पिपल-तुलसी किन रोप्ने ? जनै किन लाउने ?
दुर्योधन बस्नेत
दुःखका साथ भन्नुपर्छ, हाम्रा पुर्खाहरुले धर्म, संस्कार र संस्कृतिलाई विज्ञानसँग तालमेल गराएर पछिल्ला पुस्तालाई बुझाउन नसक्दा र पछिल्ला पुस्ताले बुझ्ने कोसिस नगर्दा त्यति बेलाको समाजको आवश्यकता वा समयको माग अनुसार सिर्जना भएका धर्म, संस्कार र संस्कृतिले पछिल्लो समयमा आएर निरन्तरता वा जिवन्तता पाउन कठिन भैरहेको अवस्था छ ।
हाम्रा पुर्खाहरुले कुनै पनि संस्कार र संस्कृतिलाई त्यतिकै जन्म दिएका थिएनन् । ब्यक्तिगत र सामाजिक जीवन पद्धतिलाई सहज, सरल, सभ्य, ब्यवस्थित र अनुशासित ढङ्गले संचालन गरी त्यसलाई निरन्तरता प्रदान गर्नका लागि भएको थियो जसले समाजमा एक आपश्मा सामाजिक सद्भाव, मेलमिलाप, भाइचारा, एकता कायम गरी सुमधुर सम्वन्ध स्थापित गराएको थियो । ति संस्कार र संस्कृति समाजमा सामाजीक मुल्य र मान्यताका रुपमा स्थापित भएका थिए ।
हाम्रा पुर्खाहरुले मृतात्माको पुण्यका लागि उसको स्मृतिमा वा धर्म गर्ने उद्देश्यले जे जती असल कामहरु गर्नुभएको थियो ति सवैलाई केवल धर्मका रुपमा बुझ्ने गरियो अर्थात एक पक्षिय ढङ्गले बुझ्ने काम भयो । बहुपक्षिय रुपमा बुझ्नुपर्ने थियो । उदाहरणको लागि मृतात्माको पुण्यका खातिर होस् वा धर्म कमाउने हेतुले होस विशेषतः उकालो बाटोमा चौतारो निर्माण गरी वर पिपल रोप्ने गरिन्थ्यो र अहिले पनि रोप्ने गरिन्छ । त्यसलाई कसरी बुझियो भने पिपल विष्णुको अवतार भएकोले धर्म आर्जन गर्नका लागि रोपिएको हो । तर त्यसका पछाडी वहुआयामिक फाईदाहरु रहेका छन् भन्ने कुरालाई छायामा पारियो । हो, पक्कै पनि गाउँघरमा विशेष गरी उकालो बाटोमा धार्मिक आस्थाका कारण बर पिपल रोप्ने गरिन्छ । यसले प्रत्यक्ष रुपमा मानिसहरुलाई वहुपक्षिय फाईदा पु¥याईरहेको हुन्छ । पहिलो फाईदा त यसले बाटो हिंड्ने बटुवा र भरियालाई थकान मेटाउनका लागि आराम गर्ने शितल छहारि प्रदान गरेको हुन्छ । यसैगरी उकालोमा हिंड्दा अक्सिजनको कमी हुन गै स्वां स्वां हुने वा दम बढ्ने गर्दछ । पिपलले प्रशस्त अक्सिजन दिने हुंदा दम वढिरहेको अवस्थामा अक्सिजन प्रवाह गरी श्वासप्रश्वासमा सहजता पु¥याउने काम गर्दछ । यस बाहेक पहिरो जानबाट रोक्ने काम गर्दछ भने वातावरणलाई हरियाली बनाउने, स्वच्छ हावा प्रदान गर्ने, चराचुरुङ्गीलाई वासस्थान दिने, पानी पर्दा ओताउने आदि फाईदा दिईरहेको हुन्छ ।
