सकारात्मक सोचौँ, देश बदलौँ
विष्णु भुसाल
नेपाल यतिवेला तीव्र परिवर्तनको पर्खाइमा छ । हिमाल, पहाड, तराई जहाँसुकै अवसरै अवसर छन् तर हामीले देख्न सकेका छैनौँ; देखेका त छौँ, केवल यहाँको गरीबी, अशिक्षा, अन्याय, अत्त्याचार अनि विकृति विसङ्गति आदि आदि ।
नेपालको आम निर्वाचन २०७९ पनि सकिएको छ । कुनै पनि राजनीतिक दलले स्पष्ट बहुमत ल्याउन सकेका छैनन् । यसको अर्थ नेपाली जनताले सबै दल यहाँका यावत् समस्या समाधानका निम्ति मिलेर लाग्नु पर्दछ भन्ने सन्देश दिएका छन् । एउटै राजनीतिक दललाई देश सुम्पिदा विगतमा अनेक समस्या देखापरे । विशेषगरी ती ती दलका नेत्रत्त्वका एकाधिकारले देश अझ अधोगतितर्फ लाग्न पुग्यो । हुनत एउटै दलको कुशल नेत्रृत्व पाउँदा देशमा स्थीरता,विकास निर्माणमा तीव्रता अनि जवाफदेहीता हुन सक्थ्यो, विडम्वना हाम्रो विगत इतिहास त्यस्तो देखिएन भने निर्वाचनको परिणाम समेत त्यस अनुरुप आउन सकेन, त्यस अर्थमा हालको परिणाम अनुसार सकारात्मक सञ्चार प्रवाह गर्न यहाँ खोजिएको हो ।
देशमा राजनीतिक परिवर्तन त भयो तर नागरिकका आधारभूत समस्या समाधान हुन सकेनन्, अर्थात् उनीहरुको अवस्था परिवर्तन हुन सकेन । यहाँका योग्य, क्षमतावान व्यक्तिहरु यत्रतत्र समस्यै समस्या देखेर शहर हुँदै विदेश पलायन भएका छन् भने उनीहरुले यहीँ बसेर केही गर्नु पर्दछ भन्ने सोंच कसैले राखेको देखिदैन । अधिकाँश हाम्रो शैक्षिक जनशक्ति समेत सुरक्षित स्थानको खोजीमा दिन प्रतिदिन विदेशिएको देखिन्छ । विदेश पलायन भएको अधिकाँश हाम्रो जनशक्तिले आफूले आर्जन गरेको रकम पनि यहाँ ल्याउन चाहँदैन, उतै खर्च गर्छ । अधिकाँश व्यक्तित्त्वहरुबाट नेपालमा समस्यै समस्या छन्,लगानीको वातावरण छैन, रोजगारीका अवसर छैनन् अनि शिक्षा, स्वास्थ्यका समस्या छन् भन्ने नकारात्मक टिप्पणी मात्रै सुनाइन्छ जुन गलत छ ।
नेपालमा यत्रतत्र रहेका समस्या ठूला होइनन्, ती समस्या समाधान गर्न सकिन्छ । यहाँ अवसरै अवसर छन् भनी हाल योग्य, क्षमतावान् अनि केही गर्छु भन्ने हुटहुटी भएका युवा पुस्ता जागेका छन् । पछिल्लो निर्वाचन र निर्वाचनको परिणामले समेत त्यसैको झल्को दिएको स्पष्ट हुन्छ । विदेशमा रहेका अनेक योग्य, क्षमतावान् नेपालीहरु पनि अब स्वदेशमैँ फर्किएर केही गर्नु पर्छ, यहाँका समस्या सबै मिलेर समाधान गर्न सकिन्छ भनी दृढ इच्क्षाशक्ति बोकेर राजनीतिमा होमिएका छन् जुन सकारात्मक छ । प्रतेक राजनीतिक दलभित्र समेत पुरानो पुस्ताले राजनीतिक परिवर्तन ल्यायो, हिँजोका राणाकालीन व्यवस्था, पञ्चायती व्यवस्था आदिका विरुद्द लडेर, जेलनेल भोगेर बहुदलीय व्यवस्था ल्यायो, त्यसलाई सम्मान गर्दै अब नागरिकका अवस्थामा परिवर्तन ल्याउनु पर्दछ भन्ने आवाज घन्काउँदै युवापुस्ता जागेको छ र हाल सो पुस्ता नै हावी हुन खोजी रहेको छ जुन स्वभाविक छ ।
