पुस्तकालय: खटप्वालदेखि इ-लाइब्रेरीसम्म
कविता पन्थी
तिलोत्तमा नगरपालिका, रुपन्देही
“पुस्तौं पुस्ताका लागि पुस्तकालय” भन्ने नारासहित आज सोह्रौ पुस्तकालय दिवस मनाइँदैछ ।
सामान्यतः पुस्तकालय भनेको धेरै पुस्तकहरू राख्ने ठाउँ या घर हो । पुस्तकालय शब्द संस्कृत भाषाको पुस्तक’ र ‘आलय’ मिलेर बनेको छ । ‘पुस्तक’ शब्दको अर्थ नेपाली भाषामा किताब भन्ने हुन्छ र ‘आलय’ भनेको निवासस्थान वा घर हो । पुस्तक मानव चेतनाको महत्वपूर्ण कर्म सौन्दर्य हो, ज्ञानको स्रोत हो ज्ञान पुस्तकमा सङ्गालिन्छ, पुस्तक ज्ञान सङ्ग्रह मानिन्छन् । यस्ता ज्ञानसङ्ग्रह पुस्तकहरू पनि सङग्रह गरी राख्ने काम पुस्तकालयले गर्दछ । त्यसैले पुस्तकालयलाई ज्ञानसागरको रूपमा लिइएको पाइन्छ । पुस्तकालय पुस्तकहरूको घर हो, ज्ञानका सङ्ग्रह पुस्तकहरू सङ्गग्रह गरी राखिने पवित्र मन्दिर हो, पुस्तकालय । सभ्य सुसंस्कृत समाजमा पुस्तकालय आवश्यक र अपरिहार्य मानिन्छ । विश्वका अधिकांश मुलुकमा पुस्तकालय रहेका हुन्छन् । त्यहाँका नागरिकले पुस्तकालयको विकास र सम्बर्धनका लागि आफ्नो तर्फबाट प्रयास गरेका हुन्छन् । पुस्तकालयको माध्यमबाट उक्त देशको भाषा, संस्कृति, साहित्यको विकासमा टेवा पुग्छ ।
जब मान्छेले लेख्न र कोर्न जान्यो तब ती लेखिएका र कोरिएका सामग्रीहरूलाई सङ्कलन गरी राख्न पनि थाल्यो। यसरी पुस्तकहरूको सङ्कलन रहेको ठाउँलाई पछि आएर पुस्तकालय भन्न थालियो । पुस्तकालयको परम्परा अत्यन्त प्राचीन देखिन्छ । घरका खोपा, खटप्वाल, तखता, पूजास्थानको नजिकको कुनै ठाउँ आदिमा पुस्तकहरूलाई वासारुमाल बैला आदिमा सुरक्षासाथ बेरेर, बाँधेर राख्ने परम्पराले पुस्तकालयको प्रारूप सङ्केत गर्दछन् । विभिन्न बौद्ध विहार चैत्य आदिमा पनि पुस्तकहरू, विशेषत धार्मिक पुस्तकहरू सङ्ग्रह गर्ने परम्परा रहिआएको पाइन्छ ।
पुस्तक, कापी कलमको आविष्कार हुनुभन्दा अगाडि मानिसहरूले डुङगा र माटाका स्लेट, कछुवाका खवटा, रूखका बोका, पात, छाला आदिमा कोरेर वा लेखेर राख्थे । सिरियाको इस्लामा भन्ने ठाउँमा चारहजार वर्ष पहिले संसारकै सबैभन्दा पुरानो पुस्तकालयको स्थापना भएको पाइन्छ । उक्त पुस्तकालयमा विभिन्न विषयमा लेखिएका पुराना, पुराना माटाका स्लेटहरू सङ्कलन गरी राखिएका थिए । सर्वसाधारण जनताको लागि इ.पू. ७०० मा एसिरियन राजा असुरवानीपालले प्राचीन शहर निनेवेहामा एउटा पुस्तकालय खोलेका थिए । अर्को प्रख्यात पुस्तकालय इजिप्टको अलेक्जेंड्रिया शहरमा प्रोटोलेभी ( इ.