जेठो नीति: आजको आवश्यकता तेस्रो परिवेशको निर्माण हो

राजनीतिमा आमूल सुधार

प्रा. डा. सुमन कर्माचार्य

राजनीतिमा स्पष्ट आदर्श, लगाव र त्याग हुन्छ । यसले उद्देश्य प्राप्त गर्ने तत्परता र यसका लागि अध्ययन, इमान्दारिता र नैतिकता खोज्छ । यी सबैको समिश्रणबाट देशलाई सर्वागिण विकासतिर डोराउने नीति राजनीति बन्छ । यो सबै नीतिहरूको जेठो नीति हो ।

जसरी निश्चित आदर्श र त्याग भएका तर नैतिकता र इमान्दारिताबाट चुकेकाहरूबाट परिवर्तन सम्भव छैन, त्यसरी नै निश्चित आदर्श विनाको बदलाको भावना या कुनै आश, लोभ, क्षणिक मोजमज्जा, वाहवाही, बिग्रेको देखेको तर बनाउने योजना र मिसन नभएको, नखारिएका, अनुभव र अध्ययन नभएकाहरूबाट पनि छैन । यी दुबै राजनीतिले खोजेको अहिलेको बाटो होइन ।

इतिहासको कालखण्डमा फाँसीको सजाय हुने कानुन रहँदा पनि केही योद्धाहरूले ज्यानको बाजी लगाएर स्वतन्त्रता र लोकतन्त्रका लडाइँ लडेका थिए । ती लडाइँमा हाँसीहाँसी प्राणको आहुती दिने चार सहिदहरूको साहस अहिले कसैका चर्का आवेगी भाषणका पर्राहरूसँग तुलना हुन सक्दैनन् ।

आजको राजनीतिक स्वतन्त्रता आफ्ना जीवनका शैशवकाललाई लोकतन्त्र, जनजीविका र समानताका आदर्शका लागि लडेका हजारौं वीर वीरांगनाहरूका त्याग, तपस्या र बलिदानको जगमा प्राप्त भएको हो । यो कुनै सामान्य मानिसले आफ्नो जीवनमा सहजै रोज्न सक्ने बाटो होइन । किनभने त्यो निर्णयमा त्याग र मुक्तिबाहेक अर्को आसा हँुदैन । न त सत्ता न त कुर्सी ।

यो उपलब्धी प्राप्तिका लागि सयांै आमाहरू विधवा हुनु भयो, हजारांै नानीबाबुहरू टुहुरा भए, लाखौंको सर्वस्व हरण भयो, घरपरिवार तहसनहस भयो । आजसम्म पनि ती परिवारका सदस्यहरू नारकीय जीवन बाँचिरहेका छन् । यो जीवन हामी कल्पना पनि गर्न सक्दैनौं ।

ती लाखौं योद्धा र योद्धाहरूलाई सघाउने मानव मनहरूलाई ठेस पुग्ने गरी टिप्पणीहरू गरिनु पनि उचित हुँदैन । ती लडाइँहरू कि त हस्तिनापुरीको राज या चपरामुनिको बास भनेजस्तो थिएन । चपरामुनिका बास त उहाँहरूले सहनु नै थियो र सफल हुँदा पनि राज गर्ने महत्वाकांक्षा थिएन तर लोककल्याणकारी राज्य सिर्जना गर्ने भावना निहीत थियो ।

राष्ट्रि««यता खतरामा रहेका विश्लेषण गरेर सातवटा मुद्दा घाँटीमा झुण्डयाएर एकमा हार हुनासाथ त्यही घाँटीमा फाँसी आउने खतरा हुँदा पनि बलिदानका लागि अग्रसर रहने नेता इतिहासमा थिए ।

जसलाई देशबाहेक अरू कुनै महत्वको विषय थिएन तर उनी नै विदेशी दलाल र अराष्ट्रिय तत्वका रूपमा आरोपित थिए । ती आरोप लगाउनेहरू कि त आफ्नो सत्ता खोसिनेबाट डराएका थिए या त राष्ट्रियता र लोकतन्त्रका विरोधी थिए । उनीहरू अरू कसैका लागि यो काम गर्दिदै थिए ।

