संस्कृत भाषाः पश्चिमा विद्धान मन्त्रमुग्ध तर हामीलाई मतलबै छैन
सलील ज्ञवाली
मेघालय, भारत ।
संस्कृत भाषाको चकित तुल्याउने समृद्धताबाट चयन गरेर जगत्प्रसिद्ध भाषाविद सर विलियम जोन्सले सन् १७८९ मा मूलतः संस्कृत भाषामा महाकवि कालिदासद्वारा रचिएको’शकुन्तला’ नामक महाकाव्यको अंग्रेजीमा भाषानुवाद गरे । अंग्रेजीमा अनुदित यो एउटै काव्यले जोहान गोथे, गोटफ्राइड हार्डर, फ्रेडरिक सिलर, अगस्ट स्लेगल, विल्हेम हम्बोल्टलगायत अनेकौँ यूरोपीय विद्वानहरुको मन–मस्तिष्कमा नया हलचल ल्याइदियो । शकुन्तलाको भाषिक सौन्दर्य र यसको दार्शनिक पृष्ठभूमिबाट अत्यन्त प्रभावित भएरै जर्मन साहित्यका जनक नामले प्रसिद्ध जोहान गोथेले त संस्कृत भाषा नै सिके । त्यसपछि त उनी ‘शकुन्तला’ नामक यस संस्कृत नाटकमा मुग्ध भएरै आफ्ना जीवनका अन्तिम तीस वर्षसम्म डुबिरहे । त्यतिमात्र होइन, यसको प्रशंसा गर्दै अत्यन्त अन्तःस्पर्शी र अन्तर्दृष्टिसम्पन्न कविता पनि रचे । जर्ज फोस्र्टरले पनि सन् १७९१ मा कालिदासका यस रचनाको जर्मन भाषामा अनुवाद गरे ।
जर्मन र अंग्रेजी भाषामा भएका अनुवादको अकल्पनीय लोकप्रियताकै प्रभावले गर्दा त्यसपछिका केहि दशकको अवधिमै १४ यूरोपीय भाषाहरुमा यसका ४६ वटासम्म अनुवाद साहित्य जगतमा देखा परे । अर्कातिर, सन् १७८४ मा चाल्र्स विल्किनद्वारा गरिएको भागवत गीता र सन् १८०१ मा एङ्क्वेटिल डुपेरोनद्वारा गरिएका उपनिषदहरुका अनुवादले त यूरोपीय साहित्य जगतमा दार्शनिक सुधारकार्य र पुनजार्गरणका अभूतपूर्व सम्भावनाका बाटाहरुकै नवनिर्माण गरिदिए । ‘अखण्ड ब्रह्माण्ड’ अथवा ‘विश्वका सबै अस्तित्व र अणु–परमाणुसमेत एक आपसमा अन्तर्सम्बन्धित र अन्योन्याश्रित छन्’ भन्ने वेदान्त दर्शनका सिद्धान्तहरु पश्चिमी विद्वानहरुका विवेकशील मस्तिष्कले अत्यन्तै प्रशंसनीय, ग्रहणयोग्य र सर्वस्वीकार्य ठाने ।
अर्को एक प्रसङ्ग भन्नु पर्दा, आधुनिक भाषाविज्ञानका प्रमुख जनकहरुमध्येका एक जर्मन भाषाशास्त्री फ्रेञ्ज बप्पर महान जर्मन दार्शनिक श्लेगलले पाणिनिको ‘अष्टाध्यायी’को अनुसरण गर्दै र मुक्तरूपमा सापटी लिँदै तुलनात्मक भाषाविज्ञानको जग बसाले अथवा थालनी गरे । परवर्ती समयमा फर्डिनान्ड डि सस्यूर, लियोनार्ड ब्लूमफिल्ड र नोआम चोमस्कीजस्ता असाधारण भाषा विशेषज्ञहरुले पनि यसको अझ मलजल गरे एवं विकास गर्दै गए ।
पाणिनि ईशापूर्व चौथो शताब्दीका एक प्रबुद्ध मनीषी थिए । उनले नै सर्वप्रथम संस्कृत भाषाको विस्तृत एवं योजनाबद्ध अध्ययन गर्दै व्याकरण लेखन कार्यको थालनी गरे र विश्व भाषाजगतकै सर्वप्रथम भनेर स्वीकार्य वैज्ञानिक तरीकायुक्त अकाट्य सूत्रसमृद्ध संस्कृत व्याकरणशास्त्र ‘अष्टाध्यायी’ को रचना गरेका थिए । यसमा ३९५९ सूत्र छन्, जसले भौगोलिक रूपमा होस् अथवा संरचनात्मक रूपमा होस, संसारको कुनै पनि भाषाको अध्ययन र विश्लेषण गर्न सक्ने सामथ्र्य राख्दछन् ।
