भाषा : अशुद्ध होर्डिङ बोर्ड राख्न पाइन्छ ?

दुर्गा पौडेल

लेखनमा भाषाको महत्वपूर्ण भूमिका हुन्छ— चाहे त्यो साहित्यिक होस् वा अखबारी । त्यसैगरी, लेखकले लेखिसकेको कुरालाई भाषासम्पादन तथा ‘प्रुफ’संशोधनले झन् शक्तिशाली बनाउँछ । यहाँ उठाउन लागिएको खास विषयचाहिँ भाषासम्पादनका क्रममा भोग्नुपरेका विभिन्न रोचक तथा तथा रमाइलो पक्षको हो ।

अर्थगत पक्ष
केही लेखकहरू ‘अङ्ग्रेजी शुद्ध लेख्नुपर्छ तर नेपाली कामचलाउ भए पनि हुन्छ’ भन्ने मान्यतामा रहेको जस्तो लाग्छ । मदन पुरस्कार विजेता लेखक कृष्ण धरावासीको नामसमेत शुद्ध लेख्न नजान्ने धेरै ‘वरिष्ठ’ लेखकहरू छन् । ती लेखकहरू बारम्बार कृष्ण धाराबासी उच्चारण गरिरहेका हुन्छन् । धाराको छेउमा बस्ने भएर धारावासी भनेको होला भन्ने भनाइ उनीहरूको पाइन्छ । पृथ्वीवासी कृष्ण बारम्बार भन्छन्, ‘म धाराबासी होइन, धरावासी हुँ ।’
काठमाडौँ उपत्यकाबाट प्रकाशित हुने राष्ट्रिय स्तरका दैनिक ‘ब्रोडसिट’ का समाचार सम्पादकले पनि भाषाप्रति खेलवाड गरिरहेको पाइन्छ । नेपाली भाषाका ‘मानक’ मान्नुपर्ने यी पत्रिकाहरू भाषाप्रति सचेत भएको पाइँदैन । ‘शब्द कम गर्ने’ सिद्धान्तमा उनीहरूले अनर्थ लाग्ने वाक्यांशहरू दिनहुँ प्रयोग गरिरहेका छन् । आपूm पनि एक दैनिक पत्रिकाको ‘भाषासम्पादक’ भएकाले यो समस्या परिरहेको छ । समाचार सम्पादकले ‘दर्जन बढीको मृत्यु’ भनेर शीर्षक राखेको पाएपछि आपूmलाई कन्पारो तातिहाल्छ । त्यो शीर्षकले त्यहाँ मर्नुपर्ने संख्या जति थियो त्योभन्दा दर्जन बढीको मृत्यु भएको भन्ने बुझिन्छ । त्यहाँ ‘दर्जनभन्दा बढी’ लेखिनुपर्ने मेरो ठम्याइ हो ।
त्यसैगरी, ‘हत्याका आरोपी थुनामा’ भन्ने शीर्षक पनि चल्तीका दैनिक पत्रिकाहरूमा पाइन्छ । यहाँ भन्न खोजिएको चाहिँ ‘आरोपित’ हो । ‘आरोपी’ भन्नाले जसले आरोप गर्न उसलाई बुझिन्छ । जोमाथि आरोप गरिएको हो ऊ ‘आरोपित’ हो । उपत्यकाबाट प्रकाशित हुने पत्रिकाहरूमा त यस्तो हालत छ भने मोफसलका पत्रिकाको हालत कस्तो होला ? यस्ता कैयौं शब्दहरू छन् जसले पत्रिकाहरूले भन्ने खोजिरहेको कुरा एउटा हुन्छ तर ती शब्दले विपरीत अर्थ दिइरहेका हुन्छन् । हामी त्यसैलाई ‘मानक’ मानेर पढिरहेका छौं ।
नेपाली लेखनमा आइरहने शब्द हो— ‘सुचारु’ । दैनिक पत्रिकाहरूदेखि लिएर साहित्यिक प्रकाशनहरूमा पनि यो शब्द धेरै प्रयोग गरेको पाइन्छ । यसको प्रयोग गलत भइरहेको छ । ‘सुचारु’ शब्दको अर्थ नेपाली बृहत् शब्दकोषले गल्ती लेखेको हो कि आमलेखकहरूले ? नेपाली बृहत् शब्दकोष (सातौँ संस्करण २०६३, पृ. १२८३) मा सुचारुको अर्थ ‘खूब राम्रो, ज्यादै सुन्दर’ भनिएको छ । तर, नेपाली पत्रपत्रिकाका तथा लेखकहरूले कुनै रोकिएको काम फेरि सञ्चालन भयो भन्ने अर्थका रूपमा ‘सुचारु’ शब्दको प्रयोग गरिरहेका छन् । तर, म भने सुचारु शब्दको प्रयोग गर्दिनँ । त्यसको सट्टा विषयसँग सम्बन्धित मिल्ने शब्दको प्रयोग गर्ने गर्छु ।
यस्ता अनेकौँ शब्द छन् जो दिनहुँ प्रयोग भइरहेका छन्, तिनले गलत अर्थ दिइरहेका छन् र हामी मानक मानेर पढिरहेका छौँ । यसप्रति सबै सचेत हुनुपर्ने मेरो मान्यता हो ।