पु. २८६,२४६) दोस्रोले स्थापना गरेको पुस्तकालय हो । ग्रिस सम्पूर्ण सभ्यता, कानुन राजनीति, अर्थशास्त्र लगायत सम्पूर्ण विषयको जननी मानिन्छ । ग्रिसका पुराना विद्वानहरू प्लेटो, एरिस्टोटल सबै विधामा निपुण मानिन्छन् । प्रायः सबै क्षेत्रमा उनीहरूले सफलता प्राप्त गरेका थिए । उनीहरूका आफ्नै पुस्तकालय थिए । अहिलेको दक्षिण एशियामा पर्ने पुराना जमानाका शिक्षाकेन्द्र नालन्दा, विक्रमशिला र तक्षशिलामा पनि ठूला पुस्तकालय थिए । पुस्तकालयको सुरुवात नै धार्मिक पुरोहितका घर, मठमन्दिर, राजाको दरबार , विद्वानवर्ग, धनीवर्गका घरबाट सुरु भएको हो । यसरी प्राचीनकालदेखि नै समाजमा स्थान पाउँदै आएको हो । छापाखानाको आविष्कारले पत्रपत्रिका छाप्न सजिलो भयो । यसले गर्दा दिनहुँ लाखौं पत्रपत्रिका प्रकाशित भइरहेका छन् भने कम्प्युटर प्रविधिको विकासले गर्दा पुस्तकालयको स्वरूपमा पनि ठूलो परिवर्तन आएको छ । पुस्तकालयलाई आजभोलि सूचनाका स्रोतको केन्द्र पनि भनिन्छ ।
नेपालमा पुस्तकालयको इतिहास त्यति पुरानो छैन । नेपालको प्रमाणित इतिहास लिच्छविकालदेखि शुरू हुन्छ । लिच्छविकाललाई नेपालको स्वर्णयुग पनि भनिन्छ । मल्लकालमा विहार र मन्दिरहरूमा धेरै हस्तलिखित पुस्तकहरू, भोजपत्र, ताडपत्र, शिलालेखहरूको सङ्कलन थियो । यस्ता सङ्कलनहरू पुस्तकालयको प्रारूप मानिन्छन् ।
नेपालमा सार्वजनिक पुस्तकालय स्थापनाको पहिलो प्रयास वि.सं. १९८६ मा गरिएको जानकारी प्राप्त हुन्छ । त्यतिबेला पुस्तकालय स्थापना गर्न हौसिएका लक्ष्मीप्रसाद देवकाटा लगायतका युवकहरू दण्डित भएका थिए । नेपालमा उल्लेखनीय पुस्तकालयहरूमा धवल पुस्तकालय, तानसेन पाल्पा, नेपाल राष्ट्रिय पुस्तकालय ललितपुर, मदन पुरस्कार पुस्तकालय, काठमाण्डौ, त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय, काठमाण्डौ, केशर पुस्तकालय काठमाडौं हुन् । २००७ सालमा प्रजातन्त्रको स्थापना भएपछि पुस्तकालय स्थापना हुने क्रममा वृद्धि हुन थाल्यो । जनतामा चेतना, शिक्षाका स्वरहरू सल्बलाउन थालेपछि देशका कुनाकाप्चादेखि राजधानी सम्मका विभिन्न स्थानमा पुस्तकालयहरू स्थापना भए । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पुस्तकालय स्थापनाको एक प्रकारको लहर नै चल्यो ।
पुस्तकालयको पृष्ठभूमिमा त्रि.वि.विको पुस्तकालय, वीरपुस्तकालय पुस्तकालय, नेपाल राष्ट्रिय पुस्तकालय सिंहदरबारले ख्याति प्राप्त गरेका छन् । पुस्तकहरूको संख्या बढी भएको हुँदा केशर पुस्तकालय अनुसन्धाताहरूको लागि उपयुक्त देखिन्छ । नेपालमा पुस्तकालयहरू राजधानीमा मात्र सीमित नभएर राज्यभर छरिएर रहेका छन् । नेपालका केही उल्लेखनीय पुस्तकालयहरूको नाम लिनुपर्दा पाल्पा तानसेनको धवल पुस्तकालय (२००३), चुदी रम्घाको भानु पुस्तकालय (२००८), ललितपुरको नेपाल राष्ट्रिय पुस्तकालय (२०१३), मदन पुरस्कार पुस्तकालय (२०१३) विराटनगरको आदर्श पुस्तकालय ( २००३), आदिलाई लिन सकिन्छ । लुम्बिनी अञ्चलका पुस्तकालयहरूमध्ये पाल्पा जिल्लाको धवल पुस्तकालय(२००३) सबैभन्दा पुरानो पुस्तकालय हो । त्यसबाहेक अन्य ख्यातिप्राप्त पुस्तकालयको नाममा गुल्मी जिल्लाको सदरमुकाम तम्घासस्थित किरण पुस्तकालय (२०२५) पनि पर्दछ । धवल पुस्तकालयभन्दा कान्छो भएर पनि किरण पुस्तकालयले आफ्नो क्रमागत शैली पत्रिका प्रकाशनले गर्दा दिनानुदिन प्रगतिपथमा लम्केको देखिन्छ ।
