पृथ्वी जयन्तीमा महेन्द्रले ठिक गरे भन्न खोजेको त होइन
एकताका प्रतीकप्रति !
हरिप्रसाद गौतम
गुल्मी, जुभुङ्ग-७
विश्व-मानचित्रमा स्वतन्त्र नेपालको पहिचान दिने नायक अनि नेपाल र नेपालीका गौरव पृथ्वीनारायण शाह राष्ट्रिय विभूति हुन् । नेपालको इतिहासमा सबैभन्दा उच्चस्थान यदि कसैको छ त केवल पृथ्वीकै छ । यदि उनले यस्तो खालको एकताको सपना नदेखेका भए न नेपाल जन्मन्थ्यो न हामी नेपालीको पहिचान बन्न सक्थ्यो । तसर्थ पुस २७ हाम्रो राष्ट्रिय पर्व मात्रै होइन नेपालआमालाई माया गर्ने तीन करोड नेपालीले साँच्चिकै गौरव गर्ने दिन हो ।
यति भएर पनि आजका दिनमा अरु बाँकी शाह वंशीय सदस्य अनि संस्थाप्रति भने म सश्रद्धा केही भन्न चाहन्नँ ।
पृथ्वीका भाइ दलजित र कान्छा छोरा बहादुर शाहबाहेक त्यति बेलाका अरुमा वडामहाराजले सुम्पेको राज्यप्रतिको दायित्व वहन गर्ने क्षमता भने खासै देखिएन । कहिले पाण्डेको प्रेम त कहिले थापाको शक्तिले थामेको यो राष्ट्र पछि गएर भारदार र राजाका उत्तराधिकारीकै कारण कमजोर भई येनकेन बाँचेर राणाको अन्धकार कोठीमा १०४ वर्षसम्म बन्दी बन्न बाध्य भएको थियो ।
भारतलाई सयौँ वर्ष परतन्त्रको भारी बोकाउने अङ्ग्रेजसँग नझुकेको भीमसेन थापाको इतिहास जति गौरवको गाथा बन्यो त्यसको उल्टो ००७ देखि ०१७ सम्मको कालखण्ड जनताका आशामा निराशाको बादल बन्न पुग्यो । बितेका ती १० वर्ष हामीले पढेको इतिहासभन्दा लज्जाजनक ढङ्गले सत्ताको खिचातानीमै रुमलिएको थियो ।
महेन्द्रले ठिक गरे भन्न खोजेको त होइन तर फेरि डुब्न लागेको देशलाई असक्षम पार्टी नेतृत्वबाट खोसेको पेचले भए पनि देश र जनताका लागि स्वर्णयुग सावित भयो महेन्द्रको कार्यकाल । आजका सरकारी कार्यालय चल्ने भवन राणाले बनाएजस्तै आजका गाडी चल्ने कतिपय बाटाघाटा महेन्द्र र वीरेन्द्रका पालामै पनि बनेका रहेछन् । महेन्द्रको दूरदर्शिता र अडानले बचेको नेपाली राष्ट्रियता हामीले ल्याएको अहिलेको नाममात्रको गणतन्त्रभन्दा कयौं गुणा राष्ट्रप्रेमले भरिएक्को थियो भन्ने सहजै अनुमान गर्न सकिन्छ ।
आफ्नै सहयात्री दललाई फालेर आफूले सत्ता पाउने स्वार्थमा गरिने लैनचौर र दिल्लीको रिले दौड नै नेपाललाई कमजोर बनाउने विषविज हो । यो खेल देशका हरेक दलले गर्दै आएका छन् । यसै कारणले छिमेकको अस्थिरता चाहने भारतले नेपालको शान्तिमा तगारो हालेबाट विरेन्द्रको शान्तिप्रस्ताव अस्वीकार गर्नुको अर्थ स्वत: प्रस्टिएको थियो ।
राजा विरेन्द्रसम्म आइपुग्दा आधुनिकताले विश्वलाई र भोगविलासले दरबारलाई थिचिसकेको थियो । पहिलो चरणमा दलीय प्रतिबन्ध हट्नु र दोस्रो चरणमा वैदेशिक स्वार्थमा नेपालकै लामो इतिहास बोकेको संस्थामा हमला भएपछि यो संस्था स्वत: समाप्त भएको त थियो तर नेपालीका आँखा भने निकै दिनसम्म रसाएका थिए । यस घटनाले नेपाललाई मात्रै होइन, सारा विश्वलाई नै तरङ्गित पारेको थियो ।
यति हुँदा पनि राजा र यो संस्थाप्रति आस्था राख्नेको कमी थिएन र छैन पनि । कसैले भित्रैदेखि त कसैले बिरोधीलाई सास्ती दिन पनि यसको उपयोग गरे तर अन्तत: आवश्यकताले जन्मेको नयाँ राजसंस्था पनि टिक्न सकेन र सुरुक्क आफ्नो बाटो लागेको थियो ।
यस्तो मौकामा गणतान्त्रिक प्रणालीलाई स्वार्थअनुकूल लाद्ने अवसर दलहरूले पाए र भारतले सहयोग गरेको जस लियो । परिणामत: आज उसले हेपिरहेको कुरा सजिलै बुझ्न सकिन्छ । हिजो यसै खालको हेपाइ सहन नपरोस् भनेर विशाल नेपालको कल्पना गरी आर्जेको यो मुलुक तिनै पृथ्वीनारायणको सपना हो र अद्वितीय देन हो, जुन आजका राजा र राजसंस्थासँग कदापि तुलना हुन भने सक्दैन ।
अन्त्यमा, ती अमर वीर पुरुष पृथ्वीनारायण शाहप्रति श्रद्धा सुमनका साथमा सम्मान प्रकट त्यति बेलासम्म भइरहनेछ, जति बेलासम्म यो मुलुकको स्वतन्त्र पहिचान रहिरहनेछ । यो मुलुकको पहिचान त्यति बेलासम्म रहनेछ, जबसम्म आकाशमा चन्द्रसूर्य रहनेछन् । त्यसैले त चन्द्रसूर्यअङ्कित झण्डाको गरिमा र पृथ्वीनारायण शाहको योदानको गुणगान भइरहने छ ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)