डाक्टरले देखेको देशको गन्तव्य
देशको गन्तव्य
प्रा. डा. सुमन कर्माचार्य
अहिले नेपाली समाज संक्रमण र रुपान्तरणको पर्खाइमा गुज्रिरहेको छ । विगत १७५ वर्षमा यसले सैनिक शासनबाहेक संसारमा भएका सबै मोडलका शासन व्यवस्था भोगिसकेको छ । हरेक व्यवस्था परिवर्तनपछि देश र जनताको अवस्थामा सुधार भयो भनिएका छन् तर मात्रात्मक रुपमा फरक प्रकृतिको विकृत थिति र अवस्थामा नेपाली जनताहरू पिल्सिरहेका छन् । यो पिल्सने तरिका फरक खालको छ तर पीडाको प्रकृति एउटै छ । अझ त्योभन्दा कठोर छ ।
त्यसबखत कमसेकम दुई छाक खान र एक धरो लाउन कसैको गुलामी गर्नु परेको थिएन तर अहिले कटौरी नै थापेर मागी खाने अवस्थामा पुगेका छौं । सुट लाउँछौ, करोडौंको गाडीमा चढेर भीख माग्न जान्छौं । त्यसबखत देश खाद्यान्न निर्यात गर्ने सामथ्र्य राख्दथ्यो । हाम्रो मुद्राको मूल्य संसारका मुद्रासँग पौँठेजोरी खेल्न सक्दथ्यो तर अहिले व्यापारघाटा गराउने उपभोग्य र विलाशी वस्तुहरू जसले अर्को उत्पादनमा सहयोग गर्दैन, त्यस्ता वस्तुहरूको आयातमा हाम्रो पूँजी खर्च गर्दैछौं, यो डरलाग्दो पक्ष छ ।
बोल्न, लेख्न पाइएन र जनताको शासन भएन, समाजमा न्याय भएन भनेर आन्दोलन भए, हजारौंले जेलनेल भोगे, सैयौं शहीद भए, हजारौं बेपत्ता भए, लाखांै परिवारले दुःखकष्ट भोगे, विधवा र टुहुराटुहुरीहरू देशमा व्याप्त भए, सर्वस्वहरण भए, राष्ट्रका सम्पति तोडफोड, आगजनी, लुटपाट जस्ता नहुनु पर्ने हर्कत जति सबै भए तर जनताको अवस्थामा तात्विक अन्तर आएन ।
विदेशी सेनामा जनता पठाएका विरोधमा सैयांै गीत गाइए, जनताको समृद्धिका लागि भनेर लाखौंपटक भाषण ठोकिए तर त्यही गीत सुनेर, भाषण उग्राएर नेता भएकाहरू अहिले खाडीमा ८ महिनामा ३ लाख युवा पठाएर रेमिटयान्सका पैसाले सबै परिवारका सदस्याहरूलाई दरबारी सौख, पद, ऐश, आराम दिलाउन तल्लीन छन् । खाडीको तातोबाट बाकसमा बन्द भएर दिनैपिच्छे आएका लाससँग नेता कहलिएकाहरूको घरमा जोडिने एसी र एसीजडित गाडीसँग सम्झौता गरिँदैछ ।
सरकारले मल बीउको बेलामा बन्दोबस्त गर्न नसके पनि किसान मेहनत गर्छ, फलाउँछ, उसको फसल विक्री हँुदैन, बाहिरबाट आयात गरिन्छ । आफ्नो कति उत्पादन हुन्छ, हिसाब छैन, किसानले बाटोमा पोख्छन्, फाल्छन्, मतलब छैन । महान् नेताहरूको उसको कुरा सुन्ने फुर्सद छैन किनभने सत्ताको भागबण्डा र जोडघटाउ गरेर नै समय छैन । जनता चुनावका दिनका एक भोटबाहेक केही होइनन् । जनता जे बोले पनि पत्याउँछन् ।
देशमा धेरै संविधान बने । पुराना संस्कार र सत्ता सबै भत्किएका उद्घोष गरे तर सामन्ती संस्कार पंचायतलाई उछिन्ने राणाशासन जतिकै छ । चाकडीको मात्रा त्योभन्दा अझ बढी छ । त्यसबेला कमसेकम गाउँमा खेती गरेर खानेले कसैको चाकडी गर्न पर्ने थिएन तर अहिले किसानका छोराछोरी पढने भए उनीहरूलाई जागिर लाउन मालिकहरूको चाकडी गर्नुपर्छ । सानो उध्योग, स्कुल, अस्पताल खोल्न परे हाकिमको चाकडी गर्नुपर्दछ । अझ भएन कर तिर्न, मालपोत बुझाउन जग्गा पास गर्न पनि घुस चाहिन्छ ।
