
तीजको उज्यालो, तीजको अँध्यारो
तीजका तीतामीठा
कल्पनामाण्डव्य खनाल
परापूर्वकालदेखि नै नेपालीहिन्दु समुदायका महिलाहरूको महान पर्वका रूपमातीजलाई लिने गरिन्छ । धार्मिक हिसाबले हिन्दू धार्मिक ग्रन्थअनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन् । पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइसक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिइकन निराहार ब्रत बसिन् । यसरी पार्वतीको कठोर ब्रतको कारण शिवजी प्रकट भई चिताएको कुरा पुगोस् भनी आशीर्वाद दिएपछि शिवपार्वतीको विवाह हुनपुग्यो । त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो । सोही तिथिदेखि हिन्दू नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले र यो तीजको रूपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ । अहिले यसलाई एउटा मनोरञ्जनात्मक पर्वका रुपमा लिइएको छ ।
हाम्रो समाजमा तीज महिलाहरूले मनाउने एउटा महत्वपूर्ण पर्व हो । आधुनिक समाजमा तीजको महत्वलाई जुन रूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो । सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यताअनुसार महिलाहरू विवाहपश्चात् आफ्नो श्रीमानको घरमा बसी बाँकी जीवन बिताउनु पर्ने हुन्छ । यसरी आफू जन्मेको घर, मातापिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइघरमा जीवन बिताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा महत्वपूर्ण अवसरको रूपमा तीज पर्वको गहन महत्व रहेको छ ।
तीज सामान्यतया मकै छरेर तथा रोपाइँ गरिसकेपछि केही फुर्सदको समयमा मनाइने पर्व हो । आपसी प्रेम बढाउने यो पर्वले महिलाहरूको दुखेसो पोख्ने वातावरण सिर्जना गरिदिन्छ । विवाह भएर टाढा पुगेका बुबाआमा दाजुभाइ दिदीबहिनी तथा साथीसंगीबीच भेट गराएर यो पर्वले उनीहरूको मन हलुका पार्न र सुख–दुःखका कुराकानी गर्ने अवसर समेत जुटाइदिन्छ ।
महिलाहरु घरायसी र सामाजिक थिचोमिचोबाट वर्षदिनभरि पराई घरमा बसिरहेको अवस्थामा आफ्नो दुःख कष्टहरु कसैलाई भन्न नसक्ने गरी रहेको अवस्थामा माइतबाट बाबा दाईभाइ लिन आएपछि माइत पठाउने र जान पाउने अधिकारका रूपमा तीजलाई लिइन्छ । त्यसैगरी आफ्नो आफन्त, साथीहरुसित भेट हुने, आफ्ना मनका कुराहरू खुलेर गर्न सक्ने चाडका रूपमा तीजलाई लिने गरिन्छ । जस्तोसुकै सुखदुःखका कुराहरु पनि गीतका माध्यमबाट व्यक्त गर्न पाइने, त्यो बेला महिला स्वतन्त्रताको दिन जस्तै गरी घरमा सासू ससुरा जेठाजु जेठानी नन्द आमाजुहरुले आफूमाथि गरेका राम्रा नराम्रा कुराहरुलाई उन्मुक्त भावले गीतका माध्यमबाट पोख्न पाइने, माइतीबाट आफूलाई भएको व्यवहार माइतीकै अगाडि गाएर छमछम नाच्न पाइने चलन थियो र विस्तारै समाजको परिवर्तनसँगसंगै सामाजिक आर्थिक रुपमा महिलाहरुमा पनि परिवर्तन आएको छ । अहिले आएर तीजलाई एउटा फेसन र विकृत संस्कारका रूपमा लिन थालियो ।