वर्णविन्यासगत पक्ष
एक जना लेखक (नाम नभनौँ) ले कृति प्रकाशन गर्ने सिलसिलामा ‘ह्रस्व–दीर्घ’ हेरिदिन अनुरोध गरे । मैले कामको पारिश्रमिकबारे पहिल्यै टुङ्गो लगाएर मात्र काम गर्ने कुरा ती लेखकलाई बताएँ । मैले पाउनुपर्ने रकम यति भनेपछि उनी खङ्ग्रङ्ग भए । लामो जिभ्रो काढेर भने, ‘ह्रस्व–दीर्घ हेरेको पनि यति लाग्छ र ? यसो अलिअलि हेरे भइगयो नि ।’ ती लेखकको कृति हेर्दा लाग्थ्यो मैले भनेको पारिश्रमिक आधा मात्र थियो । म दुविधामा परेँ । उनको रेटअनुसारकै काम गर्ने हो भने धेरै त्रुटि छोड्नुपर्ने थियो । तर, मेरो मस्तिष्कले त्यो मानेन । नेपाल सरकारको सह–सहिचजस्तो गरिमामय पदमा बसेका ती लेखकले कोरा शब्द ‘टाइप’ गराउँदा कति खर्चे मलाई थाहा भएन, तर प्रुफको रेट सुनेर उनी टाप कसे ।
शैक्षिक क्षेत्रमा विभिन्न प्रकारको वर्णविन्यासगत शैली प्रयोग गरिएको छ । यसले शिक्षकवर्गलाई निकै समस्या परेको शिक्षकहरू बताउँछन् । एक जना शिक्षकले माध्यमिक तहमा वर्णविन्यास पढाएको कुरा तिनै विद्यार्थी उच्च माध्यमिक तहमा पुगेपछि तिनै शिक्षकले अर्कै वर्णविन्यास शैली पढाउनु पर्दा कस्तो होला । त्यस्तै, तिनै शिक्षकले फेरि स्नातक तहमा तिनै विद्यार्थीलाई माध्यमिक तहकै वर्णविन्यास शैली पढाउनु पर्दा निकै असजिलो भएको दुखेसो पोखे । माध्यमिक तहमा ‘रामबहादुर’, ‘ललितपुर’, ‘तीन’, भनेर पढाउने शिक्षकले उच्च माध्यमिक तहमा पुगेर तिनै विद्यार्थीलाई ‘राम बहादुर’, ‘ललित पुर’, ‘तिन’ शुद्ध हो भनेर पढाउनु पर्दा विद्यार्थीको ती शिक्षकप्रतिको धारणा कस्तो रहला ?

तीतो सत्य
डा. तुलसी भट्टराईले एक अनौपचारिक प्रसङ्गमा भन्नुभएको कुरा याद आइरहन्छ । ‘सहिद’ शब्दले सहिदको अपमान गरेको छ । सहिदप्रति मर्यादा पनि देखिएन । त्यसैले सहिदप्रति सम्मान दर्साउने हो भने ‘शहीद’ नै लेख्नुपर्छ ।
बाटोमा हिँड्दाहिँड्दै कहिलेकाहीँ कुनै–कुनै होर्डिङ बोर्ड अथवा साइन बोर्ड नै झिकेर फालिदिन मन लाग्छ । नेपाली भाषालाई ख्याल नगरी अनर्थ लाग्ने यस्ता बोर्डहरूले दिमाग रन्थन्याउँछ । नेपाली भाषाप्रति खेलबाड गरी गैरजिम्मेवारीपूर्वक अशुद्ध लेखिएका यस्ता होर्डिङ बोर्ड राख्न पाइन्छ कि पाइँदैन ? सम्बन्धित निकाय के गरिरहेको छ ? किन मौन छ ?
एउटा सिद्धान्त छ— ‘कुनै पनि देशलाई खत्तम पार्नु छ भने सबभन्दा पहिले त्यस देशको भाषा तथा संस्कृति मार्नुपर्छ । त्यसपछि देश आफैँ सकिन्छ ।’ त्यसैले देश बलियो हुन भाषा तथा संस्कृति बलियो हुनुपर्छ । भाषाप्रति सबै सचेत होऔँ ।
(पौडेलले कयौं पुस्तक सम्पादन गरिसकेका छन् ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button