के सबै पुरुष पापी हुन् ?

श्रीरामसिंह बस्नेत

हाम्रो युगका कालजयी गायिका लता मंगेशकर र गजल गायक जगजित सिंहले गाएका एक युगल गजलले भन्छ –

गमका खजाना तेरा भी हे मेरा भी
ऐ नजराना तेरा भी हे मेरा भी,
अपने गमको गीत बनाकर गा लेना
राग पुराना तेरा भी हे मेरा भी …’

(शब्दः साहिन कावीद)

मानव समाजको निर्माण र विकासबारे अनेकौं सिद्धान्त, तर्क र अड्कलवाजी सदियौंदेखि सतहमा छरपस्टिएका छन् । एउटा प्रचलित तर्क छ, समाज पहिला मातृसत्तात्मक थियो, परिवार निर्माण र सम्पत्ति संकलनको परिपाटी शुरु भएपछि मातृसत्तालाई विस्थापित गरेर पुरुषहरुले पितृसत्ता प्रारम्भ गरे ।

यो तर्क सत्य र तथ्यको कति नजिक छ, त्यसबारे अझै विशद् अध्ययन–अनुसन्धानको खाँचो छ । तर, मातृसत्तालाई किन र कसरी पितृसत्ताले हडप्यो भन्ने प्रश्नको चित्त बुझ्दो उत्तर प्राप्त छैन । मातृसत्तालाई हडप्दा समाजमा महिला र पुरुष वर्गवीच द्धन्द भयो कि भएन ? भएको भए कस्तो द्धन्द भयो ? त्यो कति समयसम्म चल्यो ? अथवा कुनै निश्चित समयमा महिला वर्गले पुरुषलाई शान्तिपूर्वक समाजको सत्ता हस्तान्तरण गरे कि ? यी सबै जिज्ञासाहरु मानव समाजमा आज पर्यन्त जिवितै छन् । यद्यपि बेला बेलामा इतिहासका कालखण्डहरुमा विभिन्न दार्शनिक र धर्मगुरुहरुले आ–आफ्ना तर्क र अनुमानको विस्कुन फिजारेकै छन् । तर, वर्तमानमा कतिपय महिलाहरु, जो बोल्न र लेख्न निकै सिपालु छन्, उनीहरुले भने पुरुष वर्गलाई एकोहोरोसँग समाजका सम्पूर्ण विकृति र विसंगतिका एकमात्र कारकका रुपमा चित्रण एवम् दोषरोपण गर्ने गरिरहेको पाइन्छ । जबकि यथार्थमा समाजमा भएका सम्पूर्ण राम्रा वा नराम्रा पक्षमा कुनै एक वर्गमात्र पूर्ण जिम्मेवार हुन सक्दैन ।

दुःख कस्लाई छैन र ? तर, सबैलाई आफ्नै दुःख, पीरमात्र ठूलो लाग्नु मानवीय स्वभाव हो । महिलाका दुःख आफ्नै किसिमका छन्, पुरुषका आफ्नै । तर, यी दुवैका दुःखबीच अन्तरसम्बन्ध पनि रहेको हुन्छ भन्ने यथार्थ कतिपय महिलाहरुले वास्ता गर्दैनन् । एउटी महिलालाई उनको पतिले पीडा दिँदा ती महिलाका बाबु, छोरा, दाजुभाई आदि पुरुषलाई पीडा हुँदैन र ? अनि महिलाका पीडक पुरुष मात्रै हुन् कि महिला स्वयम् पनि ? पत्नी र सन्तानको सुखसुविधाका लागि भनेर जिन्दगीभर ५२ हण्डर ५३ घुस्सा सहने पुरुषहरु पापी मात्रै हुन् त ?, दिदीबहिनीका लागि दाजुभाईले ज्यानको बाजी लगाएका उदाहरण छैनन् र ? केही पुरुषहरुले मदिरा सेवन गरेर पत्नीलाई दुव्र्यवहार गरे भन्दैमा सबै पुरुषलाई दोषी मान्नु कतिसम्म जायज हो ?

