किशोर-किशोरी किन अभिभावकमाथि जाइलाग्छन् ?
किशोरावस्था र अभिभावकको भूमिका
सुशीला शर्मा
आजकल सामाजिक सञ्जालमा बालबालिका तथा किशोर-किशोरीहरुको पनि अनुहार निकै लिपिपोती गरेर अभिनयको हाउभाउहरु प्रसस्तै देख्न सकिन्छन् । अनेक गीतका हुने नहुने डायलग आदिमा मुख चलाउँदै अभिनय गरेको देख्दा हाम्रो समाजमा सबै नै अभिनयमा पोख्त रहेछन कि जस्तो लाग्छ । यसरी मिडियामा दैनिक छाउन सक्ने किशोरकिशोरीहरुले आफ्ना जीवन विकासका सीपहरु सिकेका छन् त ? उनीहरुले सिकेका जीवनोपयोगी सीपले उनीहरुको भविष्यलाई सामाजिक र आत्मनिर्भर हुन सिकाईरहेको छ त ? दूर दराज र सिमान्त परिवारमा बालबालिका पनि उतिकै काममा खटिरहेका हुन्छन् । साना भाईबैनी स्याहार गरिरहेका हुन्छन् र निकै दयनीय अवस्थामा खानाको पखाईमा हुन्छन् । यो एउटा पाटो भयो । तर यहाँ उल्लेख गर्न लागेको आम बालबालिकाहरु जो विद्यालय कलेज जान्छन्, उनीहरुको दिनचर्या कस्तो छ र उनीहरुले के सिक्नुपर्छ भन्ने विषयमा हो ।
एक जना महिला आफ्नो दश कक्षामा पढ्ने छोरीलाई खाना खुवाईदिईरहेकी थिईन् ।
‘किन उनले आफै खान सक्दिनन् र ?’
‘के के गरेर खानै नखाई जान्छन् बरु आफैले यसरी खुवाईदिएपछि ढुक्क !’
ती दशकक्षामा पढ्ने विद्यार्थीको जिम्मेवारी भनेको अब उनी किशोरावस्था पनि पार गर्दैछिन् तर सुख सयल दिने निहूँमा उनका आमाले उनलाई पराश्रयी बनाउँदैछिन् । यस्तो थुप्रै ठाउँमा देख्न सकिन्छ विशेष गरेर सहर बजारतिर । कतिपय किशोर किशोरीहरु आफ्नो स्कूल कलेज गएर आईसकेपछि सुतेरै मोबाईलमा व्यस्त भएर दिन काटिरहेका पनि देख्न सकिन्छ । यसै पनि रोजगारीको समस्या, उत्पादनमूलक काम नभइरहेको देशको अवस्था छ त्यहाँमाथि निष्क्रिय जीवन व्यतित गरिरहेका यूवा जमात । सामाजिक सञ्जालमा आउने हर नयाँ कुरासंग साक्षात्कार भईसक्ने अनेक फेसनका कुरा आफूसंग जाँच्न सक्ने भईसकेका किशोरकिशोरीहरु आफ्नो परिवारमा हुने सानातिना काम गर्न पनि जान्दैनन्, गर्दैनन् या सिक्दै सिक्दैनन् । यो अहिलेको समयको टड्कारो समस्या बन्दै गईरहेछन् । ब्यक्तिगत स्वतन्त्रता अप्नाउने क्रममा घर बाहिर केटा वा केटी साथी बनाउने, चुरोट या मदिराको टेस्ट लिन तर घर परिवारका ससाना कामहरुप्रति पनि बेखबर भईरहेछन् । यो उनीहरुको मात्र दोष त अवश्य होईन् । हाम्रो अभिभावक शिक्षाको कमी, आफूले त दुख पायौ छोराछोरीका सम्पूर्ण माग पूरा गरिदिउ भन्ने मानसिकता । परिवार र समाज अनि व्यक्तिगत आचरणको सवालहरुमा समाज मौन भएको अवस्थाले नै समाजका परिस्थिति झन कमजोर हुँदै गईरहेको छ । एक त हाम्रो समाजको सामाजिक संरचना र ती संरचनालाई पनि कायम राख्नुपर्ने, बजारवादी व्यवस्थासंग पनि संगै हिड्नुपर्ने अवस्थाले पनि समाजको सोच विचार एकातिर नयाँ पुस्ता अर्कोतिर पाईला चालिरहेका त छैनन् ?