यस्तै अर्को बुझाउन र बुझ्न नसकेको पुर्खाले धर्मका नाममा गरेको असल र महत्वपुर्ण काम घरमा तुलसीको बोट रोपेर पूजा गर्नु थियो । त्यतिबेला तुलसी रोप्ने चलन कसरी चलाईयो भन्दा धार्मिक साहित्य स्वस्थानीमा तुलसीलाई विष्णुको अवतारको रुपमा व्याख्या गरिएको छ । त्यसैले घरमा तुलसी रोप्दा धर्म प्राप्ती हुन्छ । त्यो भन्दा बढी बुझाउन आवश्यक ठानिएन । त्यसका थुप्रै फाईदाहरु छन् । तुलसीमा थुप्रै रोगहरु निको पार्ने आर्युवेदिक औषधिय गुणहरु रहेका हुन्छन् । त्यस्तै तुलसी अत्यधिक अक्सिजन प्रदान गर्ने जडिवुटिमा पर्दछ । यसलाई घरको ढोका अगाडी रोप्दा श्वासप्रश्वासमा सहजता प्रदान गर्ने काम गर्दछ । कतिपयलाई तुलसी घरको कुन दिशामा रोप्नुपर्दछ भन्ने कुरा थाहा नहुन सक्दछ । वास्तु शास्त्र अनुसार घरको मूलद्वार उत्तर, पूर्व वा उत्तर–पूर्व दिशातिर राखिएको उत्तम मानिन्छ । सोही अनुसार तुलसीको बोट पनि उत्तर वा उत्तर–पुर्व राख्नु उत्तम मानिन्छ । धार्मिक साहित्यले उल्लेख गरे अनुसार हिन्दुहरुको आरध्यदेव मानिने शिव, शिवको देवी शक्ती पार्वतीको माईती (हिमालय पर्वत) लगायतका देवी देवताहरुको वासस्थान उत्तरतर्फको हिमालय क्षेत्र रहेकोले घरको मूलद्वार उत्तरतर्फ फर्काउंदा देवताहरुले रक्षा गर्छन भन्ने जनविश्वास वा धार्मिक मान्यता रहेको छ । अर्कोतर्फ उत्तरतीर हिमाल रहेकोले गर्मी मौसममा उत्तरतर्फवाट शितल हावा आउने र शितलता प्रदान गर्ने भएकाले पनि मुल ढोका उत्तरतर्फ राख्दा उत्तम हुने कुरा पुष्टी हुन्छ । त्यसर्थ तुलसीको बोट प्रवेशद्वार अगाडी राख्दा उत्तरबाट बहेको हावाले तुलसीले फाल्ने अक्सिजन ढोकाबाट घरभित्र प्रवेश गराउंछ र कोठामा प्रशस्त अक्सिजन प्रवाह हुने गर्छ र श्वासप्रश्वासमा सहजता प्रदान गर्छ । यो वाहेक तुलसीले घरवरपरको खराव शक्तिलाई परास्त गरेर घरको वातावरणलाई स्वच्छ राख्ने काम पनि गर्दछ । यसरी तुलसी रोप्नुको वहुपक्षिय फाईदाहरु पछिल्ला पुस्तालाई बुझाउन सकेको खण्डमा यो महत्वपुर्ण परम्पराले निरन्तरता र जीवन्तता पाउने थियो ।
यसैगरी हिन्दु धर्मालम्वीहरुमा प्रचलित जन्मदेखि मृत्युसम्म गरिने सोह्र संस्कारहरुमध्ये कर्म चलाउन, परिपक्व र सु–संस्कृत बनाउनुका साथै सामाजीक मुल्य र मान्यतालाई आत्मसाथ गर्दै जीवनपद्धतीलाई परिवर्तन गर्ने हेतुले व्राह्मण, क्षेत्री र वैश्य जातीमा उपनयन वा ब्रतबन्ध संस्कार गरि पवित्र धागो जनै (यज्ञोपवित) लगाईदिने प्रचलन रहेको छ । धार्मिक मान्यता अनुसार जनै धारण गरिसकेपश्चात सवैखाले