पुरुषमात्र पीडामुक्त छैनन् । तर पुरुषका पीडा बुझ्न सक्ने चेत कति महिलामा होला ? जसरी महिलाका पीडा पुरुषले बुझ्न सक्दैनन् भन्ने महिला वर्गको आरोप छ, ठिक त्यस्तै पुरुषका पीडा पनि महिलाले बुझ्न सक्दैनन् । महिलाको त सहारा अरु केही नभए आँशु त छ, तर पुरुषको त त्यो पनि छैन । किनकि पुरुषले रोयो, आँशु झा-यो भने तिनै महिला र सिंगो समाजले उसलाई नामर्द, हुतिहाराको उपाधि भिराइ दिन्छ । दुर्भाग्यवश कुनै दम्पतीको सन्तान भएन भने पत्नीले सहनु पर्ने पारिवारिक, सामाजिक प्रताडना त छँदैछ, पतिले सहनु पर्ने उपहास र व्यँङ्ग्यवाणको कटु अनुभवको कुनै लेखाजोखा छ र ? चोरेरै भए पनि आफ्नो परिवारको गुजारा चलाउनुपर्ने जिम्मेवारी जसरी समाजले पुरुषमाथि थोपरेको छ, त्यसबाट वेरोजगार पुरुषले खप्नु पर्ने मानसिक यातना महिलाले कहिल्यै अनुभूत गर्न सक्दैनन् । मानव समाज जब जंगली अवस्थामा थियो, शिकार गरेर परिवारको भोक मेटाउने जिम्मेवारी पुरुष वर्गमाथि थियो र ल्याएको शिकारलाई पकाईतुल्याई खुवाउने र लालाबाला सभाल्ने जिम्मेवारी महिला वर्गमा थियो । व्यवहारत अहिले पनि यही व्यवस्था कायम छ । विगतमा शिकार खेलेर ल्याउन नसक्ने कमजोर पुरुष र अहिले कमाएर ल्याउन नसक्ने वेरोजगार पुरुषको अवस्थाबीच तात्विक भिन्नता छैन ।

रह्यो कुरा माया, प्रेम, यौन, यौनिकता आदिको । पुरुषलाई दोषी देख्ने महिलाहरुको ठाडो आरोप छ, पुरुषले महिलाको शरीरलाई खेलौना बनाए, यौन शोषण गरे आदि । यो आरोप धेरै हद्मा सही हो । तर, कुरा यतिमै सकिदैंन । के पुरुष शरीरसँग महिलाको कुनै सरोकार छैन ? अपवादबाहेक (समलैंगिकता), जसरी पुरुषलाई महिला देहसँग सरोकार हुन्छ, त्यसैगरी महिलालाई पनि पुरुष देहसँग सरोकार रहेको हुन्छ, व्यक्त हुनु नहुनु वा पृथक शैलीमा व्यक्त हुनु त्यो बेग्लै कुरा हो । नत्र किन तन्दुरुस्त र शारीरिक रुपमा सबल पुरुषप्रति नै संसारभरका महिला बढी आकर्षित हुन्छन् ? महिलाको हासो, आँशु र शरीरले साहित्य, संगीत, कला सिर्जना गर्छ, त्यसको दाँजोमा पुरुषको आँशु र हाँसोको के मूल्य छ ?


आजको युगमा बोल्न र लेख्न सिपालु महिलाहरुले यौन र यौनिकताबारे पनि अनेकौं तर्क वितर्क गरिरहेका पाइन्छन् । योनी अभिशाप हो कि वरदान हो ? भन्ने प्रश्न पनि उठाइरहेका पाइन्छन् । त्यसरी नै प्रश्न गर्ने हो भने पुरुषको लिङ्गमाथि पनि प्रश्न उठाउन सकिन्छ । योनी होस वा लिङ्ग, यी दुवै प्रकृतिका अनमोल वरदान हुन् तर जब यसको दुरुपयोग हुन थाल्छ, अपमान हुन थाल्छ तब अभिशापमा परिणत हुन्छ । लिङ्ग भनेको पनि आखिर के हो र ? एक टुक्रा पाइपसम्म न हो । हाडरहित माशंपेसी र रक्तनलीले बनेको यो पिण्डले उमेर ढल्किए पछि त आफ्नै मालिक (पुरुष) लाई समेत टेर्दैन । त्यसैले लिङ्गकै आधारमा पुरुषले आफूलाई ठूलो ठान्नु र घमण्ड गर्नु एउटा हास्यास्पद् भ्रम मात्र हो । योनीको यथार्थ पनि त्यस्तै हो । सँस्कृतमा योनीलाई ‘भग’ भनिन्छ । यस आधारमा भगवान र भगवतीको अर्थ विश्लेषण गरेमा कुरोको चुरोसम्म पुग्न सजिलो हुन्छ । आजकल प्रश्न उठेको सुनिन्छ, ‘कोख मेरो सन्तान अरुको ?’ यसरी नै प्रश्न गर्ने हो भने अर्को प्रश्न पनि उठनु स्वभाविक हुन्छ ‘वीउ मेरो फल अरुको ?’

