववर्ती अध्ययनका प्राप्तिलाई यसले निषेध गरेको अथवा गलत ढङ्गले प्रस्तुत गरेको त छैन अथवा सम्बद्ध क्षेत्रमा पूर्ववर्ती अध्ययनको उपेक्षा गरेको र त्यसको उल्लेख नै नगरेको अवस्था छ ?
- के यसले सम्बद्ध विषयको अध्ययनीयताबारे स्पष्ट सङ्केत गर्छ ?
- उपर्युक्त सन्दर्भहरूलाई प्रस्तुत गर्दा वाक्य र प्रकरणबिच संसक्ति छ कि छैन ?
हामीले सामना गरिरहेका लेखमा प्रायः हुने समस्या यस्ता छन्-
- प्रायः लेखमा मूल शीर्षकका चरको परिचय भए पनि तिनका बिच संसक्ति हुँदैन । ती अलग-अलग जस्तै हुन्छन् ।
- कतिपयमा सबै चरको परिचय आउँदैन ।
- कतिपयमा सम्बद्ध विषयक्षेत्रमा पूर्ववर्ती अध्ययन र त्यसका सीमाको उल्लेख हुँदैन ।
- कतिपयमा लेखको अध्ययनीयतालाई राम्रोसँग स्पष्ट पारिएको हुँदैन र आफ्नो दावी अथवा अध्ययनबाट स्थापित गर्न खोजिएको कुरालाई स्पष्ट पारिएको हुँदैन ।
- कतिपयमा निष्कर्षकै उल्लेख गरिएको पाइन्छ, जुन आवश्यक छैन ।
- अध्ययनविधि
अध्ययविधिको समीक्षाका आधार यी हुन सक्छन्-
- कुनै पनि वैज्ञानिक अध्ययन क्षमता र रुचि भएका कुनै पनि अध्येताबाट पूर्णतः पुनरुत्पादन गर्न सकिने खालको हुनुपर्ने भएकाले सम्पूर्ण सामग्री र विश्लेषणविधि स्पष्ट र पहुँचयोग्य हुनुपर्छ जसले गर्दा त्यसलाई जाँच्न र पुनः सम्पन्न गर्न सकियोस् ।
- उपर्युक्त सन्दर्भमा के प्रयोग गरिएको विधि (तथ्याङ्कशास्त्रीय समेत) प्राक्कल्पनाको/दावीको सत्यापन गर्न उपयुक्त र पर्याप्त
छ ? - के अध्ययनविधिमा आवश्यक सम्पूर्ण खोलुवा (व्याख्या) छ ? जस्तैः
- सामग्री सङ्कलन विधि/प्रक्रिया, विश्लेष्य सामग्रीको छनोट/निर्धारण
- सामग्रीको अर्थापन विधि
- विश्लेषणको सैद्धान्तिक पर्याधार
- गुणात्मक शोधमा आग्रह/पक्षपात र संज्ञानात्मक त्रुटि निवारण गर्न वा हटाउन ध्यान दिइएको कुरालाई अध्ययनविधिले सङ्केत गर्छ ?
