अहिले त हामी पत्नीको आदेश मानेर हिँड्ने बेलामा रहेछौं

भरत शर्मा

यो हप्ता पात्र छनोटमा अलि कठिन भयो मलाई । कारण के होला भनेर आफैले आफैलाई प्रश्न गरेँ । उत्तर थाहा भयो, पात्रहरु मेरा साथमा धेरै भए । कथाबस्तु, विषयबस्तुले मलाई कुन पात्रको बारेमा लेखौं भनेर सोच्न बाध्य बनायो ।

आइतबारको दिन कलामित्रको चरा प्रेमको बारेमा लेखौं भने लाग्या’थ्यो । सोमबार पशुपतिनाथतिर गएको एकजना सन्यासी पात्र भेटेँ । मंगलबार अस्पतालतिर पुगेको थिएँ, मेरो चिकित्सक मित्रसँग जम्काभेट भयो । ‘तपाईको कलममा म पात्र पनि लायक छ कि’ भनेर ठट्टा भयो । बुधबार सरकारी कामले सिंहदरबार पुगेको थिएँ, त्यहाँ पनि एजना कर्मचारीसँग देशको प्रशासनतन्त्रको बारेमा कुरा भयो । त्यो पात्र पनि लेख्न लायक थियो । बिहीबार त्रिभुवन विश्वविद्यालय पुगेको थिएँ, विश्वविद्यालय परिसरमा सुन्तला र बदम टोकेर बसेका विद्यार्थी पात्रसँग मध्यान्हको घामसँग बस्दा भेटिएका पात्र पनि रोचक थियो । शुक्रबार बिहान चीनका मेरा विद्यार्थीलाई पढाउनु पर्ने नेपालको संस्कृतिको बारेमा । सामग्री खोजी गरेर केही लेख्दै थिएँ, खल्ती फोनमा घण्टी बज्यो । प्रा.डा. माधव भट्टराईको फोन रहेछ । आदरणीय गुरुले सोध्नुभयो, ‘पढाई लेखाई कस्तो चल्दैछ, स्वास्थ्य अवस्था के छ ?’

‘काठमाडौंमा चिसो बढेको छ । हिजैदेखि पुस महिना पनि शुरु भयो । भनिन्छ, पुस महिना फासफुस महिना हो । मेरो लागि त पुस महिना काठमाडौंमा बस्न लायक नै छैन । अहिले त पहाडी जिल्लाका मठमन्दिर यात्रा गर्दै तातो र घाम लाग्ने ठाउँहरु घुम्नु पर्ला । समय मिल्यो भने जाडो मौसममा पनि अलि तातो हुने दक्षिण भारतको तीर्थयात्रामा निस्कने पो हो कि ? तपाईको अध्यापन, विश्वविद्यालयको कक्षा, परीक्षा कसो चल्दैछ ? चिसो छुट्टीमा भारत यात्रामा निस्कने हो कि ? योजना के छ ?’

‘सन् २०२३ पहिलो महिनाको आधा महिना १५ दिन दक्षिण भारत यात्रामा निस्कदै छु । फेब्रुअरी महिनाको पहिलो साता काशी जानु छ, त्यहाँ भाषा, साहित्य र संस्कृतिसम्बन्धी तीनदिने सम्मेलनमा सहभागी हुनुछ’, मैले भनेँ ।

‘अहो ! काशी नगएको पनि चार बर्ष भयो ? सन् १९९९ मा पहिलो पटक काशी पुगेपछि सन् २०१८ सम्म हरेक बर्ष काशी गएको थिएँ । तर सन् २०१८ को अन्तिम डिसेम्बर महिनादेखि काशी पुगेको छैन’, मैले कथा सुनाएँ ।

अहिले त काशीको रुप बदलिएको छ, भारतका यसस्वी प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीको निर्वाचन क्षेत्र काशीमा गंगादेखि विश्वनाथसँगको खुल्लाबाटो निर्माण, घाटहरुको सफाई र सडक चौडामात्र भएको छैन, काशीको मुहार नै फेरिएको कथा टेलिभिजनबाट हेरिए पनि प्रत्यक्ष घुम्नुको मज्जा कति होला भनेर सोचेँ ।

कुनै समयमा काशी रहेका घाट र काशीका तीर्थस्थल घुमाउने गाइडको काम गरेका ति दिनहरु अझै पनि ताजै छन् । नेपालबाट पनि मैले सयौं मित्र, गुरुहरुलाई काशी लगेर काशीका अनेक रोचक स्थानहरु घुमाएको थिएँ । संयोग मेरा आदरणीय गुरु प्रा.डा माधव भट्टराई पनि मसँग घुम्न जतिबेला पनि इच्छुक हुनुहुन्छ ।

नेपालीमा एउटा उखान छ, संगत गुनाको फल । यो उखानले हरेक व्यक्तिको जीवनमा फरक पारेको छ । म बालकदेखि बृद्धसम्मको संगतमा रहेर रमाउन चाहन्छु । बालककालमा हजुरबाको धेरै माया पाएर होला, म हजुरबा जस्ता लाग्ने पात्रहरुसँग संगत गर्न पाए खुसी हुन्छु ।