पुस्तकालयले समाजमा चेतना, सभ्यता र सु-संस्कृतिको प्रसारण गर्दछ । पुस्तकालयले अभिलेख र इतिहासको सुरक्षा, प्राचीन हस्तलिखित ग्रन्थहरूको सुरक्षा, कला संस्कृतिको जगेर्ना गर्ने काम गर्दछ । पुस्तकालयबाट ज्ञानको ज्योतिको प्रादुर्भाव हुन्छ अन्धकार नाश, अविद्यानाश हुन्छ । पुस्तकालयले ब्रह्मसाक्षात्कारमा सहयोग, सुखमय जीवन प्राप्तिमा सहयोग प्राप्त हुन्छ । पुस्तकालय मानवको उच्चतम चैतन्यको वा अदभुत चैतन्यको विकासको अभ्यासको निम्ति अपरिहार्य भन्नु अत्युक्ति हुँदैन । अहिलेको वर्तमान अवस्थामा अध्ययन, अध्यापन गर्न चाहने अध्येताहरूले आफ्नो रुचि अनुकुलका ग्रन्थ अध्ययन गर्न र पठनीय सामग्री जुटाउन नियमित आयबाट केही प्रतिशत छुट्याएर घरेलु पुस्तकालय बनाउनु पनि आवश्यक भएको, रुचि अनुकुलका ग्रन्थ अध्ययन गर्न र पठनीय सामग्री जुटाउन नियमित आयबाट केही प्रतिशत छुट्याएर घरेलु पुस्तकालय बनाउनु पनि आवश्यक भएको छ ।
शताब्दीयौं अघिदेखि महाभारत, रामायण, वेद, गीता, त्रिपिटक, बाइबल आदि धर्मग्रन्थहरू राख्ने घरका खटप्वाल, खोपा, दराज सबै साना पुस्तकालयहरू पुस्तकालयका प्रारूपहरू हुन् । आजकालका साना केटाकेटीहरूले बाकेर लैजाने किताबका झोलाहरू घुम्ती पुस्तकालय हुन् । घरमा पुस्तकहरूको सङ्ग्रह गर्ने विशाल पुस्तकालय निर्माण गरेर राष्ट्रको नाममा सुम्पिने विद्वान, पुस्तकालयप्रेमी डा. डिल्लीरमण रेग्मी उदाहरणीय व्यक्तित्व हुन्छ । यसरी पुस्तकालयको मर्म बुझ्ने व्यक्तिहरूमा हेमराज पाण्डे, केशरशमशेर राणा, अच्युतरमण अधिकारी, नयराज पन्त, शिवराज आचार्य, कविराज तीर्थराज आचार्य आदि उल्लेखनीय हुनुहुन्छ ।
वर्तमान समयमा सुचना प्रविधीमा आएको विकास, ज्ञान प्राप्तिका धेरै माध्यम भएको,मानिसको व्यस्तता बढ्दै गएकाे आदि विविध कारणहरूले गर्दा पुस्तक पढ्ने रुचि घटेको छ । जुनसुकै माध्यमबाट जानकारी प्राप्त गर्न सकिए पनि पुस्तकबाट जुन उर्जासहितको ज्ञान प्राप्त हुन्छ, त्यो प्राप्त गर्न सकिंदैन । प्रविधिको विकासले इ-लाइब्रेरीको सुविधा पनि प्राप्त छ । नयाँ पुस्तामा पनि पठन संस्कृतिको विकास गराई पुस्तकालय जाने बानी लगाउन सके “पुस्तौं पुस्ताका लागि पुस्तकालय “नारा सार्थक हुनेछ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)
राम्रो सान्दर्भिक पठनीय लेख ।
कविताजी लाई बधाई ।नेपाल नाम्चा लाई धन्यवाद ।