शिक्षा मन्त्रीलाई शिक्षकको १५ सुझाव

पेशल आचार्य

राष्ट्रिय स्वतन्त्र पार्टीका माननीय सांसद शिशिर खनाल गत मङ्गलबार भएको दोस्रो पटकको मन्त्रीमण्डल विस्तारसँगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा नियुक्त भएका छन् । यो अवसरमा म उनलाई शिक्षा मन्त्री भएर देश तथा समाज सेवाको यो बाटो रोज्ने काम भएकोमा हार्दिक धन्यवाद दिन चाहन्छु ।

खासगरी हाम्रोजस्तो देशमा मन्त्रीमण्डल गठन हुँदा शिक्षा, महिला बालबालिका तथा सहकारी एवम् गरिबी निवारण, कानुन तथा न्यायजस्ता मन्त्रालयमा मन्त्री हुन जानेहरूको कुनै चाख हुँदैन । यसो किन हुन्छ भन्दा ती मन्त्रालयहरूमा धेरै दुःख, अनावश्यक जनचासो, आम जनताका धेरै आसाहरू, काम गर्न तनाव र जश कम भएकाले त्यसो भएको हो । त्यही भएर आम जनताको चासो नपर्ने र मालदार मन्त्रालयमा धेरैजसो पुराना, खल्ली र नयाँ मन्त्रीहरूको समेत चासो भएको पाइन्छ ।

माननीय शिशिर खनालजीले त्यसो नभइकन शिक्षाजस्तो भेग र समाज परिवर्तन गर्न सकिने मन्त्रालय नै रोज्नु भएकोमा खुसी लागेको छ । यो लेखलले विगतका ३ दशकभन्दा बढी वर्षहरू र आफ्नो जीवनको ऊर्जाशील उमेर शिक्षा क्षेत्रमा लगाएकाले शिक्षा मन्त्रालयमा युवा अनुहार आएकोमा शिक्षा क्षेत्रको भविष्य केही उज्यालो हुन्छ कि भनेर आसा गरेको मात्र हो । पङ्क्तिकारलाई खास व्यक्तिगत फाइदाका कुराहरू केही छैनन् ।

गत मंगलबार गठन भएको मन्त्रीमण्डलमा पनि शिक्षा, स्वास्थ्य र श्रम मन्त्रालयहरू रास्वपाको भागमा आएको छ । उसले यसअघि नै उसका सभापतिको नेतृत्वमा उपप्रधानमन्त्री तथा गृह मन्त्रालय पाइसकेको स्थिति छ भने अहिले पुनः शिक्षामा शिशिर खनाल, श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयमा डोलप्रसाद अर्याल र स्वास्थ्य राज्य मन्त्रीमा डा.तोसिमा कार्कीलाई विशेषज्ञताका आधारमा चयन गरेको भनिएको छ । यसरी हेर्दा विषय विज्ञका नाताले मन्त्री चयन गर्ने पार्टीहरूमा रास्वपा पहिलो नम्बरमा परेको छ । यो देशकै लागि खुसीको विषय हो ।

यो पार्टीले गत ७ महिनाकै छोटो अवधिमा स्थापना भई प्रचारप्रसार गरेर चुनावमा समेत लडी १० लाख मत समानुपातिकमा पाएको देखिन्छ । जुन तथ्य अन्य पार्टीहरूका तुलनामा धेरै राम्रो हो । युवाहरूको यो पार्टीमा रुझान हुनु उज्यालो भविष्यको द्योतक हो ।

यसले प्रत्यक्षतर्फ ७ जना र समानुपातिकतर्फ १३ गरी कूल २० जना जनप्रतिनिधिलाई संसदमा पठाउन सफल रास्वपा अहिलेको जल्दाबल्दा राजनीनिक मुद्दालाई संसदमा लैजाने र जनताको मन जित्ने पार्टीका रुपमा रहेको देखिन्छ । गृह, स्वास्थ्य र श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयमा नियुक्त भएका मन्त्रीहरूका बारेमा यो लेखकलाई तत्काल अहिले केही भन्नु छैन किनकि तिनीहरूले काम देखाउने मौका पाएका छैनन् र यो लेखकको अनुभव तथा विज्ञताको क्षेत्रभन्दा बाहिरको विषयवस्तु हो ।

हुन त शिक्षा मन्त्रीका रुपमा नियुक्त ४३ वर्षे युवा तथा टिच फर नेपालका पूर्व डाइरेक्टर शिशिर खनालले काम गरेर देखाउने मौका पाइसकेका छैनन् । तर एउटा पुरानो शिक्षक हुनुको नाताले यो लेखक माननीय मन्त्री खनाललाई शिक्षामा गर्न सकिने र त्यसबाट व्यवहारमा परिवर्तन हुने केही सुझावहरू दिन चाहन्छ । लिनुनलिनु वहाँको मर्जी हो । सुझावहरू यसप्रकार छन् ः

१. विभिन्न कारणले जारी हुन रोकिएको शिक्षा ऐन विना सर्त तत्काल जारी गर्ने ।

२. उमेर हद पार गर्न लागेका अस्थायी, दरबन्दी, राहत, बालकोटा, संघीय अनुदान र पालिका अनुदान जोजो जेजेमा भएपनि आयोग खोलेर तहगत र विषयगत परीक्षाहरू लिएर तुरुन्त स्थायी नियुक्ति दिने तथा शिक्षकलाई अस्थायी र स्थायीमा मात्र राख्ने ।

