आहा! उता, छ्या! यता
शाहिदा शाह
राजनीति गर्न समुदायको आर्थिक, सामाजिक, सांस्कृतिक भौगोलिक परिवेशबारेको बुझाइका साथै समुदायको माग, आवश्यकता र अपेक्षाबारे सम्पूर्ण जानकारी हुनु पर्ने हो । तर, अहिलेको परिस्थितिलाई हेर्दा मैले हाम्रो हालको राजनीतिकर्मीहरुको गुणको बयान यसरी गर्छु, ‘राजनीतिकर्मीमा जनतालाई मुर्ख बनाउने कला, सत्ताको चाकडी र निजी स्वार्थमा निपुर्ण भए पुग्छ ।’
हाम्रो यहाँ जब चुनाव जित्छन्, तब पुरा बेहुला झैं अबीरमाला र बाजागाजा निस्किन्छन् । त्यो पनि भोट दिएर जिताउने जनतालाई धन्यवाद दिन र उनीहरुसँग भेटघाट गर्न भनी होईन् । उनीहरु जितेर निस्किनुको उद्देश्य त आफ्नो प्रतिद्वन्द्वीलाई जलाउनलाई, उसको घाउमा नून छर्कनलाई हो । जनतालाई नै धन्यवाद दिने आशय रहेको भए त पछि जनताको हितमा काम र योजनाहरु जनतामाझ लिएर आउन सकिन्छ । जनताको दुखसुखको बेलामा भलाकुसारी र भेटघाट गर्ने भनी आउन सकिन्छ । तर, त्यो आशय नै होइन ।
तलबाट जब माथि पुग्छन्, अनि जब मन्त्रीमण्डल गठन गरिन्छ र मन्त्री बनिसकेपछि शपथ ग्रहण गर्छन्, तब बडो तामझाम गरिन्छ । पाहुनाहरुको नामावली तयार पारिन्छ । मन्चमा बस्ने र बोल्नेहरूको लामो लिस्ट तयार पारिन्छ, त्यो पनि मर्यादाक्रम अनुसार । अनि सम्बोधन गर्ने बेला उद्घोषकले त्यो मर्यादाक्रमको खूब ख्याल राख्नुपर्छ । अलिकति तलमाथि भयो कि त्यहीँ विवाद सुरु । आसन, भाषण र सम्मानमै आधा दिन बित्छ, मुख्य कार्यलाई छाडेर ।
उता भर्खरै नवनिर्वाचित अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिको शपथग्रहण कार्यक्रम सम्पन्न भयो । शपथग्रहण समारोहमा पुर्व राष्ट्रपतिजस्ता व्यक्तिहरुको उपस्थिति थियो तर कसैले आसन र भाषण गरेनन्, केवल धर्मगुरूको आशिर्वाद, शुभकामना र राष्ट्रिय गीतले शपथग्रहण कार्यक्रमको समापन । बडो सादा तरिकाले न्यायधीशले बाईबलमाथि हात राखेर शपथ खुवाए, म देशको लागि मन, वचन र कर्मले आफ्नो जिम्मेवारी पुरा गर्छु । किनभने, उनलाई थाहा पनि छ कि यदि मैले मेरो देश र जनताका लागि हित हुने कार्य मन, वचन र कर्मले गरेन भने मलाई पनि यहाँका पढेलेखेका जनताले फालिदिनेछन् ।
तर बिडम्बना !
हाम्रो यहाँ त चुनाव जितिसकेपछि जनप्रतिनिधिहरुले देश र जनताका लागि केही नगरे नि हुने । बरु चुनावको बेलामा चाहिं मासुभात र रक्सीको टोकन, बाईक फ्यूल खर्च वा केही नगद रकम बाँडिदिए हुन्छ । यहाँ यस्तै छ चलन । एक पटक वा पाँच वर्ष मात्र के, म त आजीवन चुनाव जितेर मन्त्री बनिरहनेछु । किनकि, यहाँका जनतालाई मुर्ख बनाउन बडा सजिलो छ । विपक्षको आलोचना, नयाँ नयाँ योजनाको प्रलोभन अनि गत चुनावभन्दा फरक र परिमार्जित चुनावी घोषणापत्र भइदियो भने जीत निश्चित ।
आखिर हामी नेपालीले कहिले आफ्नो मतको मुल्य बुझेर सही व्यक्ति चयन गर्ने हौं ? र, कहिले हाम्रा जनप्रतिनिधिहरुले तामझामबाट बाहिर निस्केर जनता र देशप्रति रहेका आफ्ना उत्तरदायित्व र जिम्मेवारीबारे चाँसो दिने हुन् ?
(शाहिदा नेपालगञ्ज, बाँकेलाई कार्यक्षेत्र बनाएर अधिकारकर्म र लेखनमा सक्रिय छिन् ।)