त्रिविलाई त्रिशुलः चिट चोरेर हैरान गर्छन् ! गार्ड बस्न पनि मन लाग्दैन

भरत शर्मा

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा जारी स्नातकोत्तर परीक्षा सोमबार निकै कडा भयो । पुस्तकालय विज्ञान अध्ययन गदै गरेकी एक छात्रालाई परीक्षा दिनबाट बञ्चित गरियो ।

शरीरभित्र लुकाएर राखेको पुस्तक, चिट र मोवाइल समेत भेटिएपछि उनलाई कडा कारवाही गरियो, ‘बहिनी, अब तपाईलाई हामी परीक्षा दिलाउन सक्दैनौं, तपाईं घर जानुहोस् ।’ उनी आफ्नो अनुहारमा माक्स लगाएर परीक्षा हलबाट बाहिर निस्कँदा सबै परीक्षार्थीहरु हेराहेर गरिरहेका थिए ।

मेरो हिन्दी साहित्यको भक्तिकालको बारेमा परीक्षा थियो । हिन्दी साहित्यमा भक्तिकाललाई स्वर्णकाल पनि भनिन्छ । मेरो आजको परीक्षाको प्रश्नहरु यति सजिलो र मीठो भएको हुनाले एक मनले लेख्दै थिएँ । साथीहरु मुखामुख गर्न थाले, कक्षामा सबै विद्यार्थी परीक्षा कडा भयो भन्दै थिए ।

मेरो प्रश्नपत्रमा रहेको प्रश्न थियो, ‘विश्व साहित्य में रामचरित्र मानस के महत्व पर प्रकाश डालिए ?’

रामको चरित्र चित्रण लेख्दै थिएँ । विद्यार्थी रेष्टिकेट भएको खबर सुनेर सबै छात्रछात्रा मौन भएका थिए ।

परीक्षा शुरु हुनुभन्दा अघि शौचालय जाँदै थिएँ । बाटोमा शौचालयबाट फर्केका विद्यार्थी भन्दै थिए, ‘हिजो पनि परीक्षा कडा भयो रे, आज पनि कडा होलाजस्तो छ भनेर मैले त चिट फालिदिएँ ।’ परीक्षा हलमा प्रवेश गर्नुभन्दा पहिले आज विद्यार्थीहरुमा मनोबैज्ञानिक त्रास फैलिएको रहेछ । परीक्षामा मोवाइल, स्मार्ट् फोन र कुनै चीट फेला पर्ने वित्तिकै तुरुन्तै कारवाही हुने खबरले विद्यार्थीहरु सशंकित नै देखिन्थे ।

म पुरुष शौचालय पसेँ । ‘चिट आज ट्वाइलेटमै लुकाउनु पर्यो’ छात्र ठाउँ खोज्दै थिए । भनिन्छ नि, चोरको हजार दाउ हुन्छन् भने जस्तो विद्यार्थी उपायको खोजीमा थिए ।

परीक्षामा आज निकै कडा थियो । परीक्षा केन्द्राध्यक्षलाई माथिबाट आदेश आएजस्तो अलि बढी आत्तिएका जस्तो देखिए । कक्षा कोठमा गार्ड बस्ने कर्मचारीलाई कडै निर्देशन पहिले दिइसकेका रहेछन् । आज त गार्ड सरले पनि छात्रछात्रहरुले चिट चोरेको हेरिरहन सकेनन् । चोर्न खोज्यो कि फटाफट निकाल्ने काम गरे । उनीहरु भन्दै थिए, ‘हामीलाई निर्देशन छ, हल्ला नगरीकन जे जानेको छ, लेख्नुस् । चिट छ भने हामीलाई दिनुस् । आज शरीर चेकजाँच हुने कुरो छ यदि फेला पर्यो भने सिधै घरतिर जाने, परीक्षा रद्ध हुन्छ ।’

केही केटा विद्यार्थीहरुले इमान्दारसँग म परीक्षा दिइरहेको कक्षामा भने चिट अगाडि लगेर राखे । तर, छात्राहरुले टेरपुच्छर लगाएनन् । चिट साथमा राखे, चिट चोर्न खोजे । कक्षामा बसेका गार्डले चिट खोज्दै च्यातिदिए ।

यस्तो कथा मलाई लेख्न मनै छैन । तर, नलेख्दा मलाई आज राति निन्द्रै पर्दैन । त्यसैले लेख्नै पर्छ । नेपालनाम्चाका सम्पादक अशोक सिलवाल पनि केन्द्राध्यक्ष जस्तै कडा छन्, मलाई हप्काउँछन्, थर्काउँछन् । हप्की खानुभन्दा लेखेर पठायो, उनी खुशी हुन्छन् । त्यसो त उनीसँग दोहोरो नाता छ । उनीसँग मित्र, सहकर्मी, सहपाठी, हाम्रो खरिबोट न्यायलयको दोस्रो वरियाताका न्यायधीश आदि इत्यादि ।