हाम्रा समस्याः
अर्थापन विधि प्रायः स्पष्ट हुँदैन । त्यो कसरी लेख्ने भन्ने अवधारणामै अस्पष्टता र अभ्यासको कमी देखिन्छ।
सैद्धान्तिक पर्याधारको व्याख्यामा कमजोरी हुन्छ । खास गरी पाश्चात्य समालोचना (विशेषतः उत्तरवर्ती) बाट लिइने सैद्धान्तिक सामग्रीका सन्दर्भमा मूल पाठको उपयोग गर्न नसक्नुका कारण द्वितीयक, तृतीयक स्रोतबाट तिनको उपयोग गर्दा वैधताको समस्या रहने गरेको छ ।
सैद्धान्तिक सामग्रीको उद्धरण/उपयोग गर्दा मुख्य प्रविधिगत समस्या पनि छ । प्याराफ्रेजको पद्धति नजान्दा वा त्यसमा अभ्यस्त नहुँदा प्रत्यक्ष कथनका सामग्री बिना स्रोत राखिएका हुन्छन् जसले गर्दा भावहरणको स्थिति प्रायःजसोमा हुने गरेको छ।
सबै लेखमा बनिबनाउ सैद्धान्तिक ढाँचा नहुन सक्छ । त्यस्तोमा अवधारणात्मक ढाँचा (कन्सेप्चुअल फ्रेमवर्क) बनाएर पनि विश्लेषण गर्न सकिन्छ तर त्यस्तो आवश्यकता भएका ठाउँमा अवधारणात्मक ढाँचा बनाउने र प्रयोग गर्ने अभ्यास छैन ।
नेपाली प्राज्ञिक समुदायमा/ज्ञान परम्परामा विकसित हाम्रै सैद्धान्तिक अवधारणा वा ढाँचा हुन सक्छन् कि सक्दैनन ? यो प्रश्न पनि अब गर्ने बेला भइसकेको छ ।
- सामग्री विश्लेषण
प्राज्ञिक लेखको मूल र सर्वाधिक महत्त्वपूर्ण खण्ड सामग्री विश्लेषण हो । विज्ञ समीक्षा गर्दा यसका आधार के हुन सक्छन् ? यसबारेको विमर्शलाई आधार बनाउँदा निम्नलिखित बुँदा अगाडि सार्न सकिन्छः
- के विश्लेषण सान्दर्भिक र विश्वसनीय छ ?
- अध्ययनमा प्रयुक्त तर्क र व्याख्या/अर्थापनबारे तपाईंको प्रतिक्रिया के छ ? के त्यहाँ कार्य-कारण सम्बन्धलाई आधार बनाइएको छ ?
- के अध्ययनको उद्देश्य/प्राज्ञिक प्रश्नको अपेक्षा अनुरूप सामग्री विश्लेषण गरिएको छ ?त्यसमा केकस्तो परिमार्जन आवश्यक
छ ? - विश्लेषणमा प्रयोग गरिएका तथ्य, तथ्याङ्क, तालिका,आरेख आदि उपयुक्त छन् ? के दावीलाई पुष्टि गर्नका लागि पर्याप्त साक्ष्य/प्रमाणको उपयोग गरिएको छ ?
- के तथ्यप्रस्तुतिको तरिका ठिक छ ? यसमा परिमार्जन आवश्यक छ भने सुझाउ के हुन सक्छ ? अथवा के गर्नु उपयुक्त हुन्छ ?
- के प्राज्ञिक लेखनका लागि उपयुक्त किसिमको भाषाप्रयोग छ ? भाषा तथा व्याकरण (वर्णविन्यास, शब्दचयन, वाक्य गठन आदि) मा के कस्तो परिमार्जन आवश्यक छ ?
- लेखको मूल शीर्षकमा आएका चरहरूलाई कसरी उपशीर्षकीकरण गरी विश्लेषण खण्डलाई सङ्गठित गरिएको छ ? कतै लेखको मूल शीर्षक नै त दोहोरिएको छैन ?
