धनकुटाः हर्क, बालेन र गोपालजस्ता भूइँमान्छेले सम्भावित संकटलाई कसरी टार्लान् ?

मोहन ढुँगेल

दिनांक २०७९ जेठ १० गते मंगलबार, बेलुका त्यस्तै साढे ५ बजेको हुँदो हो ।

धनकुटा नगरभित्रका आधा दर्जन बढी वौद्धिक व्यक्तिहरुको जमघट, कुराकानी । उही स्थानीय चुनावको परिणाम, त्यसमा पनि विशेष गरी तीन स्वतन्त्र उम्मेदवार जसले चुनाव जिते र जो जित्ने पक्का भएको छ । अथवा यसरी भनूँ, जितिसकेर पदबहाली गरिसकेका धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल, धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ र जित्ने तय भइसकेका काठमाडौं महानगरका मेयर प्रत्यासी बालेन्द्र साहको राजनीतिक भविष्यको चिन्ता । न चिनेका, न जानेका, न कसैको पार्टीका न त कसैको नातापाता, साथीभाइ । चिन्ता किन जाग्यो ? भेला भएका हामीमा ? एकछिन सोचेँ पनि ।

तर, त्यसको यसै हो भन्ने उत्तर आएन, किन आएन भन्दा त्यो थियो, बिल्कुल भावनात्मक छलफल । भावनाकेन्द्रित थियो, भोलिका दिनमा दलका नेता कार्यकर्ता मिलेर स्वतन्त्रबाट जितेकाहरुको हुर्मत पो लिने हुन् कि ? उनीहरुलाई कामै गर्न नदिएर राजनीतिकरुपमा बदनाम पो गराउने हुन् कि ? भोलिका दिनमा विद्यमान कुरीतिप्रति विद्रोह गर्दै स्वतन्त्ररुपमा जनतामा जानेहरुको बाटो पो बन्द गरिदिने हुन् कि ? यस्तो भावना हिजो चुनावमा दलका उम्मेदवारको पक्षमा हिँडेका कार्यकर्ता अधिकांशमा समेत देखिँदै गएको छ । यस्तो भावना उम्लिनुका पछाडि विद्यमान बेथितिप्रतिको विद्रोह नै हो, दलका नाममा विगतमा भएका शासनले उब्जाएको असन्तोष पनि हो ।

चिया पिउन जुटेका सबै सहभागीहरुको चासो र चिन्ता पनि एउटै देखिन्थ्यो । हर्क, बालेन र गोपाल जस्ता भूइँमान्छेले ती सम्भावित संकटलाई कसरी टार्लान् ? के उनीहरुले कार्यपालिका वा सभालाई पारदर्शी बनाइदिउन् । अथवा त्यहाँ कुन जनप्रतिनिधिले के भने, प्रस्तुत प्रस्तावप्रति उनीहरुको मत के रह्यो भनेर मेयरहरुले बैठकको गतिविधिलाई प्रत्यक्ष प्रसारण गरिदिउन् । जितेका ती मेयरहरुले अन्य दलका तर्फबाट निर्वाचित प्रतिनिधिहरुलाई नगरको र प्रस्तुत एजेण्डा वा निर्णयको स्वामित्व दिने गरी सहमतिमूलक राजनीतिक यात्रा सुरु गरिदिउन् । ती मेयरहरुले पदबहाली गरेलगत्तै तत् तत् नगरपालिकामा विगतमा भएका काम कार्यवाहीका सम्बन्धमा नागरिक स्वेतपत्र बनाएर सार्वजनिक गरिदिउन् ? ताकि भोलिका दिनमा स्वतन्त्रबाट जितेका मेयरहरुमाथि भ्रष्टाचार र अनियमितताको अभियोग लाग्न नपाओस् । वा उनीहरु भ्रष्टाचारमा सामेल भए भएनन् भनेर मतदाताले थाहा पाउन सकून् ।

अथवा, उनीहरु पनि विगतका जनप्रतिनिधि जस्तै बदनाम पो हुने हुन् कि ? उनीहरु पनि विगतका जस्तै शासक नै पो बन्ने हुन् कि ? विगतका जस्तै आफ्ना नातापाता, गलत सल्लाहकारको माकुरी जालोमा पो पर्ने हुन् कि ? या त अहिले स्वतन्त्र हैसियतामा जनमत बटुलेर दलका चिल्ला कुराले दलीय कार्यकर्ताको हैसियत पो बनाउने हुन् कि ?

आज हरेक नागरिकमा आफ्नै बल, योगदान र संघर्षले खारेर जनताको मन र मत जित्न सफल हर्क, गोपाल र बालेनहरुको भविष्यको चिन्ता किन पलाएको छ ? यसको उत्तर सहभागी कसैमा थिएन्, थियो त केवल उनीहरुप्रतिको सदाशयता, थियो त केवल उनीहरुप्रतिको चिन्ता र थियो त केवल उनीहरुप्रतिको शुभेच्छा ।

दल र दलका तर्फबाट विजयी बनेका जनप्रतिनिधिको चर्चा र चिन्ता थिएन, किन ? के दलका तर्फबाट जनताको मन र मत जितेका योग्य, दिग्गज र जनप्रिय जनप्रतिनिधिको संख्या कम थियो र यो निर्वाचनमा ? पक्कै पनि धेरै योग्य र लोकप्रिय जनप्रतिनिधिलाई मतदाताले यस पटक पनि दोहोरो जित दिलाएका छन् । तर, मन किन स्वतन्त्रले लोभ्याए ? यो प्रश्नको उत्तर देला समयले ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button