फोहर व्यवस्थापनमा हाम्रो भूमिका

हरिप्रसाद गाैतम
गुल्मीदरबार-२, गुल्मी

‘फोहोर’ भन्नेबित्तिकै काम नलाग्ने अथवा दुर्गन्धित वस्तु भन्ने कुरा बुझिन्छ । जुन वस्तु हामीलाई चाहिँदैन र जुन वस्तुले हामीलाई हानिनोक्सानि पुर्‍याउँछ, त्यस्तो वस्तुलाई हामी घरबाट हटाउँछौँ । यसरी हटाउँदा हाम्रो घरआँगन त सफा देखिन्छ तर हामीले हटाएको फोहरले अरू ठाउँलाई दुर्गन्धित र कुरूप बनाएको हुन्छ । यही हटाउने प्रक्रिया र यसको उचित व्यवस्थापन नै फोहोर व्यवस्थापन हो ।

‘फोहोर’ जबसम्म सानो परिमाणमा हुन्छ, त्यति बेलासम्म यो खासै समस्याको विषय बन्दैन । जब यसको परिमाण बढ्छ, तब वातावरणमा यसको प्रतिकूल असर देखिन थाल्छ । कुनै पनि फोहर घरबाट हटाइँदैमा, वस्तीबाट हटाइँदैमा त्यसको व्यवस्थापन भएको मानिँदैन । यसको व्यवस्थापन त्यतिबेला मात्र भएको मानिन्छ, जतिबेला यसलाई निश्चित ठाउँमा निश्चित प्रक्रिया अपनाएर उचित ढङ्गले विसर्जन गरिन्छ । हाम्रो पर्यावरणमा प्रत्यक्ष असर पार्ने यो फोहरको विषय कुनै एउटा क्षेत्रको मात्रै नभएर आज विश्वभरकै समस्या बन्न पुगेको छ । यसको समस्याले हामीमाझ चुनौती नै खडा गरेको छ । त्यसैले पनि यसको अविलम्ब उचित व्यवस्थापन हुनु जरूरी छ ।

जताततै अव्यवस्थित ढङ्गले फोहोर थुप्रिनाले भूमि मात्रै प्रदूषित भएको छैन । यसबाट निस्कने दुर्गन्धले वायु प्रदूषण गरेको छ । यही फोहरले पानीका स्रोतमा असर गर्दा र जलाशयमा मिसिँदा महामारीको सम्भावना पनि बढेको छ । यसकै कारण हाम्रा सहर तथा वस्तीहरू कुरूप देखिएका छन् । यसकै कारण हामीमा स्वास्थ्यसम्बन्धी समस्या थपिँदै छन् । हेर्दाहेर्दै हाम्रो यो मानवसभ्यतामै प्रश्नचिह्न खडा भएको छ । यो हामी मानिसका लागि पटक्कै नसुहाउने कुरा हो । त्यसैले यसको उचित व्यवस्थापनका लागि हामीले आ-आफ्नै ठाउँबाट सक्दो प्रयास गर्नु जरूरी छ । हामीले हाम्रो घरबाट निस्कने फोहरलाई कुहिने र नकुहिने गरी छुट्याउन कुनै निकायको मुख ताकिरहनु पर्दैन । कुहिने फोहोरले मल बनेर हाम्रो कृषिउत्पादनमा फाइदा पुग्छ भने कतिपय नकुहिने फोहर अर्को कुनै वस्तु-निर्माणमा पुनः प्रयोगमा आउँछ, जसले गर्दा बाँकी रहेको फोहर व्यवस्थापन गर्न सजिलो हुन्छ ।

यसरी फोहरको व्यवस्थापन गर्नु भनेको यसको उचित समाधान गर्नु हो । आज यो समस्या हामी सबैका लागि चुनौतीको विषय बनेको छ । यो समस्या कुनै एक जना व्यक्तिको मात्रै समस्या होइन । साझा समस्याको रूपमा खडा भएको यो फोहरको समस्या समाधानमा हामी सबैको उत्तिकै भूमिका रहन्छ । त्यसैले यसको समाधानका लागि हामी सबैले आ-आफ्नो तह, क्षेत्र अनि क्षमताअनुसार सहयोग र साथ दिनु जरूरी छ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button