आजको परीक्षामा मलाई प्रश्नको उत्तर लेख्न समय नै पुगेन । १ बजे शुरु भएको परीक्षा ४ बजे सक्नुपर्ने । १० वटा प्रश्नमा अन्तिम प्रश्न हतारहतार गरेर १० मिनेट पहिले कक्षाकोठाबाट बाहिर निस्कन लाग्दा मुल ढोकाको कुर्चीमा चिटहरु अलपत्र परेका रहेछन् । फोटो खिच्न लागेको । टाढाबाट किन फोटो खिचेको भनेर कराएको आवाज आयो । म फुत्त बाहिर निस्केँ र शौचालयतिर लागेँ । शौचालयमा अवस्था झन दयनीय रहेछ । भित्र पस्नै नसक्ने गरी दुर्गन्ध रहेछ । टाउको दुख्ला जस्तो भयो र फर्किएँ ।

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा परीक्षा । परीक्षा दिने विद्यार्थी सबै स्नातकोत्तर पढ्दै गरेका विद्यार्थीको बारेमा चरित्र चित्रण गरेर लेख्नु पर्दा म आफूले आफैमाथि अन्याय गरे जस्तो लाग्छ । तर के गर्नु ? देखेको र भोगेको कुरा नलेख्नु भनेको आफैमाथि अन्याय हुने भएकाले लेख्न बाध्य भएँ ।

यो हप्ता बुधबार र शुक्रबार परीक्षा दिनु छ । सोमबार परीक्षा दिन जादै थिएँ । विभागका उपप्राध्यापक लक्ष्मी जोशी भेट भयो । उहाँ भन्दै हुनुहुन्थ्यो, ‘तपाईले आफूलाई चोर विद्यार्थी सम्झेर लेख्नुभएको लेख पढेर दुःखी र खुसी भएँ । हाम्रो परीक्षा प्रणाली कमजोर भयो ।’ उहाँ भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट एमफिल अध्ययन पुरा गरी विद्यावारिधी गर्दै हुनुहुन्छ । हिन्दी विभागमा हामीलाई हिन्दी साहित्यको रितीकाल पढाउनुहुन्छ ।

‘जेएनयुमा त परीक्षा दिन हलमा प्रवेश गर्दा विद्यार्थीको मेसिनले परीक्षा गरिन्छ, चोरी चकारी गर्ने भन्ने कुरा त कल्पना पनि गर्न सकिदैन’, जोशीले भन्नुभयो, ‘परीक्षामा प्रश्नले सोधेको उत्तर मात्र मिलाएर लेखे पुग्छ । चोरी गरेर साथीसँग सोधेर लेखेको कुरा हामी पत्ता लगाउन सक्छौं । इमान्दार भएर परीक्षा दिनुस् । मेरो शुभकामना ।’

मैले मुन्टो हल्लाउँदै भनेँ, ‘मलाई त हिन्दी भाषा, साहित्यको मर्म, भावना बुझ्नु छ । त्यसैले म त प्रश्नको उत्तर मेरो मर्जीले लेख्छु, कति नम्बर आउला भनेर चिन्ता पनि गर्दिनँ ।’

त्यतिकैमा हिन्दी विभागमा कार्यरत लिला म्याडमलाई फोन आयो, आज उहाँ पनि परीक्षामा गार्ड बस्नु पर्ने भयो रे । भन्दै हुनुहुन्थ्यो, ‘चिट चोरेर हैरान गर्छन् । मलाई त गार्ड बस्न पनि मन लाग्दैन । के गर्नु बोलाएपछि जानै पर्यो । केही भत्ता पनि आउँछ ।’

अझै त्रिभुवन विश्वविद्यालयका पदाधिकारी, बल्खु्मा रहेको डिन कार्यालय र परीक्षा नियन्त्रण कार्यालयमा छलफल गरेर परीक्षालाई अझै मर्यादित बनाउन के गर्ने होला भनेर सोच्ने बेला भएन र ?

आज पनि परीक्षामा चिट चोरीचाहिँ भयो । अब बुधबार दिन परीक्षा दिएर फर्केपछि अर्को अनुभव नेपालनाम्चामार्फत तपाईहरुलाई पढाउने छु ।

गाली नगर्नुस है, कतै यो परीक्षामा तपाईंको परिवारका सदस्य पनि सामेल हुनुहोला !


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button