कान नसुन्ने भ्यागुतो सगरमाथा चढ्न सफल भयो

कान नसुन्ने नेता खोज्छ मेरो देश !

पेशल आचार्य

जमाना प्रविधिमैत्री छ । काम खुरुखुरु गरे परिणाम निस्कन बेर लाग्दैन । तर, मानिस आफ्नो सर्दो प¥यो कि गफ दिइहाल्छ । ठुलो हुन खोज्छ । मसिहा बन्न चाहन्छ । आफू अर्ती दिइरहन पाइयोस् भन्ने मक्सद राख्छ । अरुले मन भए पनि नभए पनि अर्ती सुनिरहन परोस् भन्ठान्छ ।

यो एक महिनामा देशमा निक्कै ठुला उथलपुथल भएका छन् । क्रान्तिका होइनन्– भ्रान्तिका । समाजमा केबल क्रान्ति मात्र चाहिने रहेनछ । क्रान्तिभन्दा ठुला कुरा त भ्रान्ति रहेछन् । चुनावपछि सरकार गठनका लागि धेरै रस्साकस्सी भए । काँग्रेस–माओवादीको लिभिङ् टुगेदर अन्त्यमा डिभोर्समा परिणत भयो । उता एमाले–माओवादीको प्रेम घरजममा परिणत ।

फाइदा रविले पाए । उनले चुनावको सुत्केरोको फाइदा जो उठाए । भनाइ छ– सुत्केरीको निहूँ गरी टाउको मैले खाएँ । बास्तवमा टाउको खान सजिलो छ चाहे त्यो कुखुराको होस् या मान्छेको !

रविले सजिलै गृहमन्त्री पड्काए ।

उहिले पञ्चायतमा यति सानो राजनीतिक फुच्चोले पहिला सहायक मन्त्रीको परीक्षा दिनु पर्दथ्यो । त्यो परीक्षामा फियर्ली पास भएपछि मात्र राज्यमन्त्रीको कुर्सीमा विराजमान हुन पाउँथ्यो । राज्य मन्त्रीमा पास भएपछि मात्र फुल मन्त्री हुने चान्स मिल्थ्यो । एक हिसाबले पञ्चायतले मानिसहरु फिल्टर गरेरै प्रयोग गर्दथ्यो । त्यसैले त उसले ‘सबै पञ्च नेपाली र सबै नेपाली पञ्च’ भन्न भ्यायो । यो एक हिसाबले नराम्रो थिएन ।

अहिले त्यो भन्न सकिने स्थिति छैन । सबै बहुदलवादी नेपाली र सबै नेपाली बहुदलवादी भन्न सकिने स्थिति छैन । मानिसहरु छिरलिएका छन् । विचार बाँडिएको छ । आस्था भाँडिएको छ । नेताहरु त झन् गुट–उपगुटमा विभाजन भएका छन् । यतिसम्म कि आफ्नै दलको एउटा नेताले अर्को गुटको नेतालाई मान्छे नै गन्दैन ।

मन्त्रिमण्डलमा राख्नु पर्ने नेतालाई मन्त्रिपरिषद्मा राखेपछि यस्तै हुन्छ । फरक छ नि हैन मन्त्रिमण्डल र मन्त्रिपरिषद्को ? कि लोकतन्त्रमा सबै सराबरी हुन्छ ?

‘मन परेको मानिसको आची पनि बास्ना आउँछ अहिलेका मान्छेलाई’ अनि ‘मन नपरेका मानिसको काखी पनि गनाउँछ अचेलका मानिसलाई ।’

अहिले देशले कान नसुन्ने नेता खोजेको छ ।

किन ? एउटा सानो कथा हाल्छु ।

दुईवटा भ्यागु्ता रहेछन् । तिनीहरुलाई सगरमाथा चढ्ने सुर चढेछ । सल्लाह गरेछन् । कान सुन्नेले नसुन्नेलाई भनेछ, ‘चढ्न त चढ्ने तर खै दाजुभाइले के भन्लान् ? कुरा काट्लान् !’

कान कम सुन्नेले भनेछ, ‘अरुको कुरा सुन्ने हो भने त कुनै काम पनि फत्तै गर्न सकिँदैन । चुपचाप आफ्नो काम गर्नुपर्छ ।’

दुवै सगरमाथा चढ्न गए ।

त्यो बेला जिरीसम्म बस लाग्थ्यो । बसमा गए । त्यसपछि सात दिनको पैदलपछि नाम्चे पुगे । अनि बेस क्याम्प । बाटो हिँड्दा दुवै अघिपछि भए । कान नसुन्नेलाई ढुक्क थियो । कसैको कुरा सुन्नु पर्दैनथ्यो । सुन्नेलाई चाहिँ दिक्क लाग्यो किनकि उसले अनेका नाना नौरङका कुराहरु सुन्नु पर्यो । यहाँनेर ती दुईमध्ये कान सुन्नेको कान बाधक भयो । ऊ कुरा सुनेकै भरमा आरोहण त्यागेर पछि बस्यो ।

कान नसुन्नेलाई फाइदा भयो । ऊ अघि बढिरह्यो । भनिन्छ नि, ‘लाखौं कोसको यात्रा एक पाइलाबाट सुरु हुन्छ ।’ भयो पनि त्यसै । कान नसुन्ने भ्यागुतो सगरमाथा चढ्न सफल भयो ।

कथा सिद्धियो । कतिले बुझ्नु भो । कतिले बुझ्नु भएन । म केही भन्न चाहन्न ।

यत्ति मात्र भन्छु कि अहिलेको नेपाललाई हो त्यस्तै कान नसुन्ने भ्यागुतोजस्तै नेता चाहिएको छ । खुरुखुरु काम गर्ने ।

अरूको कुरा पटक्कै नसुन्ने !

किन होला ? एकपटक आफैँ गम खानुस् त ?


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button