
मानसिक बलात्कारको डरलाग्दो परिदृश्य
प्रदीप उप्रेती
सामान्यतया पाशविक यौनिक बलात्कारको घटनाक्रम दैनिक रुपमा अभिबृद्धि हुँदै गएको वर्तमान अवस्थामा नागरिक समाजले सहजै हेक्का राख्न नसक्ने प्रवृतिका मानसिक बलात्कारको पिडाले समेत आफ्नो क्षेत्राधिकारलाई दिन दुईगुणा रात चौगुणा अभिवृद्धि गर्दै लैजानु सामाजिक चुनौतीको क्षेत्रमा चिन्ताको विषय हो । एक्काईसौं शताब्दिको नागरिक समाजको कंलङ्कको रुपमा रहेको मानसिक बलात्कारको पिडा समाजमा घट्ने अन्य यौनीक बलात्कारको पिडा भन्दा निश्चित रुपमा कुनै पनि हालतमा कम छैन ।
मानव समुदायको भावनामा प्रतिकूल असर पार्ने प्रवृतिका घटनाक्रमलाई लक्षित गर्दै योजनावद्ध एवं त्रासदीपूर्ण ढङ्गले कुनै पनि कार्य गर्नु वा गराउनु खोज्नु निश्चय पनि मानसिक वलात्कारको अनेकन रुप मध्येको एक रुप हो । उपयूक्त ढङ्गले प्रस्तुत हँुदा समेत आफु अनुकुलको कार्य सहज रुपमा सम्पन्न हुन नसक्ने अवस्था पैदा भए तत्पश्चात उक्त कार्यले हिम्सांत्मक रुप धारण गर्न सक्ने तथ्यलाई ईन्कार गर्न मिल्दैन । नेपाली समाजमा आजभोली अत्यधिक मात्रामा हिंम्सात्मक क्रियाकलापको बृद्धि हुनुको प्रमुख कारक तत्व विशेषको रुपमा मानशिक बलात्कारको पिडालाई पनि लिन सकिन्छ ।
यस प्रकारको समाजविरोधी कार्यमा आवद्ध रहने पीडित वा पीडक पक्षको कुनै जात, लिङ्ग, वर्ण, धर्म एवं उमेरको निश्चित हदवन्दि रहेको भने पाईएन । यसका अतिरिक्त मानव समुदायभित्र रहेको अहमवादको दम्भले निम्ताएको प्रभावलाई यसको उद्गमस्थल मान्दा त्यति फरक नपर्ला ।
प्रस्तुत भयावह तथ्यलाई ह्रदयगंम गर्दै मानव सम्प्रदायले चनाखो रहनु नै यस प्रकारको समस्याबाट मुक्ति पाउनु हो । नेपाल लगायत सम्पूर्ण विश्व भरिनै सामान्य अर्थमा वलात्कार भन्ने शब्द नारी वा पुरुषवर्गको अस्मितामाथि गरिएको खेलवाडको रुपमा बुझ्ने गरेको पाइन्छ । यी घटनाक्रमको विकासपश्चात विभिन्न प्रकारको अदालती वा प्रशासकिय कार्यको सिलसिलामा प्राप्त हुने मानसिक हैरानी, कुण्ठा, एवं सम्भावित धम्कीपूर्ण ब्यवहारले दिने पीडा वास्तविक रुपमा मानसिक वलात्कारका विविध पक्षहरु नै हुन् भन्न सकिन्छ ।
समाजमा हुने बलात्कारको सन्दर्भमा सुक्ष्म रुपमा अध्ययन गर्ने हो भने निश्चय पनि घोषित वा अघोषित रुपमा कुनै न कुनै प्रकारको बलात्कारको प्रभावमा मानव समुदायले दैनिक रुपमा समस्या झेल्दै आएका हुन्छन् । पीडादायी अवस्थामा रहने यस ब्यवहारलाई धेरै जसो अवस्थामा गौण रुपमा लिईने हुदा सामान्यतया समस्या नदेखिएको मात्र हो । जब समस्याले उग्रता हासिल गर्छ तत्पश्चात समाजमा प्रस्फुटन हुने यसका ब्यवहार हुन् ।
सामाजिक परिवेशमा आवद्ध रहेको मानव समुदायलाई कुनै पनि वहानामा पीडकले आफु अनुकुलको प्रयोग गर्ने क्रममा शारिरीक वा मानसिक दुबै प्रकारको दवाव प्रयोग गर्ने प्रवृतिको विकास गर्छन् भने सहि अर्थमा यसलाई नै मानशिक बलात्कारको भयाभय रुप मान्न सकिनेछ । यस प्रकारको समाज विरोधी कार्यलाई गहन रुपमा अध्ययनगरी कानूनको परीधी भित्र ल्याउनु आजको आवश्यकता हो । अन्यथा समाजमा विभिन्न प्रकारको आपराधिक क्रियाकलापको जन्म भई सामाजिक पृष्ठभूमिमा नकारात्मक प्रभाव पर्न जाने सम्भावना रहन्छ ।