वास्तवमा सन्तान भनेको पिताको मात्र वा माताको मात्र भन्ने नै हुँदैन । सन्तान मातापिताको साझा सिर्जना हो, त्यसैले साझा दायित्व पनि । तर, अहिले सन्तानमाथि एकाधिकार जमाउने जुन लहर चलेको छ, त्यो वास्तवमा विगतकै विसंगतिको पुनरावृत्ति हो, जतिखेर सन्तानलाई बाबुको मात्र मान्ने चलन थियो । वीर्यलाई भेट्न नसकेको अण्ड र अण्डलाई भेट्न नसकेको वीर्य त फोहर मात्र हो, यी दुईको मिलनबाट मात्र सृष्टिको गरिमा प्राप्त हुन्छ । त्यसैले वीर्यधारी र अण्डधारीले एक्लाएक्लै घमण्ड गर्नुको कुनै औचित्य छैन ।

जहाँसम्म शासनसत्ताको प्रश्न छ, त्यो लैंगिकताले चलाउने होइन, विवेक, सोच र इच्छा शक्तिले चलाउने हो । भारतका प्रधानमन्त्रीहरुमध्ये सबैभन्दा शक्तिशाली प्रधानमन्त्री इन्दिरा गान्धी थिइन् । तर, उनी प्रधानमन्त्री हुँदैमा भारतीय महिलाको दयनीय अवस्थामा कुनै फेरबदल आउन सकेन । पाकिस्तानमा सबैभन्दा बढी आशा गरिएकी प्रधानमन्त्री (हामीले डा.बाबुराम भटट्राईसँग आशा गरे जस्तै) बेनजीर भुटटो थिइन् । हार्डवर्ड र अक्सफोर्डबाट उच्च शिक्षित बेनजीर दुई पटक प्रधानमन्त्री हुँदा पनि पाकिस्तानमा छात्रा शिक्षा अनिवार्य गर्नसम्म सकिनन्, तीन तलाकको त के कुरा गर्नु । बंगलादेशमा लामो समयदेखि शासनसत्ता महिलाको हातमा छ । कि त शेख हसिना वाजेद, कि वेगम खालिदा जियाबाहेक अरुले अवसर पाएका छैनन् । तर, बंगलादेशी महिलाको सामाजिक अवस्थामा ठोस परिवर्तन देखिदैन । तसलिमा नसरिनहरुलाई ज्यान जोगाउनै धौ धौ छ । श्रीलंकामा सिरीमाओ बान्दरानायकेदेखि चन्द्रिका कुमारातुङ्गासम्मका जुझारु महिला नेतृ कार्यकारी राष्ट्रपति बने पनि श्रीलंकाली महिलाहरुका लागि आफ्नो देशको राष्ट्रपति पुरुष हुनु वा महिला हुनुमा कुनै अन्तर भएन ।

देशको शासनसत्ता होस् वा कुनै पनि जिम्मेवारी, त्यसलाई सफलतापूर्वक पूरा गर्न पदाधिकारीहरुमा दुईवटा ‘इ’ अनिवार्य रुपमा चाहिन्छ, एउटा इच्छाशक्ति, अर्को इमान्दारी । हाम्रो देशलगायत जनताको अपेक्षा पूरा हुन नसकेका अन्य सबै मुलुकहरुको मूल समस्या नै यी दुई ‘इ’ तत्वको अभाव हो । यसको अभाव नभएका मुलुकहरु हेर्दाहेर्दै गत तीन– चार दशकमा कहाँबाट उकासिएर कहाँ पुगिसकेका छन्, विश्वसामु स्पष्ट छ । लैंगिकलगायत सामाजिक न्यायका सन्दर्भमा पनि यही दुई ‘इ’ निर्णायक रुपमा रहेका हुन्छन् ।

जुनसुकै विषय वा सन्दर्भलाई पनि समयसापेक्ष भएर हेर्नु र विश्लेषण गर्नु जरुरी छ । हजारौं वर्ष पहिले लेखिएका ग्रन्थहरुमा त्यतिखेरको समयको सन्दर्भमा उल्लिखित कुराहरुलाई अहिले निहुँ बनाएर आजका पुरुष वर्गलाई लाञ्छित गर्नु र तिनै ग्रन्थहरुका आधारमा समाज सञ्चालन गर्न खोज्नु दुवै मुर्खता हुन् । जबसम्म पुरुष र महिलाले आफूहरुलाई पुरुष मात्र वा महिला मात्र होइन मानव हुँ भनेर सोच्दैन र अर्कोप्रति मानवोचित व्यवहार गर्दैन तबसम्म समाज अपेक्षित रुपमा शान्त, सन्तुलित र समुन्नत हुन सम्भव छैन । तसर्थ आजको समयमा पितृसत्तात्मक र मातृसत्तात्मकको बखेडा निकाल्नु केही टाठाबाठा वर्गका लागि बौद्धिक आत्मरतिको रमाइलो मात्र हो, जसबाट आमजनमानसका लागि कुनै आशातित उपलब्धि प्राप्त हुँदैन ।

(लेखकलाई nepalssbasnet@yahoo.com मा सीधै भेटिनेछ ।)


(आदरणीय पाठक !
तपाई पनि यो बहस श्रृंखलामा सहभागी हुन चाहनु हुन्छ भने, लेखक श्रीरामजीले जस्तै तथ्य र तर्कमा आधारित आफ्ना लेख नेपालनाम्चाको इमेल
nepalnamcha@gmail.com मा पठाउन सादर अनुरोध छ ।)
सम्पादक, नेपालनाम्चा ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button