अध्यात्म अन्तरङ्गः धर्ममा शान्ति हुन्छ, सम्प्रदायमा क्रान्ति
नेपालनाम्चाको बिहिबारे स्तम्भ ‘अध्यात्म अन्तरङ्ग’ को दोस्रो श्रृंखलामा कमल रिजालसँग स्वस्थानी र आध्यात्मिक पाटोबारे सम्वाद ।
स्वस्थानीको धार्मिक महत्वबारे केही बताइदिनुस् न ?धर्मको अर्थ धारण गर्नु हो । जुन व्यवहारले जीवन धारण गर्छ, घरपरिवार धारण गर्छ, समाज धारण गर्छ, राष्ट्र तथा राज्य धारण गर्छ र अन्ततः समग्र विश्वब्रह्माण्डलाई नै धारण गर्न पुग्छ त्यही नै धर्म हो । स्वस्थानीमा यिनै जीवन र जगत् धारणसम्बन्धी कुरा आएका छन् । यसको धार्मिक महत्वलाई यसैको सेरोफेरोमा रहेर हेरिनुपर्ने हुन्छ ।
स्वस्थानीले जीवन र जगत धारणसम्बन्धी धेरै कुरा बताएको छ भन्न खोज्नुभएको हो ?
हो, यसैगरी बुझ्दा हुन्छ । चाहे स्वस्थानीको सार भन्नुस्, चाहे अन्तर्य खोज्दै जाँदा यस्तै पाउन सकिन्छ स्वस्थानीका कथाहरूमा ।
के हुन् त ती ? केही बताइदिनुस् न ।
प्रष्टै छ नि, त्यहाँ गृहस्थी जीवनको चर्चा छ, गृहस्थी धर्मको चर्चा छ, परस्परमा सद्भाव र सहिष्णुताको चर्चा छ, सहयोगको चर्चा छ, एकले अर्कोप्रति गर्नुपर्ने व्यवहारको चर्चा छ, ठूलालाई सम्मान गर्नुपर्ने र सानालाई माया गर्नुपर्ने कुराको चर्चा छ, शान्ति, सद्भाव र सदाचारको चर्चा छ, हावा, पानी, माटो, पहाड, पर्वत, जलवायु र तिनको महत्वबारे चर्चा छ, वातावरण शुद्धिको चर्चा छ, यज्ञअनुष्ठानको चर्चा छ, आफूले नजानेको कुरा अरुले गरेको देखेर र सुनेर सिक्ने अनि जानेबुझेको कुरा अरुलाई बताएर सहयोग गर्नुपर्ने कुराको चर्चा ।
केही नकारात्मक प्रसङ्ग पनि आएका छन् नि स्वस्थानीमा, जस्तै डाहा, ईष्र्या, छलकपट, धुत्र्याईं, परपीडन यस्तैयस्तै । यसबारे के भन्नुहुन्छ ?
हो, त्यस्ता कुरा आएका छन्, आएका छन् मात्रै होइन, प्रसङ्ग अनुसार धेरै नै आएका छन् तर ती यस्तै सिकुन,् गरुन् भनेर आएका होइनन् । त्यस्ता काम गर्नेहरूले भोगेका दुःख र पाएका दण्ड देखेर कसैले पनि त्यस्ता क्रियाकलाप नगरुन् भन्ने सन्देश दिनका लागि आएका छन्, राखिएका हुन् त्यस्ता प्रसङ्ग ।
त्यसो भए स्वस्थानीका पसङ्गले सकारात्मक बनुन्, त्यस्तै कुरा सिकुन्, जानून्, बुझून र सोही अनुसार व्यवहार गरुन् भन्नका लागि हुन् ? के भन्नुहुन्छ ?
हो, कथा भट्याउनका लागि मात्र स्वस्थानी होइन । भन्नकै लागि त प्रत्येक वर्ष पूरा एक महिना भट्याउँदै आएकै छौं । कतिलाई कण्ठै पनि होला तर यो माध्यम मात्र हो । स्वस्थानीको कथा भन्नुको अर्थ त्यसको महत्व बुझेर सोही अनुसारको व्यवहार गरुन् भन्ने हो । स्वस्थानीको कथा साधनसम्म हुन्, आफैमा साध्य होइनन् । न कथा भनेको भरमा केही हुनेवाला छ, न सुनेको भरमा केही हुनेवाला छ । शिक्षा व्यावहारिक नभएसम्म केही पनि हुँदैन भन्ने बुझ्न जरुरी छ ।
सके सबैले स्वस्थानी पढ्ने, भन्ने, सुन्ने, सुनाउने, नसके स्वस्थानीको पुस्तक घरमा राखे मात्र पनि धर्म हुन्छ भन्ने पनि लेखिएको छ स्वस्थानीकै पुस्तकमा । यसलाई चाहिं के भन्नुहुन्छ नि ?