३. शिक्षकलाई मर्यादाक्रममा समेट्ने । साथै निजामतिहरूको जस्तै सेवा, सुविधा र वृत्ति विकासका अवसरहरू निरन्तर प्रदान गर्ने ।

४. सरकारी करबाट तलबभत्ता खानेहरू सबैका (संवैधानिक पदधारण गर्ने, कर्मचारी, सेना, प्रहरी, संघसंस्था या आयोगमा कार्यरत कर्मचारी) सन्तानलाई सरकारी सामुदायिक विद्यालयमा अनिवार्य रुपमा पढाउन लगाउने ।

५. प्रत्येक पाँच वर्षमा शिक्षकको सरुवा जिल्ला भित्र र १० वर्षमा उसले चाहेको जिल्ला बाहिर जिल्लान्तररुपमा समेत गर्ने परिपार्टीको विकास गर्ने ।

६. शिक्षकलाई विदेशका ख्यातीप्राप्त विद्यालयहरूको भ्रमणमा निरन्तर अवसर दिने ।

७. शिक्षकको १० वर्षे अनिवार्य सामूहिक पदोन्नति हुने व्यवस्था गर्ने ।

८. शिक्षणमा आउन चाहने विज्ञान, चिकित्सा, इन्जिनियरिङ् र अन्य प्राविधिक जनशक्तिलाई विना सर्त अवसर दिने । लाइसेन्सको झन्झट समेत हटाउने ।

९. कार्यरत शिक्षकले निजामतिमा जान चाहेमा उसको भन्दा एक तह माथिमा विज्ञापनमा परीक्षा दिन उमेर हद नलाग्ने नियम बनाउने । साथै निजामतिबाट समेत शिक्षणमा आउन चाहनेलाई सो अवसर प्रदान गर्ने ।

१०. नेपालका करिब २५ हज्जार जतिको संख्यामा रहेका सामुदायिक माविहरूलाई आवश्यकताका आधारमा आधाजति खेलखुद विद्यालय र आधाजति प्राविधिक विद्यालयका रुपमा रुपान्तरण गर्ने नीति ल्याउने ।

११. शिक्षकको तलब, भत्ता, सेवा र सुविधा अन्य राष्ट्र सेवकहरूको तुलनामा बढी र विविध रुपले आकर्षक बनाउने ।

१२. शिक्षकहरूलाई समेत राज्यले दिने पुरस्कारहरूमा सामेल गराउने । राष्ट्रसेवकहरूलाई दिइने पुरस्कारहरूमा शिक्षकलाई समेत उच्च प्राथमिकतामा राख्ने र दिने ।

१३. शिक्षकले पढाउने विषय र सिकाइ उपलब्धिका आधारमा ग्रेड, तलब वृद्धि र बढुवाका सन्दर्भमा अंक जोड्ने व्यवस्था गर्ने ।

१४. सामुदायिक विद्यालयमा समेत प्रअ नियुक्ति गर्दा विज्ञापनका आधारमा नियुक्त गर्ने । एकपटक नियुक्ति दिइएको प्रअलाई उसले पेस गरेको विद्यालय विकास अवधारणाका आधारमा करारमा नियुक्ति दिने । प्रअ पदलाई स्थायी रुपमा नराख्ने ।

१५. विद्यालयको कक्षा कोठालाई प्रविधिमैत्री, आधुनिक, समयसापेक्ष, दिवा खाजाको व्यवस्था गर्ने, सामुदायिक विद्यालयमा आवासीय सुविधासहितको अवधारणा ल्याउने र स्कुलाई रिसर्च बेसमा सञ्चालन गर्नका लागि कमाउदै÷पढ्दै जस्ता कार्यक्रमहरू भूगोल, जनशक्ति र हावापानी अनुसारले सञ्चालन गर्ने अनुमति दिने ।

यी कुराहरूमा ५ वटाजति कुराहरू लागू गर्न आँट गर्नुस् । जोजो यहाँका बाटामा अवरोध बनेर आउँछन् तिनीहरूलाई हायर एन्ड फायर गर्नुहोस् । अब पनि मन्त्रालयमा उँघेर बस्ने र संसदमा गएर काइते भाषण गर्ने जमाना छैन । यदि यी कामहरू गर्न सक्नु भएमा या थालनी गर्ने कोसिस भएमा तपाईंलाई शिक्षामा वसन्तको बहार ल्याउने शिक्षा मन्त्रीका रुपमा नयाँ सन्ततीहरूले सधैँ सम्झने छन् । अहिलेलाई यति । बाँकी १०० दिनको कार्य प्रगतिपछि सुझाव र समालोचना गरौंला । धेरै लामो समयसम्म सरकार जान सफल भयो भने पछिपछि पनि केही व्यवहारिक सुझाव दिऔंला । यहाँहरूलाई अगर, मगर, लेकिन, बट्, किन्तु र तर भन्ने सुविधा पटक्कै छैन । बाँकी योजना र आँट यहाँको ।

अहिलेलाई चाहिँ यत्ति । यहाँको यो कार्यकाल सफलताको असीम शुभकामना !


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

One Comment

  1. १५ सुझाव एकदम राम्रो छ।
    शिक्षा मन्त्री ज्युलाइ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button