यी तुलना नहुने त्यागसँग आजका पात्र र परिवेशलाई तुलना गरिनु पनि आजको दुर्भाग्य हो । आजको परिवेश मूलतः दुई किसिमको देखिन्छ । पहिलो, जुन आदर्श प्राप्तिका लागि त्याग र सहादत गरिएको थियो, त्यसका लागि उनीहरूकै पाइलामा हिँडेका छौं भन्नेहरू इमान्दारिताका साथ नपछ्याइएको परिदृश्य । जसले नागरिकहरूमा नैराश्यता उत्पन्न गराएको छ । अहिले पहिलेको पुस्ताको जति कठोर त्याग र तपस्या चाहिने खालको पनि छैन, मात्र महत्वाकांक्षा र लोभको मात्रालाई घटाई दिँदा हुन्छ ।

आफ्नो आदर्शले खोजेको आचरण परिपालन गर्दा र सादा जीवन उच्च विचारलाई पालना गर्दा नै पुग्छ । न त फाँसीको डर छ, न त सर्वस्वहरणको तनाव । यसो गर्दा हस्तिानपुरको राजैराज पाइन्छ, चपरा मुनिको बास भोग्नु नै पर्दैन ।

राजनीतिक शास्त्र र मनोविज्ञानका विद्यार्थीहरूका लागि यो एउटा अध्ययनको विषय नै हुन सक्छ कि कसरी एउटा आदर्शका लागि प्रतिबद्ध मानिसहरू त्यसको विपरीत आफूलाई हिँडाउन सक्छन् र जीवनलाई सुचारू मानसिकतामा चलाउन सक्छन् ? के त्यो पहिलेको समाज परिवर्तन गर्ने सपनाहरूले हरेक क्षण उसलाई धिक्कार्नु पर्ने होइन र कसरी निदाइरहेका छन् उनीहरू ?

दोस्रो परिवेश, ती सबै त्याग र बलिदानहरू फजुल थिए भनेर प्रमाणित गराउन खोजिने परिदृश्य । यो धेरै खतरनाक छ । यदि यी सबै फजुल हो भने भविष्यमा कसैले समाज, देश, जनता र स्वतन्त्रताका लागि सोच्ने र त्यसका लागि जीवन बलिदान गर्ने छैनन् ।

आफ्नो पद, प्रतिष्ठा, पैसा, इगो, मोजमज्जाका लागि मात्र सोच्ने र काम गर्ने पुस्ताको निर्माण भए, हामी अर्को कालो सुरुङभित्र पस्ने छौं । जीवनलाई कुनै लोक कल्याणकारी आदर्शका लागि समर्पित गरेको इतिहास र साहस नभएकाहरूबाट जेसुकै पनि हुन सक्ने खतरा रहिरहन्छ । हरेक मानिस लोकहितमा समर्पित हुने लालसा सहितको एउटा दर्शन र आदर्शले डोरिनु पर्दछ ।

त्यसैले आजको आवश्यकता तेस्रो परिवेशको निर्माण हो । बाटो बिराएकाहरूले पहिलेको आफ्नो बाटोमा फर्किनु । लोक कल्याणलाई सोचेर आफ्नो महत्वाकांक्षालाई दोस्रो प्राथमिकतामा राख्नु ।
आफ्नो त्यागको पुरानो परम्परामा फर्कनु । आफ्ना सहयोद्धाहरूलाई न्याय गर्नु र लोभमा फसेर जस्केलाबाट आफ्नो आदर्शलाई नै घात हुने गरी बिना आदर्शका मानिस नभित्र्याउनु र कार्य नगर्नु ।

त्यस्तै अहिलेका परिवर्तनकामी महानुभावहरूले पनि त्याग र इतिहासहरूको सम्मान गर्नु । असन्तुष्टि र आवेगबाट आएका आवाजहरूलाई डो¥याएर आफ्नो स्वार्थसिद्ध गर्ने भाँडो नबनाउनु । निश्चित आदर्शलाई पहिल्याएर अति महात्वाकांक्षाबाट अलग रहनु । सादा जीवन र उच्च विचारका धनी हुनु ।

अन्त्यमा, असहमति बिच पनि सहमतिका बाटाहरू खोजेर देश र जनताको सर्वाङ्गीण विकासमा सबैले हातोमालो गर्नु आजको आवश्यकता हो । बोतल आधी खालि होइन, आधी भरि देख्नुपर्छ ।

त्यसैले नीति मध्येको जेठो नीति बोकेर हिँडेका राजनीतिका खेलाडीहरू देश निर्माणको बाटोमा एक साथ हिँडून । नेपाली नागरिकको शुभकामना सधैँ रहने छ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button