यदाकदा तीतो औषधीमा गुलियो मिसाउनु पनि पर्ने हुन्छ । यसलाई पनि यस्तै बुझ्दा हुन्छ । जबतक स्वस्थानीले दिन खोजेको सन्देश बुझेर सोही अनुसारको व्यवहार गर्दैनौं तबतक स्वस्थानीको कथा हजार पटक भने पनि र हजार पटक सुन्ने, सुनाउने गरे पनि हात लागि सुन्य नै हुनेछ । चामल नपाउन्जेल भुसको पनि माया गर्नुपर्छ, परालको पनि जतन गर्नुपर्छ । चामल पाएपछि तिनको खासै अर्थ छैन । यहाँ पनि त्यस्तै नियम लागू हुन्छ । सार नबुझुन्जेल भन्नुपर्छ, धेरै नै भन्नुपर्छ । बुझेपछि कथा भने पनि हुन्छ नभने पनि हुन्छ । पुस्तक घरमा राख्दा धर्म हुन्छ भन्नुको आशय पनि पुस्तक भएपछि अध्ययन अनुसन्धान पनि हुनसक्छ भन्ने हो ।
स्वस्थानी ग्रन्थमा स्वस्थानीलाई ठूला देवी भनिएको छ । यसबारेमा के भन्नुहुन्छ नि ?
अवश्य स्वस्थानीको पुस्तकमा उनलाई ठूला देवी भनिएको छ तर प्रायः सोचिने गरेजस्तो अदृष्य शक्ति वा पुस्तकको पाना पल्टाएर फूल अक्षता चढाउने गरेको मूर्ति मात्र चाहिं भनिएको छैन ।
यसको आशय उनी प्रत्यक्ष देखिने देवी हुन् भन्ने हो ?
हो, स्वस्थानी प्रत्यक्ष देखिने देवी वा शक्ति नै हुन् । चाहे माघ आओस् नआओस्, स्वस्थानी भनौं नभनौं उनी हमेशा हाम्रै वरिपरि छिन्, रहेकी छिन्, बसेकी छन् ।
के हो त्यो भनेको प्रष्ट पारिदिनोस् न ।
हाम्रै जीवन, जीवनदर्शन, जीवनी शक्ति, घरपरिवार, समाज, मानिस, छरछिमेक, पशुपक्षी, हावा, पानी, माटो, वनजङ्गल आदिको सामुहिक रूप नै स्वस्थानी हुन् । स्वस्थानी शब्दको अर्थ पनि त्यही हो । स्व अर्थात् आफ्नो स्थानीय देवी वा शक्ति नै स्वस्थानी हो ।
उनलाई ठूला देवी मान्नुको तात्पर्य के हो नि ?
यसको कारण अर्र्कै छ ।
के हो त्यो भनेको ?
प्रष्टै छ नि । तिनीहरूका सहयोग बिना न हामी बन्न सक्छौं न बच्नै । त्यस्ता शक्तिलाई ठूला देवी नभनेर के भनून् त ।
स्वस्थानीको उपासना गर्दा आफूले चाहेको कुरा पूरा हुन्छ भनिएको छ । यसबारेमा पनि केही बताइदिनुस् ।
उपसनाको अर्थ पूजा गर्नु मात्र होइन, नजिकमा बस्नु, छुनु, सुमसुम्याउनु, माया गर्नु, सम्मान गर्नु, जतन गर्नु सबै यसैभित्र पर्छन् । जसले उल्लिखित कुराहरूको जतन गरेको छ, सदुपयोग गरेको छ उनीहरूको जतन तिनैले गरेका हुन्छन् । चाहना पूरा हुन्छ भनिएको यही हो, यसैलाई हो । हाम्रा चाहनापूर्तिका आधार भनेका संसार नै हुन् । जे पाइन्छ यसैबाट पाइन्छ, जे दिन्छ यसैले दिन्छ । यसैका लागि स्वस्थानी हो, स्वस्थानीको कथा हो ।
स्वस्थानीको आध्यात्मिक पक्षमा पनि केही बताइदिनुस् । कि धर्म र अध्यात्म एउटै हुन् ?
धर्म र अध्यात्म सरसर्ती हेर्दा उस्तै हुन् जस्तो लाग्न सक्छ तर एउटै होइन । तात्विक दृष्टिले यी नितान्त भिन्न छन्, भिन्न हुन् । धर्म भनेको साधन हो, अध्यात्म भनेको साध्य हो । धर्मको माध्यामबाट जुन स्थानमा पुगिन्छ वा धर्मले जुन ठाउँमा पु¥याँउछ त्यही नै अध्यात्म हो । अध्यात्मको अर्थ नै आत्मनिभाव हो । जतिबेला आफूमा संसारलाई र संसारमा आफूलाई देख्न सक्ने अवस्थामा पुगिन्छ त्यही नै अध्यात्म हो । गीतामा यसको सुन्दर व्याख्या भेटिन्छ ।
धर्म भनेको हिन्दू, बौद्ध, इस्लाम, इसाइ आदि हुन् भन्ने गरिएको पनि पाइन्छ । यो चाहिं के हो नि ?