काठमाडौं शहरभित्र प्रवेश भएपछि अनेक पात्रहरु भेटिए, शहरभित्रको अनेक व्यक्ति र पात्रहरुसँग संगत गरियो । पत्रकारिता गर्दा भेटिएका सात जात सात रंगका पात्रहरु, अध्यात्म अभियानमा जोडिँदा भेटिएका धर्मअभियन्ताहरु, साहित्यिक लेखन यात्रामा भेटिएका कवि लेखक र पर्यटन क्षेत्रमा होमिएपछि चौबाटोमा भेटिएका अनेककन गाइड, ड्राइभर, होटलका साहुजी, र पर्यटन क्षेत्रका खिस्सापात्रहरुका बारेमा लेख्न बाँकी नैं छन् ।

आज मेरो हजुरबा उमेरका पात्र प्रा.डा भट्टराईलाई सम्झदै गर्दा उहाँका बारेमा लेखिएका ठेली पुस्तकहरु प्रकाशित छन् । जीवनी पनि लेखिएका छन् । उहाँका अध्यात्मिक र साहित्यिक रचनाबारेका बारेमा पनि अनेकन् लेख प्रकाशित भएका छन् । बाल्मिकी विद्यापीठको प्राचार्य भएर सेवा गरेको योगदानको बारेमा चर्चा छ । राजप्रसाद क्षेत्रमा गुरु पुरोहित मात्र होइन, धर्मसभाको नेतृत्व र विश्व हिन्दु महासंघ र साधु सन्तको सेवामा उहाँले दिनुभएको योगदानको चर्चा छदैछ ।

काठमाडौं प्रवेश र पात्रकारिताका शुरुवाती दिन वि.सं. २०५९ सालमा पत्रकारिता क्षेत्रको संस्कृति समाचार संकलनका क्रममा खोजी गरेर भेटिएका पात्र हुन प्रा.डा माधव भट्टराई । त्यसयतादेखि उहाँसँगको संगत निरन्तर जारी छ । उहाँले भेट्दा मैले अनेक रुप देख्छु, सरस्वती माताको आशीर्वाद होला, उहाँसँग कुनै पनि शास्त्रका बारेमा प्रश्न गर्दा उत्तर पाउनसक्छु । त्यसो त सन् २०१० देखि २०१८ को बीचमा उहाँसँग भारतका विभिन्न तीर्थक्षेत्रको भ्रमण साथमा गरेका छु । काशीबाट शुरु भएको यात्रामा अनेकन मन्दिर, मठ र सयौं सक्कली र केही नक्कली साधुसन्तसँगको भेट रोचक र घोचक छ । भारतमा करिव पाँचलाख भन्दा बढी साधु सन्त होलान्, त्यसमध्ये आफैले उपाधि दिने साधु हजारौं छन् ।

यात्रामा अनेक सक्कली र नक्कली साधु सन्त भेट भए पनि पनि हाम्रो संगतचाहिँ धेरैजसो सक्कलीसँग भयो । अहिले पनि सकेसम्म सक्कली साधुसन्त मात्र भेटन खोन्छु तर पृथ्वी गोलो छ भनेजस्तो बीचबीचमा नक्कली साधुसन्त पनि सम्पर्कमा आइपुगिरहन्छन् ।

प्रा.डा माधव गुरु संस्कृतिको विश्वविद्यालय जस्तो लाग्छ मलाई । भारत यात्रा गर्दा रातभरको रेलयात्रापछि पनि विहानको चिया पिउने समयभन्दा पहिले रेलभित्र भए पनि पन्चस्नान गरी श्रीमद्भागवत, गीता र सप्तसतिको पुस्तक पल्टाएर पाठ शुरु गरिहाल्ने बानी छ । उहाँले भन्नुभयो, भागवद्का श्लोक पढिएन भने आजको दिन अधुरो भयो । मेरो मित्र, मेरो सहकर्मी, सहपाठी, सबथोक भनेको श्रीमद्भागवत हो । उहाँको शास्त्रसाधना देखेर प्रभावित भएको छु ।

यो कलिकालमा मानव जीवनको सार्थकता गहिलो दर्शनसहित बुझ्ने हो भने श्रीमद्भागवत महापुराण र अन्य पुराणको अध्ययन गर्नु पर्दछ भनेर पुस्तक संकलन जारी छ । पुराणका केही पानाहरु पल्टाए पनि त्यसभित्रको दार्शनिक पक्ष खुट्याउन पाएको छैन ।

शहरीया जीवन, दैनिकको कार्यदौड, अध्ययन अध्यापनको सामगी खोज, आदि इत्यादिमा समय बितेको पत्तो हुँदैन । शहरभित्र मानिस त हराउँदो रहेछ जस्तो अनुभव हुँदैछ । कहिलेकाहीँ त शहर छोडेर कुनै एकान्तमा गएर बसौं जस्तो लाग्छ । तर, उमेर र जिम्मेवारीले शहर छोड्न दिएको छैन । फेरि उही कुरा शास्त्रले भन्छ, २५ बर्ष विद्यार्थी, २५ देखि ५० बर्ष गृहस्थ, ५० देखि वानप्रस्त हुँदै सन्सास लिने हो । अहिले त हामी पत्नीको आदेश मानेर हिँड्ने बेलामा रहेछौं । त्यसैले अहिले शहर छोडन सकिन्न ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button