संस्कृत भाषाबाट अत्यन्त मुग्ध भएरै प्रसिद्ध अमेरिकी भाषाशास्त्री लियोनार्ड ब्लूमफिल्डले प्रचार गरे, ‘यो प्राच्य सभ्यता नै थियो जहाँ ज्ञानको यस्तो संरचनाको प्रारम्भ भयो जसले भाषासम्बन्धी यूरोपीय विचारमा क्रान्ति ल्यायो । पाणिनि व्याकरणले यूरोपीयहरुलाई भाषाको विश्लेषण गर्न सिकायो । पाणिनि व्याकरणको अध्ययन पूर्व शब्द–निर्माणका घटकहरुका बारेमा अस्पष्ट मान्यता राखिन्थो । तर, पाणिनिय व्याकरणको अध्ययन र अनुगमनपश्चात् यिनलाई निश्चित, संक्षिप्त र स्थिरीकृत गर्न सम्भव भयो ।’
संस्कृतका बारेमा पश्चिमी विद्वानका यस्ता उद्गारहरुका विपरीत हामीचाहिँ यहाँ संस्कृतलाई मृत भाषा भन्न रुचाउछौँ । पश्चिमले संस्कृतमा अनुसन्धानका अनन्त सम्भावना देख्छ । ज्ञान–विज्ञानका अपार भन्डारको आविस्कार गर्छ । विद्यालयदेखि विश्वविद्यालयसम्म अध्ययन गर्ने अवसर जुटाउँछ । यता हामिचाहिँ संस्कृत उत्थानका स्थानमा अंग्रेजी, जर्मन, फ्रेञ्च, जापानीज, कोरियन, चीनी आदि अनेकौँ भाषाहरु सिक्नमा गर्व अनुभव गर्छौ ।
पश्चिमका अनगन्ति विद्वान र वैज्ञानिक समेतले संस्कृतको असाधारण समृद्धता एवं असीमित सम्भावनालाई महसुस गरेका र स्वीकारेका छन् । भोल्टेयर, हेगेल, सोपेनहावर, इमर्सन, हेनरी थोरो, लियो टलस्टय, टी । एस। इलियट, निल्स बोर, श्रोडिङ्गर, हाइजेनबर्ग, अपेनहाइमर, मार्क ट्वेन, कार्ल युङ्ग, जे। डी। सालिंगरलगायत अनेकौँ पश्चिमी मनीषीहरुले संस्कृत भाषा, साहित्य, दर्शन आदिको अध्ययन गरेर आफ्नो बौद्धिक प्रतिभालाई अझ तिखारे ।
ब्लेकहोल र वर्महोलका सिद्धान्तहरु प्रतिपादित गर्ने सुविख्यात आधुनिक भौतिकशास्त्री जोन आर्किबल्ड ह्वीलर, श्रेष्ठतामा अल्बर्ट आइनस्टाइनपछि जसलाई उनकै समान दर्जा प्राप्त छ, उत्साहित हुँदै भन्नुहुन्छ, ‘प्राच्यका विद्वानहरुसँग सबै किसिमका अनुभव र विचारहरु छन्, सबै प्रश्नका उत्तरहरु छन् र हामीले ती उत्तरहरु हाम्रा भाषामा अनुवाद मात्र गर्यो भने पनि हामी हाम्रा सबै प्रश्नका उत्तरहरु पाउने छौं ।’ क्वाण्टम मेकानिक्सका जनक भनेर चिनिने अर्का एकजना भौतिकशास्त्री आर्विन श्रोडिङ्गर पनि उनकै स्वरमा आफ्नो उदात्त स्वर मिलाउँदै उद्गार व्यक्त गर्दछन्, ‘पश्चिमी विज्ञानलाई आध्यात्मिक रक्ताल्पताबाट बचाउनका निम्ति पूर्वबाट पश्चिमतिर केहि मात्रामा आध्यात्मिक चेतनाको रक्तसंचार गर्न अत्यावश्यक छ ।’