(मैले सामना गरेकामा धेरैजसो लेखमा लेखको मूल शीर्षक नै दोहोरिएको पाएको छु । वास्तवमा लेखको मूल शीर्षक दोहोरिनु हुँदैन । त्यसो भयो भने अन्य उपशीर्षकहरूको औचित्य सिद्ध हुँदैन । एकल वा थोरै चर भएका लेखमा मूल शीर्षक नै दोहोर्याउने गरिएको पाइन्छ । यसको समाधानका लागि क) बेग्लाबेग्लै चरबाट उपशीर्षकीकरण गर्ने, वा त्यस्तो अवस्था छैन भने ख) सामग्री विश्लेषणः प्राप्ति तथा छलफल उपशीर्षक राखेर पनि ढाँचा निर्माण गर्न सकिन्छ । यसै उपशीर्षक अन्तर्गत विषयप्रवेश स्वरूपसानो सङ्कथन प्रस्तुत गरेर यस अन्तर्गत आउने चरहरूलाई अन्य उप-उपशीर्षक बनाएर व्याख्यालाई प्रस्तुत गर्न पनि सकिन्छ । )
- प्राज्ञिक लेखन एक प्रकारको पाठक/प्राज्ञहरूसँगको संवाद हो र त्यो पूर्ववर्ती अध्ययन परम्परामा गरिएको थप अर्को काम/व्याख्या हो भन्ने कुराको हेक्का प्रायःजसो लेखकमा पाइँदैन र समीक्षकले पनि यस पक्षलाई खासै वास्ता गरेको देखिँदैन । विश्लेष्य पक्ष/विषय/सन्दर्भबारे अरूले/पूर्ववर्ती अध्येताले के भनेका छन् , त्यसको उल्लेख गर्ने र तीसँग खण्डन, मण्डन वा पूरक व्याख्याका माध्यमबाट सम्वाद गर्ने र आफ्नो दावी र तर्कलाई सत्यापित गर्ने काम निकै कम भएको देखिन्छ । ‘दे से, आइ से’ विधिको प्रयोग गरेर यस प्रकारको संवाद स्थापित गर्न सकिन्छ । अतः यस कोणबाट विज्ञ समीक्षकले पनि समीक्षा गरिदिनु पर्दछ र आवश्यक सुझाउ दिनुपर्दछ ।
- समग्रमा, लेखको विश्लेषण खण्डमा के कस्तो परिमार्जन आवश्यक छ ? स्पष्ट शब्दमा सुझाउ दिनुपर्दछ ।
- निष्कर्ष खण्ड
निष्कर्ष लेखन मूल पाठको उत्तिकै महत्त्वपूर्ण अङ्ग हो । यसको गुणस्तरीयताको मूल्याङ्कनका लागि निम्नलिखित कुराहरूलाई ध्यान दिनुपर्दछः
- निष्कर्षले शोध्य प्रश्नको उत्तर वा समाधान सम्यक् रूपले दिन सके नसकेबारे तपाईंको प्रतिक्रिया के छ ?
- निष्कर्षको वैधता, विश्वसनीयता र सामान्यीकरणको अवस्था कस्तो छ ?
- सिद्ध हुन नसक्ने गरी दावीको पुस्ट्याइँ र स्थापना तथा सामान्यीकरण गरिएको छ भने त्यसलाई सुधार गर्न /घटाउन सुझाउ दिनुहोस् ।
- अनावश्यक शब्द/कथन, आवृत्ति छन् भने हटाउन सुझाउ दिनुहोस् ।
- निष्कर्ष लेख्दा दावीहरूलाई एक ठाउँमा ल्याएर त्यसको पुस्ट्याइँ / सत्यापन के कसरी भयो भन्ने कुरा मूर्त र स्पष्ट भाषामा भन्नु पर्दछ । यस कोणबाट पनि समीक्षा गर्नुपर्दछ ।
- प्रायःजसो लेखमा जे प्राप्त भयो त्यसको उल्लेख हुन्छ र त्यससँगै निष्कर्ष समाप्त हुन्छ तर प्राज्ञिक लेखन/शोध/शोधपरक लेखनमा त्यो निष्कर्ष प्राप्त भयो त के भयो?(so what ?) भन्ने प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ र यसको सम्यक् उत्तर नदिई निष्कर्ष पूर्ण र युक्तिमय हुँदैन (ग्रीन २७१) ।यसमा ‘सो ह्वाट’ भन्ने प्रश्नको उत्तर आउनुपर्छ । यसले लेख/अध्ययनमा नयाँ के प्राप्त भयो भन्ने कुरासँगै त्यसको निहितार्थ र विशिष्टतालाई पनि स्पष्ट पार्छ ।
- निष्कर्षमा अरूका / पूर्ववर्ती तर्कलाई विस्तारित गरिन्छ, पूर्ण बनाइन्छ अथवा कहिलेकाहीँ चुनौती पनि दिइन्छ । ध्यान दिउँ, के यसरी निष्कर्ष लेखिएको छ ?