कुकर्मबाट अलग हुनुपर्दछ र असल कर्म मात्र गर्नुपर्दछ । सामान्यतया बालक ५ वर्ष पुरा भएपश्चात अर्थात ब्राह्मण जातीमा ८ वर्षदेखि १६ वर्षका विचमा, क्षेत्री जातीमा ११ वर्षदेखि २२ वर्षको विचमा र वैश्य जातीमा १२ वर्षदेखि २५ वर्षको बिचमा उपनयन कर्म गरिने प्रचलन रहेको पाईन्छ । दोश्रो जन्म मानिने उपनयनमा धारण गर्ने जनैका स्वस्थ जीवनका दृष्टिले पनि थुप्रै फाईदाहरु रहेका छन् ।
१) स्मरण शक्तिलाई तिक्ष्ण बनाउँछ ।
२) कव्जियत हटाउँछ र पेटलाई स्वस्थ राख्छ ।
३) ढाडलाई सिधा बनाएर पवित्र मन्त्र उच्चारण गर्नुपर्ने हुंदा ढाड दुख्ने समस्याबाट मुक्त गराउंछ ।
४) जनै धारण गरिसकेपश्चात यसले नकारात्मक शक्ती वा विचारलाई शरिरबाट वाहिर निकालीदिन्छ भन्ने वलियो जनविश्वास रहेको छ ।
५) जनाईको ३ वटा डोराले ३ वटा देवी शक्तीको प्रतिनिधित्व गर्दछ । पार्वती (शक्ति), लक्ष्मी (धन) र सरस्वती (ज्ञान) ।
६) एउटा वैज्ञानिक अध्ययनले प्रमाणित गरेको छ कि जसले जनै लगाएको हुन्छ उसले प्रेसरको समस्या बेहोर्नु पर्दैन ।
७) जनैमा वेसार लगाईन्छ जसले एन्टिवाईटिकको काम गर्दछ र छालाको रोग हुनवाट बचाउंछ ।
यसरी जनैको बहुआयामिक महत्व हुँदाहुँदै पनि पछिल्ला पुस्ताालाई बुझाउन नसक्दा र बुझ्न नखोज्दा यो केही होईन भन्ने सतही गलत बुझाईका कारण उपनयनको केही समयपश्चात नै जनै फुकालेर फालिदिने गरिन्छ । लेखको प्रारम्भमै व्याख्या गरिएको छ कि जनै लगाउनुको अर्थ सवैखाले विकृति, विसंगतीजन्य कुकर्महरुलाई त्यागी असल सोच, असल व्यवहार, असल कर्म, असल बोलीवचन, असल खानपानलाई आत्मसाथ गर्नु हो । यतिवेला दुःख लाग्छ, वोल्यो भने पोल्छ वास्तवमै चिन्ताजनक अवस्था सिर्जना भएको छ । अनुशासनहिनता, विवेकहिनता, कर्तब्यहिनता, गैरजिम्मेवारीपन, अराजकता, विकृती, विसंगती अत्यन्तै मौलाईरहेको छ ।
विज्ञानको आडमा विज्ञानलाई नै बदनाम गरी धर्मको अपव्याख्या गरेर जे मन लाग्यो त्यही गर्न थालिएको छ । धर्म भनेको त कर्तव्य हो, जिम्मेवार हुनु हो । पुजा गर्नु भनेको सम्मान गर्नु हो । यसलाई यसरी बुझिएन भने भोलीको समाज समाज रहनेवाला छैन । संस्कार संस्कृति सवै तहसनहस हुने छन् । त्यसर्थ हामीलाई सु–संस्कृत बनाउने, परिपक्व,सभ्य मानव बनाउने हाम्रा पुर्खाका उपहारहरु धर्म, संस्कार र संस्कृतिलाई सबैले जोगाउँ, हाम्रो पहिचान बचाउ र स्वस्थ जीवन यापन गरौं ।
यसैमा सबैको भलो हुनेछ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)