यहाँ म केही गंभीर प्रश्नहरु राख्न चाहन्छु । यी सबै विवेकवान र मेधावी विद्वान, वैज्ञानिक र लेखकहरु– जसका नीति , सिद्धान्त, साहित्य, सूत्र, समीकरणहरु दिनहूँ स्कूल–कलेजहरुमा अध्ययन गरेर हामी आफैँलाई शैक्षिक रूपमा योग्यतम व्यक्ति भएको परिचय दिइरहेका हुन्छौँ, उनीहरुले उन्मादनाग्रस्त अथवा विक्षिप्त भएर संस्कृत भाषा र साहित्यमा निहित अनमोल निधिको प्रशस्ति गाएका हुन र रु आफ्नै विरासत, सभ्यता, संस्कृतिको खुशी खुशी अवमूल्यन गर्दै हामी पूर्वीय सभ्यताका नागरिक भनेर कुन नैतिकता र युक्तिले आफ्नो परिचय दिन सक्छौं रु आफ्नै आमामा निहित अलौकिक गुण अवलोकन गर्ने सामान्य प्रयास पनि नगरेर उल्टै उनमा खोट देख्न थालेका छौँ ।
यसको कारण के हो भनेर चिन्तन गर्नु अत्यावश्यक छ । मातृ, मातृभूमि, मातृभाषा र मातृ सभ्यताको अपमान र अवहेलना गरेर, दुर्वचन बोलेर संसारका कुनै पनि देश र जाति सभ्य र शिष्ट कहलिएका छैनन् । संसारका जतिसुकै असभ्य, अशिक्षित, आदिम चरित्र व्यक्ति अथवा जातिले पनि आफ्ना विरासत, परम्परा, मूल्य–मान्यताका बारेमा थोरैमात्र पनि अपशब्द बोलेको पाइन्न ।
आफ्नो देश, जाति, भाषा, सभ्यता, आदिका सम्बन्धमा किञ्चित मात्रामा भए पनि गर्व गर्न सकिने केहि विषय भए त्यसैलाई महिमामण्डित तुल्याउने प्रयास गरेको चाहिँ पाइन्छ । भाषा–साहित्य, सभ्यता–संस्कृति, ज्ञान–विज्ञानको श्रेष्ठता, समृद्धता, पौराणिकता अथवा ऐतिहासिकता आदि हरेक कुरालाई लिएर अपार गौरवबोध मात्र गर्न सकिने अभिजात र अत्यन्त सम्पन्न अतीत हुँदाहुँदै हामी अरु के को र किन खोजि गरिरहेका छौँ, यो अवश्य नै मनन गर्ने विषय हो ।
संसारको प्राचीनतम र महानतम संस्कृत भाषामा लेखिएका अगणित उत्कृष्ट कृतिहरु सूर्यका समान देदीप्यमान छन् । यस्ता महाप्रकाशमान सूर्यको पनि कसैले उपेक्षा गर्न सक्छ र रु फ्राङ्कोइस भोल्टेयर कुनै मुढमति व्यक्ति त थिएनन्, जसले आजभन्दा तीन सय वर्ष पहिले नै भव्य शब्दमा भनेका थिए- ‘म विश्वस्त छु, हामीले सबै कुरा गंगातटबाट प्राप्त गरेका हौं— खगोलशास्त्र, ज्योतिषशास्त्र, दर्शन, अध्यात्मविद्या आदि सबै । … पच्चीस सय वर्षअघि ग्रीसका पाइथागोरस ज्यामिति सिक्न गंगाजीसम्म पुगेका थिए । … वेद एउटा यस्तो मूल्यवान उपहार हो, जसका निमित्त पश्चिमी समाज सदैव पूर्वीय सभ्यताप्रति ऋणी रहने छ । …’
आफ्नै साहित्य संस्कृति, ऋषि–मुनि, अतीत गौरवका प्रति मोह हुनु र तिनको प्रशंसा गर्नु हाम्रो आत्मरति हुन सक्ला । तर, विदग्ध र विचक्षण पश्चिमी विद्वानहरुबाट प्राप्त उपर्युक्त सराहना र साथै प्राच्य साहित्य, सभ्यता, संस्कृति, विद्वानहरुका श्रेष्ठताको अनुमोदनले हामीलाई आत्मानिरीक्षण र आत्मसुधार गर्न एवं पुनर्जागरणको बाटोमा लम्कन अब ढिलो गर्न नहुन प्रेरित गर्नु पर्ने होइन र ?