नयाँ नयाँ प्रविधि र ती प्रविधिका प्रयोगले विश्वका मानिसलाई नै एकै ठाउँ ल्याउन मद्धत गरिरहेको छ । यही प्रविधिमार्फत व्यक्तिहरु रातारात धनी हुने सपना देखेर सामाजिक सञ्जालमा भ्युज बढाउन होस या भाईरल हुन होस नितान्त आफ्ना गोपनियताहरु भंग गर्दै पनि हिडिरहेका छन् । सामाजिक सञ्जालका चक्करले कतिपय किशोर किशोरीहरु यौन दूव्र्यवहार जस्तो अपराधमा फस्न पुगेका छन् । हालसालैको घटनालाई नै लिन सक्छौं । कुनै सेलिब्रेटी खेलाडीप्रति आकर्षित हुनु अनि उसंग भेट्न पाउनु, यस्ता कुरा स्वर्गीय लाग्छन् तर सम्बन्धहरु कतिसम्म बनाउने भन्ने हेक्का नहुँदै दूव्र्यवहारमा परेको पत्तै पाउँदैनन् । यसरी अपराधकर्म गर्नेले त अपराध पनि गर्यो । हाम्रो समाजको मनस्थिति यस्तो छ कि पुरुष जातै त्यस्तै हो महिला नै ठीक ठाउँमा बस्नुपर्छ , ईशारा नगरी पुरुषले छुनै सक्दैन नि भनेर अन्तिमसम्म पनि सहानुभूति पुरुषप्रति नै बर्सिराख्छ । कुनै किशोरी या महिलाले आफू पीडित भएको र यसको उपचार चाहँदा अप्रतक्ष्य रुपमा महिलाप्रति नै शंका र लामो समयसम्म दोष तथा स्टिगमा राखिरहने प्रवृति छ । यसो हुनाले पनि अभिभावकले आफ्ना वाल्यावस्थादेखि किशोरावस्थासम्मका छोराछोरीहरुलाई पढाईबाहेक गर्नुपर्ने र गर्न नहुने कुराहरुको शिक्षा दिनु अपरिहार्य भईसकेको छ ।
परिवार तथा विद्यालयले किशोरकिशोरीलाई सम्झाईराख्नुपर्ने कुरा
समाज पितृसत्तात्मक छ यहाँ छोरो प्राथमिक र छोरी द्धितियस्तरका हुन् भन्ने मान्यता अझै जिउँदो नै छ । यस्तो कुराहरुलाई यी समाजबाट बनार्ईएका हुन् छोराछोरी समान हुन् भन्ने समानताको शिक्षा दिनु पर्दछ । यौन दूव्र्यवहार र बलात्कार जस्ता घटनाहरु बढिरहनु र किशोरी अनि महिलाहरु नै त्यसको निशाना बनिरहनु पनि समाज कति विकृति र अपराधतिर उन्मुख छ भन्ने उदाहरण भएको छ ।
अभिभावकले छोरा हुन कि छोरी दुबैले सबै काम गर्न सक्छन् भन्दै घरका काम पनि गर्नुपर्छ बा आमालाई सघाउँदा आफूले पनि जीवनोपयोगी सीप सिकिरहेको भईन्छ भन्ने ज्ञान दिनु पर्दछ ।
अपरिचित व्यक्तिहरुसंग झट्टै सम्बन्ध बनाईहाल्नु हुँदैन् । यौन सम्बन्धहरुमा त झन सतर्क हुनुपर्छ । आफ्ना अनिच्छाहरुलाई सिधै नाई भन्नुपर्छ भन्ने सचेतना विद्यालय तहदेखि नै दिनुपर्छ ।
करकापमा बलजफ्तीमा परेर दूव्र्यवहारमा परिहालेमा पनि विश्वासिलो साथी वा सम्बन्धित निकायमा खबर गरिहाल्नुपर्छ भन्ने सन्देश विद्यालयमा पनि दिई नै राख्नुपर्छ ।
अन्य हेर्दा सामान्य लाग्ने तर किशोर किशोरीहरुले बाल्यावस्थादेखि नै सिक्नु सिकाईनुपर्ने कुरा भने आफ्ना पहिरन आफै लगाउन, कपडा धुन, पट्याउन जान्नुपर्छ । आफूभन्दा ठूलासंग आदरभावले बोल्न, ईमरजेन्सी समयको डिल गर्न, आफू वरिपरिका स्थानबारे थाहा पाउन पनि अति नै जरुरी हुन्छ । समयको दुरुस्तता, सुत्ने उठ्ने समयको व्यवस्थापन, व्यक्तिगत र आफ्नो वरपरको सरसफाई पनि किशोर किशोरीले सिक्नैपर्ने जीवनोपयोगी सीप हुन् । बचत गर्ने, आमाबाबुका कमाईका आधार के हुन भन्ने बुझ्ने, खर्चको सिमा बुझ्ने कार्यबारे पनि किशोर किशोरी बेखबर हुनुहुँदैन ।
आफूभन्दा ठूलाका अप्ठ्यारा र दिक्कलाग्दो बानीबारे पनि किशोरकिशोरीहरु सचेत हुनुपर्ने र त्यसलाई प्रतिरोध पनि गर्नुपर्ने हुन्छ । गलत आशयका कुराकानी, गलत आशयका छुवाईलाई नाई भन्न पनि पछि हट्नु हुँदैन । प्रविधिमैत्री त अहिलेको समयमा सबै बन्नै पर्छ तर किशोरावस्थाका व्यक्तिहरुले कतिसम्म प्रविधिको प्रयोग गर्ने यसको कुनै लेखाजोखा भने छैन ।