यी भनेका विशुद्ध सम्प्रदाय हुन् । धर्ममा शान्ति हुन्छ, सम्प्रदायमा क्रान्ति । शान्ति र क्रान्ति कहिल्यै एउटै हुँदैनन् । सम्प्रदायलाई धर्म भन्नु र गुड र गोबरलाई एउटै भन्नु उस्तै हो ।
ओ हो ! आकाश जमिन जत्तिकै फरक पो देखियो त ?
हो, यिनमा आकाश र जमिनकै फरक छ । आज संसारमा धर्मका नाममा जति रगतको खोलो सायद कुनै पनि युद्धमा बगेको छैन । जहाँ रगत बगेको हुन्छ वा जसले रगत बगाउँछ त्यसलाई पनि धर्म भन्दै जाने हो भने सबै किसिमका मारकाट, हत्या हिंसा, बलात्कार, अनाचार, दुराचारलाई पनि धर्मकै संज्ञा दिनुपर्ने हुन्छ ।
यहाँनेर थप प्रष्ट हुन चाहें । धार्मिक ग्रन्थमा पशुबलिको कुरा पनि आएको छ । यो भनेको के हो नि । बलिदानमा रगत बग्छ होइन र ?
हो, धार्मिक ग्रन्थमा बलिदानको कुरा आएको छ तर कुनै अबोध प्राणीको घाँटी रेट्नु नै बलिदान हो चाहिं भनिएको छैन । बलि भनेको त्याग हो, समर्पण हो, अज्ञान, काम,ू क्रोध, लोभ, मोह, मद, मात्सर्य जस्ता तमाम आसुरी गुण र प्रवृत्तिको त्याग हो । शास्त्रामा भनिएको बलिदान यही हो, यसैलाई हो । नकि कुनै निरीह प्राणीको रगत बगाउनु । पशुबलीलाई नै बलीदान मान्नु र ठान्नु भनेको घोर मूर्खता हो तर विडम्बना हामी त्यही गरिरहेका छौं ।
स्वस्थानीको आध्यात्मिक पक्षलाई थप प्रष्ट पारिदिनोस् न सर्वसाधारणले सजिलै बुझ्ने गरी हुन्न ?
यसलाई बुझ्न सर्वप्रथम आफ्नै शरीरको विशेषतालाई केलाउनुपर्ने हुन्छ । हाम्रा शरीरमा सूक्ष्म छवटा चक्र हुन्छन्, जसलाई मूलाधार, स्वाधिष्ठान, मणिपुर, अनाहत, विशुद्ध र आज्ञा चक्र भनिन्छ । मेरुदण्डको पुछारमा कुण्डलिनी शक्ति रहेको हुन्छ । यसलाई तपाईं सतीदेवी भन्न पनि सक्नुहुन्छ, शक्तिदेवी भन्न पनि सक्नुहुन्छ । सुशुप्तावस्था (मृतावस्था) मा रहेको यस शक्तिलाई जगाएर जब मस्तकमा रहेको सहस्रार चक्रमा अवस्थित शिव (कल्याण तत्व) सँग मेल हुन्छ वा गराइन्छ, यसैलाई शिव र सती (पार्वती) को विवाह भनिन्छ तर बीचमा दक्षप्रजापति बाधक छ । यो भनेको क्रोध वा घमण्डको प्रतीक हो । यसका लागि सर्वप्रथम तिनलाई हटाउनुपर्छ । यही नै स्वस्थानीको आध्यात्मिक पक्ष वा उद्देश्य हो ।
ओ हो ! कथा निकै गहन पो रहेछ त ?
हो, त्यस्तै बुझ्नुस् ।
धन्यवाद, आजलाई यति नै, बाँकी अर्को बिहीवार चर्चा गरौंला हुन्न ?
हुन्छ, धन्यवाद । त्यसै गरौं ।
(लामो समय गोरखापत्रमा ‘अध्यात्मदर्शन’र युवामञ्चमा ‘जीवनदर्शन’स्तम्भ लेखेका रिजालले तीन वर्ष इमेज एफएममा आध्यात्मिक कार्यक्रम सञ्चालन समेत गरेका थिए । अध्यात्मदर्शनमा आधारित रिजालका एक दर्जन पुस्तक प्रकाशित छन् ।)