यस प्रकारका घटनाक्रमहरु कुनै स्थान विषेश, स्कूल, कलेज, अस्पताल वा कार्यालय लगायतका कुनै पनि क्षेत्रमा घट्न सक्ने भएको हँुदा समस्या समाधानमा ब्यवधान खडा हुनु सामान्य प्रक्रिया हुन् । वास्तवमा भन्ने हो भने मानसिक रुपबाट प्रडातित तुल्याउदै नकारात्मक घटनाक्रमको विकासक्रमलाई तिव्रता प्रदान गर्दै पीडकले पीडित समुहबाट भरपुर लाभ लिन सक्ने भएकोले विशेष सर्तकता अपनाउनु जरुरी देखिन्छ ।
प्रस्तुत भयावह अवस्थापश्चातः समाजमा मानसिक वलात्कारको द्धन्द्ध आरम्भ हुनेछ । उक्त द्धन्द्धात्मक परिवेशलाई यदि समय सिमा भित्रमा नै नियन्त्रणमा लिन सकिएन भने तत्पश्चात हिंम्सात्मक परिस्थितीको जन्मभई जघन्य अपराध हुन सक्ने तथ्यलाई अन्यथा लीन मिल्दैन । किनकी स्वभावत ः मानव जातीले हिंम्साको चाहना राख्दैन तथापी समय वा परिस्थितीले मानव समुदायलाई जघन्य अपराध गर्न उत्पेरित गराउने तथ्यहरुले प्रमाणीत गर्दै आएको छ ।
अतः मानव समुदायलाई मानसिक बलात्कारको घेराबाट पृथक राख्ने हो भने पीडक ब्यक्ति वा समुहबाट हुने पिडाजन्य कार्यलाई तुरुन्त अन्त्य गर्ने प्रयासहरु जारी राख्नु पर्ने हुन्छ । अन्यथा प्रतिशोधको ज्वालामा अनैतिक कार्य हुदै हिंसात्मक ब्यवहारले प्रतिहिम्साको जन्म गराउनेछ । जसका कारण नागरिक समाजमा आपराधीक तत्वको बोलवाला अत्यधिक मात्रामा बढ्न जाने सम्भावना रहन्छ ।
यसका वावजूद पनि नागरिक समाजले नचाहदा–नचाहदै आपराधिक क्रियाकलापको घेरावन्दिमा पर्न सक्ने सम्भावनालाई अन्यथा लिन मिल्दैन । तसर्थ सरोकारवाला पक्षको ध्यान समयमा नै पुग्न सकेको खण्डमा निश्चय पनि यस प्रकारका समाज विरोधी तत्वको चलखेलमा कमी आई आदर्श नेपाली समाजको परिकल्पना गर्न सहज हुनेछ । यस प्रकारका सकारात्मक कार्यको विकासले एकातिर मानशिक पिडालाई न्यूनिकरण गर्न मद्दत पु–याउछ भने अर्को तर्फ अपराध नियन्त्रणमा सहयोगीको भूमिका निर्वाह गर्न सहायक सिद्द भई आउनेछ भन्न सकिन्छ ।
सामान्य अवस्थाको मानशिक वलात्कारको तुलनामा नारी अस्मीता माथि गरिएको प्रहार निक्कै भयाभय हुने हुँदा उक्त मानसिक बलात्कारको पीडा पक्कै पनि शब्दमा वर्णन गर्न कठिन हुने देखिन्छ ।
समाजमा घट्ने वा घटेका जुनसुकै तवरको अपराधलाई दवाउन शक्तिको प्रयोग गर्ने प्रवृतिले अन्तत मानसिक पिडा बढ्ने निश्चित छ । किनकी अपराध भई सकेपछि सम्भावित दण्ड जरीवानाबाट बच्न आफु अनुकुलको शक्तिको प्रयोग गर्नुलाई अन्यथा लिन मिल्दैन । मानसिक बलात्कारको हकमा सम्बद्ध पीडित पक्षलाई समाजमा प्रतिस्थापन गराउन जती सजिलो छ । त्यसको तुलनामा यौनीक वलात्कारका घटनाका पीडित पक्षलाई समाजमा प्रतिस्थापन गराउनु निक्कै नै चुनौतीपूर्ण एवं जोखिमले भरिपूर्ण कार्य समेत हो ।
मानसिक एवं यौनीक बलात्कारको घटनालाई समाजमा प्रतीस्थापन गर्ने सन्दर्भमा विषेशगरी सम्बद्ध पीडित पक्षको पारिवारिक पृष्ठभूमी नै मूलत वाधक तत्वको रुपमा देखा पर्ने गरेको छ । तसर्थ प्रस्तुत समाज विरोधी कार्यलाई सहज रुपमा अवतरण गर्नको लागि सरोकारवाला पक्षले विषेश सावधानी अपनाई कार्य गर्नुपर्ने हुन्छ । यदि सफल एवं सहज रुपमा प्रतिस्थापन गराउन सम्भव नभएको खण्डमा जुनसुकै तवरले भएको बलत्कृत समुहले आत्महत्या जस्तो मानवता विरोधी गतीविधीलाई अवलम्बन गर्न सक्ने सम्भावित खतरालाई पक्कै पनि नजरअन्दाज गर्न मिल्दैन ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)