- निष्कर्षमा सुरुको विषयपरिचयको अनुगुञ्ज (इको) आउनुपर्छ (ग्रीन २७१) । के समीक्षित निष्कर्षमा त्यस्तो छ ?
- निष्कर्षले पाठकलाई पनि चुनौती दिन्छ र भावी अध्ययनको सम्भावनालाई पनि सङ्केत गर्दछ । के समीक्षित निषकर्ष त्यसरी लेखिएको छ ?
- उद्धरण, सन्दर्भसामग्री सूची,तालिका र चित्रहरूको प्रयोग
उदद्धरण, सन्दर्भसामग्री, तालिका आदि शोधपरक लेखका महत्त्वपूर्ण पक्ष हुन् । यिनको सम्यक् निर्वाह र प्रयोग गुणस्तरीय लेखका लागि आवश्यक हुन्छ । यसको मूल्याङ्कनका लागि निम्नलिखित बुँदालाई आधार बनाउनु पर्दछः
- उद्धरण प्रयोगमा विधि र एकरूपताको निर्वाह छ कि छैन ?
- पादटिप्पणी वा अन्तर्पाठ टिप्पणी (इन्टेक्स्ट साइटेसन)को प्रयोग विधिसम्मत छ छैन ?
- तालिका र चित्रहरूको पठनीयता र विधिसम्मतताको स्थिति कस्तो छ ?
- सन्दर्भसूची (वर्क्स साइटेड) विधिसम्मत ढङ्गले निर्माण भएको छ ?
- पाठमा उद्धृत गरिएका सामग्री सन्दर्भसामग्रीसूचीमा नपरेका र उद्धृत नै नगरिएका सामग्रीको प्रविष्टि सन्दर्भसूचीमा गराइएको अवस्था त छैन ?
- भाषा, प्रस्तुति तथा समग्र संरचना
माथि १देखि ८ सम्मका बुँदाहरू प्राज्ञिक/शोधपरक लेखका अङ्गहरूका क्रमानुसार समीक्षा गर्नुपर्ने सन्दर्भसँग सम्बन्धित छन् । विज्ञ समीक्षाका यी मुख्य सन्दर्भ/पक्ष हुँदै हुन् । यी बाहेक लेखमा प्रयोग गरिएको भाषा र प्रस्तुतिको ढाँचा तथा सङ्गठनबारे उपर्युक्त बुँदाहरूमा विशिष्ट रूपमा समीक्षा हुन सकेको छैन भने यी सन्दर्भलाई बेग्लै बुँदामा राखेर समीक्षा गरी सुझाउ दिन पनि सकिन्छ । त्यसो गर्दा समीक्षाका आधार यी हुन सक्छन्-
- लेखमा प्राज्ञिक लेखन अनुकूल स्तरीय तथा मानक भाषाको प्रयोग भएको छ कि छैन ?
- भाषा बढी आलङ्कारिक, अमूर्त, अस्पष्ट छ कि ?
- भाषामा व्याकरणिक एवं अर्थगत सङ्गतिको अवस्था कस्तो छ ?
- वाक्य-वाक्य तथा अनुच्छेद-अनुच्छेद बिच संसक्ति कायम भएको छ कि छैन ?
- खासखास शब्द तथा पदावलीहरू(वाक्यसमेत)को अनावश्यक आवृत्ति भएको त छैन ?
- छोटोमा (सामासिक ढङ्गले, संश्लेषण गरेर, सारांशीकरण गरेर) भन्न सकिने कुरालाई अनावश्यक ढङ्गले लामो पारेर प्रस्तुत गरिएको छ कि ?