राजनीतिक दल भित्रको चाकडी त झन् निकृष्ट छ । तल्लो स्तरमा गिरेर कुनै क्षमता, विवेक र ज्ञान विनाका केही न कामका तर चाकडीले अधिकार लिएर बसेकाहरूलाई हजुरको गजुर लगाएर बिहानबेलुकी केही उपहारसहित घन्टौं कुरेर भेटनुपर्छ । मुखिया जिम्मावालले लिने ब्याजभन्दा अहिलेका मिटर ब्याजी, ब्याजमा स्याज बनाउने बैँक, वित्तीय संस्था, सहकारी, लघु वित्तका ब्याज कम छैनन् । मात्र तरिका बेग्लै हो । पहिलेका मुखिया, जिम्मावाल, भूमिपति र पूँजीपतिहरू गाउँकै घरमा यी कारोबार चलाउथे । अहिले उनीहरूकै सन्तान सरकारले दर्ता गरिदिएको साइनबोर्ड राखेर त्यही धन्दा चलाउदै छन् । आखिर त्यो गरिब कोखमा जन्मने सन्तानको अवस्था भने उस्तै छ ।
सामन्ती संस्कार हरेक कार्यालय, विद्यालय, शैक्षिक संस्था, निर्माण व्यवसाय, अस्पताल, राजनीतिक दल, उध्योग, होटल, रेष्टुरेन्ट जताततै व्याप्त छ । पैसा, पद र प्रतिष्ठाका प्रलोभनमा नसोचेका हर्कतहरू सबै स्थानहरूमा घटिरहेका छन् । सामन्ती सोचका मालिकहरू मानिसहरूलाई मानवभन्दा पनि वस्तुका रुपमा प्रयोग गर्दछन् । ती विचराहरू पेट प्रतिष्ठा र परिवारका लागि सबै हर्कतहरू सहन्छन्, त्यसैलाई जीवन ठानिरहेका छन् । पेशागत संगठन र ट्रेड युनियनहरू ती मजदुर र श्रमजीवीहरूको हितमा काम गर्छौ भन्छन तर राजनीतिका मालिकहरूका चाकडी गरेर पद र पैसा कुम्ल्याउन जाने भरेङ् बनाउछन् ।
वास्तवमा भन्नुपर्दा नत समाज बदलिएको छ – न त मानव चरित्र । तर संसारका २१ सौ शताब्दीमा मानिसहरूले उपभोग गरेका आविष्कार र वस्तु भने सबै प्रयोग गरिरहेका छन् । त्यसबाट संसार बदलिएका देखेका छन्, सुनेका छन् तर आफूहरू बद्लिन पर्ने आवश्यकता देख्दैनन् । यो ठुलो समस्याका रूपमा देखिएको छ ।
तर हरेक चिजको सिमा हुन्छ । सिमा नाघेपछि नै नदीले बाँध भत्काउँछ । खराब र असल छुटयाउन सक्ने र असलका लागि आफूलाई बलिदानी दिने पुस्ता तयार भएपछि यो समाजको सामन्ती व्यवस्था भत्कने छ । देशले पुनः राणा शासकका बेला बलिदानी गर्ने साहस भएका युवाहरू खोज्दैछ ।
इतिहासमा विडम्बना के भो भने जसले यो सामन्ती व्यवस्था भत्काउन भनेर ललिपप देखाएका थिए, जातभात र क्षेत्र विषेशलाई उकासेका थिए । उनीहरू नक्कली क्रान्तिकारी रहेछन्, जो राजा महाराजाको ऐश आरामबाट जलेर त्यस्तै जीवन बाँच्नका लागि जनतालाई छक्काएका रहेछन् । छक्काउने नयाँ संस्करणको क्रम अझै जारी छ जस्तो आभाष हुन्छ । झन् यसले अवस्था डरलाग्दो होला भन्ने शंका उत्पन्न भएको छ ।
कुनै बेला हात जोडेर चाकडी गर्ने, ज्यान पाल्नका लागि गलैँचाका तान बुन्ने, परिवार धान्न खाडीमा जीवन बिताउने जनताहरूका अर्का पुस्ता ल्यापटपमा आंैलाहरू र विश्व विद्यालयका कक्षाकोठा र पुस्तकालयहरूमा संसार, देश, मानिस र थितिहरू बुझ्दैछन् । आर्थिक रुपमा आफूलाई स्वनिर्भर बनाउन तल्लीन छन् । हामी सबैले के बुझ्नु पर्छ भने यिनीहरूको धैर्यताका बाँध भत्किएका दिन बनावटी कुरा र आश्वासनले शासन चलाइरहनेहरूको दुर्दिन सुरु हुनेछ । त्यसपछि नेपालको आधुनिक इतिहासले सिंगापुर, दक्षिण कोरिया र मलेशियाजस्तै कोल्टे फेर्नेछ । अहिले मात्र हामी आशावादी बनौं ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)