अनिवार्य भोजभतेर गर्नैपर्ने, आफन्त सबै जम्मा गर्नुपर्ने, आफ्नो औकातभन्दा पनि समाजमा रहेका धनीमानीसँगको प्रतिस्पर्धात्मकरुपमा तीजपर्व परिवर्तन हुँदैछन् । लुगा र गहनाहरुको व्यापक प्रदर्शन गनर्,े महंगा होटलहरुमा गई भोजभतेर गर्ने, मदिरा सेवन गरी उत्ताउलो नृत्य गर्ने परम्परा बसिसकेको छ । जसरी तीज भनेपछि छोरी चेली माइतजाने परम्परा विस्तारै हराउँदै गएको छ । तीजको अघिल्लो दिन दर खुवाउनु पर्नेमा कहिले कसकोमा कहिले कसकोमा महिनाभरी नै दर खानुपर्ने, नसक्नेहरुका लागि ठूलो बोझका रुपमा लिन थालिएको छ । पहिला आफ्नै बारीमा फलेको आलु, तामा, बोडी सिमीआदिको तरकारी, घरमा रहेको दूध उपभोग गरी खिर कर्कलो, पोलेको तामा, अडिलो चाम्रे, अनदीको लट्टे, तिलको छोप हालिएको करेलाको अचार खाने चलन थियो । त्यही पनि पराइघरमा पेटभरी खान नपाउने सामाजिक वाध्यता थियो । महिलाहरूमा हुने थिचोमिचोको कारण मीठो र चोखो छोरा श्रीमान ससुरा आदिले खाने र बाँकी बचेको बुहारीहरुले पाउँथे । त्यस्तो पेटभरि खान नपाउने अवस्थामा महिलाहरुले मीठोमसिनो पेटभरी खान पाउने दिन भनेकै तीजको दर खाने दिनका रुपमा रहेको थियोे । अर्कोतर्फ महिलाहरुले श्रीमानको लामो आयुका लागि निराहार वर्त बसेर शिवको पूजा गर्ने चलन छ । सहयात्री, जीवनसाथी विभिन्न नामले पुकारे पनि, लामो आयु श्रीमानको मात्र चाहिने, श्रीमतीको छोटो आयु भए पनि हुने किनकि श्रीमती मरेमा समाजले सजिलै अर्को विवाह गराइदिनसक्ने सहज परिस्थितिका कारण पनि महिलाहरु सक्दो भक्तिसाथ वर्त बस्ने गर्दछन् । सरसर्ती हेर्दा तीजलाई अहिलेकोे पिढीले हेर्ने तरिका भनेको रमाइलो र फेसनको रुपमा लिने गरेको छ । यसले तीजको खास अर्थ र महत्वलाई मारेको मात्र छैन, संस्कार र संस्कृतियुक्त तीजलाई भड्किलो र उत्ताउलो बनाउँदै लगेको छ ।
ऋषिपञ्चमीलाई महिलाहरुले तीजकै रुपमा लिने गरेका छन् । ऋषिपञ्चमीको बारेमा शास्त्रीय धारणालाई हेर्दा १२ महिनाको रजस्वलामा अन्जानवस् कति कुरा छोइएको हुन सक्छ । उक्त पापबाट मूक्त हुन भाद्र शुक्लपञ्चमीको दिन ३६५ वटा दतिवन तोकी माटो तथा गाईको गोबर लगाएर ३६५ पटक नुहाउनु पर्छ र यसको पनि थुप्रै विधिहरू छन । तर मूलतः ३६५ वटा दतिवनका डाँठ टोकेर खोलामा बगाउनु, माटो र गोबरले शरीरका सबै अङ्गहरू शुद्ध गर्नु, चाल्नीमा गनौती (गनिएका तिलचामल र जौ) राखेर माथिबाट पानी खन्याई छानिएको पानीले नुहाउनु र सप्तऋषीको पूजा गरेपछि महिलाहरू पूर्णरूपमा शुद्ध हुन्छन् भन्ने विश्वास गरिन्छ । ३६५ वटा