- प्याराफ्रेज गरेर भन्दा उपयुक्त हुने कुराका लागि लामा उद्धरणको प्रयोग त गरिएको छैन ?
- सामाजिक मूल्यको निर्वाहका दृष्टिले भाषाप्रयोग कस्तो छ ?
- उमेर, लिङ्ग, जाति, पेसा, क्षेत्र, वर्ण आदिका आधारमा कसैलाई होच्याउने, कसैप्रति उपेक्षा वा अपहेलना व्यक्त हुने किसिमले (जान वा अनजान तहमा) सम्बोधन वा वर्णन भएको छ कि ?
- प्रस्तुतिको ढाँचा र समग्र संरचनाले वैज्ञानिक/ व्यवस्थित सङ्गठन प्राप्त गरेको छ कि छैन ?
हाम्रो समस्याः
- समीक्षाका लागि पठाइने लेखहरूमा प्रायः भाषिक सङ्गति र संसक्तिको समस्या हुन्छ । लेखको संरचना / सङ्गठनमा पनि समस्या देखिन्छ । खास गरी भिन्नभिन्न चरहरूलाई कसरी सङ्गठित गर्ने भन्ने कुरामा समस्या देखिन्छ ।
- पूर्ण प्रकारको शोधप्रतिवेदन र शोधपरक प्राज्ञिक लेखको संरचनामा हुने भिन्नतामा पनि अस्पष्टता देखिन्छ । यसकै परिणामस्वरूप शोधपत्रमा जस्तै समस्याकथन र उद्देश्य दुबैको बेग्लाबेग्लै उल्लेख गरिएको पाइन्छ ।
- प्रकाशन योग्यताबारे टिप्पणी
अन्त्यमा आलेख प्रकाशनयोग्य भए नभएको बारे समीक्षकले आफ्नो राय दिनुपर्छ । प्रकाशनयोग्यताका सन्दर्भमा निम्न स्थिति हुन सक्छन्-
- आलेख परिमार्जनबिना प्रकाशनयोग्य हुन पनि सक्छ (यद्यपि यस्तो स्थिति कमै हुन्छ) ।
- सामान्य परिमार्जन गरेपछि प्रकाशनयोग्य हुन सक्छ ।
- महत्त्वपूर्ण (मेजर) परिमार्जन गरेपछि मात्र प्रकाशनयोग्य हुन सक्छ ।
- सम्पूर्णतः परिमार्जन गरेर पुनर्प्रस्तति गर्ने गरी स्वीकार्य हुन सक्छ ।
प्रकाशनयोग्य नै नहुने अवस्थाः
- विषय नै औचित्यपूर्ण नभएमा र लेखको मौलिकता नदेखिएमा
- संरचना र अध्ययनविधि आधारभूत रूपले अनुपयुक्त भएमा
- विश्लेषण अत्यन्त दुर्बल र विश्लेषण तथा निष्कर्षणबिच सामञ्जस्य नभएमा
- भावहरण (प्लेजियरिजम्) अस्वीकार्य स्तरमा भएमा
- शोधाचारको गम्भीर उल्लङ्घन भएको देखिएमा
- लेखको प्राज्ञिक गुणस्तरीयता कायम हुन नसकेको सिद्ध भएमा
समीक्षकलाई यी पक्षहरू धनात्मक अवस्थामा भएको विश्वास र प्रमाण उपलब्ध रहेको लाग्छ भने त्यसबारे आफू स्पष्ट भई सोही अनुरूप राय-सुझाउ दिनुपर्दछ ।
(नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको विज्ञ समीक्षक अभिमुखीकरण गोष्ठीमा प्रा.डा. पाण्डेयद्धारा प्रस्तुत समकक्षी (विज्ञ) समीक्षाको ढाँचा तथा प्रयोगपक्ष शिर्षकको गोष्ठीपत्र)