किन जरुरी हुन्छन् नीतिनियम ?
कविता पन्थी
पृथ्वीले एक सेकेण्ड पनि नियम पालना गरेन भने, सूर्य आफ्नो अक्षमा रहेन भने के होला ? कल्पना पनि गर्न सकिदैन । यस जगतमा सबै आ-आफ्नो नियम अनुसार चलेका हुन्छन् । ऋतु, महिना आफ्नै नियममा चल्छन् । रुखबिरुवालगायत प्रकृतिका सबै चिज नियमानुसार चल्छन् । मानिस पनि प्रकृतिको उपज हो । यस संसारको सबैभन्दा चेतनशील प्राणी मानिसले वर्तमान समयमा निकै प्रगति गरिरहेको छ । आफ्नो चेतना, अनुशासन प्रियताका कारण मानिस आजको सभ्यताको अवस्थामा पुगेको छ ।
अहिलेको समयमा सबै क्षेत्रमा सहि व्यवस्थापन हुनु जरूरी मान्न थालिएको छ । त्यसको व्यवहारिकताका लागि विभिन्न नियम कानुनहरु बनाएर लागु गरिएको छ । समयलाई व्यवस्थित पार्न मानिस घडीको गतिमा हिड्न सिकेको छ । विभिन्न नीति नियमहरू बनाएको छ । विभिन्न पेशा व्यवसायमा आवद्ध व्यक्तिहरूले आफ्नो पेशागत मर्यादा बचाइराख्न आ-आफनो तर्फबाट आचारसंहिताको व्यवस्था गरी लागु गर्ने गरेका छन् ।
यसबाट बुझिन्छ कि मानिस कति नीतिप्रिय छ । कति संवेदनशील छ । सबै कुरा राम्रो होस् नीतिगत होस् भन्ने चाहन्छ । यस्तो चाहना हुँदाहुँदै पनि मान्छेले कतिपय अवस्थामा नियमलाई मिच्न पनि पछि पर्दैन ।
संसारमा सबै कुरा नियमसंगत होस् भन्ने हुँदाहुँदै पनि यो सम्भव भएको हुँदैन । विश्व आधुनिकीकरणतर्फ जाँदै गर्दा, लोकतान्त्रिक हुँदै गर्दा नीति र नियमलाई महत्वपूर्ण ठान्न थालिएको छ । सबै कुरा व्यवस्थित होस्, नियम अनुसार होस् भन्ने मान्यता बढेकैले विश्वका प्रायः सबैजसो देशहरूले देश संचालनको लागि निति नियमको व्यवस्था गरेका छन् । यो वर्तमान आधुनिक समाजको कुरा भयो । पहिले पहिले पनि नियमपूर्वक राज्य संचालन, नियमपूर्वक शासनलाई जोड दिइन्थ्यो जसको उदाहरण विभिन्न धार्मिक नियमहरुलाई मानिन्छ । विभिन्न धर्मग्रन्थको सार पनि नियममा चल्ने, कर्तव्यनिष्ठ बन्ने नै हो ।
मानिसले नियमलाई बेवास्ता गर्दा कति नराम्रा कुराहरु घटित हुन पुगेका देखिन्छन् । मानिसले नियम यो हो भन्ने थाहा हुँदाहुँदै पनि आफ्नो मनलाई नियन्त्रण गर्न नसक्दा दु:खद क्रियाकलाप हुने गरेका हुन्छन् । जसरी प्रकृतिका हरेक कुराहरूले आफ्नो कुराहरु पालना गरिरहेका हुन्छन् । हामी पनि प्रकृतिकै उपज भएको कारण नीतिसङ्गत तरिकाले अगाडि बढ्नुपर्छ । शिक्षा, रोजगारी एवं सुरक्षित भविष्यको खोजीमा विश्वका विभिन्न देशहरूमा पुगेका केही साथीहरूसँगको कुराकानीका प्रसङ्गमा मैले सोधेकी थिएँ, ‘के फरक पाउनुभयो हाम्रो देश र ती देशमा ?’ प्राय: सबैको जवाफ एउटै आयो । प्राकृतिक रुपमा हाम्रो देश निकै राम्रो छ, अनगिन्ती सम्भावना छन् । हाम्रोमा नभएको र यहाँको निकै प्रभावित पारेको विषय नीतिको शासन हो । यहाँ हरेक कुरा नियमकानुन अनुसार चल्छ, तर हाम्रोमा नियम अनुसार केही पनि हुँदैन । नियम छ तर कार्यान्वयन हुँदैन ।
जहाँ विधिपूर्वक काम हुन्छ, त्यहाँ मानिस शक्तिशाली व्यक्तिको अगाडि पछाडि गरिरहनुपर्दैन । चाकडी चल्दैन, हाम्रोभन्दा राम्रोलाई महत्व दिइन्छ । त्यस्तो अवस्थामा मानिसहरू शक्तिको पछिअघि नलागेर आफ्नो व्यक्तित्व विकासमा लाग्छन् । पदीय मर्यादाको ख्याल गरेर काम गर्छन् ।
उचित समय, उचित स्थानमा उचित काम गर्ने कला नीति हो । उचित निर्णय लिन र सम्यक परिणाम पाउन नीतिको महत्वपुर्ण भूमिका हुन्छ । कुनै पनि कार्यालय, समाज, देश सबैलाई व्यवस्थित तरिकाले चलाउन, नीति, नियमलाई पालना गर्नै पर्ने देखिन्छ । नत्र समाज अराजक हुन्छ, अस्थिरताले जरा गाड्छ । नियममा विश्वास गर्ने, अनुशासनमा बस्न चाहने मानिसहरूमा वितृष्णा छाउँछ ।
हाम्रो देशको वर्तमान स्थितिलाई हेर्दा पनि नियमकानुनमा विश्वास गर्ने मानिसलाई वितृष्णा आउनसक्ने खालको देखिन्छ । यस्तो अवस्था रहिरहे सुखी समृद्ध देशको सपना सपनामै सीमित हुन्छ । तसर्थ सबैले आ-आफ्नो क्षेत्रबाट मनन गर्न जरुरी छ कि सबै काम नियमसङ्गत होस् । यसको लागि सबै सुध्रिनु जरुरी छ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)