दतिवनदिनको एउटा ३६५ दिनसम्म टोकेर तीजमा पञ्चमीको दिन खोलामा बगायो भने पनि रजस्वला हुँदाको समयमा भएको पापबाट मोक्ष भइने पनि विश्वाश छ । यसरी नेपाली महिलाहरूलाई वैज्ञानिक शिक्षा दिनुको साटो अन्धविश्वाश र कुरीतिको पाठ पढाइएको हुन्छ । यही कुरा विकसित देशहरुमा माध्यमिक विद्यालयबाट नै किशोरीहरुमा देखिने शारीरिक परिवर्तन सँगसँगै महिनाबारी हुनुका कारणहरु र यसलाई कसरी व्यवस्थापन गर्ने भनेर व्यवहारिकरुपमा सिकाइन्छ र हरेक कुराहरुमा सचेत बनाइन्छ भने यहाँ ३६५ दिनको सरसफाई एकै दिनमा व्रत बस्न कै लागि गर्ने कुराहरु सिकाइन्छ । यसरी बालिका जन्मदैबाट उसमा नकारात्मक कुराहरु भरिदिने परम्परा चलिआएको छ ।
हुन त तीज पर्वमै पनि प्रश्न उठ्न थालेका छन् । हिन्दु समुदायको मात्र अनि महिलाहरु मात्रै यस पर्वमा सजधज गरेर ब्रत बस्ने, पञ्चमीपूजा गर्ने चलनभित्रको गुदी हेर्दा पनि पाप र धर्ममै केन्द्रित भएको देखिन्छ । पञ्चमीपूजाले त महिनावारीलाई अशुद्धताको परिचायक मान्ने रहेछ । जुन कुरा विज्ञानसम्मत छैन । महिला महिनावारी नै भएनन् भने कसरी सृष्टिको निरन्तरता हुन्छ र ? जब यस्ता हिन्दु परम्परामा आधारित ग्रन्थहरु बनाइयो, ती पुरुषऋषिहरुले निर्माण गरेका र मानिसको शरीर विज्ञान नै अध्ययन नहुँदै कल्पनाको भरमा अनुमान गर्दै बनाईएका यस्ता चलनहरु कालान्तरमा थिति नै हुनगयो र पुस्तौपुस्तासम्म हस्तान्तरण हुनपुग्यो । यस्ता तथ्यहरुलाई हामीले नियालेर विश्लेषण नगरीकनै संस्कृतिको निरन्तरता दिइरहेछौं जुन परिमार्जन हुन जरुरी छ । हामी एक्काईसौ शताब्दीका महिला हौं पनि भन्छौ फेरि असामाजिक र गैर न्यायिक चलनहरुप्रति प्रश्न नै गर्न डराउँछौं किनकि हामीमा ती पुरातन संस्कृतिले डेरा जमाएको छ । बरु यस्ता चाडहरुलाई मनाउनचाँहि रमाईलो गर्दै मनाउने तर यसभित्रका रुढिवादी चलनहरुको साटो महिनावारीबारे, गर्भधारणबारे, यौन शिक्षाबारे छलफल गर्दै पो मनाउने हो कि । यस्तो हुन सके हामी आफ्नो संस्कृति पनि जोगाईरहेका हुन्थ्यौ र समयानुसार आफूलाई परिमार्जन पनि गर्दै गईरहेका हुन्थ्यौ ।
त्यसैले तीज पर्वलाई अहिले पनि गीतसंगीत र लेखहरुका माध्यमबाट महिला मुक्ति र महिला सशक्तिकरणका रूपमा लिने र यस पर्वलाई रमाइलो सँगसँगै समाजमा सकारात्मक चेतना फैलाउने तरिकाले मनाउन जरुरी देखिन्छ । हालको एक्काइसौं शताब्दीमा आइपुग्दा हरेक कुराहरुलाई कुरीति अन्धविश्वासका रुपमा बढाउनुभन्दा हरेक चाडपर्वहरूको सकारात्मक पक्षहरूलाई केलाउँदै वैज्ञानिक रुपले तथ्यपरक तरिकाबाट नियाल्नु अत्यन्त जरुरी देखिन्छ र तिनीहरूलाई समय अनुरूप परिवर्तन गर्दै लैजानुपर्ने आवश्यकता देखिन्छ ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)