हाम्रो परम्परागत राजनीतिक नेत्तृत्त्वले पनि योग्य, क्षमतावान् युवा पुस्तालाई अघि ल्याउन कन्जुस्याँई गर्नु हुँदैन । एउटै व्यक्तिले सधैँ आफू भए ठीक नभए बेठीक भन्ने सोँच राख्नु हुँदैन । केही गर्छु भन्ने आँट राख्ने, लोभ लालचमा नफस्ने र सबैलाई समेट्न सक्ने परिपक्व नेत्रृत्तवले नै सबैलाई समेट्न सक्छ र देशको नेत्रृत्त्व गर्न सक्छ । हामी एउटा स्पष्ट मार्गचित्र निर्माण गरी अघि बढ्नु पर्दछ। क्षणिक लोभ, लालच अनि कसरी लोकप्रियता मात्रै प्राप्त गर्न सकिन्छ नभनी दीर्घकालीन सोंच राख्दै देश परिवर्तनका निम्ति युवा पुस्ता पनि लाग्नु पर्दछ । विदेशमा सिकेका सीप र क्षमताको समुचित प्रयोग यहाँ गर्नु पर्दछ भने त्यहाँको नवीन प्रविधिको समेत प्रयोग गर्दै यहाँका यावत् समस्या समाधानका निम्ति लाग्नु पर्दछ ।
हामी सबै राजनीतिक दल मिलेर देश बनाउनु पर्दछ। सरकार संचालन गर्ने दलले नै परिवर्तन ल्याउने हो भन्ने सोंच कसैले राख्नु हुँदैन। विपक्षमा हुनेले पनि रचनात्मक सल्लाह, सुझाव एवम् त्यसै अनुसारका कार्य गरी देशका समस्या समाधानका निम्ति लाग्नु पर्दछ । सूचना र प्रविधिको प्रयोगले नेपाललाई विश्वमा चिनाउनु पर्दछ । जलस्रोतको अधिकतम प्रयोग, पर्यटन आगमनका लागि त्यसै अनुसारको वातावरण, औद्योगिकीकरण, कृषिको आधुनिकीकरण तथा अन्य आय आर्जनका बाटा निर्धारण गरी ती प्राप्तिका निम्ति योजना बनाई अघि बढ्ने हो भने परिवर्तन यथाशीघ्र सम्भव छ । विशाल २ मुलुक भारत र चीनका औद्योगिकीकरणको लाभ समेत नेपालले लिन सक्नु पर्दछ । विश्वका लगानीकर्ताहरुलाई समेत उपयुक्त नीति निर्माण गरी नेपालमा लगानी गर्ने वातावरण बनाउन सकेमा साँच्चिकै तीव्र परिवर्तन सम्भव छ, जुन हाम्रो राजनीतिक नेत्रृत्त्वले बुझ्नु र त्यसै अनुसार गर्नु आवश्यक छ ।
नेपालका सबै स्थानीय तहले पनि आफ्नो क्षेत्रमा समुन्नत समाज निर्माणका लागि के गर्न सकिन्छ, त्यसै अनुसार योजना बनाएर अघि बढ्नु पर्दछ । स्थानीय स्तरका पर्ययटन, कृषि, घरेलु उद्योग एवम् अन्य क्षेत्र पहिचान गरी नागरिकहरुलाई सू सूचित गर्नु आवश्यक छ भने बजारीकरणको समेत व्यवस्था गरिदिनु पर्दछ। हरेक तहले एउटा विज्ञ समूह (Expert Team) निर्माण गरी त्यहाँका सम्भाव्यताहरुको खोजी गर्दै ती प्राप्तिका निम्ति पहल गर्दै आवश्यकता अनुसार कार्य अघि बढाउनु पर्दछ ।
समग्रमा, देश परिवर्तन सम्भव छ । यसका निम्ति सबैले हातेमालो गरौँ । एकले अर्काको आलोचना मात्रै नगरी सकारात्मक उर्जा भर्ने काम गरौँ । युवा पुस्तालाई राज्यका हरेक क्षेत्रमा अवसर दिउँ । समाजका गरिवी, अशिक्षा तथा अन्य यावत् समस्या समाधानका निम्ति सबै एकजुट भएर हातेमालो गरौँ । नेपालमा केही पनि छैन मात्र नभनी सबै कुरा छ भन्ने भाव सम्प्रेषण गरौँ । आगामी ५ वर्षभित्र देशले काँचुली फेरोस् भन्ने सोँच सबैले राखौँ, त्यसका निम्ति हामी सबै एकताबद्द भै अघि बढौँ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)