
डा. गोविन्द केसीले दार्चुलामा नम्रतापूर्वक नकारेको प्रस्ताव
केशवराज आचार्य
वि. सं. २०७० साल आषाढ ०३ गते तदनुसार १७ जुन २०१३ सोमवारको दिन सायदै कुनै दार्चुलावासीले कहिल्यै भुल्न सक्ला ।
तीन दिनसम्म बादल फुटेर परेको पानीका कारण सो दिन दार्चुलाको महाकाली नदीमा आएको बाढीले घाटबजारस्थित धेरै घरहरु, गल्फैका सरकारी भवनहरु, गोकुलेश्वर – दार्चुला सडकका धेरै खण्डहरु बगाउनुका साथै धेरै जनधनको नोक्सान भएको थियो ।
हामी त्यहीँ काम गर्थ्यौँ । सो बाढीले ल्याएको भयावह परिस्थितिपछि डा. गोविन्द केसी मानवीय सेवाका लागि दार्चुला खलङ्गा जाने क्रममा उहाँसँग पहिलो पटक भेट भएको थियो । त्यही बेला पस्तीस्थित हाम्रो क्याम्पमा एकरात खाना खुवाउने, सुत्ने व्यवस्था मिलाउने तथा मेडिकल सामानसहित जानुभएको उहाँलाई बैतडीको पाटनदेखि दार्चुला सदरमुकामसम्म गाडीमा पुर्याइ दिने अवसर पनि मिलेको थियो ।
हामी उहाँलाई फर्कंदा पनि सहयोग गर्न चाहन्थ्यौँ । त्यसैले त्यसका लागि भनेका पनि थियौँ । तर उहाँले जाने बेला धेरै सामान भएकाले सहयोग चाहिएको तर फर्कँदा सामान नहुने हुँदा सहजै बसमा जान सक्ने हुँदा हामीले कष्ट गर्न नपर्ने भन्दै नम्रतापूर्वक हाम्रो प्रस्ताव नकार्नुभयो ।
उहाँ जस्तो त्यति सादा जीवन शैली बिताउने व्यक्ति तथा आफ्नो गच्छे अनुसारको धन र सीप प्रयोग गरेर जनताको शुद्ध मनले निशुल्क सेवा दिने मान्छेलाई नेपाली समाजको एउटा तप्का र राज्यले संधै लखेटिरह्यो । पागलसम्मको पगरी पनि गुतायो । उहाँले केही जिद्दीपन देखाउनु भएको हुनसक्छ । तर सो जिद्दी पनि उहाँको व्यक्तिगत फाईदाका लागि नभएको बारेमा प्रायः सबै अवगत थिए ।
जबसम्म सादापनको कुरा गर्दा आनन्द आउने तर डा. केसी जस्ता मान्छेलाई राज्यले एकोहोरो लखेटी रहँदा पनि खुच्चिङ भन्दै चुप लाग्ने स्थिति रहन्छ, जबसम्म समाजका ठूला, पढेलेखेका र हुनेखाने एउटा तप्काले अमुक दलको अनुकूलता र आग्रह अनुरुप डा. केसी जस्ता व्यक्तिको समर्थन वा बिरोध गर्ने संस्कार रहिरहन्छ, तबसम्म देशमा परिवर्तन आउँछ भन्नु कोरा कल्पना मात्र हुनेछ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)