अपरिपक्वता के हो ? कति वर्षका उमेरसम्मलाई बालबालिकाको लाईनमा राखिएको छ भन्ने कुरा पनि अभिभावकहरुले बुझाउनुपर्ने हुन्छ । कतिपय मानिसहरु गाउँघरमा चौध-पन्ध्र वर्षमा विहे गरेर बच्चा जन्माईसकेका हुन्छन भन्ने जस्ता कुरा पनि गरिरहेका हुन्छन् । निर्णयस्तरमा परिपक्वता नभएकै कारणले व्यक्तिहरु फस्ने भएकैले बालबालिका भनेर १८ वर्ष मुनिकालाई भनिएको हो भन्ने चाँहि धेरैले अनुमान नै गर्दैनन् । यस्तो कुरा त अभिभावक आफैले बुझिकन बालबालिकालाई बुझाउनुपर्ने हुन्छ ।
आफूप्रति अन्याय भयो भन्ने ठम्याई भईसकेपछि देशमा भएका कानुनको सहारा लिएर गल्ती गर्नेलाई सजाँय दिनुपर्छ भन्ने चेत पनि अभिभावक या विद्यालययले किशोर किशोरीमा हालिदिनुपर्ने देखिन्छ । यसको लागि आवश्यक कानुनबारे पाठ्यक्रममै राखेर पढाई गर्नुपर्ने पनि हुन्छ ।
अभिभावक छोराछोरीका पहिलो साथी हुन् । अभिभावकले आफ्ना छोराछोरीलाई मद्धत गर्छन्, निर्देशित गर्छन र शिक्षा दिन्छन् । यसो गर्दैगर्दा अभिभावकले आफ्ना बालबालिकालाई सिक्दै हुर्कन मद्धत गरिरहेका हुन्छन् । किशोरावस्थामा केटाकेटीका मस्तिष्क अस्थिर पनि हुन सक्छ । आफूलाई निर्देशन दिएको मन नपराउन पनि सक्छन् । यस्तो अवस्था किशोर वयमा आउँछ भन्ने कुरा नै अभिभावकले किशोरकिशोरीहरुलाई बुझाईदिनुपर्ने हुन्छ । अभिभावक भनेका आमाबाबु मात्र नभएर शिक्षक, शिक्षिका, समाजका गन्यमान्य मानिस, राज्य पनि पर्दछ भन्ने कुरा पनि बुझ्नुपर्दछ । अभिभावकले विशेष गरेर आफ्ना बालबच्चाहरुसंग सम्मानित सम्बन्ध बनाउनुपर्दछ । यसो भएन भने कतिपय अवस्थामा किशोरकिशोरीहरु आफ्ना अभिभावकप्रति नै जाईलाग्ने गरेका उदाहरणहरु पनि हाम्रै सामु देखिन्छन् । असल बानिव्यहोराको उदाहरण पनि अभिभावक आफै बन्नुपर्ने हुन्छ । स्वस्थ जीवनशैलीको उदाहरण दिएर चुरोट, रक्सी, गाँजा, लागु औषधहरु हाम्रा जीवनशैली बिगार्ने पदार्थहरु हुन भन्ने सचेतना अभिभावकले नै जगाउनुपर्ने हुन्छ ।
प्रविधिको सही सदुपयोग पनि अभिभावकले नै किशोरकिशोरीहरुलाई सिकाउनुपर्ने हुन्छ । अहिले सामाजिक सञ्जालका विभिन्न एप्सहरुले किशोरकिशोरीका रचनात्मक मस्तिष्कलाई एकत्रित गरेर एकोहोरो बनाउँदै लगेको छ । यसप्रति त अभिभावक झनै सचेत बन्नुपर्ने देखिन्छ । आवश्यकता पर्दा आफ्ना केटाकेटीलाई भावनात्मक सहयोग गर्ने, दूव्र्यवहारमा परेका छन् भने त्यसबाट निकाल्न कानुनी प्रकृयामा जान, दूव्र्यवहारमा पर्नै नदिने उपायहरु सुझाईराख्नु पनि अभिभावकको कर्तव्य हो । अभिभावकले विश्व घटना र परिवेशसंग साक्षात्कार हुने र किशोरकिशारीलाई पनि सचेत गराउने दोहोरो जिम्मेवारी बोक्नुपर्ने देखिन्छ । साथै पारिवारिक सरसल्लाहमा किशोरकिशोरी सन्तानलाई पनि सहभागी गराउने र उनीहरुका कुरा पनि सुन्ने तथा भावनाको कदर गर्नुपर्ने अपरिहार्य हुन आउँछ । आफ्ना प्रतिभामार्फत सानै उमेरदेखि आर्थिक आर्जनको फिल्डमा आएका किशोरकिशोरीहरुप्रति त झनै अभिभावकको निगरानी र सरसल्लाहको सहयोग चाहिने रहेछ भन्ने कुरा पनि बर्तमान समयमा एकपछि अर्को गर्दै समाजमा घटिरहेका दुव्र्यवहारजन्य घटनाहरुले पनि देखाई नै रहेका छन् ।
परिवार, विद्यालय, राज्यका सम्बन्धित निकायहरुले किशोरावस्था व्यवस्थापनमा विशेष भूमिका खेल्नुपर्ने आजको आवश्यकता भएको छ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)