के अहिलेका नेतालाई ‘रिह्याब’ जरुरी हो ?

ध्रुवहरि अधिकारी

सत्तारुढ दल फुटेर दुई चिरा भएको छ । प्रधानमन्त्रीले प्रतिनिधिसभा अचानक विघटनमा पारेको अवस्था छ, र विघटनको संवैधानिकताको प्रश्न सर्वोच्च अदालतमा पुगेको छ । आउँदो वैशाखमा निर्वाचन हुने कुरा अनिश्चित छ । कोरोनाको व्याधिबाट समाज आक्रान्त छ । नेपाली जनतालाई महँगी र असुरक्षाको भावनाले पूरै लपेटेको छ । नेपालका बासिन्दा संरक्षण, अभिभावकत्वबाट लामो समयदेखि वञ्चित छन् । नेपालसँग साँध जोडिएका छिमेकी दुबै यहाँका शासक-प्रशासकप्रति ढुक्क छैनन्- प्रेस विवरण यस्तै छन् ।

मुलुकमा अनिश्चय र अन्योल व्याप्त छ । यस्तो स्थितिमा घटना वा दुर्घटना जे पनि हुन सक्छ भनेर सत्तासीन दलकै नेतागणले दिनहुँ रेडियो, टेलिभिजनमा अन्तर्वार्ता दिँदैगरेको देखिन्छ, सुनिन्छ ।

यस्तो पृष्ठभूमिमा, सेनाको उच्च पदबाट सेवानिवृत्त एक अधिकृतबाट यसै साताको शुरुमा, कुराकानीको क्रममा सुन्न पुगियोः- अहिले व्याप्त अन्योलको अन्त्य गर्ने जिम्मेवारी कदाचित् सेनामा आएछ भने म एक स्वयंसेवीको रूपमा एक त्यस्तो पुनःस्थापना केन्द्र (रिह्याब सेन्टर) सञ्चालन गर्न तयार हुनेछु जसमा मजस्तै सेवानिवृत्त भएका र हुने उमेरमा पुगेका प्रधानमन्त्री, मन्त्री, सांसद् ,सभासद्हरूलाई एकै ठाउँमा राखेर सेवा गर्न पाइयोस् ।

थप भनाइ थियोः-यस्तो सेवा केन्द्र पाँचखाल, त्रिशुली आसपास जस्तो कुनै खुला ठाउँमा खोल्न सकिन्छ । र, त्यहाँ बसोबास गर्नेहरूलाई खाना,स्वास्थ्य र सफाइको प्रबन्ध गर्न सरकारले त्यति ठूलो अङ्कको वार्षिक बजेट पनि दिनु पर्दैन । यसरी थोरै खर्चमा स्तरीय सेवा त्यहीँ उपलब्ध गराइने भएपछि निवृत्तिभरणमा जाने गरेको सरकारी रकम जोगिन्छ नै । अनि, यस्तो सामूहिक निवासको आँगन/पटाङ्गिनीमा बेला-बेलामा धार्मिक,साँस्कृतिक, आध्यात्मिक चिन्तनमा टेवा पु-याउने विद्वान्‌हरु डाकेर प्रवचन, प्रश्नोत्तर आदि कार्यक्रम गराउन सकिहालिन्छ ।

भन्नै परेन, खान-बस्ने समेतका भौतिक आवश्यकता सम्बन्धी चिन्ताका कारणहरू नरहेपछि सबैलाई चिन्तनको अवसर प्राप्त हुन्छ । यता, काम गर्नेले देशको काम गर्न पाउँछन्, आराम चाहिनेले एक ठाउँमा बसेर आराम गर्न पाउँछन् ।

यस्तो बन्दोबस्त हुन सके सबैको भलो हुनेछ ।

(बरिष्ठ पत्रकार अधिकारीको सामाजिक भित्ताबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button